कता गए आतंककारी ? के भैरहेछ फ्रान्समा ?
पेरिसको ११ नंवर वडामा हिजो आतंककारीहरूले हमला गरेर पत्रकारसहित एक दर्जनको हत्या गरे । सरकारले हमलाकारीको खोजी गर्न ३० हजार सुरक्षाकर्मीलाई बिभिन्न स्थल, जिम्मेवारी र हेलिकोप्टरबाटसमेत खोजी गर्नेगरी तैनाथ गरेको छ । उनीहरूले चार पटक गाडी बदलेर भागेका थिए । पेरिसको पोख्त द पँताँ (पेरिसबाहिर निस्किने मुख्य द्वार वा नाका मध्येको एक) मा निजी गाडीमा हमला गरेर आफू चढेको गाडी त्यहिँ छोडी त्यहाँ गाडी खोसेर त्यसमा भागेका थिए । त्यसपछि उनीहरू भिल पाँत भन्ने ठाउँ पुगेका थिए । त्यहाँबाट पेरिसको करिब पाँच सय किमीमा रहेको राँस शहर पुगेको आशंका सुरक्षाकर्मीले गर्यो । भिल पाँत र पोख्त द पँताँ भन्ने ठाउँ धेरै आप्रवाशीहरु रहेको र त्यसमापनि मुसलवान समूदाय बढी रहेका क्षेत्र हुन् । आतंककारी हमलाकारी मध्ये दुई जना दाजुभाईको परिचय पत्र फेला पारिएको छ । तिनले गाडीमा झुक्किएर छोडेको प्रहरीले फेला पारेको हो ।
यिनै हुन् हमलाकारी
दुई जना मुख्य हमलाकारी यिनै हुन् । दाजु ३४ वर्षका सैद कुवाची र भाई ३२ वर्षका सरिफ कुवाची । यिनीहरू एईन भन्ने ठाउँ पुगेको पत्ता लाग्यो । उनीहरू सानो पेट्रोल पम्पमा केही खाने कुरा लिन पुगेका थिए । पासालेलाई धम्काएका थिए । त्यसपछि पसलेले प्रहरीलाई खबर गरिदियो । पसलमा सिसिटिभी राखिएकोले यिनको गतिबिधि र खैरो रंगको गाडी पहिचान गर्न सजिलो भयो । यिमध्ये दाजु इराकमा अमेरिकी हमला हुँदा जिहादमा संलग्न भएकोपनि पत्ता लागेको छ ।
जेहोस पेरिसको पूर्वी भागतिर लागेको आशंका गरेपछी राँस वरिपरि हजारौं सुरक्षाकर्मी परिचालन गरियो । हतियारसहितको हेलिकोप्टरलेपनि आकाशबाट निगरानी गर्यो । तर हमलाकारीहरू हालसम्म पक्राउ परेका छैनन् । आज बिहानको खबर अनुसार हमलकारीहरू एइन्यिँयँ (Aisne) भन्ने ठाउँमा पुगेको सुरक्षा निकटको स्रोतलाई उल्लेख गर्दै फ्रान्सेली टिभीहरूले बताएका छन् । हमलाकारीहरू तीन जना रहेको र तिनमध्ये दुई जना दाजुभाई रहेको बताइएको छ । उनीहरू नभागुन् भनेर फ्रान्ससित सीमा जोडिएका सबै क्षेत्रमा जाँचबुझ र उच्च सतर्कता अपनाइएको छ । खासगरी ती हमलाकारीहरू सिरियातिर जान सक्छन् की भन्ने आशंका गर्नेहरुपनि छन् ।
के भैरहेछ फ्रान्समा ?
