बागलुङ निर्वाचनको एमाओवादीलाई सन्देश

baglung

बाग्लुंग क्षेत्र नं १ को हिजो सम्पन्न संविधान सभाको उप निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार श्रीमती चम्पदेबी खड्का अत्यधिक बहुमत ले बिजयी भइन्  । परिवर्तनकामी शक्ती, पहिचानका पक्षधर भनिएको एकिक्रित नेकपा माओवादी पार्टीको जमानतनै फिर्ता नहुने गरी हार भयो । पहिचानको दह्रो नारा घन्काउने संघिय समाजवादी पार्टीको त नाम निशानै छैन । माओवादी, संघिय समाजवादी पार्टी, मधेशी दल र अन्य संसदवादी, पहिचानबदी दलहरुले कांग्रेस एमालेलाई यथास्थितिबादी, पश्चगमनकारी शक्ती भन्दै आलोचना गरिरहेका बेला फेरी नेपाली कांग्रेसलेनै निर्वाचन जित्नु । एकिक्रित नेकपा माओवादीको जमानतपनि नउठ्नुले के माओवादी र संघिय समाजवादी पार्टीले लगाएका आरोप सिद्द हुन्छन ? के संकेत गर्छ यो निर्वाचनले ? 

जनता सिधा र प्रस्ट कुरा सुन्न, बुझ्न, हेर्न चाहन्छन । नारा, निती र ब्यवहार एकै होस् भन्ने चाहन्छन् । जनताका अगाडि बाचा गर्दै नगर्नु । गरिसकेपछी पुरा गर्नु । निती एकातिर राखेर अर्कोतिर नहिँड्नु । हो माओवादीलाई जनताले नरुचाएको यही हो । पक्कैपनि माओवादीका धेरै नेता, कार्यकर्ता सुख पाएर बसेका छैनन् । भ्रस्ट छैनन् । करोडौंपती सबै कार्यकर्ता भएका छैनन् । बाग्लुङमा मतदानमा जाने धेरै मतदाता भन्दा कतिपय माओवादी कार्तकर्ताको अझ आर्थिक अवस्था बिजोग होला । तर किन रुचाएनन माओवादीलाई ? माओवादीको निती र कार्यदिशा ठीक छैन । पार्टी चलाउनेहरु धेरै भ्रस्ट भएको जनतालाई थाहा छ । पहिलो शान्ती वार्ता गर्दा चप्पल पड्काउँदै आएका बार्ताकारहरुकै अहिले लवाईखवाई कुन स्तरको छ ? ठाँटबाँट कुन खाले छ ? दिनानाथ शर्मा जस्ता आर्थिक मामिलामा र्‍याल चुहाउने त माओवादीका प्रवक्ता छन कसरी माओवादीलाई मत दिन्छन जनताले ? माओवादीको निती, कार्यदिशा, ब्यवहाँरा, पार्टी परिक्षालन, नेताका ब्यवहाँर, लक्ष्य जनताले पचाउने र पत्याउने खालको छैन ।

माओवादीका धेरै नेताको उठबस कस्ता, कुन वर्गका मानिससित हुन्छ ? कांग्रेस जस्तो पूँजीवादीको पार्टीका नेता साईकलमा चुनाव प्रचारमा हिँड्ने, माओवादी हेलोकोप्टर लिएर । जनताले पचाउन सक्छन यो ? ब्यवहार र कृयाकलाप शामान्तवादी । नाम चाँहीँ दुखी गरीब, सुकुम्बासीको पार्टीको । निती र कार्यदिशा के ? हत्याराहरुसितपनि गठबन्दन । राष्ट्रियतालाई बिदेशीसित बेच्न तम्सिनेहारुसितपनी कार्यगत एकता । न सरकारमा जाने निती । न संविधान बनाउने तत्परता । न जनताको बिचमा जान सक्ने हुती । न जातिय राज्यनै हो भनेर कटिबद्द भएर स्पष्ठ पार्ने आँट । न पहिचानसहितको संविधान भनेको यो हो, यस्तो हुन्छ भनेर जनतालाई स्पष्ठ पार्न सक्ने क्षमता, तत्परता, शैली । कसरी दिने माओवादीलाई जनताले भोट ? किन दिने ?

निर्वाचन जिताउने नेता र नितिले मात्रै होइन । अशल, निष्ठावान, लडाकू कार्यकर्तालेपनि हो । जनतामा भिजेका कार्यकर्ता । माओवादीमा कार्यकर्तापनि किन बस्ने ? किन भिड्ने माओवादीका लागि ? माओवादी बास्तविक कम्युनिष्ट रहेन । निती, आदर्श र लक्ष्य त्यो रहेन । बास्तविक कम्युनिष्ट हुन चाहनेहरु बिस्तारै बिप्लवको माओवादीतिर जाँदै छन् । धरमरमा रहेका, विश्वास नलागेकाहरु चुपचाप बसेका छन । माओवादीका हिजोका लडाकू कार्यकर्ता कोही पलायन भए बिदेशतिर । कोही निस्क्रिय भए । माओवादीलाई चुनाव जिताउन जान्छ को ? उपेन्द्र यादव, बिजय कुमार गच्चदार र राजेन्द्र महतोसित सहकार्य गर्न सक्ने पार्टीमा माओवादीका अशल कार्यकर्ता कुन मनले अटाउन सक्छन ?

