केका लागि घरिघरि नयाँ शक्तिको रटान ?

baburam-bhattarai-332123

डा बाबुराम भट्टराईले जहिलेपनि नयाँ शक्ति नयाँ शक्ति भनेको, लेखेको देखिन्छ । आज फेरि भनेछन् “एमाओवादी भित्रको वहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डानिम्ति नभएर विचार, राजनीति र संगठनको विकास र रुपान्तरण सहित नयाँ शक्तिको निर्माणको निम्ति हो ।” भट्टराईले नयाँ शक्तिको रटान त लगाउँछन् तर उनको नयाँ शक्ति कस्तो हो ? कसको नेत्रित्व हो ? कहाँका मानिस आउने हुन् नयाँ शक्ति निर्माणकालागि ? के हो नयाँ ? बिचार, निति र आदर्श नयाँ कि उहि पुराना नेताहरुबाट आएको नयाँ नेत्रित्व ? उनले कहिँकतै स्पष्ठ पार्न सकेका छैनन् । या त एकिक्रित नेकपा माओवादीमा नयाँ नेत्रित्व छानिए नयाँ शक्ति त्यसैलाई मानेका हुन् डा सापले ? 

के हो नयाँ शक्ति ? आफ्नो बहुमतको ? क्वाँ क्वाँ रोएर पाउने बहुमत ? कि पार्टी फुटाइन्छ भनेर आउने धम्कि सहितको नयाँ नेत्रित्वको नयाँ शक्ति ? आफ्नो देशको सुरक्षा अर्को देशलाई दिए ढुक्क हुन्थ्यो भन्ने खालको ? राजनितिक क्रान्ति सक्कियो अब आर्थिक क्रान्ति बाँकि भन्ने तर भुसुनो नमार्ने खालको ? कस्तो खालको हो त नयाँ शक्ति ?

माओवादीले जनवादी क्रान्ति गर्ने, दुखि गरिव, श्रमिक, दलित, बिपन्नवर्ग, मजदूरको राज्यसत्ता ल्याउन भनेर एक दशक भन्दा लामो जनयुद्द लड्यो । तर जनयुद्दमा जसको पाखुरीले डा साप जस्तालाई सत्तामा पुर्यायो तिनका दुख, वेदना र आक्रोश झन बढेका छन् । हिजो डा साप र उनको पार्टीले दिएका बचन पुरा भएका छैनन् । अनि ति बचन पुरा गर्न नसकेपछि फेरि कुन वर्गले अर्को नयाँ शक्ति निर्माणमा साथ दिन्छ ?

डा बाबुराम भट्टराईको नयाँ शक्ति कस्तो हो त ? कि फेरिपनि जनताका छोराछोरीलाई किताब र कापी कलम खोसेर लड्न ल्याउने र पछि तिमिहरु अयोग्य भनेर रित्तो हात फर्काउने खालको ? काँधमा बन्दुक बोकाएर आफू सत्तामा पुगेपछि लघार्ने खालको नयाँ शक्ति ? बिगतमा दश वर्षसम्म लडेका जनसेनाको भत्तासम्म खाएका छन् माओवादी नेताले । अब फेरि अरु नेपाली युवालाई अरु कुनै नाममा बुद्दी भुटेर भत्ता जति पच पार्ने खालको पो हो कि अबको नयाँ शक्ति ?

डा भट्टराई आफैंले राजनितिक क्रान्ति पुरा भैसकेको । अब आर्थिक क्रान्ति गर्न बाँकि रहेको बताइसकेका छन् । आर्थिक क्रान्ति गर्नकालागि अहिलेको माओवादी शक्तिबाट किन संभव भएन ? के बाधा रहे ? कता रहे अड्चन ? को रह्यो आर्थिक क्रान्तिको बाधक ? किन चाहियो नत्र नयाँ शक्ति ? यि कुरा स्पष्ठ नभई अर्को नयाँ शक्तिको खाँचो हुन्छ ?

जनवादी राज्यसत्ता कायम गरिसकेका भट्टराईको नयाँ शक्ती निर्माण कस्तो होला ? देउसी गाएको जस्तो नयाँ शक्ति नयाँ शक्ति मात्रै सुनिन्छ । नयाँ शक्ति निर्माण गर्ने अहिलेकै राजनितिक दल र अहिलेकै नेता होलान् । बिभिन्न दलमा रहेका राजनितिक कार्यकर्ताबाटै बन्ने होला नयाँ शक्ति । को आउँछ त अर्को नयाँ शक्ति निर्माण गर्न ? नयाँ शक्तिको रटान दिनासाथ कुन दलका कार्यकर्ता, कुन पार्टीका नेता आउँछन् त ? किन लाग्ने डा बाबुरामको नयाँ शक्तिमा ? केका लागि लाग्ने ? किन पत्याउने ? कसले पत्याउने ?

डा भट्टराई आफू स्वच्छ भएपनि उनको प्रधानमन्त्रीत्व काल स्वच्छ रहन सकेको देखिएन । जनताका पक्षमा राम्रो काम गरेको, जनतालाई राहत दिएको अनुभव जनताले गरेनन् । राष्ट्रियताकै मामिलामा जनता सशंकित भए । यो उनी उनैका नेता, कार्यकर्ता र पार्टीले बनाएको हो । सत्तामा रहेको पार्टीले चुनाव लड्दा सर्वनाक हार भो । दश वर्षसम्म संविधान सभाको निर्वाचान मागेर जनताले लडेर ल्याएपछि त्यहि संविधान सभा आफैंले भंग गरेको कलंक मेटिएको छैन । अब डा भट्टराईले कस्तो नयाँ शक्ति निर्माण गर्लान् त ? फेरि जनताले पत्याउलान् भट्टराईको नयाँ शक्ति निर्माण प्रक्रिया र आव्हान ? उनी र उनको पार्टीको क्रियाकलाप, काम र बिगत हेर्दा जनताले पत्याइहाल्ने स्थिति देखिन्न ।

पुरानो शक्तीदेखि वाक्का लागेका, मानेका धेरै नेता र कार्यकर्ता छन् । नयाँ धार, नयाँ शक्ति, नयाँ कार्यप्रणाली, जनताप्रति जवाफदेहि शक्ति खोजिरहेका छन् । बाबुराम भट्टराई वा अर्को कुनै नेताले त्यस्तो नयाँ शक्ती निर्माण गर्न सके जनता पछि लाग्न सक्छन् । एमाले, कांग्रेस, राप्रपा, माओवादीमा नयाँ शक्ति खोज्ने धेरै छन् तर देशलाई निकास दिने खालको । पुराना पार्टीको काम देखेर धेरै कार्यकर्ता, जनता वाक्कदिक्क छन् । यहि देखेर होकि भट्टराईले नयाँ शक्ति नयाँ शक्ति भनेको । तर कस्तो के हो त यो नयाँ शक्ति ?

तपाइँको प्रतिक्रिया