धम्क्याएर ल्याएको पहिचान कति टिक्ला ?
मदनक्रिष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) यतिखेर अमेरिकामा छन् । अमेरिकाका बिभिन्न शहरमा आफ्नो कला देखाइरहेका छन् । समय छैन, भ्याईन्न भन्दा भन्दैपनि त्यहाँका नेपालीले कर गरिगरि कार्यक्रम गरिदिन आग्रह गर्दै हद्दु पारेका छन् । त्यहिँ यस्ता नेपालीपनि देखिए, जसले राष्ट्रका यति चर्चित, धेरैले श्रदा, मान र आदर गर्ने कलाकारलाई अपमान गरे । त्योपनि राजनितिका नाममा । आफ्नो राजनितिक दुनो, निति र उद्देश्य सोझ्याउन । नेपालमा पहिचानसहितको संघियताबिरुद्द बोल्दैनौं भनेर जबर्जस्ति मुख थुन्न लगाएछन्, त्यहाँका अम्रिकाने नेपालीले । तर उनीहरुले सोच्नुपर्ने हो, यसरि धम्क्याएर ल्याएको पहिचानसहितको संघियता, गणतन्त्र, निति र प्रणाली कतिन्जेल टिक्छ ? कसको मनमा श्रद्दापूर्वक बस्छ ?
मह जोडीको काम राजनिति गर्ने होइन । राजनिति तिनको पेशा र उद्दमपनि होइन । नेपाली नागरिकका नाताले कुनैपनि दल, निति र ब्यवस्थालाई समर्थन गर्नु तिनकोपनि अधिकार हो । बरु साह्रै अत्याचार भएका बेला तिनले कलाकारिताको पहिचानलाइ थाँति राखेरपनि सडकमा उत्रेका छन् । सर्वसाधारणलाई जाग्रित पारेका छन् । राजनितिक दलहरुलाई उर्जा थपिदिएका छन् । जनता चुप लागेर बसेका बेला, दल र नेताहरुलाई भर नगरेका बेला राजाको शासनलाई चुनौति दिन जनता जगाउन ति हिजोपनि सडकमा उत्रेका थिए । तिनले अश्रु ग्याँस र पानीका फोहोराको गोदाई भेटेका थिए । धम्कि सहेका थिए, प्रहरीको पक्राउ ब्यहोरेका थिए ।
प्रजातान्त्रिक ब्यवस्थामा कम्तिमा लेख्न, बोल्न, मन नलागेको कुरोको बिरोध गर्न पाइन्छ भन्ने बिश्वास आम नेपालीको सँगै तिनकोपनि हुँदो हो । गणतन्त्रले केहि राहत देला, केहि सकारात्मक परिवर्तन गर्ला भन्ने झिनो आशा तिनको मनमापनि अंकुरिएको हुँदो हो । आखिर तिपनि जनताकै बिचबाट निस्किएका कलाकार न हुन् । तर तिनको त्यो सबै आशा निमोठिएको छ । तिनको अंकुरण भाँचिएको छ, त्योपनि अधिकांश अम्रिकाने नेपालीबाट । अम्रिकाने नेपाली, जो मनमा नेपाली, जन्मेका आधारमा नेपाली भएपनि अधिकांश बिदेशी बनिसकेका छन् । नेपाली प्रिय कलाकारमाथि तिनको दुस्साहस हो ।
हाकाहाकी भन्नुपर्दा बिदेशीले नेपाली कलाकारमाथि त्यसरि अपमान गर्न मिल्दैन । विकशित मुलुकमा हाइसन्चोको जिन्दगी बिताउन पुगेकाले आम नेपालीका दुखसुखमा हातेमालो गरेर, आम नेपालीझैं दुखसुख सँगै काटेर बसेका लोकप्रिय कलाकारलाई अपमान गर्ने अधिकार छैन । मह जोडी भनेका नेपालका ७० प्रतिशत भन्दा बढि जनताका प्रिय कलाकार हुन् । ति आम नेपालीका प्रिय हुन् । नेपालीको मन मनमा बसेका आदरणिय पात्र हुन् । ति