इतिहास च्यात्ने, पुर्खालाइ थुक्ने
● आनन्दराम पौडेल
बिहान चारैवजे उठेर ध्यानमा बस्ने उनको रुटीन नै बनेको थियो । तर, आज किन हो ध्यान लागेन। ध्यान गर्न लाग्योकि एउटा आकृति सामुन्ने आएर ढसमस्स बसिदिन्थ्यो । ध्यानकै वीचमा कृष्ण सिटौलाजीले, “तपाईं को हो ?” भनेर सोधे । मन्द मुस्कानसहीत आकृतिले भन्यो, “मलाइ चिन्ने कोशीस गर ।” कृष्ण सिटौलाजीले निकै कोशीस गरे, सम्झे, तर सकेनन् । एकछिनपछि आकृति आफैंले भन्यो, “तिमीले चिन्न सक्दैनौ । म पृथ्बीनारायण शाह हुँ ।” कृष्णप्रसाद सिटौलाजी एकछिन वाल्ल परे । सम्हालिएर सोधे, “कुन उद्देश्यले पाल्नुभएको होला ? मेरो लायक केही सेवा थियो कि ?” “तिम्रो लायक सेवा छैन । तिमीलेचित्त दुःखाउने काम गरेका छौ ।” पृथ्बीले बिषय प्रवेशको दैलो उघारे ।
“चित्त दुःखाउनेसम्मको के काम गरें हजुर मैले ?” सिटौलाजीले स्वाभाविक जिज्ञाशा राखे ।
“तिमी गृहमन्त्री हुँदा पृथ्बीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउनआवश्यक छैन भनेर क्याबिनेटमा प्रस्ताव लग्यौ । तिमी आफैं इतिहास मेट्न अघिसर्यौ । यससँगै एउटा अभियान अघि बढ्यो । मलाइ राष्ट्रिय खलनायक सिद्ध गर्ने कोकोहोलो मच्चाइयो । शालीकहरु तोडिए ।” पृथ्बीले बिषयप्रवेशको व्याख्या गरे । सिटौलाजीले टाउको हल्लाएर मौनस्वीकृति जनाए ।
पृथ्बीले भन्दैगए, “कसैको पनि कर्म र प्रयासको मूल्याङ्कन गर्दा तत्कालीन युग, समय र कालखण्डको सन्दर्भमा गर्नुपर्ने होकि ह्वैन ? २५० बर्षअघि भएका कर्म, प्रयास र अभियानलाइ अहिलेको यो एक्काइशौं शताव्दीको दृष्टिकोण अनुसारमिलेन भन्नु सरासर अत्याचारपूर्ण मूल्याङ्कन होकि ह्वैन ? त्यसबेलाका जनसमुदाय, समाज र राष्ट्रको मनोविज्ञान के थियो ? जनताले राज्यव्यवस्था कसरी चलोस् भन्थे ? आफ्नो राजा कस्तो होस् भनेर सोच्थे ? अहिलेको वर्तमान नजरले हेरेर मिल्छ र ? त्यसबेला रायव्यवस्था धर्मअनुसार चलोस् र पापीविरुद्ध खडा रहोस् भनेर जनताले चाहन्थे । आफ्नो राजा शूरवीर होस्, राज्यविस्तार गरोस् भन्ने चाहना हुन्थ्यो ।”
सिटौलाजीले मन्त्रमुग्ध भएर सुन्दैथिए । आकृतिले अगाडी भने, “सेनामेनालाइ युद्धमा पठाएर सिंहासनबाट फरमान जारीगरी बस्ने राजा म थिइन । हरेक युद्धमोर्चामा म अग्रपङ्क्तिमा रहें । राज्यविस्तारको सद्प्रयास मेरो पिताजी नरभूपाल शाहले पनि नगरेको होइन । शुरुमै नुवाकोटेबाट पराजित हुनुपरेपछि उहाँ अघि बढ्न सक्नुभएन । हामी कतिसम्म हेपिएका थियौंभने आफ्नै ससुराली मकवानपुरमा आफ्नै जेठान दिग्बन्धन सेनले यति खिसिट्युरी गर्यो कि खपिनसक्नु भएर दुलहीसमेत् नलिई वीचमै हिंडिदिएँ । युवराज छउन्जेल हामी विपन्न र अभावमै थियौं । राजा भएपछि मैलेपनि सर्वप्रथम नुवाकोटमै आक्रमण गरेको थिएँ । तैयारी नपुगेकोले ठाडै पराजय भोग्नुपर्यो । वीसे नगर्चीसँग मेरो दोस्ती थियो । गाह्रोसाह्रो, अप्ठेरो, समस्या परेमा उसैसँग सरसल्लाह गर्थें । उस्ले भन्यो, शस्त्रअस्त्र जोड्नुपर्छ । त्यस्को लागि धन कलेक्शन गर्नुपर्छ । सबैलाइ बोलाएर सहयोगको आव्हान गर्नुहोस् । म आफैं १ रुपैयाँ प्रदान गर्नेछु र अरुलाइ पनि उत्प्रेरित गर्नेछु भन्यो ।
