देउवा पक्षलाई टक्कर दिँदै कोइराला पक्षको छुट्टै ‘युरो कांग्रेस’ गठन हुने संकेत

nepalcongress-flagनेपाली कांग्रस युरोपमा फेरि अर्को लफडा देखिएको छ । उस्तै परे अर्को युरो कांग्रेस पो गठन होला कि भन्ने संकेतपनि देखिँदै छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल र नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाली जनसंपर्क समिति बेल्जियमका पूर्व अध्यक्ष इन्द्र क्षेत्री पकवानले आज ‘युरोपमा नेपाली कांग्रेसका नाममा भैरहेको मनोमानीपूर्ण गतिविधीहरूको विरूद्धमा हार्दीक अपील’ भन्दै ‘युरो कांग्रस भंग गर्नुपर्ने माग गरेपछि बिबाद चर्किने देखिएको छ ।

राष्ट्रिय जनसम्पर्क समिति बाहेकका अन्य संरचनाहरूको बारेमा काँग्रेसको विधानमा कुनै व्यवस्था नभएको हुँदा त्यस्ता संरचनाहरूलाइ केन्द्रले मान्यता नदिने व्यहोराको परिपत्र केन्द्रिय कार्यालयले गत वर्ष नै सबै राष्ट्रिय जनसम्पर्क समितिहरूलाइ गरिसकेको पनि अपीलमा उल्लेख छ । यसको पालना हुने हो भने त युरो कांग्रेस स्वत : अबैधानिक सिद्द हुन्छ ।

“जनसम्पर्क समिति युरोपको नाममा गत केहि वर्षदेखि नै युरोपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता,सुभेच्छुक र समर्थकहरू बीचमा वैमनस्यता र बिभाजन ल्याउने खालका गतिविधीहरू हुँदै आएको तथ्य प्रष्टै छ । ” अपीलमा छ । तर कहाँ, कहिलेदेखि र कसले ल्याएको हो त्यो बिभाजन भन्ने चाहि अपिलमा उल्लेख छैन । अपीलले युरोपमा देउवा कांग्रेस र कोइराला कांग्रेसबिच बिबाद र बिभाजन रहेको बुझ्न सकिन्छ ।

गत मे २७ का दिन नेदरल्याण्ड्समा नेपाली कांग्रेसको युरोप संगठन ‘युरो कांग्रेस’ का नाममा भेला भएको थियो । त्यहाँ युरोपका कांग्रेसका नेता दिल बहादुर गुरुङ र बेल्जियमका गंगाधर गौतमसहितको सक्रियता थियो । केहिले यसलाई देउवा पक्षको भेला भने । अर्थात् कोइराला पक्षकाले यसलाई देउवा पक्षको र देउवा पक्षकाले समग्र रुपमै कांग्रेसको बैधानिक संगठन भन्ने गरिरहेका छन् । यो भेलामा कोइराला पक्षका भनिएकाहरुको उपस्थिति नगण्य थियो । कोइराला पक्षका भनिएकाहरुले चाहिँ युरो कांग्रेस नेपाली कांग्रेसको बिधान अनुसार मान्यता प्राप्त छैन भन्ने बैधानिक तर्क दिँदै आएका छन् । युरो कांग्रेस पक्ष अर्थात् देउवा पक्ष भनिएकाले चाहिँ कांग्रेसको बिधानको कुन धाराले बैधानिकता दिएको छ त भन्ने स्पस्ट खुलाएको देखिएको छैन । तर बैधानिक रहेको दाबी गर्दै आएका छन् ।

नेदरल्याण्ड्समा भएको भेलाले आगामी नोभेम्बरमा युरो कांग्रेसको अधिबेशन गर्ने भनेर सार्वजनिक गरेको थियो । तर अहिले ध्रुब पौडेल र ईन्द्र क्षेत्रीको अपील अनुसार त्यसलाई अबैधानिक भनिएको छ । भनेका छन् “हाल आएर नेपाली काँग्रेसको विधानमा व्यवस्था नभएको यस समितिको नाममा गत महिना नेदरल्याण्डमा कथित भेला सम्पन्न गरी एकक्षीय समिति बनाएर एक्लौटी रूपमा स्पेनमा अधिवेशन समेत आयोजना गरिने भनी बिभिन्न पत्रपत्रिकाहरूमा प्रायोजित समाचार संप्रेषण भैरहेकोमा हामी नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताहरू यसबाट अचम्भित भएका छौँ ।” अपील हेर्दा अब स्पेनमा गर्ने भनिएको अधिबेशनले झन युरोपका कांग्रेसलाई बिबादमा ल्याउँछ । दुई पक्षको तानातान अझ बढ्छ । यो बिबाद कसरि समाधान हुन सक्छ त भन्ने विषयमापनि अपीलले चार वटा बिकल्प पेश गरेको छ ।

