हात्तिको देखाउने दाँत

आनन्दराम पौडेल

writer-anandaram-paudelचार दिनअघि नेपाली कांग्रेसका सभासदहरु भेला हुनुभयो । उहाँहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिषयमा छलफल गर्नुभयो । अब बन्ने सम्विधानमा यो आयोगको अधिकार व्यापक कटौति गर्नुपर्छ भन्ने निस्कर्षमा पुग्नुभयो । यथार्थमा उहाँहरुले अन्तर्हृदयको गहिराइबाटै प्रस्फुटित विचारलाइ इमान्दारीपुर्वक राख्नुभयो । यति इमान्दारिताको लागि उहाँहरुलाइ धन्यवाद दिनैपर्छ । यस्तै इमान्दारी उहाँहरुले यसअघि पनि दर्शाउनुभएको हो । २०४८ सालमा भ्रष्टाचार नियन्त्रण ऐन निर्माण गर्दा सांसद र मन्त्रीले गरेका भ्रष्टाचार छानबिन गर्न नपाउने गरी ऐन निर्माण गर्नुभएको थियो । यो विभेदविरुद्ध २०५८ सालमा एकजना नागरिकले रिट हाले । सर्वोच्च अदालतले विभेद नगर्नु भनि फैसला गर् यो  र  बल्ल कानुन सबैलाइ समान तवरले लागु हुनेभयो ।  

पार्टीकार्यकर्ता र तिनका आसेपासेको सोच, दृष्टिकोण अनुसार पनि उहाँहरुले यही निर्णय लिनुपर्थ्यो । २०५२ सालको हिउँदतिर शेरबहादुरजीको सत्ता टिकाउनको लागि सांसद खरिदको गल्ला चलेको थियो । यसलाइ पुष्टी गर्न उहाँका सहयोगीहरु भन्ने गर्नुहुन्थ्यो, “प्रधानमन्त्रीले देशलाइ राजनीतिक अस्थिरताबाट बचाउनको लागि केही सांसद खरिद गरे त के बिगारे ? सर्वप्रथम त उहाँले देशलाइ अस्थिरताको दलदलमा डुब्नबाट बचाए । दोश्रो, पार्टीको लाइन अनुसार पार्टीको पक्षमा काम गर्नुभयो । तेश्रो, ती सांसदहरु खरिद गरिएका हुन्, जो बिक्न तैयार थिए। हामीले खरिद नगरे अरु कसैले खरिद गर्थ्यो  त्यस्ले राजनीतिक अस्थिरता झन् बढाउँथ्यो । त्यसबाट त देश बच्यो नि !”

एक पाटोबाट हेर्दा उहाँहरुको भनाइमा पनि सत्यता छ । हुँदो नहुँदो जे-जे गरेर भएपनि दश-पन्ध्र बर्षमै अरबपति बन्न सफल भएकालाइ पार्टीका नेताहरुले खोज्छन् । राज्यका उपल्लो पद उनीहरुले नै पाउँछन् । ३-४ करोड चन्दा दिएर समानुपातिक सांसद बन्छन् । हाम्रो समाज ‘स्टाटस कन्सस’ छ । ठूलो पदमा आसिन भएको व्यक्तिलाइ ठूलो मान्छे भन्न थाल्छ ।

अख्तियारविरुद्ध एकजुट भएका सांसदहरुको समस्यापनि हामीले वुझिदिनुपर्छ । थोरैमा पनि एक करोड खर्च नगरी निर्वाचन जित्न सकिंदैन । घरखेत बन्धकि राखेर चुनाव जितेका हुन्छन् । त्यो खर्च उठाउन यताउता प्रयास गर्नलाग्यो, यही अख्तियारको भयले तर्साइरहन्छ । आँखाको कसिङ्गर भएर यही अख्तियार विझाइरहन्छ । रोडको ढुङ्गो बनेर अख्तियार तेर्सिरहन्छ ।

अदुअ आयोगले चाहीं आफ्नो काम गरिरहेछ भन्न खोजेको होइन । ठूला पार्टीका शीर्षस्थ नेता र उच्च शासकहरु संलग्न भएका भ्रष्टाचारका फाइल अख्तियारले चलाउँदैन । क्याण्टोन्मेण्टका लडाकुको नाममा गरिएको भ्रष्टाचारलाइ अख्तियारले छानबिन, अनुसन्धान गर्दैन । तिनै ठूलाबडाको अस्वाभाविक, अकूत सम्पतिका फाइलहरु आयोगले छुँदैन ।

हाम्रा शासक र नेताहरुको ठूलो समस्या के छभने आफू जे हैन त्यही देखाउनुपर्छ । उहाँहरु नैतिकवान हुनुहुन्न, तर अरुभन्दा नैतिकवान हो कि भन्ने भान पार्नुहुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि उहाँहरुले आफू भ्रष्टाचार विरुद्ध छौं भनेर दुनिञालाइ देखाउनको लागि खडा गर्नुभएको हो । वीशौं शताब्दीको उत्तरार्द्धमा विश्वमा अम्बुड्सम्यानको लहर चलेको थियो । अम्बुड्सम्यान स्वीडेनबाट शुरु भएको थियो  ।

सम्विधान, कानुन मुताविक सरासर हुनुपर्ने नागरिकका कामहरु निर्वाध भैरहेका छन् वा छैनन् ? यस्लाइ नियालेर हेर्ने र आवश्यकतानुसार हस्तक्षेप गर्ने संस्थाको आवश्यकता महसुस गरियो। जनताका गुनासा सुन्ने, रेस्पोन्स गरिहाल्ने र निराकरण गर्ने प्रभावकारी संस्था अपरिहार्य ठानियो । सेना र न्यायाधीश माथि गम्भीर आरोप लागेमा स्वीडेनको अम्बुड्समयानले छानबिन गर्न सक्छ । स्वीडेनमा अम्बुड्सम्यान अत्यन्तै प्रभावकारी भएकोले बिस्तारै युरोपभरी फैलियो । संसारका अन्य मुलुकले पनि बिभिन्न नाममा स्थापना गर्नथाले । डेनमार्क, न्युजिल्याण्ड र बेलायतमा “पार्लियामेन्टरी कमिसनर” नाममा
अम्बुड्सम्यानले काम गर्छ ।

राज्य र नागरिकको वीचमा अन्तर्सम्वन्ध मजबुत गर्न र राज्यव्यबस्थाप्रति जनताको विश्वास गाढा गर्नको लागि अम्बुड्सम्यानले अचुक औषधिको काम गर्यो । सिष्टममार्फत राष्ट्रको उन्नति, प्रगति गर्न र समृद्धिमा पुर्याउन खोज्नेहरुको लागि यो सिष्टमको लागि अमृत नै बन्यो । युरोपियन मुलुक र विश्वका धेरै मुलुकहरुले यो उद्देश्यले अम्बुड्सम्यान स्थापना गरेका थिए । हाम्रो देशमा अम्बुड्सम्यानको काम गर्नको लागि अदुआयोग स्थापन गर्दा उद्देश्य नै कपटपूर्ण थियो, त्यो अहिले प्रकट भयो । जे होस्, भित्री मनशाय प्रकट गरिदिनुभएकोमा सांसदहरु धन्यवादका पात्र हुनुहुन्छ । स्वच्छ सुशासनमार्फत् सदाचारी समाज निर्माण गर्ने सपना पाल्नेहरु ‘अडम्यान आउट’ हुनेछन्; जनताले आफैं वुझ्नुपर्यो ।

तपाइँको प्रतिक्रिया