चीन हेर्दै, नेपाल सम्झँदै

आनन्दराम पौडेल

anandaram-paudel-33434चीन प्रस्थान गर्नु अघिसम्म यो पङ्क्तिकारसँग चीनको बिषयमा सामान्य र थोरै जानकारी थियो । नेपाल-चाइना मेडिया फोरमको पहल र सिएफपीडी-चाइनाको व्यवस्थापनमा १५ जनाको टोलीले जुन ८ देखि २१ सम्म चाइनाको अध्ययन-भ्रमण गरेको थियो । उक्त भ्रमणबाट प्राप्त अनुभव राष्ट्रनिर्माणको लागि समेत् उपयोगी थिए ।

अतिथिसत्कार चाइनीजहरुको संस्कार नै रहेछ । अतिथिहरुलाइ कत्तिपनि तकलिफ नहोस् भनेर विशेष ख्याल राख्दारहेछन् । यस्तो अतिथिसत्कार मैले नेपालमै भेटिएका जापानिज परिवारमा पाएको थिएँ । नेपालमा तामाङ समुदाय र तिब्बती मूलका नेपालीहरुले गर्ने अतिथिसत्कारलाइ हामी प्रशंसा गर्छौं । तर, चाइनिजहरुको अतिथिसत्कारको संस्कृति देखी-भोगी-अनुभव गरिसकेपछि यस बिषयमा उनीहरुको तुलनामा हामी फिका हुने रहेछौं ।

व्यवस्थापनमा पनि उनीहरुले अग्रगामी छलाङ् मारिसकेछन् । व्यवस्थापन चुस्त छ । जस्लाइ जुन जिम्मेवारी तोकिएको हो त्यस्ले पूर्ण तन्मय (सिन्सियर) का साथ पूरा गर्दोरहेछ । तोकिएको काममा दायाँबायाँ गर्ने र लापर्बाही गर्ने सम्भावना नहुनेरहेछ । दीर्घकालीन सोच, योजना र व्यवस्थापनकै कारणले तीन-तीन करोड जनता बस्ने वेजीङ, सङ्घाई र सवादुई करोड जनता बस्ने सुचाउ शहरहरु सफासुग्घर र व्यवस्थित छन् । घरमाथि घर खप्टेर बनाउन दिइएको छैन, घर-घरको वीचमा प्रसस्त खुला ठाउँ छाडिएको छ । प्रदुषणमुक्त राख्नको लागि झ्याङ्गिएका हरिया बृक्षले शहर ढाकिएको छ । शहरभित्र रुख रोपिएको होइनकि जङ्गलभित्र शहर छ भन्ने भान पर्छ । कुनै सवारीसाधनले कालो धुवाँ फ्याँक्दैन । सरसफाई अनुपम छ ।

इतिहासलाइ थुक्ने तथा पुर्खाका सङ्घर्ष, आर्जन, गौरव र विरासतलाइ कुल्चने र त्यस्तो गर्नुलाइ पुरुषार्थ ठान्ने हामी नेपालीहरु, चीनियाँहरुले प्राचिन इतिहासको सम्मान र पुरातात्विक बस्तुको जगेर्ना गरेको देखेर दङ्गदास पर्यौं । ऐतिहासिक संरचनालाइ धरोहरको रुपमा संरक्षण मात्र गरेका थिएनन् , त्यसबारेमा वर्णन गर्दा त्यसबेलाका सम्राट, राजा-महाराजाको नाम सम्मानपुर्वक लिन्थे । पुर्खालाइ सरापेर, पृथ्बीनारायण शाहलाइ धारेहात लाएर, कविहरु लक्ष्मीप्रसाद देवकोटादेखि राजा पृथ्बीनारायण शाह सम्मका शालीक तोडेर दिन बिताइरहेका र त्यसैमा परमानन्द लिईरहेका हामी नेपालीको लागि यो अनौठो दृष्य थियो । हामी इतिहासलाइ होलसेलमै गुट्मुट्याएर मिल्काउँछौं, उनीहरु इतिहासबाट पाठ सिक्दारहेछन् ।

नेता र शासकहरु नै नेपालीको भाग्यमा ग्रहण बनिराखेको र सरकार आफैं राष्ट्रको प्रगतिमा वाधक बनेर गजधम्म बसेको स्थितिका हामी नेपालीको लागि चीनको सुशासन अर्को विश्मयकारी झट्का थियो । राज्यको नेतृत्व भ्रष्टाचारीप्रति कठोर भएकोले राज्यका अङ्गहरु र प्रशासनिक संयन्त्र धेरै स्वच्छ थिए । जस्लेगर्दा राज्य र व्यवस्थाप्रति जनताको विश्वास र भरोसा कसीलो बनेको महसुस हुन्थ्यो ।

हामी चीन प्रस्थान गर्नुभन्दा ३ महिना अघिदेखि, आफ्ना जहानपरिवारलाइपीआर, ग्रिनकार्ड लिन लगाउने अधिकृतहरुलाइ कार्यवाही गर्छु भनेर नेपालमा लालबाबु पण्डितजी कस्सिएर लागिरहनुभएको थियो । आफ्नी श्रीमतिलाइ युरोप, क्यानाडा, अस्ट्रेलिया, अमेरिकाको पीआर, ग्रिनकार्ड लिन लगाउने, आफू कमाउ अड्डामा बसेर ब्रह्मलूट गर्ने र हुण्डीमार्फत् उता पठाउने अधिकृतहरुले राष्ट्रदोहन गरिरहेछन् भनेर १० बर्ष अघिदेखि नै जनआवाज घन्किरहेको थियो ।

नेपालमा जनआवाजलाइ राज्यले रेस्पोन्स गर्ने चलन, परम्परा नभएकोले जनताका आवाज सडकपेटीमा असरल्ल थिए । लालबाबु पण्डितले त्यही राष्ट्रवाणी बोलेका थिए र त्यसैको लागि कस्सिएका थिए । तर, के गर्नु ? लालबाबुलाइ एक्लो पारे । मिनेन्द्र रिजाल, रामशरण महत, नरहरि आचार्यहरु यो अभियानविरुद्ध भिलेन बनेर खडा भए । यो अभियान आफ्नो परिवारलाइ पीआर, ग्रिनकार्डमा उता राखेर यताबाट हुण्डी पठाउने अधिकृतहरुविरुद्ध लक्षित थियो । तर, नरहरि आचार्यले जालेमाले गरेर तीर अन्तै घुमाइदिए । उद्देश्य अनुसार काम हुन दिएनन् ।

उता चीनमा पनि हामी चीन प्रस्थान गर्ने अघिल्लो दिन यही आवाज उठ्यो । यस्तालाइ त्यहाँ ‘नाङ्गिएका अधिकृत’ भन्दारहेछन् । जनताले आवाज उठाउनासाथ सरकारले रेस्पोन्स गरिहाल्यो । तुरुन्त अध्ययन गर्यो । ऐननियममा संशोधन गर्यो, र कार्यवाहीप्रकृया अघि बढ्यो । जनआवाज उठेको डेढ महिनाभित्रै धेरै ‘नाङगा अधिकृतहरु’ कार्यवाहीमा परिसकेका थिए । हामीकहाँ भने १० बर्षदेखि उठेको जनआवाजलाइ अहिलेपनि सम्बोधन हुन दिइएन । लालबाबु पण्डितको यो अभियानलाइ कांग्रेसी मन्त्रीहरुले त भाँजो हाले नै, नेकपा एमालेका मन्त्रीहरु र पार्टीले समेत् सहयोग गरेन । जनगुनासो सुन्नु र जनआवाजको कदर गर्नु सुशासनको परिचायक हो । यस हिसाबले नेपाल सरकार निकृष्ट र चीन सरकार उत्कृष्ट देखियो । जनताको तर्फबाट राखिएका प्रस्तावलाइ चीनमा राज्यले कति गम्भीरतापूर्वक ग्रहण गर्दोरहेछ भन्ने यस्ले पुष्टी गर्छ । समाजमा उम्रेको विकृतिले जनतालाइ ऐंठन पारेको बिषयमा चिनीयाँ सरकारले तुरुन्त सम्बोधन गर्दोरहेछ भन्ने उदाहरण १ बर्षअघि पनि देखिएको थियो ।

चीनमा नवयुवतीहरुले धनाढ्य केटा खोज्ने, विवाह भएको एक-डेढ बर्षमैं पारपाचुके गर्ने र डाइभोर्ससँगै केटाको सम्पति प्राप्त गर्ने आमचलनको रुपमा विकास भएको भनेर एउटा सर्वेक्षण रिपोर्ट प्रकाशित भएको थियो । सर्वेक्षणले सम्बन्धविच्छेद बढेर ३८ प्रतिशत पुगेको देखाएको थियो । रिपोर्ट प्रकाशित हुनासाथ सरकारले तुरुन्त नोटिसमा लियो । अध्ययन गर्यो । र, “विवाहको अघिल्लो दिनसम्मको सम्पति भागवण्डा हुनेछैन” भनेर कानुन संशोधन गर्यो ।

राज्य बलियो छ । नेतृत्व आफैं भ्रष्टाचारको विरुद्ध छ । व्यक्ति हैन सिस्टमले काम गरिरहेछ । सिस्टम प्रष्ट छ । सबै सिष्टममा अभ्यस्त छन् । बृद्धदेखि किशोरसम्म र शीर्षस्थ नेता, शासकदेखि सामान्यजनसम्म सबैले सिष्टमको फलो गरिरहेछन् । के गर्नुहुन्छ, के गर्नुहुँदैन र कस्ले के गर्नुपर्छ सबै छर्लङ्ग छ । यही प्रष्टताले गर्दा चिनियाँहरुमा आत्मविश्वास दह्रो छ । आत्मविश्वास दह्रो भएकैले चिनियाँहरु कुनैपनि बिषयमा सम्वाद गर्न हिच्किचाउँदैनन् । जनजीवनको सुरक्षा र राष्ट्रिय सुरक्षामा खोट लाउने ठाउँ थिएन । हरेक स्थानमा राज्यको उपस्थिति महसुस गर्न सकिन्थ्यो ।

झन्झटमुक्त छिटोछरीतो प्रशासन, राजनीतिक स्थीरता, कानुनको प्रत्याभूति र गतिलो शान्तिसुरक्षा भएकै कारणले विदेशी लगानी ओइरिएको छ । अहिले चीनमा १ लाखभन्दा बढी मल्टीनेशनल कम्पनिका ज्वाइण्टभेञ्चर छन् । संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (अङ्कटाड) ले यस्पाली जारी गरेको ‘विश्व लगानी रिपोर्ट-२०१४’ शीर्षकको प्रतिवेदनमा पनि वहुराष्ट्रिय कम्पनिहरुको रोजाईको लगानी-गन्तव्य-सूचीमा चीन नै शीर्षस्थानमा छ । लगानी भित्र्याउनमा मात्र हैन बाह्यलगानीमा पनि चीन धेरै अगाडी छ । अङ्कटाडको ‘वर्ल्ड इन्भेस्टमेण्ट रिपोर्ट’ अनुसार गत बर्ष चीनको वैदेशिक लगानी १ खर्ब, २३ अर्ब ९० करोड युएस डलर पुगेको थियो । यो अमेरिकापछि दोश्रो हो ।

