जोन केनेथ योजनाका लाइनएजेन्सी

आनन्दराम पौडेल  

writer-anandaram-paudelनन्दराम छक्क परे। फेसबुक चलाउँदैथिए, कहाँबाट सीके राउतजी पो च्याटमा  झुल्किए ! नन्दराम एकछिन त स्तब्ध भए । तैपनि केही जिज्ञाशा र केही  कौतुहलले कुतकुत्याएर च्याटवार्तामा सामेल भए। अभिवादन भलाकुसारीपछि सिके राउतजीसँग च्याटवार्ता गर्नथाले ।
“तपाईंलाइ मैले इमेल पठाएको थिएँ, हेर्नुभयो ?”  सीके राउतजीले च्याटमा सोधे ।
“हेरें।”  नन्दरामले जवाफ दिए ।

सीके राउतजीले एक्कैचोटी २४३ जनालाइ ग्रुपमा इमेल पठाएका थिए। मेल के भन्नु ? यो एउटा ‘कम्प्लीट’ आर्टिकल थियो । यो आर्टिकलमा उनले राज्यको कारणले अन्यायमा परेका नन्दप्रसाद अधिकारीदेखि शारदा भुसाल झा सम्मका उदाहरणहरु पेश गरेका थिए । जताततै हिंसा मच्चाउने माओवादीलाइ सरकारले शीरमै बोकेर हिंडेको छ, तर हामीलाइ दुःख दिईरहेछ भनेर लेखेका थिए । मैले लेखेको पुस्तकको बाहिर कभरमा बुद्ध, गान्धी र मण्डेलाको फोटो राखेको थिएँ, त्यस्तो कभर भएको पुस्तकपनि जफत गरे भनेका थिए। हामी आफ्नो अभियानमा हिंड्दा झोलाभरी गुलाफको फूल बोकेर हिंड्छौ र प्रहरी भेट्नासाथ फूल दिन्छौं, तर हामीलाइ नै गिरफ्तार गर्छ भनेर लेखेका थिए ।

“मेरो मेल पढनुभएकोभए यस बिषयमा तपाईंहरुले पनि केही लेखिदिनुपर्यो ।” च्याटमा सीकेजीले सोधे ।

“यस बिषयमा लेख्नुअघि मेरो केही जिज्ञाशा छन्, राखौं कि ?” “निर्धक्क राख्नुहोस् ।”
“तपाईंले पुस्तकको बाहिर कभरमा बुद्ध, गान्धी र मण्डेलाको फोटो राख्नुभयो। तर, भित्र त साँपैसाँप, डस्नलागेको गोमन साँप मात्र छ । धेरै पानामा ल्यापल्याप्ति कालकुट बिष लत्पतिएको छ । नेपाल आमालाइ तथानाम भन्नुभएको छ । अरु समुदाय, विशेषगरी पहाडे बाहुन-क्षेत्री समुदाय प्रति घृणा ओकल्नुभएको छ । अनि बाहिर कभरमाचाहीं बुद्ध, गान्धी र नेल्शन मण्डेलाको फोटो राख्नुभएको छ । यो त ‘बिष कुम्भम पयो मुखम’ भएन र ?”

“तपाईंले ठीक भन्नुभयो । अलि बढी नै घृणा, द्वेष फैलाउने काम गरिएछ कि भनेर अहिले हामीले पुनर्विचार गरिरहेछौं । तर, के गर्नु ? जनतालाइ उत्तेजित नपारी नेपालमा कुनै अभियान, आन्दोलन र क्रान्ति उठेको इतिहास छैन । आफूलाइ कम्युनिष्ट भन्ने पार्टीहरुले चर्का-चर्का कुरा गरेर ठूलाठूला सपना बाँडे । तुरुन्त गल्तिकमजोरी स्वीकारेर सच्चिएपनि, एमाले पार्टीले प्रारम्भमा थोरै हत्याहिंसा मिसाएकै हो । नेपाली कांग्रेसले पनि जनता आकर्षित गर्न ‘प्रजातान्त्रिक समाजवाद’ घोकाएकै हो । माओवादीको त के कुरा गर्नु ? पपुलिष्ट राजनीति गर्नेभएकोले जेपनि गर्न तम्तैयार भएर बसेको छ । वर्गसङ्घर्ष त उहिल्यै छाडिहाल्यो । अहिले पहिचानको आवरणभित्र जातीय, साम्प्रदायिक राजनीति गरिरहेछ। उस्लेपनि आफू स्थापित हुन ठूलै हुँडलो मच्चाउनुपर्ने रहेछ भनेर अनावश्यक हदसम्म वेतुकका हत्या,हिंसा गरेर आतङ्कको साम्राज्य नै कायम गरेको थियो । पीरो, अमीलो, तात्तातो ‘हट एण्ड सावर’ चाहिने नै रहेछ । त्यही भएर मैलेपनि चर्कै नारा बनाएको हुँ ।”

