ज्ञानेन्द्रको हृदयाघात र बाबुरामको हृदय
- विमल नेपाल
नेपालका नेतामा हृदयाघात आतंक बढेको छ । एमाओवादी नेता पोष्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको दुई साता नबित्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यही घातले नर्भिकको शøयामा पु¥यायो । बोगटीको उपचार भएकै अस्पतालमा ज्ञानेन्द्रको उपचार भयो । बोगटी बिरामी हुँदा नेपालका धेरै नेता भेट्न गए । तर, भेट्न जानेको कित्ता फरक छ । बोगटी भेट्न गएका धेरै ज्ञानेन्द्र भेट्न गएनन्, ज्ञानेन्द्र भेट्न गएकाहरू बोगटी भेट्न पुगेका थिएनन् । यो स्वाभाविक यसकारण पनि हो कि, हरेक मान्छेका आ–आफ्नै निकट मान्छे हुन्छन् । तिनीहरू नै आफन्तलाई साह्रोगाह्रो पर्दा जान्छन् । आफन्त र शुभचिन्तक चाहिने नै यस्तै बेला हो । मान्छे चिनिने यस्तै बेला हो । बोगटी तेस्रो ठूलो दलको नेता थिए । अघिल्लो संविधानसभामा पहिलो भएको दलको नेता । परिवर्तनको निम्ति १० वर्ष सशस्त्र द्वन्द्वमा सहभागी थिए । यसअर्थमा उनलाई भेट्न समकक्षी दलका नेताहरू जानु स्वाभाविक हो । यसको अर्थ यो होइन कि, ज्ञानेन्द्र भेट्न जानु गल्ती थियो । तर, ज्ञानेन्द्र हिजो राजा थिए, अहिले आमनागरिक हुन् । एक जना नागरिक बिरामी भएर अस्पताल भर्ना हुँदा हजारौँ नागरिक र पूर्वप्रधानमन्त्रीहरूदेखि कमरेड नेता पनि भेट्न जानुले ज्ञानेन्द्रको पाइनलाई पुष्टि गर्छ । यहाँ दैनिक कति नागरिक बिरामी पर्छन् ? कति नागरिक उपचारमा पहँुच नभएर मर्छन् ? सिटामोलको चक्की नपाएर मर्ने नागरिकभन्दा ज्ञानेन्द्र महान् नागरिक हुन् । किनकि, उनी बिरामी हुँदा धेरै नेता र सर्वसाधारण भेट्न गए ।
मान्छेले कमाउने भनेकै गाह्रोसाह्रो पर्दा भेट्न आउने मान्छे हो । मलामी हो । पत्रिकामा समवेदना हो । त्यो कि त विशिष्ट मान्छेले कमाउँछ, कि साह्रै असल मान्छेले । ज्ञानेन्द्र शाह यो दुईमध्ये कुन कोटिमा पर्छन् ? विशिष्ट कि असल ? म यतातिर मोडिन्नँ । तर, इष्ट कमाउन ज्ञानेन्द्र सफल भएको सत्यलाई नकार्न सकिँदैन ।
एक जना नागरिक बिरामी भएर अस्पताल भर्ना हुँदा भेट्न जाने एमाओवादी नेता बाबुराम भट्टराईको हृदय पनि कमलो हो । जो पहिला राजतन्त्रको पक्षमा थिए, तिनीहरू ज्ञानेन्द्रलाई अस्पतालमा भेट्न जानुलाई स्वाभाविक भनियो । र, राजतन्त्रको जरो उखेल्न सशस्त्र द्वन्द्व गरेको पार्टी तत्कालीन नेकपा माओवादीका नेता भट्टराई ज्ञानेन्द्रलाई अस्पतालमा भेट्न जानुलाई निकै चासोपूर्वक लिइयो । बाबुरामले भने– म मानवीय नाताले भेट्न आएको हुँ । बाबुराम ज्ञानेन्द्र भेट्न जानुप्रति आपत्ति होइन । तर, यहाँ कति नागरिक बिरामी छन् । तिनीहरूलाई भेट्न जाने प्रकृतिको मानवीयता बाबुरामसँग छैन । तर, ज्ञानेन्द्र भेट्न जाने प्रकृतिको मानवीयता देखियो । इतिहासले नै वर्तमानको निर्माण गर्ने हो । यसअर्थमा ज्ञानेन्द्र पूर्वराजा हुन् । उनको सम्मान हुनुपर्छ । र, वर्तमानले नै भविष्यको निर्धारण गर्छ । कुनै बेला माक्र्सको नाम जप्दै ज्ञानेन्द्रको पैतालाको माटो देवीथानमा चढाउने बाबुरामको हृदयमा आएको परिवर्तनलाई पनि मान्नुपर्छ ।
बाबुरामलाई नेता बनाएको ज्ञानेन्द्रले नै हो । ज्ञानेन्द्रले ‘कु’ नगरेको भए बाबुरामको क्रान्ति टोक्नु न बोक्नुको अवस्थामा हुन्थ्यो । द्वन्द्वको गह्राँै भारी बिसाउन ज्ञानेन्द्रले चौतारी खनिदिएकै हुन् । उतिबेला प्रचण्ड, बाबुरामलाई यति छिट्टै यत्रो परिवर्तन आउला भन्ने विश्वास थिएन । तर, ज्ञानेन्द्रले तत्कालीन माओवादीलाई सघाएर गुन लगाए । त्यो गुन तिर्न माओवादीलाई गाह्रो छ । तर, बाबुरामले अस्पतालको शøयामा भेटेर अलिकति गुन तिरेका छन् ।
