आफैं बदलिएका आजका कम्युनिष्टहरू
● सुभाष देवकोटा
कुनै जमाना थियो, कम्युनिष्टहरू सिध्दान्त, व्यवहार, र आचरणका लागि पक्का मानिन्थे । पुष्पलालको त्याग, समर्पण, जनता सँगको उनको सम्वन्ध र व्यवहारबारे कसैले सुनाउँदा पनि हामी रोमाञ्चित हुन्थ्यौं । होचिमिन्हको तश्विरमुनी उभिएर कम्युनीष्टहरूले होचिमिन्ह जस्तै त्यागि, जनता प्रति समर्पित सादगी जिन्दगी बिताउने कसम खान्थे । जन गायक गोकुल जोशी, एक देव आले, विरेन राजवंशी, राम नाथ दहालहरू आदर्शका पात्र थिए । राजनीति व्यापारको विषय थिएन, राजनीति व्यक्तिगत स्वार्थ र सुखभोगको लागि थिएन । कम्युनिष्टहरूको राजनीति केवल जनताको सेवाको लागि थियो । जनताको मुक्तिको लागि थियो । राष्ट्रिय स्वधिनताको लागि थियो ।
सिद्दान्त उही हो । विचार उही हो । आजकाल कम्युनिष्टहरू विल्कुल वदलिएका छन् । कोही वहुदलिय जनवादी भएर बदलिएका छन् । कोही २१ औं शताव्दीको नयाँ जनवादी भएर बदलिएका छन् । कोही के भएर बदलिएका छन् । कोही के नाममा वदलिएका छन् । मार्क्सको मेनुफेष्टोलार्इ विचार मान्ने कम्युनिष्टहरू,होचिमिन्ह र पुष्पलाललार्इ गुरू थाप्ने कम्युनिष्टहरू ओवामा आदर्श मान्न थालेका छन् । राज नाथ र मोदीलार्इ गुरू थापेर अशिर्वाद लिन थालेका छन् । भैसी पुजा गरेर ग्रहशान्ति गराउन थालेका छन् ।
हिजोका कम्युनिष्टहरू श्रमलार्इ पुजा गर्थे । खेत जोतेर खान्थे । भारी बोकेर खान्थे । गैती र बेल्चा चलाएर खान्थे । होटलमा भाडा माजेर खान्थे ।परिश्रम गरेर खानु उनिहरूको लागि राजनैतिक अदर्श थियो । कसै सँग मागेर खानु हुँदैन । कसैको लुटेर खानु हुँदैन भन्ने उनिहरूको धर्म थियो । जनताको लागि काम गर्नेहरू जनता सँगै बस्नु पर्छ । उनिहरू सँगै सिक्नु पर्छ भन्ने उनिहरूको विचार थियो । उनिहरू बोलीका पक्का थिए । कम्यूनिष्टहरूको बोली र बन्दूकको गोली उस्तै हुन्छ भन्थे । आफूभन्दा पाकाको सम्मान गर्नु,सानालार्इ मायाँ गर्नु, दीनहीनहरूको लागि चिन्तित हुन लागिपर्नु उनिहरूले सिकेको पाठ थियो ।
तर आजका कम्युनिष्टहरू छेउ टुप्पै फेरीएका छन् । अब उनिहरूले मार्क्सको घोषणा पत्र पनि पढ्नु पर्दैन । होचिमिन्ह पनि बुझ्नु पर्दैन । पुष्पलाल र एकदेव अले पनि जान्नु पर्दैन । लुटेर ल्याउने दस्ता पालिएका छन् । कमिसन जम्मा गर्ने च्यानल मिलाएका छन् । मिहनेत र परिश्रम गरिरहनु पर्दैन ।
झुप्राको कुरा गर्ने कम्यूनिष्टहरू, सर्वहाराको गीत गाउने कम्यूनिष्टहरू महलमा बस्छन् । अलिसान टावरहरूमा बस्छन् । हेलिकप्टरमा उड्छन र आकासबाटै जनतालार्इ आशिर्वाद दिन्छन् । व्यक्तिगत सम्पत्तिको विरोध गर्दै कम्यूनिष्ट भएकाहरू आफैं संभ्रन्तमा बदलिएका छन् । पूँजीपतिहरूको विरोध गरेर कम्युनिष्ट भएकाहरू आजकल आफै पूँजीपति भएका छन् । ठूला ठूला कम्पनीका सेयरहोल्डरका मालिक भएकाछन् । ठूला ठूला टावरहाउसका मालिक भएकाछन् ।
हिजोका कम्यिनिष्टहरू राष्ट्रिय स्वधिनताको कुरामा जुरूक्क उठ्थे । सुस्ता र महेशपुरमा विदेशी हस्तक्षेप हुँदा विरोधमा देश थर्काउनेहरू उनीहरू नै थिए । कोशी र गण्डकीमा राष्ट्रघात भएको कुरा उठाउने पनि उनिहरू थिए । सन् १९५० को नेपाल भारत सन्धिले नेपालको स्वाधिनताको अपहेलना गरेको भनेर यसको खारेजीको वकालत गर्ने पनि कम्युनिष्ट नै थिए ।
तर आजका कम्यनिष्टहरू यसरी वदलीएका छन् कि अब उनिहरूलार्इ टनकपुर पनि दुख्दैन । कोशी र गण्डकीमा पनि दुख्दैन । उनिहरूलार्इ पञ्चेस्वरले पनि पोल्दैन । सन् १९५० को नेपाल भारत सन्धिले पनि पोल्दैन । सत्ताको शीखरमा पुगेका कम्युनिष्टहरू भारतसँग विप्पा गर्दा गौरवको महसुस गर्ने भएकाछन् । सोनीया गान्धी र मोदीको आशिर्वादको लागि दिल्लीको निमन्त्रणा पाउँदा क्रान्तीकारी भएको महसुस गर्ने भएका छन् ।
समाज उही छ । हलो जोत्नेको दुःख उही छ । मजदुरको पीडा उही छ । तर संसार बदल्ने कसम खाएका कम्युनिष्टहरू आफैं बदलिएका छन् ।




