प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास
● शशी पौडेल / जर्मनी
अहिले फेरी इसरायलले प्यालेस्टीनामाथी बम बर्षा गरिरहेको छ । इसरायललाइ ‘के निहु पाँउ कनिका बुकाँउ’ भैरहेको बेला दुर्भाग्य तीन इसरायली बिद्यार्थीहरु मारेर गाडिएको अवस्थामा फेला परे । इसरायलले यसरीनै हज्जारौं प्यलेस्टीन युवाहरुलाइ मारेर फाल्यो । प्यालेस्टीनीहरुको त्यो पीडालाइ इसरायलले बुझ्न सकेन । अहिले जुन पीडा तीन इसरायली बिद्यार्थीहरुको मृत्युमा भएको छ । त्यतीमात्र नभएर इसरायलले प्यलेस्टीनाको भूभाग गाजा क्षेत्र लगायत अन्य क्षेत्रमा पनि कब्जा गरी यहुदीहरुको बस्ती बसाएको छ । त्यसले नपुगेर अहिले प्यलेस्टीनका बिभिन्न क्षेत्रमा कब्जा गर्ने उद्धेश्यले बम बर्षा गरिरहेको छ । यतिखेर इसरायलले प्यालेस्टीनामा बम बर्षाएर यती मार्यो उती मार्यो भन्ने समाचार दिनु भन्दापनि प्यालेस्टीनको इतिहाँस् के हो त ? भनेर चर्चा गर्न अनुमती माग्दछु । किनभने अहिले भैरहेको दिन दैनिक समाचार त अन्य थुप्रै मेडियाबाट सुन्न र पढ्न पाइन्छ ।
“हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे । परसियन अर्थात फारसीहरुले राज्य गरे । इसाइका युद्दनायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इसरायलीहरु पनि यहाँका हैनन् भन्ने कुराको इतिहाँस र भूगोल साक्षी छ ।” हमास पार्टीको घोषणापत्रबाट । यदि हमास पार्टीको उक्त घोषणापत्रलाइ ध्यान दिएर पढने हो भने प्यालेस्टाइन कहाँ पर्छ र कसको हो भन्ने प्रश्नको उत्तर पाउन कठिन पर्ने छैन । हामीले चिन्ने प्यालेस्टाइन पश्चिमी जोर्डन राज्य हो । प्यालेस्टाइन भनेको यती मात्र नभै पौराणिक इजिप्टको इतिहाँस अनुसार मध्य समुन्द्रतटको दक्षिणपूर्बी तटबाट लगभग आजका राज्यहरु इजरायल, पूर्वी जेरुसलम, गाजा क्षेत्र पश्चिम जोर्डन राज्य हुदै आजको जोर्डन पर्दछ । यी राज्यहरु ऐतिहासिक र धार्मिक रुपमा असाध्यै महत्वपूर्ण थिए र अझ सम्म पनि यथावत छन् । यी राज्यहरुमा यहुदी, इस्लाम र इसाइहरुले आआफना धर्म फैलाएका थिए ।
कसको हो त प्यालेस्टाइन ?
प्यालेस्टाइनको स्वतन्त्रताका लागि प्रथम युद्द सातौं सताब्दीमा भएको मानिन्छ । उक्त युद्दको नेतृत्व दोस्रो कालिफन उमार इव्रन अल चटावले गरेको इतिहास भेटिन्छ । त्यसबेलाको स्वतन्त्रता संग्राम टेम्पलबर्गसम्म पुगेको पाइन्छ । त्यसपछि पनि प्यालेस्टाइनमा यहुदी, इसाइ र मुसलमानहरु रहँदै बस्दै गरे । बेला बेलामा एकाध झपडहरु भैरहन्थे । तर ११ औं शताब्दी सम्म त्यती ठूला झपडहरु भएनन् ।ा औं शताब्दीको अन्ततिर रोम इसाइहरुका युद्धनायकहरु संसार ब्रहमलुट गर्दै चाहार्न थाले । यसक्रममा उनिहरु प्यालेस्टाइन पुगे । तव उनिहरुले थाहा पाएकि एउटा खोंचो परेको समुद्रको तटमा रहेको प्यलेस्टाइनबाट अन्य क्षेत्रमा आक्रमण गर्न, युद्ध छेड्न र लुक्न अनि आवत जावत गर्न सजिलो हुन्छ । त्यसपछि उनिहरुले प्यलेस्टाइनलाइ युद्धक्षेत्र बनाउने उद्धेश्यले कब्जामा लिए ।