सामाजिक काम गर्छन् । थुप्रै सामाजिक सन्देश दिएर समाज सुधार्न सहयोग गर्छन् । आम नेपालीलाई सहज हुँदा सहज रुपले जनताकै बिचम बस्छन् । असहज हुँदा पुलिसका लाठा र सेनाको बन्दुकलाइ अनादार गरेर सडकमा जनतासितै उत्रिन्छन् । कुनै बाद र निति, राजनितिक पार्टी र नेताका भरिया जस्ता होइनन् । तिनमाथि अनादार गर्नु नेपालीमाथिको आनादार हो । तिनको अपमान नेपालीको अपमान हो । तिनमाथिको धम्कि बिदेशी भैसकेका अर्ध नेपालीले खसोखास नेपालीमाथि दिएको धम्कि हो । यो आम नेपालीकालागि पच्दैन ।
अहिलेको गणतन्त्र ल्याउन तिनलेपनि जनता जाग्रित गरेका थिए । लाठि बुटको पर्वाह नगरि सडकमा गएका थिए । आन्दोलनमा लागेका थिए । यो गणतन्त्रले आफूलाई मन नलागेको राजनितिक प्रणालीको बिरोध र आफूलाई मन लागेको राजनितिक ब्यवस्थाको वकालत गर्ने अधिकार यदि प्रचण्ड, सुशिल कोइराला, केपी ओली, अशोक राई र कमल थापालाई दिन्छ भने मह जोडीको पनि त्यो अधिकार सुरक्षित हुनुपर्छ । तिनकोपनि अधिकार छ । जिवन शर्माले गणतन्त्रको गित गाउन पाउँछन् भने अर्को कुनै कलाकारले राजतन्त्रको गित गाउन पाउँछ । राजेश पायल राईले म राजनितिक गितनै गाउन्न भन्नपनि पाउनुपर्छ । यदि त्यो पाइन्न भने त्यो अतिबाद हो, राणा शासन हो । अतिबाद चाहिन्न, राणा शासन यो होइन ।
संविधान बनाउने बेलैमा धम्क्याउनेहरुले पछि के गर्लान् ? बहस, छलफल र मतमतान्तर भएकै बेला धाकधम्कि लगाएर हस्ताक्षर गर्नेको शासन पछि कस्तो होला ? यो घटनाके सशिकित बनाउँछ । पहिचानबादीहरुको शासन आयो भने धम्क्याएकै भरमा चलाउँछन् । कलाकारहरुको अपमान र अनादार गरिन्छ भन्ने सन्देश सहजै जान्छ ।
नेपालमा यतिखेर राजनितिक बहस, बादबिबाद र कस्तो संविधान बनाउने भन्ने चर्चा ब्यापक छ । यो बेला सबै खाले बिचार र तर्क सहतमा आउनु जरुरि छ । नेपालको लागि शासन प्रणाली, कस्तो शासकिय स्वरुप उचित होला ? आम नेपालीले बहस गर्नु पर्छ । नेपालको सय भन्दा भिन्न भाषा, लिपि, बिबिधतापूर्ण संस्क्रितिको जगेर्ना गर्ने खालको शासनप्रणाली कस्तो होला ? वर्षौंदेखि हेपिएका र थिचिएका वर्गको कसरि उत्थान, कसरि मुक्ति हुन सक्छ ? पक्कैपनि यसमा पर्याप्त बहस, छलफल र बादबिबाद हुनु स्वभाविक छ । तर कुनै दलको स्वार्थ, राजनितिक बिचार, आस्था र धम्क्याएका भरमा ल्याइन्छ भने त्यो मान्य हुन्न । धम्किका भरमा ल्याउने ब्यवस्था नेपालीकालागि चाहिन्न । कुनै खास दल, नेता र पार्टीका भरियाहरुले धम्क्याएकै भरमा लाद्न खोजेको ब्यवस्था र निति दिर्घकालिनरुपमा टिक्दैनपनि, चाहिन्न पनि ! राष्ट्रिय कलाकरको अपमान गर्नेहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद !





