पेरिसका हमलाकारी फेला पारेको दाबी
पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रिकामा हमला गरेका हमलाकारीहरू फेला पारेको दाबी गरिएको छ । पेरिसबाट करिब ५० किमी पार रहेको सेना ए मार्न क्षेत्र (अन्चल जस्तो) को दामर्ताँ अँ गोएल भन्ने ठाउँमा फेला पारेको दाबी गरिएको हो । त्यहाँको एक औधोगिक क्षेत्रको एक भवनमा लुकिरहेको अवस्थामा फेला पारेको प्रहरी स्रोतलाई उल्लेख गर्दै फ्रान्सेली मेडियाले जनाएका छन् । उनीहरूले त्यहाँ पनि एउटा निजी गाडी कब्जामा लिएपछि गाडी लुटिने ब्यक्तिले आतंककारीको अनुहार पहिचान गरि प्रहरीलाई खबर गरिदिएको थियो । गाडी लुटेको क्षेत्रमा सुरक्षाकर्मीले हमलाकारीको खोजी गर्दै जाँदा फेला परेका हुन् ।
अहिले त्यहाँ कम्तिमा पाँच वटा हेलिकोप्टरले निगरानी गरिरहेका छन् । हमलाकारी लुकेको भवनको माथि हेलिकोप्टर स्थिर राखेर निगरानी गरिएको छ । सुरक्षा निकायले त्यहाँका वासिन्दालाई घरबाट ननिस्कन आव्हान गरेको छ । बासिन्दाहरूलाई झ्यालतिर नहेर्न भनेका छन् । अहिले हातहतियारले सुसज्जित हजारौं सुरक्षाकर्मी त्यहाँ परिचालित गरिएको छ । अपरेशनकालागि चार सय सुरक्षाकर्मी तैनाथ छन् । त्यसमध्ये दुई सय जना अग्र पंक्तिमा गएर हमला गर्न सक्ने छन् । तिनलाई पक्राउ गर्न आवश्यक सुरक्षा अवस्था मिलाउन लागिएको हो । ति अब कतैबाटपनी भाग्न नसक्ने अधिकारिहरूले दाबी गरेका छन् । सेना ए मार्नपनि ठूलो संख्यामा इस्लाम धर्मावलम्भीहरूको बसोबास भएको क्षेत्र मानिन्छ ।
(फोटो- आर टि एल)