उसैको योजना अनुसार धन जम्मा भयो । त्यही धन लिएर म बनारस गएँ । त्यता भारतका राजारजौटाहरुको स्थिति अध्ययन गरें, र आवश्यक शस्त्रअस्त्र खरिद गरेर ल्याएँ । सेना विस्तार गरें । सुद्ढ गरें । युद्धअभ्यास गराएँ । सबै तैयारी गरेर विसं १८०१ असोजमा नुवाकोटमा पुन आक्रमण गरें । नुवाकोटमा विजय प्राप्त गरेपछि सबैले नुवाकोट गोर्खामा बिलय भयो भने । तर, मैले नुवाकोटलाइ नै मुख्य राजधानी बनाएर गोर्खालाइ त्यस्को अङ्ग बनाएको देखी सबै छक्क परेका थिए । काठमाडौं, पाटन र भादगाउँका मल्ल राजाहरु आपसमा झगडा गरिरहन्थे । पाटनका राजा त पाँचजना भारदारहरुको खेलौना बनेका थिए । एक बर्षमा ६ जना राजा फेरिएका थिए ।
जयप्रकाशलाइ मद्दत गर्न ब्रिटीश फौज आएको थियो । जुक्तिबुद्धि लगाएर त्यस्लाइ सिन्धुलीमाढीबाटै धपाउन सफल भएका थियौं । त्यसैले, यी तीनवटा राज्यमा विजय प्राप्त गर्न युद्ध नै गर्नुपरेन । काठमाडौंमा विजय भएपछि राजधानी पुन काठमाडौंमा सारें । गोर्खा, नुवाकोट भन्न छाडेर नेपाल अधिराज्य भन्नथाल्यौं। कीर्तिपुर एउटाचाहीं अलि सुदृढ राज्य थियो । कीर्तिपुरका राजाले, युद्ध नगरौं बरु सम्झौता गरौं भनेर दूत पठाए । विश्वास गरेर हामी गयौं । तिनीहरुले त षडयन्त्र पो गरेका रहेछन् । धोका दिएर एक्कासि आक्रमण गरे। हाम्रा वीर योद्धाहरु अनाहकमा मारिए ।
मकवानपुर सर गर्ने बेलामा मकवानपुरलाइ मद्दत गर्न बङ्गालबाट मुस्लिम फौज आएको थियो । त्यस्लाइ बाटैबाट लखेट्न सफल भएका थियौं । मुस्लिम फौजलाइ धपाएपछि मकवानपुर राज्यमाथि विजय गर्न सहज भयो । मकवानपुर विजय गर्नासाथ नारायणीदेखि कमलासम्मको भूभाग नेपालमा गाभियो । मकवानपुर जस्तो साधनस्रोतसम्पन्न राज्यमाथि सजिलै विजय प्राप्त गरेकोले छिमेकी राज्यहरुमा जवर्जस्त सन्देश प्रवाह भयो । कोसी तरेर अघि बढ्नलागेका थियौं । हामी कोसी तरुञ्जेलमा चौदण्डी राज्यका राजा र भारदारहरु भागेछन् । चौदण्डीबाट विजयपुरतिर जाँदैथियौं, त्यहाँका राजा र देवानहरु सबै भागिसकेछन् । त्यसैले, पूर्वतिर कहींपनि युद्ध नै गर्नुपरेन ।”
धमीलो-धमीलो आकृतिमा देखिएका पृथ्बीनारायण शाह शालीकजस्तै लाग्थे ।सिटौलाजीको प्रतिकृया नपर्खी एकोहोरो बोलिरहेका थिए । र, सिटौलाजी पक्कपरी ध्यानमग्न भएर सुनिरहेका थिए । पृथ्बी भन्दैगए, “दोस्रो विश्वयुद्धमा जर्मनले रुसमाथि आक्रमण गरेको बेलामा रुसका तत्कालिन शासक स्टालिनले, ‘इभानलगायतका जारहरुले एकीकरण गरी खडा भएको यो रुसी राष्ट्रलाइ जोगाउन आज सम्पूर्ण रुसीहरु एकजुट हुनुपर्ने बेला आएको छ’ भनेर राष्ट्र एकीकरण गर्ने जारहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
जर्मनीमा राजा ओटो फन बिस्मार्कले सन १८६० देखि १८९० सम्म धेरै राज्य गाभेर जर्मनलाइ एकीकरण गरेका थिए । तिनलाइ पछिल्ला सरकारहरुले आजपर्यन्त सम्मान गरिरहेका छन् । इशापूर्व तेस्रो शताव्दीमा चीन वरिपरी रहेका सातवटा ठूला राज्यहरुलाइ युद्धमा जितेर एकीकरण गरी शक्तिसाली चीनको जग बसाल्ने चीनका सम्राट चीन सिह हाङतीलाइ चीनमा अहिलेसम्म पनि उच्च सम्मान गरिन्छ ।”
पृथ्बी बोल्दाबोल्दै टक्क रोकिए । यही मौका पारेर कृष्ण सिटौलाले विनम्रभावमा भने, “तपाईंले आगोजत्तिकै सत्य ओकल्नुभयो । २०६२ र २०६३ मा मेरा नेता गिरिजाप्रसाद कोइरालाभित्र माओवादीलाइ लोकतान्त्रिक प्रकृयामा ल्याएको जस लिने एउटा ठूलो महत्वाकांक्षा जागेको थियो । त्यसैले, राष्ट्रकै मूल्य चुकाएर भएपनि माओवादीका बालहठ सबै पूरा गर्ने र त्यस्को लागि हुँदो नहुँदो सबैथोक गरिदिने भएका थिए । गिरजाबाबुले मलाइ झापाको क्षेत्रीय नेताबाट तानेर राष्ट्रिय नेता बनाइदिनुभएको थियो । उहाँप्रति कृतज्ञ हुँदाहुँदै म पूरै गोटी बन्न पुगें । मलाइ क्षमा गरिदिनुहोस् ।”
सिटौलाजीले त्यति भनेर दुबै हात जोडेर झुके । त्यतिञ्जेलमा आकृति अलप भइसकेको थियो ।




