एउटा राजनितिक समूहले अर्कोलाइ खुइल्याउने भन्दा के गर्न सक्यौं र हामी तमुले ?
● राम वहादुर गुरुङ / वेल्जियम
फेसवुकमा मेरा सोल्टी तथा मित्र होम गुरुङको तमु समाज वेल्जियम सम्वन्धमा लामो लिखतमा व्यक्त भएका कुराहरु पढेपछि मलाइ पनि यस सम्वन्धमा केहि लेख्न मन लागेर उहाँको भनाइहरुमा थपथाप मात्रै गर्छु भन्दा भन्दै लेख्न थालेको थिएँ । तर लामो हुन गइ यस्ले एउटा ससानो लेखको रुपनै धारण गर्न पुग्यो ।
तमु समाज वेल्जियम स्थापना भएको अर्को वर्ष डेढ दशक पुग्छ । साधारणतया एक दशकमा मात्रै पनि संसारका हरेक वस्तु तथा घटनामा आउने परिवर्तन रुपान्तरित हुने खालको हुन्छ । तर यो संगठनमा साधारण परिवर्तन त भयो रुपान्तरित भने हुन सकेन । हिजो राजतन्त्रकालमा वनेको विधानको प्रस्तावना आज पनि त्यहीं नै छ । यो संगठनमा शुरुका केही वर्ष निक्कै रौनक पनि रह्यो। शायद नयां भएर पनि होला । तर यसका अग्रजहरुले भाषा,धर्म तथा संस्कृती भन्दा अरु विषयलाइ तमु समाजमा समेटन सकेन । राजनीति भित्रिन्छ भन्ने नाममा । त्यसैले यो संधै सांघुरो घेरा भित्र रहँदै आयो ।
भाषा,धर्म तथा संस्कृतीको निरपेक्ष नारा मात्र दिएर तमुहरुमा चेतनाको विकास हुँदैन । त्यसको संरक्षण र विकासमा अवरोध अहिलेसम्म कसले पुर्याउँदै आयो त्यो विषयमा हामीले प्रवेश गर्नै चाहेनौं । समय अनुशार नेपालमा विकसित राजनीतिक विकासको प्रभाव यहाँ वस्ने तमुहरुमा पनि पर्नु स्वभाविक प्रकियानै हो । विविध राजनीतिक विचारको विच पनि साझा विन्दु हुन सक्ने हाम्रो समुदाय संग सम्वन्धित थुप्रै विषयहरु छन । त्यता पट्टि कसैले ध्यान पुर्याउन सकेन । पछिल्लो चरणमा आएर त एउटा राजनीतिक विचार समुहले अर्कोलाइ खुइल्याउने भन्दा अरु सक्रिय काम हामिले गर्न सकेनौं ।
तमुसमाजको अहिले सम्मको गतिविधी हेर्दा केही गर्दै गरेन भन्ने त होइन शुरुका दिनहरुमा निक्कै तदारुकताका साथ संगठनको प्रचार प्रसार र आकर्षक सांस्कृतिक कार्यक्रम गरेकै हो तर दिन वित्दै जांदा ति कार्यहरु त संगठनलाइ जिवित राख्ने एउटा माध्यम मात्र भयो जुन अहिले सम्म चलिनैरहेको छ । तर यो संगठनले सार्थक काम के गर्यो त भनेर पछाडी फर्केर हेर्ने हो भने शुरुका वर्षमा देवदहको स्कूललाइ तमुभाषा सम्वर्धन गर्न भनी गरेको आर्थिक सहयोग र शायद आदीवाशी जनजाति महासंघलाइ जस्तो लाग्छ कम्पुटर खरिद गर्न केही आर्थिक सहयोग प्रदान गरेको थियो । त्यस पछि यता त्यसतो ठोस कार्यहरु केही भएको देखिँदैन । साथै एकपटक डा।ओम गुरुंग आउँदा अन्तरकृया कार्यक्रम राखेको थियो भने केही महिना पहिले राजनीतिक भ्रमणमा आएका नेकपा–माओवादीका वरिष्ठ नेता देव गुरुंगलाइ तमु समाजले राखेको स्वागत कार्यक्रममा कार्यसमितीका चारजना मात्रको