यो घटनापछि सरकारले पेरिसको आइफल टावर, स्कूल, क्याम्पस, मुख्य चोक, ठूला ब्यापारिक केन्द्र, ऐतिहासिक स्थलहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अहिले पेरिसको नोर्थ दाम भन्ने अन्तर्राष्ट्रिय स्तरमै प्रसिद्द गिर्जाघर आगाडी हजारौं मानिसहरू भेला भएर श्रद्दान्जली गरिरहेका छन् । यसमा मुसलवान समूदायकोपनि संलग्नता छ । उनीहरू त्यहाँ भेला भएर मुसलवान समूदाय र मुस्लिम धर्मका नाममा बदनाम गरेको भन्दै यो आक्रमणको भर्त्सना गरेका छन् । फ्रान्सका मुख्य फूटबल मैदान, स्कूल, सार्वजनिक चोक र ऐतिहासिक स्थलमा ठाउँ ठाउँमै नागरिकहरू भेला भएर यो घटनाको बिरोध र सार्ली हेब्दोका पक्षमा आफ्नो समर्थन् जनाएका छन् । श्रद्दान्जली अर्पण गरिरहेका छन् । आज पेरिसको मुख्य प्रहरी कार्यालयमा राष्ट्रपती फँस्वा ओलँद सहितका उच्च सरकारी अधिकारि गएर प्रहरीहरुसँगै सात मिनेट मौनधारण गरे । यस्ता मौन धारण फ्रान्सका संचार गृह र अन्य कार्यालयमापनि आयोजना गरिएको छ । आज फ्रान्सभरिनै हमलाको बिरोध र म्रितकहरूको आत्मा शान्तिको कामना गरियो । फ्रान्सका सबै क्षेत्रमा कम्तिमा तिनको संझनामा एक मिनेट मौन धारण गरियो ।
आगामी आइतवार फ्रान्सेली राष्ट्रपती सहित मुख्य नेताहरू उपस्थित भएर मौन धारण गर्ने र राष्ट्रिय एकता प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । सबै दल, नेता र मेडियाहरूले यो घटनालाई फ्रान्सेली सभ्यता र राष्ट्रमाथि युद्द छेडिएको भन्दै राष्ट्रिय एकतामा एक हुन आव्हान गरेका छन् ।
राष्ट्रिय एकतामा एक
प्राय फ्रान्सका नेता, राजनीतिक दलपनि अन्य मुद्दा र घटनामा सरकार र सरकार सन्चालन गर्ने दललाई दोष लगाउँथे । गाली गर्थे र सरकार सन्चालन गर्ने दललाई खुइल्याएर कमजोर बनाउन खोज्थे । तर यो घटनामा भने फ्रान्सका सबै मुख्य पार्टी र तिनका नेता एक ठाउँ उभिएर भनेका छन् – यो हाम्रो समानता, मानव अधिकार, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार, फ्रान्सेली संस्क्रिति, सभ्यता, प्रजातन्त्र र समग्रमा आफ्ना नागरिकमाथिकै हमला हो । यसलाई गम्भिरतापूर्वक लिएर कदम चाल्नुपर्छ ।
हिजोको घटनापछि फ्रान्सका सबैजसो मेडिया यहि घटनामा केन्द्रित भएका छन् । आज निस्किएका सबैजसो मेडियामा ‘ज सुइस सार्ली, आसासिनास्सियों सार्ली, आसासिनाँसियो फ्रेस आताक फ्रेस, सेक्युरिते अँ दँजे, आताक आँसुपोख्ताब्ल’ जस्ता शिर्षक राखेर त्यहि घटनामा केन्द्रित भएका छन् ।
फ्रान्सेलीहरूले यो घटनालाई कति गम्भिररुपमा लिएका छन् भन्ने हिजोको तिनको सक्रियता, संलग्नता र चिन्ताले देखाउँछ । यो घटना भएको खबर सुन्नासाथ हिजो पेरिसको स्वतन्त्रताको प्रतिक रहेको प्लास दला रेपुब्लिकमा १५ हजार नागरिक भेला भएर दु:ख मनाउ मात्रै गरेनन की सरकारको आलोचनापनि गरे । श्रद्दान्जली अर्पण गरे । त्यसैगरी फ्रान्सको लियों शहरमापनी १५ हजार नागरिक भएला भएर राष्ट्रिय एकता र फ्रान्सेली नागरिकको एकता देखाए । यस्ता जमघट लिल, बोर्दो, मासेई, ग्रनोब्ल लगायत १६ वटा शहरमा भए ।
हिजो बिहानको साँढे एघार बजे गाडीमा आएका आतंककारीले आधुनिक हतियारसहित हमला गरे । ढोकाबाट सिधै दोस्रो तलामा रहेको सार्ली हेब्दोको कार्यालय पसेर सिधै उनीहरू निर्देशकको कोठामा गएका थिए जहाँ सम्पादकिय क्षेत्रका पत्रकार र कर्मचारीको बैठक चलिरहेको थियो । त्यहाँ रहेका सार्ली हेब्दोका सम्पादक स्तेफान सार्बोनिए सहितका पत्रकारमाथी गोली हानेका थिए । उनीहरूले सम्पादकसहित मुख्यरुपमा रहेका चार पत्रकारलाई पहिलो निशाना बनाएकाले सबै तथ्य बुझेर योजनाबद्दरुपमा आएको देखियो । उनीहरू करिब दश मिनेटमै १२ जानाको हत्या र ११ जाना घाइते पारेर भाग्न सफल भएका थिए ।