हुनतः प्रवृत्तिगत हिसाबमा ज्ञानेन्द्र र प्रचण्ड वा बाबुराममा खासै फरक छैन । यी दुवै तानाशाह हुन खोज्ने हुन् । विगतमा दुवैले चाहेको सत्ता नै हो । मोज नै हो । मात्रै, एउटा कम्युनिष्टको हवाला दिन्थ्यो, अर्को प्रजातन्त्रको । दुवैले आफू हाबी हुन सक्दो तिकडमबाजी गरेकै हुन् । तर, ज्ञानेन्द्रको सहयोगले अलि माथि पुगेको माओवादी अहिले दिन दुगुना रात चौगुणा खस्कँदो छ । अनि, हल्का सदासयता हुनु स्वाभाविकै हो ।
एउटा पुरानो धोको थियो– प्रचण्ड र ज्ञानेन्द्रबीच अहिलेसम्म कति पटक भेट भयो होला ? के के कुरा भयो होला बुझेर आर्टिकल लेख्ने । त्यो अझै पूरा भएको छैन । तर, बाबुरामले ज्ञानेन्द्रलाई भेटेको खबर मात्रै सुन्दा आनन्द लाग्यो । नढाँटी भनौं भने, मलाई ज्ञानेन्द्र बिरामी हुँदा खासै पीर लागेको छैन । न बोगटीको निधन हुँदा नै विछिप्त भएँ । किनभने, हाम्रा देशका नेता, नागरिक बिरामी हुनु सामान्य कुरा हो । नेता बिरामी, कार्यकर्ता बिरामी, देश बिरामी ।
वास्तवमा यो बिरामी नेताको देशभन्दा फरक पर्दैन । प्रधानमन्त्रीसमेत रहेका संविधानसभाको ठूलो दल कांग्रेसका सभापति सुशील कोइराला क्यान्सरले ग्रस्त । न बोली प्रस्ट, न काम चुस्त । महिनैपिच्छे उपचार गर्न विदेश जाँदा र नेपाल फर्केर आराम गर्दै ठिक्क ।
दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी ओलीको हालत पनि उस्तै । राजनीति भनेको म्याराथन दौड होइन भनेर पार्टी अध्यक्ष जितेका ओलीलाई पनि विदेशमा उपचार, नेपालमा आराम गर्दैमा ठिक्क । तेस्रो ठूलो दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शारीरिक रूपमा सवलजस्तै देखिए पनि निर्वाचनबाट पार्टीको साइज घटेपछि र पार्टीमा बाबुराम बाउँठिन थालेपछिको तनावले ‘बिरामी जस्तै’ । अहिले न कपालमा हालेको जेल टल्कन्छ, न मच्चीमच्ची गर्ने भाषणमा कुनै दम छ । ‘भुत्ल्याएको कुखुरा’ जस्तो भएका दाहालको दममा पनि कुनै पाइन छैन ।
हो, ठूला दलका ठूला नेता बिरामी । घाइते । र, यता पहिलो ‘बेत’ तुहाएपछि बसेको दोस्रो गर्भबाट पनि संविधान जन्मने भर छैन । गर्भवती संविधानसभामाथि नै मोज गर्दै छन्, सभासद् र नेताहरू । समयमै सकुशल संविधानको जन्म गराउने भन्दा पनि कसरी बढी मस्ती लुट्न पाइन्छ भन्ने ध्यानमा नेताहरू मस्त । सुत्केरी हुने दिन नजिकिंदै गर्दा पनि डाक्टर र वैद्यहरू त्यहींमाथि हानाथाप गरिरहेका छन् । बच्चो संविधानमाथि कसले बर्चस्व जमाउने र स्वामित्व लिने भन्नेमा नेताहरू लडाइँ गरिरहेका छन् । सबल संविधान जन्मेर हुर्केर देशका लागि केही होला भन्ने आशमा मुख बाइरहेका आशे नागरिकहरू अझ पीडामा छन् ।
संविधानको गर्भ बसाउनै निकै कठिन भएको थियो । कसले बसाउने, कुन बेला बसाउने भन्ने विवादले गर्भ बस्न ढिला भएको थियो । अझ बिहे गर्ने चाँजो मिलाउन राजतन्त्र नामक भिलेनको हत्या गर्न कथित नायकहरू (तत्कालिन सात दल र नेकपा माओवादी) एक मत भए । भिलेनको हत्यापछि संविधानको गर्भ राख्नसम्म मन मिलेका तिनीहरूले आमा र बच्चाको स्वास्थ्यको ख्यालै नगरी जबरजस्त गर्भपतन गराए । र, बल्ल अर्को संविधानसभा चुनावको दामी नाटक रचेर दोस्रो गर्भ बसाएका छन् ।
एक वर्र्षमा जन्मनुपर्ने संविधान नामक बच्चाको विकास हुन यिनीहरूले नै रोकिराखेका छन् । कहिले के ? कहिले के ? बहानामा कतै फेरि बच्चा तुहाउने खेल भइरहेको छैन भनेर नागरिक चिन्तित छन् ।
यसरी देश, नागरिक, राजनीति सबै बिरामी परेको बेला एक दुई जना कोही बिरामी पर्दा, मर्दा मलाई खासै चिन्ता लाग्दैन । बाबुरामलाई ज्ञानेन्द्रको चिन्ता लाग्नु स्वाभाविक हो । धेरैलाई चिन्ता छ । म पनि अहिले मानवताको नाताले यत्ति भन्छु, ज्ञानेन्द्रलाई चाँडो निको होस् । अरूलाई हृदयाघात नहोस् । पीर यो चाहिँ लाग्छ कि, हाम्रा नेताहरूको हृदय किन यत्ति कमजोर भएको होला !
(बुधवारको जनआस्था साप्ताहिकबाट)