यतिमात्र नभै यी चलाख युद्धनायकहरुले प्यलेस्टाइनलाइ बिज्ञान, कला, दर्शनशात्र र साहित्यबाट भरिपूर्ण देखे । इस्लामहरुको यो सकारात्मक पक्षलाई यहुदी र इसाइ युद्धनायकहरुले इर्ष्याका रुपमा हेर्न थाले । यसको बिकाशमा बाधा अड्चन हाल्ने योजनाहरु तयार पारे । खासगरी यसपछि आदीबासी प्यालेस्टाइन इस्लामहरु र पश्चिमा रोमन सभ्यताबीच द्वन्द्व शूरु भयो । यसबीच थुप्रै धर्मका नाममा युद्धहरु भए । जसमध्ये ३० बर्षे धार्मिक युद्ध १६१८ देखि १६४८ समम भएको युद्ध इटलीबाट शूरु भएको भएपनि बिश्वभरका जनतालाइ प्रभाव पार्यो । यद्दपी यो युद्ध रोमन क्याथोलिकहरुका वीचको नितान्त धार्मिक भनिएपनि यसले प्यालेस्टाइनलाइ नराम्रो गरी द्वन्द्वमा फसायो ।
प्रथम बिश्व युद्घ पछि संसारमा थुप्रै परिवर्तनहरु भए । तर प्यालेस्टाइनमा बिद्रोहको राँको निभेन । अर्को तिर १९३० र १९४० को दशकमा यहुदीहरुले युरोप र अमेरिकाबाट भूमिगत एवं गैरकानूनी रुपमा यहुदीहरु ओसारेर इसरायल र प्यालेस्टाइनका बिभिन्न स्थान एवं क्षेत्रमा बसोबास गराउन थाले । प्यालेस्टाइनका बिभिन्न क्षेत्रमा बसोबास गराउन थाले । दोस्रो बिश्वयुद्ध छेडियो । दोस्रो बिश्वयुद्धक्रममा कम्तीमा पनि एकलाख भन्दा बढी यहुदीहरु प्यालेस्टाइन पुगेर छरिएर बसोबास गर्न थाले । सन १९४५ र १९४६ मा यहुदीहरुले पटक पटक मुसलमान क्षेत्रमाथि आक्रमण गरे । उनिहरुको उद्धेश्य थियो कि जसरी भएपनि उक्त क्षेत्र अहिलेको इसरायलबाट प्यालेस्टाइनीहरुलाइ भगाउने र आफ्नो एकछत्र राज्य गर्ने थियो । त्यतिबेला बेलायती सरकारले समेत उनिहरुको उक्त आतंकको बिरोध गरेका थिए र प्यालेस्टाइनी प्रहरीसंग संयुक्त काम गरेर यहुदीको शक्तिलाइ कमजोर तुल्याउने प्रयास गरे । तर सफल भएनन् । किन भने त्यतिबेला यहुदीहरुको भूमिगत मोर्चाको आक्रमणबाट बेलायती सैनिक ठूलो संख्यामा हताहत भएका थिए । तत्पश्चात त्यहाँ कर्फ्यू लगाइयो । उक्त कर्फ्यू अबज्ञा गरेको कारण इज्याक रबिन पक्राउ परेका थिए । पछि उनि इजरायलको प्रधान मन्त्री समेत बने ।
यहुदीहरुको मोर्चा यति ठूलो भयो कि उनिहरुले १९४६ पछि अमेरिकामाथि दवाव दिन थाले र भन्न थाले कि पोल्याण्ड र अन्य पूर्बी युरोपमा बसोबास गरेका यहुदीहरुलाइ जर्मनी अथवा प्यालेस्टाइन (अहिलेको इसरायल) मा बसाइ सराइ गराउनु पर्छ । अमेरिकी सुपरपावरले पनि यसै गर्न थाल्यो । १९४७ सालमा बेलायतले भारतलाइ तीन टुक्रामा बिभाजन गरेर छाड्यो । भारत छोड्ने निर्णय बेलायतले १९४५ तिरै गरिसकेको थियो मात्र उनिहरुले भारतलाइ कसरी फुटाएर छोड्ने भन्ने निर्णय नभैसकेकाले झुण्डिइरहेका थिए । किनभने बेलायतका लागि त्यतिबेला भारतीय उपमहादीप भन्दा प्यालेस्टाइन महत्वपूर्ण लागेको थियो । इतिहाँसकारहरुका अनुसार समुद्रतटमा रहेको प्यालेस्टाइन बेलायतले आफ्नो लागि भौगोलिक र आर्थिक दृष्टिले महत्वपूर्ण देख्यो । दुबै राज्यलाइ समाइराख्नु बेलायतलाइ महँगो पर्ने भयो । बेलायतमा गरिवी बढ्दो थियो । लण्डनमाथि धुवाको कालो मुस्लो निस्कन थालीसकेको थियो । यस्तो अवस्थामा प्यालेस्टाइनलाइ मात्र समाइराख्नु आफ्नो भलो ठान्यो ।