● नेपाली काँग्रेस केन्द्रिय समितिको स्पष्ट अवधारणा बाहिर आउन अत्यावस्यक

● विधानमा व्यवस्था नभए पनि केन्द्रिय समितिले यस संस्थालाइ मान्यता दिने हो भने यसको अधिवेशनको प्रकृया अविलम्व सुनिश्चित हुनुपर्ने

● त्यसको लागि केन्द्रबाट नै सबै साथीहरूलाइ समेटी अधिवेशन तैयारी समिति बनाइनु वाञ्छनीय । अथवा सबैको सहभागिताको सुनिश्चिततताका लागि केन्द्रबाटै उपयुक्त समयमा केन्द्रिय प्रतिनीधिको रोहवरमा कार्यकर्ता भेला आयोजना गरि त्यसै भेलाबाट निष्पक्ष अधिवेशन तैयारी समिति गठन गरिनु पर्ने ।

● उपरोक्त तीन बुँदाको सम्बोधन गर्नको लागि अहिले गर्न लागिएको एकपक्षीय अवैधानिक सम्मेलन तूरून्त स्थगित गरी एकलौटी रहेको कथित समिति खारेज हुनुपर्ने ।

● कथित पोर्चुगलमा भएको घटना र स्पेनमा गरिएको मेलालाइ नेपाली कांग्रेसले मान्यता नदिएर खारेज गरिसकेको अवस्थामा यदि पुनः यसको अवस्यकता भएमा यस संगठनलाइ सून्य बिन्दूबाट नयाँ र निष्पक्ष संरचना निर्माण गरी यसको पुनरसंगठीत गर्नुपर्ने ।

अपील हेर्दा के बुझिन्छ भने यदि देउवा पक्ष भनिएकाहरुले युरो कांग्रेसलाई खारेज नगर्ने, कांग्रेस केन्द्रिय तहबाट यो समस्या समाधान नगर्ने हो भने कोइराला पक्ष भनिएकाहरुलेपनि जनसंपर्क समिति वा अर्को युरो कांग्रेस गठन गर्ने छन् । अथवा देउ कांग्रेसलाई टक्कर दिन कोइराला पक्षकापनि तयार देखिएका छन् । पौडेल र क्षेत्रीको अपीलमा त झन विगत ८ वर्ष केही ब्यक्तिहरूको अवैधानिक चुरीफुरीलाइ केन्द्रले अनुमोदन गरेको आरोप छ । युरो कांग्रेसको नाममा एकपक्षीय भेला,सम्मेलन वा अधिवेशनमा केन्द्र मूकदर्शक बनेर बस्ने हो भने अर्को संगठन खोल्ने संकेत कांग्रेस केन्द्रलाई दिएका छन् । अपीलामा भनिएको छ “विगत ८ वर्ष केही ब्यक्तिहरूको अवैधानिक चुरीफुरीलाइ अनुमोदन गर्दै त्यस संस्थाको नाममा एकपक्षीय भेला,सम्मेलन वा अधिवेशनमा केन्द्र मूकदर्शक बनेर बस्ने हो भने हामीले पनि उपयुक्त बिकल्प अवलम्वन गर्न बाध्य हुने कुरा जानकारी गराउन चाहान्छौँ । यसको विनम्र जानकारी नेपाली कांग्रेस केन्द्रिय कार्यालय र विभागीय प्रमूख श्री अर्जुन प्रसाद जोशीलाइ समेत गराइसकिएको व्यहोरा अनुरोध छ ।”

अपील हेर्नुस्, जस्ताको त्यस्तै

युरोपमा नेपाली काँग्रेसका नाममा भैरहेको मनोमानीपूर्ण गतिविधीहरूको विरूद्धमा हार्दीक अपील !

हामी युरोपभरी रहेका नेपाली काँग्रेसको सिद्दान्त र आदर्श प्रति प्रतिवद्ध रही सदैव आपसी सहकार्य,सहमति र एकताको पक्षमा कृयाशील रहेको कुरा अवगत गराउँदै यूरोपभरीका सबै देशका जनसम्पर्क समितिहरूले अधिवेशन सम्पन्न गरी विधी,विधान र पद्दतिको बाटोमा हिँडिसकेको सर्वविदितै छ । हामी यस अभियानमा सकृय हुन थालेको डेढ दशक पुग्दै गर्दा २००६ सालमा स्थापित भएको नेपाली काँग्रेस जनसम्पर्क समन्वय समिति युरोप गठनको भएको ८ वर्ष बितिसक्दा समेत बिधीको बाटो नअँगाली त्यहाँ केहि ब्यक्तिहरूको अवाञ्छनीय मनोमानी भएको प्रति हाम्रो विरोध रहेको कुरा अवगत गराउन चाहान्छौँ ।

