आफ्नै प्रधानमन्त्री फसाउन क्या सिपालू नेपाली
नेपाली जनताको धन खर्चेर प्रधानमन्त्री अमेरिका गए । देशको प्रतिनिधित्व गरेकाले उनले राष्ट्रिय इज्जत र मर्यादाको ख्याल गर्नुपर्छ । त्यसो त प्रधानमन्त्रीले मात्रै होइन, उनका सहयोगी, नेपालबाट प्रतिनिधित्व गर्ने अन्य विशेष ब्यक्ति र सबै नेपालीले आफ्नो देशका प्रनितिधीको इज्जत, देशको इज्जत ख्याल गर्नु पर्छ । त्यसैकालागि हो, प्रधानमन्त्री कतै जाँदा प्रतिनिधी मण्डल लिएर जाने र त्यसको खर्च राष्ट्रले ब्यहोर्ने । तर सोझा प्रधानमन्त्रीलाई उनैका सहयोगी र निकटले फसाए । अमेरिकाका खुब बाठो भन्ने नेपालीले बेइज्जत गरे ।
नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्रीको हैसियतमा देशवाको करबाट उठाएको पैसाबाट खर्च व्यहोर्ने गरी औपचारिक अमेरिका भ्रमण हो उनको । त्यसैले राष्ट्रिय प्रतिनिधित्व गरेर जाने सबैले व्यवहारमा कुटनीतिक मर्यादा झल्कनु पर्छ । तर प्रधानमन्त्रीले बिदेशी प्रतिनिधीसित वार्ता गर्दा त्यो देखिएन । त्यसैले आलोचना भयो । यस्सो हेर्दा प्रधानमन्त्री कोइरालाकै कमजोरी, मनपरी जस्तो देखिन्छ । तर त्यसो होइन । सबै कुरा, मर्यादा, कूटनितिक प्रचलन नजान्ने भएकैले त प्रधानमन्त्रीसित उनलाई सहयोग गर्न, चाँजोपाँजो मिलाउन अन्य कर्मचारी जान्छन् । तिनले सबै कूटनितिक मर्यादा सिकाउने, त्यो परिस्थिति बनाउने हो । प्रधानमन्त्रीले आफूले लगेका कर्मचारी, निकटका कुरा पत्याउने, मान्ने हो । हो यहिँनिर प्रधानमन्त्रीलाई फसाएका छन् । त्यसैले यो उनको दोष हैन भन्न खोजिएको हो । उनी चनाखो हुन सकेनन्, त्यसलाई भने कमजोरी मान्न सकिन्छ ।
प्रधानमन्त्री भनेको आफैंमा एक संस्था हो । संस्था एक ब्यक्तिले जोगिन्न । सबैको कर्तब्य हो । त्यसैले सबै नेपालीले ख्याल गर्नुपर्ने विषय हो त्यो । सबै कूटनितिक, औपचारिक बिधी र मर्यादा प्रधानमन्त्रीले आफैं जान्ने भए किन उनीसित कूटनिति, सुरक्षा र अन्य विषयका ज्ञाता जानुपर्थ्यो राज्यको बजेट सकिसकि ?
(चर्पी अगाडि कुर्ने यि चाहिँ बेलायतनिवासी रहेछन्)
अरु देशका प्रधानमन्त्रीले झैं आफ्ना नागरिकसित दूरी राख्न नचाहनु, निक्ट बन्न खोज्नु, सबैलाई भेटौं, गुनासा सुनौं भन्ने सोच्नु त्यो प्रधानमन्त्रीको सदाशयता हो । त्यसैले सुशिल दाले आफ्नै बिस्तारासम्मपनि नेपालीलाई रोकेनन् । चर्पी जाँदापानि केहि समय बिलम्ब गरेर भेटे, तिनका गुनासा सुने । यो उनको सदाशयता, प्रेम र आफ्ना नागरिकप्रतिको हार्दिकता हो । यसलाई अमेरिकाका जानेबुझेका, पढेलेखेका नेपालीले दूरुपयोग गरेका छन् । चर्पी जांदापनि बाटो कुरेर बस्ने लम्पटहरुसित के गर्ने ? ब्यक्तिगत निकटता, पहुँच, संवन्ध र आफू उच्च देखाउन आफ्नै देशका प्रधानमन्त्रीलाई बेइज्जति गर्ने अमेरिकाका केहि नेपाली आलोच्य छन् । जतिसुकै विकसित, सभ्य देशमा बसेपनि, जतिसुकै ज्ञान र उच्च शिक्षा लिएपनि तिनको हैशियत, ज्ञान र सुझबुझ शुन्य छ भन्ने बुझिन्छ । त्यसैले यो मामिलामा प्रधानमन्त्री भन्दा जिम्मेवार उनका सहयोगि बनेर गएका टोलीका सदस्य र अमेरिकाकै अबुझ, लम्प्ट नेपाली हुन् । तर प्रधानमन्त्री यसबाट भविष्यकालागि सचेत भने हुनै पर्छ ।





