आततायी सम्बन्ध
- आनन्दराम पौडेल
“अस्ति १६ गतेको प्रदर्शनमा पनि तपाईंको उत्साहबर्द्धक सहभागिता थिएन । तपाईंका अभिव्यक्तिहरु पनि अरुभन्दा फरक छ। आफ्नै मोर्चाको टीमसँग असन्तुष्ट हुनुहुन्छ कि ?” नन्दरामले सोधे ।
“तपाईंले ठीक ठम्याउनुभयो । आफ्नै मोर्चाका अरु नेताहरुभन्दा मेरा अभिव्यक्तिहरु फरक देखिएका छन् । माघ २६ गते रिपोर्टर्स क्लबमा तपाईंले मेरा कुरा सुन्नुभएकै थियो । मेरो धारणा प्रष्ट छ । एकोहोरो आफ्नै डम्फु मात्र बजाउने र उग्र र चर्का कुरा मात्र गरेर हुँदैन । हामीले जिम्मेवार बन्नैपर्छ । मैले वीचको धार पक्डेर समाधानतिर जाउँ भनेको हो । साथीहरु अति आत्मकेन्द्रित हुनुभयो । आफ्नै रागमात्र अलाप्नुहुन्छ । यही समस्या छ ।” विजय गच्छेदारले भने ।
“तपाईंले देखेको समाधानको सूत्र नेताहरुसमक्ष राख्नुभएन ?”
“मैले यो समाधानको सूत्र त्यत्तिकै बनाएको ह्वैन । निलाम्बर आचार्य जस्ता खारिएका अनुभवी राजनीतिज्ञहरु, डा.जगमान गुरुङ जस्ता समाजशास्त्रीहरु, रमेश ढुङ्गेल जस्ता इतिहासविदहरु, जयराज आचार्य जस्ता कुटनीतिज्ञहरु र बुद्धिनारायण श्रेष्ठ जस्ता भूगोलविदहरु धेरैसँग छलफल, विमर्श गरेर सर्वोत्तम निस्कर्षमा पुगेको थिएँ । यत्रो मिहेनत गरेर निस्कर्षमा पुगेको समाधानलाइ त्यत्तिकै अलपत्र किन छाड्थें ? नेताहरुसमक्ष राखें नि, किन राख्दैनथें ?
आफूलाइ मधेशवादी भन्ने नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलाइ सुनाएँ । उनीहरुले सुन्नै चाहेनन् । कत्तिपनि महत्व दिएनन् । सुन्दै सुनेनन् । ३० दलीय मोर्चाको नेता भएकोले प्रचण्डलाइ बताएँ । उहाँले निकै ध्यान दिएर सुन्नुभयो । मैले निकालेका समाधानका सूत्रहरु सुनेर प्रचण्डजी निकै प्रशन्न हुनुभयो । अहिलेलाइ सर्वोत्तम विकल्प यही हो भन्नुभयो । समाधान पहिल्याएकोमा मलाइ धन्यवाद नै दिनुभयो । ‘कांग्रेस र एमालेसँग माघ ८ गते बस्ने बैठकमा तपाईंले ब्रिफिङ गर्नुपर्छ’ भन्नुभयो । उहाँकै सल्लाहअनुसार माघ ८ गते बसेको बैठकमा मैले समाधानको प्याकेज राखें । कांग्रेस, एमालेका नेताहरुले प्रचण्डतिर नजर लगाए। प्रचण्डजीले, ‘विजय गच्छेदारजीले तैयार गर्नुभएको समाधानको यो प्याकेज मलाइ त साह्रै चित्तवुझ्यो’ भन्नुभयो । प्रचण्डजीले यति भनेपछि के सोचेर हो कांग्रेस र एमालेका नेताहरुले पनि, ‘त्यसोभए ठीकै छ । यो प्याकेजमा हाम्रोपनि सहमति छ’ भने । कुरा टुङ्गिईसकेको थियो । समाधानमा पुगिसकेका थियौं । प्रचण्डजीले एक्कासी के सोच्नुभयो कुन्नि, ‘म एकपटक राजेन्द्र महतोसँग सल्लाह गर्छु’ भन्नुभयो । कांग्रेस, एमालेका नेताहरु र म स्वयं हेरेकोहेर् यै भयौं । सबै टुङ्गो लागिसकेको, र समाधान भैसकेको बिषयलाइ उल्टाइदिनुभयो ।” विजय गच्छेदारजीले बेलिबिस्तार लगाए ।
“समाधानमा पुगिसकेको बिषयलाइ किन भताभुङ्ग पारेछन् त ? केही वुझ्नुभएन ?” नन्दरामले सोधे ।
