थिलथिलो परेका लालबाबु
● आनन्दराम पौडेल
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितजी २ महिनादेखि निजामति सेवा ऐन संशोधनको एकसूत्रीय अभियानमा डटेर लागेका थिए । उनको अभियानले एकचरण पार गर् यो । संशोधन विधेयक संसदमा पेश गर्ने भनि मन्त्रीपरिषदको बैठकले निर्णय गर्यो । लालबाबुको लागि आज सगरमाथा नभएपनि ल्होत्सेको शिखर चढेको हर्ष होला भनेर नन्दरामले लालबाबुलाइ भेट्न पुग्यो। लालबाबुलाइ भेट्दा नन्दरामले लालबाबुको अनुहारमा शिखर चढेको हर्ष हैन, शिखर चढ्दाचढ्दै भीरबाट खुर्मुरिएको बिषादभाव देख्यो । छक्क परेको नन्दरामले सोध्यो, “मन्त्रीज्यू, आज त तपाईं हर्षोल्लासमा हुनुपर्ने हैन ?”
“के बिषयमा हर्षोल्लास मनाउने ?” लालबाबुले उल्टै सोधे ।
“२ महिनादेखि तपाईं अरु सबै काम पन्छाएर निजामति सेवा ऐनलाइ संशोधन गर्न अहोरात्र खटिरहनुभएको थियो । हिजो साँझ बसेको मन्त्रीपरिषदको बैठकले संशोधन विधेयकलाइ संसदमा पेश गर्ने निर्णय गर्यो । तपाईंको प्रयास सकारात्मक दिशामा अघि बढ्यो । के यो हर्षको बिषय हैन ?” नन्दरामले सोधे ।
“तपाईंहरुले सर्वप्रथम के वुझ्नुपर्छभने म संशोधनको लागि मात्र संशोधन गर्न गैरहेको थिइन । एउटा ठूलो मिशन थियो । त्यो मिशनको उद्देश्य प्राप्तीको लागि संशोधन गर्न आवश्यक पर्न गएको थियो ।” लालबाबुले पर्दा अलिकति खोले ।
“कुन उद्देश्य प्राप्तीको लागि कस्तो मिशन हो ?”
“लक्ष त स्वच्छ प्रशासन नै हो । त्यस्लाइ आफ्नो क्षेत्रबाट सघाउन एउटा कार्ययोजना बनाएको थिएँ।” मन्त्रीले भने ।
“त्यो कार्ययोजना के थियो ?” नन्दरामले अलि बढी नै उत्सुकता जनाए ।
“तपाईंलाइ थाहै छ, नेपालका चलाक अधिकृतहरु अँचेटेर, घँचेटेर, झुकेर वा मिलाएर जेजसरी भएपनि कमाउ अड्डामा पोस्टिङ मिलाउन माहीर छन् । धन सोहोर्नु नै यो पोस्टिङको महान लक्ष हुन्छ । यसरी आर्जन गरेको अकूत धनलाइ सुरक्षित गर्नका लागि आफ्नो श्रीमतिलाइ (महिला अधिकृत भए श्रीमानलाइ) युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडामा स्थायी बसोबासको व्यबस्था मिलाउँछन् । तिनीहरुको यही राष्ट्रघाति कुत्सित योजनामा प्रहार गर्न खोजेको थिएँ ।” निकै मलिन अनुहारमा मन्त्रीले भित्री सार खोले ।
“कस्तो प्रहार गर्न खोज्नुभएको थियो ?” नन्दरामको उत्सुकता झन् बढ्यो ।
“श्रीमतिलाइ उताको नागरिकता, पीआर, ग्रिनकार्ड लिन लगाउने अधिकृतलाइ कार्यवाही गर्ने मेरो योजना थियो।” मन्त्रीले छर्लङ्गै पारे ।
“राष्ट्रिय हिसाबले अत्यन्तै पवित्र र उच्चकोटीको यो योजनालाइ कस्ले तुहाइदियो ?” नन्दरामको जिज्ञाशा मेटिएन ।
“नामै किटेर भन्नुपर्दा रामशरण महत, मिनेन्द्र रिजाल, नरहरि आचार्य, एनपी साउद, सुनीलबहादुर थापा (वाणिज्य, आपूर्ति मन्त्री), राजुमानसिंह मल्ल (मन्त्रीपरिषदका सचिव) हरु एकजुट भएर यसविरुद्ध मोर्चाबन्दी नै गरे ।” लालबाबुले भित्री गाँठो नै खोले ।
“तपाईंको पार्टी एमालेले सहयोग गर् यो होला नि ?” नन्दरामले अतिरिक्त कोट्याए ।
“एमालेका मन्त्रीहरु र पार्टीका नेताहरुले न्युट् रल गियरमा उदासीन बसिदिए। मैले एक्लै भिड्नुपर् यो ।”
लालबाबुको मलिन अनुहारको रहस्य वुझे। यति वुझेपछि त्यहाँ बसिरहन उपयुक्त लागेन। उत्सवको मुडमा आएका नन्दराम चियासमेत् नपिई फर्के ।




