रिसाएको बाहुनले बेद पढ्दैन
- आनन्दराम पौडेल
“के चुनावी घोषणापत्रमा उल्लेखित बिषयहरु केवल हल्ला गर्नको लागि मात्र हुन् ?” नन्दरामले सोधे ।
“हल्ला गर्नको लागि नहोस्। कामै गरेर देखाउने हो भनेर पोहोर निर्वाचनअघि हामीले “घोषणापत्र” नभनि “प्रतिवद्धतापत्र” भन्यौं । त्यो भनेको राष्ट्र र जनतासामु हाम्रो प्रतिज्ञा नै थियो ।” प्रचण्डले जवाफ दिए ।
“त्यो प्रतिवद्धतापत्रमा तपाईंहरुले कुनैपनि हालतमा ६ महिनाभित्र स्थानीय निर्वाचन गराउनैपर्छ भन्नुभएको छ । तर, तपाईंहरु त गत पुसदेखि नै स्थानीय निकायको निर्वाचनविरुद्ध उभिनुभयो । यस्ले त तपाईंहरु एकथोक भन्नुहुन्छ तर गर्नेबेलामा अर्थोकै गर्नुहुन्छ भन्ने वुझाउँदैन र ? ” नन्दरामले खोतले ।
“सरसर्ति हेर्दा तपाईंले भनेजस्तै देखिन्छ र वुझिन्छ । तर, स्थिति परिवर्तन भएसँगै परिवर्तित स्थितिको सन्दर्भमा मात्र यथार्थ वुझिन्छ । परिवर्तित स्थितिको आलोकमा हेर्ने बानि नभएकोले यो समस्या भएको हो ।” प्रचण्डले आफ्नै ढङ्गले व्याख्या गरे ।
प्रचण्डले के भन्न खोजेका हुन् नन्दरामले छेउटुप्पो केही वुझेन । सिद्धान्त, दर्शनबाट निर्देशित भएर एउटा बाटो र दिशा पक्रि निश्चित् गन्तव्यतिर गैरहेको यात्रीको बिषयमा पो सजिलै अनुमान लगाउन सकिन्छ । सैद्धान्तिक आधारभूमि छाडेर बाटो र दिशा नै भुलेको यात्रीको बिषयमा कस्ले अनुमान लगाउन सक्छ र ? नन्दरामलाइ सकस भयो । सकस भएपनि नन्दरामले छाडेन । सोध्यो, “स्थिति सोचेभन्दा फरक परेको देखिनासाथ प्रतिज्ञा तोडिदियौं, प्रतिवद्धतापत्र च्यातिदियौं भन्नखोज्नुभएको होकि के हो ?”
“करिब-करिब त्यस्तै हो ।” प्रचण्डले स्वीकारे ।
“कुन स्थितिमा परिवर्तन आयो र ?”
“ल किन आएन ? अघिल्लो सम्बिधानसभामा प्रत्यक्षतर्फ हामी वहुमतमै थियौं । समानुपातिकसमेत् जोड्दा पनि वहुमतको नजिक-नजिकै थियौं । त्यो स्थितिमा भएको पार्टीलाइ जनताले विचार पुर्याएर सके दुईतिहाई नभए पूर्ण वहुमतमा पुर्याइदिनु पर्दैन ? जनताले यति विवेक त पक्कै राख्लान् भनेर सोचेका थियौं । सोचेको मात्र हैन, पक्कापक्कि ठानेर विश्वास गरेका थियौं । तर, के गर्नु ? जनताले कुरै वुझेनन्। स्थिति उल्टाइदिए। जनताले स्थिति पल्टाइदिएकाले हामीले पनि प्रतिज्ञा थन्क्याइदियौं ।” प्रचण्डले भित्री कुरो नै खोले ।
“त्यही प्रतिवद्धतापत्रमा तपाईंहरुले सहमतिको बिषयमा गज्जबको प्रतिज्ञा गर्नुभएको छ । ‘अघिल्लो सम्बिधानसभामा सहमतिको रटान लगाउँदालगाउँदै सम्बिधान जारी गर्न सकिएन । सम्बिधानसभा नै भङ्ग भयो । राष्ट्रलाइ अपूरणीय क्षति भयो । अब यो सम्बिधानसभामा हामी सहमतिमा अल्झेर र अल्मलिएर बस्नेछैनौं । लोकतान्त्रिक विधि र प्रकृया अनुसार अघि बढ्नेछौं’ भनेर लेख्नुभएको छ। तर, अहिले तपाईंहरु नै, ‘लौ त विधिप्रकृयातिर फर्कि त ? विधिप्रकृया अनुसार अघि बढ्छु भन् त ?’ भनेर धम्क्याइरहनुभएको छ । यस्लाइ हामीले कसरी वुझ्ने ?” नन्दरामले अर्को प्रकरण झिके ।
