संविधान बनाउने बेला कांग्रेस नेताको युरोपमा मस्ति
● दिनेश शर्मा खरेल
नेपालमा संविधान नबनुन्जेल सभासदहरुलाइ बिदेश भ्रमणमा नजान सभामुखले बिन्ति गरिरहेका छन् । तर हाम्रा सभासद भने बिदेशमा हावा खाँदै गूट बनाउँदै हिँडेका छन् । नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री प्रकाशसरण महत यतिखेर युरोप भ्रमणमा छन् । उनी कुनै राष्ट्रिय, महत्वपूर्ण, राष्ट्रले भाग नलिइनहुने अनतर्राष्ट्रिय कार्यक्रममा आएका होइनन् । बरु आफ्नै पार्टीभित्र आफ्नो गूट खडा गर्न युरोप भ्रमणमा छन् । देशमा संविधान बनाउन छोडेर युरोपका चिल्ला सडक र अग्ला भवन अगाडि फोटो खिचाउँदै हिँडेका छन् । संविधान चहियो पनि भन्ने । अनि आफ्नै नेता आउँदा लगौंटीको फेरो समाउँदै पछि लाग्ने गरेका कांग्रेसी कार्यकर्तापनि उनको पछाडि लागिरहेका छन् । अरु बेला ‘संविधान बनाउन बस्नु पर्ने नेता किन बिदेश आएको’ भनेर उफ्रिने कांग्रेसी राजनितिक भरियाहरुपनि अहिले प्रकाशसरणलाई बोकेर हिँडिरहेका छन् । सामाजिक सन्जालहरुमा देउवा पक्षको गोटा बनाउन होला खुब प्रचार गरिरहेका छन् ।
मे २७ का दिन त्यहि युरो कांग्रेसको भेलालाई सम्बोधन गर्न भनेर महत नेदरल्याण्ड आएका थिए । त्यो भेला युरोपभरिका कांग्रेसको भनेपनि देउवा पक्षको थियो । त्यति सानो कार्यक्रममा मा आएका उनी अझै फर्किएका छैनन् । बरु युरोपका अरु देश घुमेर मस्ति लिएका छन् । घुमघामको मेसोमा आफ्नो पक्षको गूट बनाउँदै हिँडेका छन् । उनले उद्घाटन गरेको र देउवा पक्षले नेपाली कांग्रेसको बिधान बिरुद्द बनाएको हुनाले युरो कांग्रेसको भेलामा कोइराला पक्ष वा बहुमत पक्षका कार्यकर्ताले बहिस्कार गराएका थिए ।
संविधान बनाउने विषयमा छलफल गर्न स्वदेश नफर्किएर प्रकाशसरण महत एन आर एनको सात जुनबाट हुन गैरहेको क्षेत्रिय भेलामा स्पेनको बार्सिलोनामा विशेष अतिथिका रुपमा भाषण ठोक्न जाँदै छन् । एन आर एनले नेपालका परराष्ट्र मन्त्रीलाई प्रमुख अतिथि बनाउन खोजेको थियो। मन्त्री आ उन मानेनन् । त्यसपछि परराष्ट्र सचिवलाई आग्रह गरेको थियो । सचिवलेपनि अस्विकार गरेपछि ‘नहुनु मामा भन्दा कानो मामा निको’ भन्दै महतलाई रोजेको हो। नेपालका नेता न परे । भाषण ठोक्न पाएपछि के छोड्ने ? उनले स्विकार गरिहाले । अझै उनलाई संविधान बनाउने पिरलो छैन । बरु पाएसम्म भ्रमणमै जोड गरिरहेका छन् । कांग्रेसी कार्यकर्तापनि खासगरि देउवा पक्षकाहरुले उनलाई अरु देश जान, सँगै टाँस्सिएर फोटो खिचाउनकालागि फुर्क्याइरहेका छन् ।