यसै सनदर्भमा नेपाली काँग्रेसको विधानको धारा १४ अनुसार बिदेशस्थित जनसम्पर्क समितिहरूको बारेमा ५०० कृयाशील सदस्य रहेका जनसम्पर्क समितिहरूले नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशनमा भागलिन पाउने व्यवस्था गरिए पछि गत बा(हौँ महाधिवेनमा हामीले भाग लिने सुअवसर प्राप्त गरेको कुरा सर्वविदितै छ । राष्ट्रिय जनसम्पर्क समिति बाहेकका अन्य संरचनाहरूको बारेमा काँग्रेसको विधानमा कुनै व्यवस्था नभएको हुँदा त्यस्ता संरचनाहरूलाइ केन्द्रले मान्यता नदिने व्यहोराको परिपत्र केन्द्रिय कार्यालयले गत वर्ष नै सबै राष्ट्रिय जनसम्पर्क समितिहरूलाइ गरिसकेको परिप्रेक्षमा जनसम्पर्क समिति युरोपको नाममा गत केहि वर्षदेखि नै युरोपस्थित नेपाली काँग्रेसका नेता,कार्यकर्ता,सुभेच्छुक र समर्थकहरूबीचमा वैमनस्यता र बिभाजन ल्याउने खालका गतिविधीहरू हुँदै आएको तथ्य प्रष्टै छ । हाल आएर नेपाली काँग्रेसको विधानमा व्यवस्था नभएको यस समितिको नाममा गत महिना नेदरल्याण्डमा कथित भेला सम्पन्न गरी एकक्षीय समिति बनाएर एक्लौटी रूपमा स्पेनमा अधिवेशन समेत आयोजना गरिने भनी बिभिन्न पत्र(पत्रिकाहरूमा प्रायोजित समाचार संप्रेषण भैरहेकोमा हामी नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताहरू यसबाट अचम्भित भएका छौँ । यस सन्दर्भमा
१। नेपाली काँग्रेस केन्द्रिय समितिको स्पष्ट अवधारणा बाहिर आउन अत्यावस्यक भैसकेको छ ।
२।  विधानमा व्यवस्था नभए पनि केन्द्रिय समितिले यस सँस्थालाइ मान्यता दिने हो भने यसको अधिवेशनको प्रकृया अविलम्व सुनिश्चित हुनु पर्दछ ।
३।  त्यसको लागि केन्द्रबाट नै सबै साथीहरूलाइ समेटी अधिवेशन तैयारी समिति बनाइनु वाञ्छनीय देखिन्छ अथवा केन्द्रबाटै उपयुक्त समयमा केन्द्रिय

प्रतिनीधिको रोहवरमा कार्यकर्ता भेला आयोजना गरि त्यसै भेलाबाट निष्पक्ष अधिवेशन तैयारी समिति गठन गरिनु पर्दछ । ताकि सबै साथीहरूको सहभागिताको सुनिश्चितत गरोस ।
४।  उपरोक्त तीनबुँदाको सम्बोधन गर्नको लागि अहिले गर्न लागिएको एकपक्षीय अवैधानिक सम्मेलन तूरून्त स्थगित गरी एकलौटी रहेको कथित समिति खारेज हुनुपर्दछ ।
५। कथित लिश्वनमा भएको घटना र स्पेनमा गरिएको मेलालाइ नेपाली काँग्रेसले मान्यता नदिएर खारेज गरिसकेको अवस्थामा यदि पुनः यसको अवस्यकता भएमा यस सँगठनलाइ सून्य बिन्दूबाट नयाँ र निष्पक्ष संरचना निर्माण गरी यसको पुनरसँगठीत गर्नु पर्दछ ।
विगत ८ वर्ष केही ब्यक्तिहरूको अवैधानिक चुरीफुरीलाइ अनुमोदन गर्दै त्यस सँस्थाको नाममा एकपक्षीय भेला,सम्मेलन वा अधिवेशनमा केन्द्र मूकदर्शक बनेर बस्ने हो भने हामीले पनि उपयुक्त बिकल्प अवलम्वन गर्न बाध्य हुने कुरा जानकारी गराउन चाहान्छौँ । यसको विनम्र जानकारी नेपाली काँग्रेस केन्द्रिय कार्यालय र विभागीय प्रमूख श्री अर्जुन प्रसाद जोशीलाइ समेत गराइ सकिएको व्यहोरा अनुरोध छ । हाम्रो यस जायज र न्यायोचित अभियानमा विधि,विधान र पद्दतिमा विस्वास गर्ने सबै देशका जनसम्पर्क समिति र इमान्दार साथीहरूले ऐक्यवद्धता जनाउनुहुने छ भन्नेमा हामीले पूर्ण विस्वास लिएका छौँ ।
जयनेपाल ।
निवेदक
ध्रुव राज पौडेल (सँस्थापक अध्यक्ष नेपाली जनसम्पर्क समिति,बेल्जियम)
इन्द्र क्षेत्री पकवान (नेपाली काँग्रेस महासमिति सदस्य तथा पूर्व अध्यक्ष नेपाली जनसम्पर्क समिति,बेल्जियम ।
मिति, ०३ जुन २०१४ ।

तपाइँको प्रतिक्रिया