तर प्यालेस्टाइनीहरु र यहुदीहरुको युद्धको राँको बेलायत सम्ममात्र हैन कि संयुक्त राष्ट्रसंघ सम्म फैलियो । अप्रिल १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको एक भागलाइ यहुदीहरुको र अर्को भागलाइ अरबीयनहरुको राज्यमा बिभाजन गर्ने प्रस्ताव ल्यायो । प्यालेस्टाइनको बिभाजनलाइ पश्चिम युरोप र सोभियत संघले मन्जुर गरे, यद्दपी प्यालेस्टाइनीहरुको संघर्ष चाहीँ समग्र प्यालेस्टाइनलाइ स्वतन्त्र राज्य वनाउने भन्ने उद्धेश्यले प्रेरित थियो । यसरी बेलायतले प्यालेस्टाइनबाटपनि हात धुन परेको थियो । प्यालेस्टाइन र इजरायलको बिभाजन भैसकेपछि लगत्तै प्यालेस्टाइन माथि यहुदीहरुबाट एक भयंकर आक्रमण भयो । जसबाट सयौं प्यालेस्टाइनीहरु मारिनुका साथै झण्डै तीनलाख प्यालेस्टाइनीहरु त्यहाँबाट धपाइए । भगाइएका प्यालेस्टाइनीहरुका घरहरुमा इजरायलीहरुले गैरकानूनी यहुदी आप्रवासीहरुलाइ बसोबास गराए । संयुक्त राष्ट्रसंघले गरेको प्यालेस्टाइनको बिभाजन अन्तरगत यहुदीहरुको राज्यको रुपमा आजको इजरायल १९४८को मे महिनामा गठन भएको हो ।
यहुदीहरुले इजरायल राज्य प्राप्त गरिसकेपछिपनि प्यालेस्टाइानमाथि आक्रमण गर्न छोडेनन् । प्यालेस्टाइनीहरुका गाँउ र टोल खाली गराउदै यहुदीहरुको बसोबास गराउन थाले । ती क्षेत्रहरु गाजा क्षेत्र, हायरजासीन र पश्चिमबैकहरु हुन् । इजरायलीहरुले ५० र ६० को दशकमा जर्मनीबाट प्रयाप्त मात्रामा हातहतियारहरु प्राप्त गर्न थाले । कतिपय खरिद गरेर र कतिपय दोस्रो बिश्वयुद्धमा जर्मनीमा मारिएका यहुदीहरुको क्षतिपूर्तीको रुपमा ।
प्यालेस्टाइनमा इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अबर नोसार र अहमद सकु आइरीको नेतृत्वमा १९६४ मा प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पी एल् ओ) को गठन भयो । पीएलओको गठन डेमोक्रेटिक फ्रन्ट अफ लिबरेशन प्यालिस्टीना, अरव लिबरेशन फ्रन्ट र पपुलर स्ट्रगल फ्रन्टको नामबाट प्यलिस्टीना र त्यस क्षेत्रको स्वतन्त्रताका निम्ति संघर्षरत संगठनको सहयोगबाट भएको हो । यसमा अरु थुप्रै साना संगठनहरुको सहयोग पनि रहेको छ । कतिपय उक्त संगठनहरुको अस्तित्व अहिलेसम्मपनि कायम रहेको छ र आआफ्नो ठाँउबाट संघर्षरत छन् ।
पीएलओको गठनको लगभग पाँच बर्ष पछि यासिर अराफात पीएलओको गुरिल्ला युद्धका नायक बने र उनले बाँध्ने फेटालाइ प्यालेस्टाइनको चिन्ह भन्ने घोषणा गरे । युद्ध, संघर्ष र शान्ती वार्ताका बिभिन्न उतार चढाब एवं समर्थन, आलोचना र समालोचनाका बिभिन्न संघारहरु पार गर्दै यासिर अराफातले आफूले अन्तिम स्वास फेर्दासम्म पिएलओ र समग्र प्यालेस्टाइनको नेतृत्व गरे । अहिले प्यालेस्टाइनको स्वतन्त्रताको लडाइका निम्ति हमास पार्टीले नेतृत्व गरिरहेको छ । हमासले पीएलओको धेरैजसो उद्धेश्यहरुलाइ स्वीकार गरेको छ ।