यस अघि दुई पटक यो कार्यालयमा हमला गरिसकेकाले सरकारले सुरक्षा दिँदै आएको थियो । त्यहाँ सुरक्षाकालागी खटिएका दुई सुरक्षाकर्मीलाई उनीहरूले गोली हानेर मारिदिए । आतंककारीको हमलामा नपरेपनि अकस्मात भएको रक्तपातपूर्ण द्रिष्यले गर्दा घाइते र अन्य बिरामीहरु मानसिकरुपमा बिरामी र कमजोर देखिएको अस्पत्तालका चिकित्शकहरूले बताएका छन् ।
आतंककारीहरूले यो सार्ली एब्दो भन्ने मेडिया कार्यालयमा यस अघि दुई पटका आक्रमण गरिसकेका थिए । यस अघि रातको समयमा आक्रमण गरेर कार्यालयको भौतिक क्षति गरेका थिए । पत्रीका र सरसामान मिल्काउने र आगो लगाइदिने गरेका थिए । हिजो चाहिँ साह्रै योजनाबद्द ढंगले आएको देखियो ।
सरकारको आलोचना
यस अघि दुई पटकसम्म आक्रमण गरेकाले मेडियालाई उचित सुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचनापनि गरिएको छ । पटक पटक हमला भैसकेको, अलकाईदा र अन्य इस्लामिक समूहले आक्रमणको धम्की दिईरहेको । सार्ली एब्दोका सम्पादक सार्बोनिए सहित केहीलाई उच्च सुरक्षा दिईरहेको र सार्ली एब्दोले इस्लामिक धर्म गुरुका अनेक कार्टुन बनाएर आलोचना गरिरहेको अवस्थामा सुरक्षा ब्यवस्था बलियो बनाउन नसकेको भन्दै आलोचना भएको हो । तर यो घटना अन्यत्र नमोडियोस र राष्ट्रिय एकता नखल्बलियोस भनेर तत्कालकालागि यो पाटोलाई उचित प्रचारमा आउन दिईएको छैन । मेडिया र पार्टीहरुलेपनी यसमा सतर्कता र संयता देखाएका छन् ।
तर पूर्व गृह मन्त्री सार्ल पास्काले हिजोको एक टेलीभिजन बहसमा ‘सुरक्षाकर्मीलाई उच्च स्रोत साधनले युक्त बनाउनुपर्ने, सधैं उच्च सतर्कता अपनाउनुपर्ने, सुरक्षा निकायले सुरक्षा ब्यवस्था चुस्त राख्न गरेका माग सरकारले पूरा गरिदिनुपर्ने र बिभिन्न सरकारी र सामाजिक कारणले आफूहरूलाई एक्ल्याइएको, बेवस्था गरेको मुस्लिम युवाहरूको मनोभावनालाई जित्न नितिहरुमा सुधार गर्नुपर्ने’ भनाईलेपनि सरकारको केहि कमजोरीलाई औंल्याउँछ ।
फ्रान्सेली भावना
यो घटनालाई मुसलवान समूदायले आतंककारी हमला र मुसलवान समूदायको कुनै संलग्नता र समर्थन् नरहेको भन्दै बिरोध जनाएपनि फ्रान्सेलीहरूको नागरिक तहबाट सद्भावना पाउन सकेको देखिन्न । धेरै फ्रान्सेलीहरूले मुसलवान समूदायलाई फ्रान्सेली सरकारले पालेको, तिनलाई समर्थन् दिएको, फ्रान्सले गुन लगाएको र फ्रान्सेलीसरह ब्यवहार गरेपनि मुसलवानहरू फ्रान्सेली बिरुद्द देखिएको भन्दै बिरोध गरेका छन् । प्रस्ट बिरोध गरेको नदेखिएपनि यो घटनाबाट मुसलवान सदूयप्रती उनीहरू अब सरकारले कडा निति बनाउनुपर्ने मानसिकता बनाउँदै छन् । केहिले हाकै भनेका छन् ‘फ्रान्स मुसलवानहरूको मनपरी गर्ने थलो होईन । हाम्रै थलोमा बसेर, फ्रान्सेलीले आदर गर्दागर्दैपनि हामीबिरुद्द हमला गर्ने थलो होइन, यसलाई अब हामी पचाउन सक्दैनौं । फ्रान्सले मुसलवान समूदायलाई पाल्ने काम नगरोस् ।’
इस्लामिक समूदायको आक्रमण फ्रान्समा किन र कहिलेदेखि बढ्यो ? नेपालप्लसको आगामी लेख प्रतिक्षा गर्नुहोला ।
(तस्विरहरू बिभिन्न फ्रान्सेली मेडियाको इन्टरनेट साईटबाट लिएको हो-नेपालप्लस)