“किन वुझ्दैनथें ? वुझें नि ! प्रचण्डजीलाइ भेट्न गएँ । उहाँले भन्नुभयो, ‘उपेन्द्र यादवजी त तपाईंको नामै सुन्न नचाहने रहेछन् । विजय गच्छेदारजीले राख्नुभएको समाधानको प्रस्ताव भन्नासाथ यो प्रस्तावको बिषयमा एक लवजपनि सुन्नुभएन । राजेन्द्र महतोले त, ‘यो विजय गच्छेदार भित्रभित्रै कांग्रेस भैसक्यो । कांग्रेसकै प्रस्ताव बोकेर आयो सम्म भने’ भनेर सुनाउनुभयो । किन यसरी झट्कारे र ठाडै निषेध गरे भन्ने सवाल, जिज्ञाशा र कौतुहलले निकै कुत्कुत्यायो । उनीहरुकै नजिकका मान्छे मार्फत् वुझ्ने प्रयास गरें । वुझ्दा थाहा भयो, विजय गच्छेदारले ल्याएको समाधानको प्याकेजलाइ स्वीकार्ने होभने विजय गच्छेदार रातारात हिरो हुन्छ । उस्को हाइट ह्वात्तै बढ्छ । तराईको राजनीतिमा विजय गच्छेदार यसरी स्थापित हुन्छकि हामीले टाउको उठाएर हेर्नुपर्ने हुन्छ । हामी साइड लाग्छौं र कर्नरतिर फालिन्छौं भनेर सोचेका रहेछन् । ल हेर्नुहोस् नन्दरामजी, यस्तो छ हाम्रो राजनीति ! र यति तुच्छ छन् नेताहरु !!” विजय गच्छेदार आज निकै भावुक भए ।
“तपाईंलाइ राजनीतिक गतिविधिप्रति वितृष्णा जागेजस्तो छ नि ?” नन्दरामले अझै कोट्याए ।
“७ बर्षअघि यही उपेन्द्र यादवले इण्डियाबाट भाडाका हत्याराहरु ल्याएर गौरमा नरसंहार मच्चाएको हैन ? माओवादीका होनहार कार्यकर्ताहरु २८ जनालाइ एकैचिहान बनाएको होकि ह्वैन ? ७ किलोमिटरसम्म लखेटी-लखेटी मारेको, लखेट्दै लगेर मन्दिरमा भोग दिएको, केटीहरुलाइ बलात्कार गरेको, बलात्कार सम्पन्न गरेर दुध काटिदिएको, योनीमा लठ्ठी कोचिदिएको सबै सम्झँदा हुलुक्-हुलुक् भएर आउँछ ।
आफ्ना कार्यकर्ता मारिएको बिषयलाइ माओवादी पार्टीले कार्यवाहीको त के कुरा चर्चाको बिषयसमेत् बनाएन । बरु तिनै आततायीसँग अङ्कमाल गरेर पो बस्यो । माओवादी पार्टीले धेरै मिहिनेतपुर्वक तैयार गरेर क्रान्तिकारी भूमिसुधार योजना अगाडी सारेको थियो । सबैले सह्राहना गरेका थिए । जब आफूलाइ तराईका स्वनामधन्य मसीहा ठान्ने र तराईका एकलौटी ठेकेदार हुँ भन्ने मधेशी नेताहरुको हातमा त्यो योजना परेको के थियो, तिनीहरुले औंलो ठड्याए र आँखा तरे । तिनीहरुले यस्सो आँखा तरेका मात्र के थिए, माओवादी पार्टी लल्याकलुलुक् भयो । फतक्कै गल्यो ।
त्यो क्रान्तिकारी भूमिसुधार योजनालाइ पोको पारेर पलङमुनि अँध्यारो कुनातिर मिल्कायो । त्यो पोका त धमिराले खाइसकेछ भन्ने सुनिरहेछु । माओवादी पार्टीको कोचीला प्रदेशको प्रस्तावमा पनि यिनै मधेशी मठाधीशहरुले आँखा तरेछन् । पुर्खौंदेखि तराईमा बसोबास गरिराखेका निर्दोष नेपालीहरुलाइ ‘पहाडे’ भनेर अनाहकमा खेद्दा माओवादी, कांग्रेस र एमालेले आजसम्म चुँईक्क बोलेका छैनन्। ” खु..इय गर्दै विजयजीले भने ।
“मधेशी नेताहरुको हर्कतप्रति क्षुब्ध हुनुहुन्छ जस्तो छ नि ?”
“अँ, भित्रभित्रै उकुसमुकुस भैराखेको छु । अब हेर्नुहोस् न, मैथिली, बज्जिका, भोजपुरी, अवधीलगायत स्थानीय मातृभाषालाइ प्रवर्द्धन गरौं भन्छु । उनीहरु सुन्दैसुन्दैनन् । स्थानीय मातृभाषाको स्थानमा हिन्दी भाषा प्रवर्द्धन गर्ने पो भन्छन् । स्थानीय मातृभाषालाइ विस्थापित गरेर हिन्दी भाषालाइ जवर्जस्ती थोपर्न पूरै कसरत गरिरहेछन् । स्थानीय मातृभाषालाइ प्रवर्द्धन गर्नपाए राष्ट्रभित्र नेपाली भाषा र अन्तर्राष्ट्रिय सम्बन्धको लागि अङ्ग्रेजी भाषा भए हामीलाइ पुग्छ भन्ने प्रस्ताव हो मेरो । पटक्कै चित्त नवुझ्ने खट्केका बिषय धेरै छन् । पछि फुर्सदमा बात मारौंला ।”
विजयजी भावुक भए, क्षुब्ध भए र दिक्दार भए । अब यहाँभन्दा बढी नगिजलुँ भन्ने लागेर नन्दरामपनि बिदा भए ।