“के नेपालमा तराई मात्रै उपेक्षित, तिरस्कृत रहेको हो त ?” “ठ्याक्कै त्यस्तो त हैन। तथ्यहरु त्यस्ता छैनन् । राजमार्ग र सदरमुकाम जोड्ने राजमार्गलगायत पूर्वाधारहरु सर्वप्रथम यहीं बने । सप्तरी, टीकापुरमा नमूना शहर विकास गरियो । उद्योग, कलकारखानाहरु यहीं स्थापना भए ।
विकास-निर्माणका कार्यहरु बढी यहीं नै भए । सेती, भेरी र रापती अञ्चलका पहाडी जिल्लाहरु र सिङ्गै कर्णाली अञ्चलको दुर्दशा हेर्ने होभने त्यस्को तुलनामा तराईलाइ भाग्यमानी नै ठान्नुपर्छ ।

युएनडीपीले बर्षेनी प्रकाशित गर्ने मानव विकास प्रतिवेदनको मानव विकास सूचकाङ्क लगायत बिभिन्न सर्भेक्षणका रिपोर्टहरु हेरौं । आर्थिक हैसियतलगायत हर हिसाबले पहाडे बाहुन-क्षेत्रीहरु धेरै पछाडी छन् । पहाडे बाहुन-क्षेत्रीभन्दा नेवार,मारवाडी, मनाङ्गे, थकाली, गुरुङ र तराईका ‘फर्वार्ड ब्लक’ (राजपूत, कायस्थ, भूमिहार र ब्राह्मण) को जीवनस्तर धेरै माथि छ ।”

“त्यसोभए आरक्षण गलत ठाउँमा परेको हो त ?”
“त्यो त भर्खर गरिएका मध्यावधी समीक्षाले नै बतायो नि ! ८ बर्षदेखि आरक्षण नेपालका सम्भ्रान्त, टाठाबाठाहरुले मात्र पाइरहेछन् । नेपालमा आरक्षण जुन हिसाबले लागू गरियो, त्यो नै गलत छ । आरक्षण त सीमान्तिकृत अति दरिद्रहरुलाइ राष्ट्रको मूलधारमा ल्याउने प्रयत्न पो हुनुपर्थ्यो !

जुनसुकै जात, सम्प्रदायका होउन्, सीमान्तिकृत अति दरिद्रको हालत त उही हो नि ! फेरि, जातजातीको सूची बनाउँदा बाहुन, क्षेत्री र दशनामीलाइ ‘अन्य’ मा फाल्नु त गलत मात्र हैन अनर्थ नै हो ।” “गलत हो भन्ने जान्दाजान्दै तथ्यलाइ पन्छाएर र तथ्यलाइ मोडेर किन यस्तो उल्टोपाल्टो काम गरेका होलान् ?”

“तपाईंले सन् १९९९ मा प्रकाशित भएको ‘अर्फन्ज अफ दि कोल्ड वार’ पुस्तक पढ्नुभएको छ ? सिआइए का पूर्वअफिसर जोन केनेथले लेखेका हुन् । उनी दक्षिण एसियामा कार्यरत रहँदा उनले अमेरिकन सरकारलाइ एउटा रिपोर्ट पेश गरेका रहेछन् । नेपालको राजनीतिलाइ आफ्नो लाइनमा ल्याउनको लागि अर्थोक केही गर्नुपर्दैन, मात्र राजनीतिलाइ जात, सम्प्रदायमा हुलिदिए पुग्छ भनेका रहेछन् । जोन केनेथको प्रस्ताव अनुसार नै अहिले पश्चिमाहरुले, (१) कम्युनिष्ट आन्दोलन सखाप पार्न, (२) चाइनाविरुद्धका योजना अघि बढाउन र, (३) क्रिश्चियन धर्म प्रसार गर्नको लागि नेपालमा कम्युनिष्ट पार्टीका नेताहरुलाइ प्रयोग गरेर यही योजना अघि बढाइरहेका छन् ।”

“तपाईंलाइ त सबै छर्लङ्ग थाहा रहेछ । तपाईंले हामीलाइ इमेल पठाउनुभयो । च्याटपनि गर्नुभयो । हामीबाट के अपेक्षा राख्नुभएको छ ?”  नन्दरामले सोधे । “तपाईंलाइ थाहै छ । मलाइ युरोपियन राष्ट्रहरुले राम्रो सहयोग गरिरहेछ । डेनमार्कलगायत राष्ट्रका राजदूतहरु त मलाइ खोज्दै तराईमा म बसेको ठाउँमै आए। साढेतीन बर्षअघि सम्बैधानिक सम्वाद केन्द्र, बानेश्वरमा जुन सेमिनार आयोजना गरेको थिएँ, त्यो युएनडीपीकै सहयोगमा भएको थियो । दमननाथ ढुङ्गाना, मल्ल के सुन्दर, पद्मरत्न तुलाधरजीहरुले खुलेरै सहयोग गरिरहनुभएको छ । तपाईंहरुले पनि मेरो पक्षमा एकथोपा सहानुभूति र दुई शब्द राखिदिनुपर्यो भन्ने आशय हो ।”  सीके राउतजीले च्याटमा लेखे ।

जरुरी काम परेर होला, सीकेजीले च्याट बन्द गरे ।

तपाइँको प्रतिक्रिया