उपस्थितीले नेपालको राज्यपुनर्सरचनामा केही आदीवाशी जनजाति जात नभइ आन्तरिक राष्टिृयता हो । उनिहरुको उत्पिडनलाइ सम्वोधन गर्न जातिय स्वयत्त शासन हुनु पर्छ भन्ने नयाँ अवधारणा ल्याउने एकजना वौद्धिक तमुलाइ राजनीतिक धार फरक हुने वित्तीकै नजरअन्दाज गर्ने पूर्वाग्रही सोंचको विकास भएको देखाउँछ । उनको उपस्थिीतीलाइ तमुहरुले वेवास्ता गर्नु साँच्चिकै दुखलाग्दो कुरा हो । यस्तो गलत परम्पराले हामीलाइ हाम्रो समुदायको हितको लागी साझा विन्दु र साझा सवाल खोज्ने वाटोवाट घेरै पर धकेलीदिएको छ ।
पछिल्ला वर्षहरुमा ल्होसार मनाउने,चेलिवेटि खुवाउने र समर वारवेक्यू जस्ता कार्यक्रममा मात्र यो संगठन सिमित रहेको छ । हालको कार्यसमितीको कार्यकालमा उठेको इपर स्मारक निर्माणको विषयलाइ कार्यसमितीको असक्षमता र कार्यसमिती वाहिरका तमुहरुकै अति राजनीतिकरणले गर्दा पनि आफ्नो हातवाट फुत्किन गएको छ । यस्ले कुनै एउटा तमु मात्र होइन वेल्जिमका सिंगो तमु समुदायलाइ लज्जित वनाएको छ । इपरको यो घाउ तमु समुदायमा संधै वल्झिरहने छ । र तमुहरुले संधै आत्मग्लानी महशुस गरिरहनेछन । यो विषयमा एकतावद्ध हुन सकेको भए निश्चय पनि भविष्यका तमु सन्ततीले आफ्ना अग्रजहरु प्रति गर्व गरिरहन्थे । तर दुखको कुरा यस्तो हुन सकेन ।
आगामी नेतृत्वको सवाल
अहिले भइरहेको कार्यसमितीको प्यानल तयार गर्नमा सानोतिनो भुमिका मैले पनि सकि नसकी निभाएको थिएँ । यसकारण यस सम्वन्धमा केही टिप्पणी नगरी भावी कार्यसमतिको वारे लेखा जोखा गर्दा व्याभारिक देखिँदैन । नेपालको परिवर्तनको प्रभाव प्रवासी नेपालीहरुमा पनि पर्नु स्वभाविकै हो । यसकारण तमु समुदाय भित्र पनि विविध राजनीतिक विचार वोक्नेहरु हुनु स्वभाविकनै हो । यस्लाइ अतिवादी भएर हेर्नु अहिलेको परिप्रेक्षमा समय सापेक्ष मान्न सकिँदेन । त्यसैले संगठनको संरचना सवै विचार, क्षेत्र र लिंगलाइ समेटदा समावेशी हुन्छ भन्ने मापदण्ड अपनाइयो । यसैकारण आफु वामपन्थि विचारको भए पनि प्रजातान्त्रिक आस्थामा रहेका पदम गुरुङलाइ धेरै पहिले देखी मैले व्यक्तिगत हिसावले पनि तपाइ तमुसमाजको नेतृत्वमा वसेर समाज सेवा गर्नुस भनि धेरै पटक अनुरोध गरे पछि उंहाँ मान्नुभयो । अन्य प्रमुख पदाधिकारीमा पनि समावेशी ढंगले हामीले चयन गर्यौं । धेरै पटकको छलफल पछि टुंगो लगाइएको थियो । र त्यस पछि प्रस्तावित प्यानललाइ हलले समर्थन गरेर अहिलेको कार्यसमितीको चयन भएको थियो ।
तर दुर्भाग्य यो कार्यसमितीको दुइ तिन वोटा वैठक पछिनै खास कुनै विषयनै नसमेटिएको विवाद शुरु भयो । दुइजना उपाध्यक्षले राजीनामा दिएर यो कार्यसमितीलाइ असफल वनाउने कोशिस शुरु भयो । केही समय पछि मनोनित गरिएको महासचिवले पनि दुइदिने रामछायाँ देखाएर विदा लिए पछि झन अर्को समस्या खडा भयो । आखिर यो सवै नौटंकीले फाइदा कसलाइ भयो ? येनतेन प्रकारेण संगठन चल्दै गयो । केही ठोस गर्न नसके पनि यत्रो असहयोगको वावजुद असफलै त भएन किनभने यस्ले प्रकृयागत रुपमै आफ्नो कार्यकाल टुंग्याउन गइरहेको छ । अव आउने अधिवेशनमा नेतृत्वमा आउने जसको नाम सुन्नमा आइरहेको छ उनिहरुले हिजो त्यो असहयोग नगरी त्यहीं भित्रै समस्यालाइ छलफल र वहसमा लैजाने र समस्याको टुंगो नलागेमा साधारणसभा वा अधिवेशन सम्म पर्खेर आफ्नो कुरा राख्दा त्यो नै न्यायोचित हुन्थ्यो । समस्या समयमा टुंग्याएर कार्यसमितीमै रहेर काम गर्दै आइरहेको भए आज नेतृत्वमा आउनलाइ त्यहींनै भुमिका तयार हुन्थ्यो वा अहिले सहज हुन्थ्यो ।
सामूहिक कार्य
अहिलेको कार्यसमिती भन्दा अगाडी सम्मका कार्यसमितीका महासचिवहरु सक्षमनै थिए । तर यो कार्यसमितीले सक्षम महासचिव पाउन सकेन र महासचिवको कार्यभार पनि सवै अध्यक्षलनै सम्हालदा कठिनाइ त भइनैहाल्छ । अव वन्ने कार्यसमितीको विचमा राम्रो समझदारी वन्यो भने टिमवर्क राम्रो वन्न सक्छ र सवैलाइ काम गर्न सजिलो हुन्छ । सवैलाइ थाहा भएकै कुरा हो, अध्यक्ष र महासचिव दुवै संगठनको लागी पूर्णकालिन भयो भने मात्र यो संगठनको पांग्रा पुर्ण वेगमा चल्न सक्छ । होइन भने काम चलाउनै हुनेछ । अहिलेको परिवेशमा हामीले एकआपसमा जतिसुकै आरोप प्रत्यारोप गरे पनि यो साझा संगठन भएकोले समावेशी नवनाइकन सुखै छैन । किनभने एउटै विचारको समुहलाइ मात्रै पनि साधारण सदस्यहरुलेनै पचाउन सक्दैनन । अहिले दर्तावाल संगठन संचालन गर्न डच र अंग्रेजी भाषामा दख्खल भएको नेतृत्वको नै आवश्यक रहन्छ । यस्को मतलव जतिसुकै हामी राजनीतिवाट विमुख हुनु खोजे पनि फेरी कुनै न कुनै राजनीतिक विचारसँग नजिक भएको वौद्धिक तमुलाइ नेतृत्वमा ल्याउनुपर्ने अहिलेको वेल्जियमको विकसित परिवेशको आवश्यकता र वाध्यता दुवै हो । फेरी पनि समावेशी भएर साझा विन्दु पहिल्याउँदै आफ्ना राजनीतिक आग्रह पूर्वाग्रहहरु भन्दा माथी उठने हो तमुसमाजको नेतृत्व सवैलाइ पाच्य हुन सक्छ ।