“यो प्रकरणलाइ पनि अघि भने अनुसार नै स्थिति परिवर्तनको सन्दर्भमा भएको हो भनेर वुझ्नुपर् यो । जनताले दुईतिहाई वा पूर्णवहुमत दिएकाभए हामी प्रतिवद्धतापत्रमा उल्लेख भएअनुसार नै अघि बढ्थ्यौं । विधिप्रकृयामै गएर भएपनि सम्बिधान जारी गर्थ्यौं। सम्बिधान निर्माणको श्रेयपनि हामीलाइ प्राप्त हुन्थ्यो । अहिले पनि विधिप्रकृयामा गयोभने त सम्बिधान जारी हुन्छ । तर, जस उनीहरुले लिन्छन् । माओवादीचाहीं एजेण्डा उठाउने तर टुङ्गोमा नपुर् याउने पार्टीमा दरिन्छ । माओवादी पार्टीप्रति जनताको भरोसा सकिने छ । हाम्रो राजनीतिक जीवन धरापमा पर्ने छ। हाम्रा अप्ठेरालाइ पनि झिदिनुपर्यो नन्दरामजी ।” प्रचण्डले मर्म, वेदना नै पोखे ।
“बिषयान्तर गरौं। तपाईंहरुले जनयुद्ध शुरु गर्नुभन्दा ७ दिनअघि ४० बुँदे माँगसहितको ज्ञापनपत्र पेश गर्नुभएको थियो । ‘भारतीय नम्बरप्लेटका गाडी नेपालमा चल्न नपाउनेगरी पूर्ण प्रतिवन्ध लगाउनुपर्छ’ भन्ने एउटा माँग थियो । डेढमहिना अघि त तपाईंहरुले सरकारलाइ अर्कै दबाब दिनुभयो । ‘भारतीय नम्बरप्लेटका गाडीहरुलाइ सहज तवरले चल्न दिनुपर्छ । उनीहरुसँग सरकारले जुन कर लिईराखेको छ त्यस्मा व्यापक कटौति गरिदिनुपर्छ’ भनेर माँग गर्नुभयो । यस्तो माँग पूरा गर्दैनौभने संसद नै चल्न दिन्न भनेर ४१ दिन संसद अवरुद्ध गर्नुभयो । सरकारलाइ झुकाएर यो समेत गरी ४ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभयो। यस्मा त स्थिति परिवर्तनको कुरो भएन नि ?” नन्दरामले बिषयान्तर गरे ।
“अब हेर्नुहोस्, अविकसित देश र पिछडिएको समाजमा जनता शक्तिको पूजारी हुँदारहेछन् । प्रतिपक्षीमाथि मनोवैज्ञानिक त्राश र दबाब दिनका लागि ठूलै देखिनुपर्ने, संख्या बढाउनैपर्ने बाध्यता पर्दोरहेछ । पोहोर निर्वाचनमा जनताले हाम्रो साइज घटाइदिए। क्षतिपूर्तिको लागि हामीले मधेशी पार्टीसँग एलाइन्स गर् यौं। उनीहरुले हामीलाइ ङ्याकेर यो माग राख्न लगाए । यो माग राख्ने, दबाब दिने र माग पूरा गराउने दृश्यमा अगाडी हामी देखियौं। यथार्थमा यो उनीहरुको माग थियो । हामी प्रयोग भयौं। सत्य यही हो। यसैगरि वुझिदिनुहोस् ।” प्रचण्डले विनम्रता दर्शाए ।
“यो त राजनीति अघि बढाउँदैलाँदा पर्नगएको गाँठो भयो । ल, यस्लाइ पनि यहीं विश्राम दिउँ। सीके राउतको केसमा पत्रकार सम्मेलन गरेर तपाईंहरुले जे भन्नुभयो त्यो अर्को अनौठो थियो । तपाईंहरुले, ‘आत्मनिर्णयको अधिकार हामीले स्थापित गरेका ह्वौं । सबैलाइ थाहा छ, आत्मनिर्णयको अधिकार भनेको देश टुक्र्याउने अधिकार नै हो । जब देश टुक्र्याउने प्रावधान हामी आफैंले राखिसकेपछि देश टुक्र्याउने अभियान चलायो भनेर सीके राउतलाइ किन कार्यवाही गरेको ?’ भन्नुभयो । यो त अलि बढी नै गम्भीर बिषय भएन र भन्या ?” नन्दरामले गम्भीर मामलामा प्रवेश गराए ।
“यो गम्भीर मात्र हैन सम्वेदनशील बिषय भन्छु । तर, के गर्नु ? रिसाएको बाहुनले बेद पढ्दैन भनेझैं झोक चलेको बेलामा वुद्धिविवेक हराउँदोरहेछ । दुईतिहाईको छेउछाउमा पुग्नुपर्ने पार्टीलाइ एक चौथाईमा झारिदिएपछि झोक चल्दैन भन्या ? ल भन्नुहोस् नन्दरामजी, तपाईं भए सहेरर बस्नुहुन्थ्यो । जे होस्, यस्लाइ झोक र आवेगको अभिव्यक्ति भनेर वुझिदिनुपर् यो।” प्रचण्डले खल्याकखुलुक् सबै निकाले ।
भएभरको खल्याकखुलुक् जम्मै निक्लिईसकेपछि नन्दरामले अरु खोतल्न आवश्यक ठानेन। विदा माँगेर हिंड्यो ।