एमाओवादीका उम्मेदवार कृष्णबहादुर केसीले जम्मा २ हजार ५०५ मत ल्याए । जबकी दोस्रो संविधानसभा निर्वाचनमा झण्डै ६ हजार मत पाएको थियो एमाओवादीले । तर यही क्षेत्रको उपनिर्वाचनमा जमानत समेत जोगाउन सकेन । सकृया राजनीति नगरेकी कांग्रेसकी चम्पादेवी खड्काले १७ हजार १५४ मत ल्याउने । जनताको राजनीति गर्ने माओवादीको जामानत जफत । यसले माओवादी निती, संगठन, जनतामा लोकप्रियता, समर्थन सबै पत्तासाफ भएको संकेत गर्दैन ?

माओवादीसित यतिखेर बिगतको दम्भ मात्रै छ । बाँकी केही छैन । जनसेना छैनन् । लडाकू कार्यकर्ता छैनन् । इमान्दार, समर्पितहरु लाखापाखा लागेका छन् । माओवादी सरकारमा छैन । त्यसैले उसित शक्ती छैन । इमान्दारिता बाँकी रहेन । जनवादी राज्य ब्यवस्था, पहिचान सहितको संविधान भए पुग्छ कि? उनीहरुलेनै भन्ने गरेको बुर्जुवा गणतन्त्र वा त्योपनि त्यागेर सरकारमा जाने, मिलिजुली भागबण्डा गरेर गणतन्त्र लेखिएको संविधानमा सहमती गर्ने ? कुनै स्पष्ठ निती छैन । लारक्याल लामाहरु स्वागत गरिने पार्टीमा सहितका परिवार अटाउने कुरै भएन । कसरी जित्छ माओवादीले ? किन दिने भोट माओवादीलाई ? त्यसैले माओवादीले जित्ने कुनै संकेतनै थिएन । त्यही जानेरै त माओवादी नेता दिनानाथ शर्माले आफ्नो उमेदवारी फिर्ता लिएका थिए ।

बागलुङ क्षेत्र नंवर एक हुन त यसैपनी नेपाली कांग्रेसकै गढ रहँदै आएकाले नेपाली कांग्रेसले जित्नु ठुलो भएन । किनभने सरकारमा रहँदा निर्वाचनमा जानुलेपनि फरक पार्छ । त्यसो त एमालेपनि सरकारमै छ । झन गृहमन्त्रालयनै एमालेको भागमा छ । तर सहानुभूतीले सहानुभूतीले मुख्य भूमिका खेलेको हुन सक्छ । कांग्रेस नेता हरिबहादुर खड्काको अप्रत्याशित मृत्‍युको कारणले गर्दा उनैकी पत्नी चम्पदेबी खड्कालाई । काँग्रेस प्रभावित क्षेत्र, अन्य नेताले जितेपनि केपो गर्छन्, बिगतमा पो के गरेका छन् र भन्ने मानसिकता । बरु इमान्दार नेताकी पत्नीलाई दिए भ्रस्ट त नहोली, पती गुमाई राजनीति गर्न छोडिदिँदा भन्ने सहानुभूतीलेपनी पक्कै काम गरेहोला, थोरैभएपनि ।

एमाले, एकिक्रित माओवादी, संघिय समाजवादी पार्टी वा अन्य दलमा एकदमै विश्वास भैदिएको भए शायद जनताले सहानुभूति हेर्दैनथिए होला । निर्वाचनमा जनताको मन जित्ने, देशकालागि राम्रो गर्ने, जनताको सेवा गर्ने अर्को पार्टी देखेनन् र जनताले बरु कांग्रेसलाईनै मत दिए ।  हार्ने त निश्चितनै थियो, एमाओवादीले । तर जमानतनै जफत हुने भनेको चाँहीँ माओवादी जनताबाट झन पत्तासाफ हुँदै गएको संकेत हो । यसलाई माओवादीले कसरी लिन्छ ? ‘जनतालाई कुरो बुझाउन सकिएन’ भनेर ओंठे जवाफ दिँदैमा अब माओवादी सुध्रिने छैन । त्यसो भनेर पंक्षिनपनी नमिल्ला । साँच्चिनै यही अवस्था रहे अर्को निर्वाचनमा माओवादीको जमानत धेरै ठाउँबाट जफत त हुन्न ?

तपाइँको प्रतिक्रिया