प्रचन्डको होइन, आफ्नै नेत्रित्वमा नलडी हुन्न पहिचानको लडाईं
- गोपाल तमाङ
कुरा सामान्य छ, साथीहरु । आदिवासी जनजातीहरु एक कहिल्यै हुँदैनन । अनि सानो झुन्ड झुन्ड बनेर आफू आफै नेता भइटोपल्छन् । त्यसैले शक्ति बिहिन छ । न आन्दोलन गर्न सक्छन् न चुनाव जित्न सक्छन् । जहिलेपनि यत्ता न उत्ता जस्तो तुन्द्रुङ्ग झुन्डेर बस्छन् । यहि कारण हो प्रचण्ड ले हामीलाई मज्जाले प्रयोग गरेको । किनकी उनलाई राम्रोसँग थाहा छ, जनजातीहरु जति कराए पनि आखिर अन्तिममा त प्रचण्ड नै चाहिन्छ भन्ने । हामी बाहिर मात्र हेर्छौ । त्यसैले प्रचण्डलाई कराउँदैछौ । तर भित्र भित्रै बिदेशी शक्तिहरुले उनिहरुको स्वार्थ अनुरुप काङ्ग्रेस एमाले र एमाओबादी लाई कहिले फुटाउने त कहिले जोड्ने खेल उहिले देखि खेल्दै आइरहेको छ । त्यसमध्ये भारतिय शक्ति प्रमुख नाईके हुन् ।
अर्को एउटा कुरा एमाओबादिले वा प्रचण्डले प्रस्तावित पहिचान सहितको संघीयताको लागि अन्तिम सम्म लड्छ भन्ने भ्रम कसैलाई नरहोस । किनकी एमाले, काङ्ग्रेस र एमाओबादी बिच भोलिको संघीय नेपालमा आफ्नो आफ्नो राजनीतिक भबिस्य सुनिस्चित हुने भागबन्डा राम्रोसँग मिल्यो भने जुनसुकै बेला जस्तोसुकै सहमति हुन सक्छ । त्यो ३ पार्टीले सहमति गरे पछि कुरो सक्कियो । अरु साना दलहरु त उफ्रिने मात्र हो । मधेसी दलभित्र पनि सत्ता स्वार्थमा लाग्नेहरु सबै प्रचण्डतिर लाग्नेछन् । अनि प्रचण्डले जस्तो सहमति गर्छन् त्यस्तै बन्छ सम्बिधान ।
हाम्रो प्रस्तावित ताम्सालिङ, मगरात, नेवा सेवा हामीले भने जस्तो केही बन्नेवाला छैन । त्यसैले मैले भन्ने गरेको छु कि यो हाम्रो पहिचानको लडाइँ हाम्रै नेतृत्वमा हामिले नै दीर्घकालीन सम्म लड्नु पर्ने लडाइँ हो । अनि मात्र प्राप्त हुनेछ हाम्रो पहिचान र अधिकार । एमाओदीले दुई नाउँ मिसाएर बन्ने कथित बहुपहिचानको ६ प्रदेशमा सहमति गर्ने प्रबल सम्भावना छ । हेर्दै गर्नुहोला । त्यो भनेको हाम्रो लागि नहुने मामा भन्दा कानो मामा नै ठिक छ भने जस्तो मात्र हुनेछ । अन्तिममा हाम्रो लडाइँ लड्नु पर्ने हामिले नै हो । तर बुद्धि पलाएर लडाइँ लड्ने सम्म हुन हामीलाइ कति समय लाग्छ ? त्यो चाहिँ भबिस्यकै गर्भमा छ ।




