प्रेमरसले ओतप्रोत

  • आनन्दराम पौडेल

writer-anandaram-paudelसुत्केरी भएको १ महिना भएको थियो। बच्चा छेउमै मस्त निदाइरहेको थियो। बिना मगरले सोचिन्, “हाम्रो प्रेमयात्रा पनि ३ बर्ष भएछ। ३ बर्षमा उतार-चढाव, घुम्ति-मोडहरु आए। यो छोरोपनि आयो। यो छोरो होइन, प्रेमफूल हो – हाम्रो प्रेमको प्रतीक।” छोरालाइ हेर्दै प्रेमयात्राको शुभारम्भका दिन सम्झन पुगिन्। आपसी प्रेममा पागल नै भएका थियौं। तर, घरपरिबार र समाजले स्वीकार्ने अवस्था थिएन। घरपरिबार र समाजको नजरबाट टाढा भाग्नुपर्ने भयो। हामी भूमिगत भएका थियौं। भूमिगत रहेको बेलामा पनि हामी गम्भीर छलफल गर्थ्यौं। एउटा गम्भीर विमर्शको सम्वाद सम्झिन्।

“हामीले काठमाडौं छाडेर भूमिगत बसेको २ हप्ता भयो। अव त पत्रकारहरु थाकेछन्। ३-४ दिनदेखि हाम्रो बिषयमा कुनै पत्रिकाले लेखेका छैनन्। फेसबुकमा पनि कतै चर्चा छैन।” बिहानको चिया खाँदै मैले नै बिषय प्रवेश गराउनका लागि भूमिका वाँधेको थिएँ।

“यत्रो चर्चाको आवश्यकतै थिएन। यी चर्चा चलाउनेहरुले नेपालको कण-कणमा प्रेमरस भरिएको छ भन्ने तत्वज्ञान पाएका रहेनछन्। मनग्ये प्रेम गर्न नपाएर गुम्सिएकाहरुले आफ्नो कुण्ठा ओकलेका हुन्।” प्रकाश दाहालले चर्चाको विश्लेषण गरेका थिए।

“नेपालको कण-कणमा प्रेमरस भरिएको भन्ने त मलाइपनि ज्ञान थिएन। यस्लाइ अलि प्रष्ट पार न।”मैले सोधेको थिएँ।

“कण-कणमा प्रेमरस भरिएकोले नै जताततै प्रेम, रोमान्स र प्रणयको मूल फुटेको छ। नेपाली कम्युनिष्ट आन्दोलनले भीष्मपितामहको दर्जामा राखेका हाम्रा मोहनबिक्रम सिंहलाइ प्रेमरसले यति ओतप्रोत ग-योकि उनी जलजलाको प्रेममा हुरुक्कै भएका थिए। झण्डै कम्युनिष्ट आन्दोलनको कार्यभार नै छाड्ने स्थितिमा पुगेका थिए। हाम्रा पम्फा कामरेड र बादल कामरेडपनि एकताका प्रेमरसले विह्वलै भएका हुन्। आलोक कामरेडको जीवनपनि प्रेमरसले भरिएको थियो। बुढेसकालमा मूल फुटेर आएको प्रेमरसको सुनामीले रविन्द्र श्रेष्ठलाइ आफ्नो परिवार र राजनीतिक क्यारियरबाट टाढा हुत्याइदियो। यो सानो त्याग हैन। यहाँको कण-कण र श्वासप्रश्वासमा प्रेमरस भरिनु नै यस्को कारण हो। यस्मा कसैको दोष छैन। उहाँहरु विवश हुनुहुन्थ्यो।”  एउटा परिपक्व प्राध्यापकले भन्दा राम्रो व्याख्या त्यस दिन प्रकाशले गरेका थिए। म दङ्ग परेको थिएँ। सगरमाथा आरोहणपूर्व एलापिक हिमालमा आरोहण अभ्यास गरेका थियौं। त्यहींदेखि मेरो र प्रकाशका बीचमा प्रेम झाङ्गिएको थियो। सगरमाथा आरोहणबाट फर्कँदासम्म प्रकाश यति परिपक्व थिएनन्। प्रकाशको यो विश्लेषण रोचक लागेकोले फेरी सोधेको थिएँ,  “यो प्रेमरसले क्रान्तिकारीहरुलाइ मात्र विह्वल बनाएको हो त ?  दक्षिणपन्थीहरु चाहीं यस्बाट प्रभावित छैनन् र ?”

“किन हुँदैनथे ? प्रभावित मात्र हैन क्षतविक्षतै भएका छन्। सारा योञ्जनको फरियामा झुण्डिएर तुलसी गिरीले नागरिकता त्यागे, धर्म त्यागे, संस्कार-संस्कृति त्यागे, देशै त्यागिसकेका थिए। मेमको पछि लागेर धीरेन्द्रले अधिराजकुमार पदवी त्यागे। दीपेन्द्र बिक्रम शाहले आफनो आमा, बाउ, भाइ,बहिनी र आफूलाइ समेत् सिध्याए। पारस थाई नानीको अँगालोमा विश्राम लिईरहेछन्। राजबहादुर सिंहजी प्रेरणालाइ वारी नै छाडेर प्रेमरसमा पौडँदै पारी पुगिसकेका छन्।”  प्रकाशको यो व्याख्या र उदाहरणले त्यस दिन मलाइ निकै तसल्ली मिलेको थियो। मैलेपनि सरस्वती बहुमुखी क्याम्पसको स्ववियु सभापति पद त्यागेकी थिएँ। रोजेर, मायाप्रेम गरेरै विहे गरेको पति शङ्कर अधिकारीलाइ त्यागेकी थिएँ। पार्टीका होलटाइमर कार्यकर्ता शङ्कर अहिले बैद्यबाको ड्यास माओवादीतिर लागेका छन्, त्यो बेग्लै कुरो हो। मैले सोधेको थिएँ,  “मेरो त्यागको चाहीं हिसाव हुँदैन ?”

“तिम्रो र मेरो त्यागको आ-आफ्नै हिसाव छ। मैलेपनि सिर्जना त्रिपाठीसँग २०६४ माघ ३ गते माँगी विवाह गरेको थिएँ। तिमीले शङ्करलाइ त्याग्यौ, मैले सिर्जनालाइ त्यागें।” प्रकाशको विश्लेषणबाटै म प्रभावित भैसकेकी थिएँ, यो हिसाबले झन् सन्तुष्ट भएको थिएँ। सन्तुष्टी बढेर हर्षविभोर भइछु। खुशी अटेसमटेस भएर आफैंलाइ थाम्नसकिनछु, र ग्वाम्लाङ्ग अँगालो हाल्नपुगेको थिएँ।

मीठो सम्झनाले बिनालाइ चरमपुलकित गरायो। सुतिरहेको बच्चालाइ उचालेर काखीमा च्यापिन् र म्वाईं खान थालिन्।

 

तपाइँको प्रतिक्रिया