चीनको आर्थिक विकासको गति हेर्दा, “चिनीयाँ अर्थतन्त्र सन २०२५ मा अमेरिकाको हाराहारीमा र सन २०५० मा अमेरिकाको दोब्बर माथि पुग्नेछ”  भनेर मार्टिन ज्याक्स जस्ता अन्तर्राष्ट्रिय मामिला विज्ञहरुले गरेको प्रक्षेपण नै सत्यसाबित हुने देखिन्छ । मैले नेपाल सम्झें । नेपालपनि कम सम्भावना भएको मुलुक ह्वैन । जलविद्युत, पर्यटन, कृषि यहाँको प्रचूर सम्भावना भएको क्षेत्र हो । दशौं बर्ष अघिदेखि विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आतुर छन् । हाम्रा नेताहरुको अतिशय क्षुद्रताको कारणले गर्दा राष्ट्र गतिरोधमा रहेको मात्रै हैन, धेरै पछाडी धकेलिएको छ । स्वदेशी उद्योग व्यवसायीहरु समेत् आफ्नो लगानी यहाँबाट अन्यत्र सार्न खोजिरहेछन् । हामी नेपाल फर्केको केही दिनमै (असारको दोश्रो हप्तामा) चीनको चचियाङ फेडेरेशन अफ इण्डष्ट्री एण्ड कमर्शका उपाध्यक्ष हुआङ चङछियाङको नेतृत्वमा चिनीयाँ उद्यमी व्यवसायीको टोली काठमाडौं आएको थियो । उनीहरुले, “चीनका उद्यमीहरुले १० बर्षयता भारतमा प्रसस्त लगानी गरेको, तर धेरै अघिदेखि नेपालमा लगानी गर्न चाहेरपनि गर्न नसकिएको” भनि दुःखेसो राख्दैथिए ।

हुनपनि, नेपालमा लगानिमैत्री वातारण नै छैन । यहाँ हर क्षेत्र र प्रत्येक पाइलामा लगानिकर्तालाइ प्रोत्साहित हैन,  दुरुत्साहित गरिन्छ । सर्वप्रथम प्रशासनिक झन्झट यति छकि लगानिकर्ता शुरुमै थाक्छ । चरी, गिरी, मनाङ्गे, घ्याम्पे, घैंटे जस्ता डनका सेनामेनाहरु जुका बनेर चुस्न थाल्छन् । पार्टीका भातृ सङ्गठनका छेदहरु धावा बोल्न थाल्छन् । उद्योग भित्र पार्टी घुस्छ । तालाबन्दी, धर्ना शुरु हुन्छ । त्यसबाहेक, नेपालबन्द र लोडशेडिङ त छँदैछ ।

द्वन्दवादी दृष्टिकोणबाट हेर्दा गुणसँगै दोष र सवल पक्षसँगै दुर्वल पक्षपनि होला भनेर हेक्का राख्नुपर्छ । चीनमा पनि सुधार्नुपर्ने पक्षहरु नभएका होइनन् । पूँजीवादी वजार अर्थव्यवस्थाको विकासले चिनियाँ जनताको जीवनशैली र जनजीवनको ढाँचालाइ बदलिदिएको छ । मानवीय मूल्य-मान्यताहरु कमजोर मात्र हैन निख्रिंदैगएको छ । समाज कमजोर हुँदै गएको छ र वजारको प्रभुत्व बढ्दैगएको छ । चीनमा पूर्वी भेग जति विकसित छ,  त्यही अनुपातमा
पश्चिमी भेग निकै पछाडी परेको छ । १५ प्रतिशत अति धनाढ्यहरु छन् भने विपन्नहरु पनि त्यहीं छन् । यिनीहरु वीचमा अन्तर बढ्दैगयो भने यस्ले विस्फोटक स्थिति सृजना गर्न सक्ने देखिन्छ । तर, यस बिषयमा चिनीयाँ सरकार गम्भीर छ भन्ने वुझिएकोले त्यो स्थितिमा पुग्नेछैन भनेर अनुमान गर्न सकिन्छ । जे भएपनि,  ३० बर्षको अवधीमा चीनले गरेको अकल्पनीय विकास र प्रगतिबाट नेपालले सिक्ने कुरा धेरै छन् ।

तपाइँको प्रतिक्रिया