कुरा मोदीको, सन्दर्भ नेपालको
● आनन्दराम पौडेल
हजुरबाहरुले भन्नुहुन्थ्यो, “जस्ले अरुको अनुभवबाट सिक्छ त्यो उत्तम, जस्ले आफ्नै अनुभवबाट सिक्छ त्यो मध्यम र जस्ले आफ्नै अनुभवबाट समेत सिक्दैन त्यो अधम हो ।” हाम्रा नेताहरु उत्तम बन्ने होभने भर्खरै सम्पन्न भारतको निर्वाचनबाट के सिक्न सक्छन् होला ? भारतीय लोकसभाको निर्वाचनअगावै तीनौटा कुरा देखिएका थिए । १. भाजपाले भावी नेता प्रस्तुत गरेको थियोभने कांग्रेसले प्रस्तुत गरेन । २. कांग्रेसले आफूमाथि लागेका भ्रष्टाचारको आरोपलाइ खण्डन गर्न सकेन । मोदीले गुजरातमा भएका विकास, प्रगति र समृद्धीलाइ यसरी प्रस्तुत गरेकि जस्ले गर्दा त्यहाँ सामाजिक न्याय र वितरणमा भएका कमिकमजोरी समेत् ढाकिए। ३. टेलिभीजन बहसमा मोदीले आफ्ना कुरा अत्यन्तै प्रष्ट तवरले राखिरहेका थिए । उनको अभिव्यक्तिमा मात्र हैन, बडील्याङ्ग्वेजमा समेत् आत्मविश्वाश प्रष्ट झल्कन्थ्यो । टेलिभीजन बहसमा राहुलको प्रस्तुति हरहिसाबले फितलो थियो । ४.मोदीको ‘मेडियाक्याम्पेन’ आक्रामक तर सन्तुलित थियो । सामाजिक सञ्जालहरुमा जनताका सवालहरु अनुत्तरित रहँदैनथ्यो र छिटोछिटो अपडेट गरिएका थिए । मोदीको तुलनामा कांग्रेसको मेडियाक्याम्पेन पट्यारलाग्दो थियो ।
कांग्रेसले आफ्नो विजयको सम्भावना नदेखेरै भावी प्रधानमन्त्री घोषणा गरेन भन्ने सन्देश गयो । भाजपामाथि जतिसुकै धार्मिक, साम्प्रदायिक रङ्ग पोत्न खोजेपनि भाजपाले शब्द मात्र हैन भावभङ्गिबाट समेत् जातीय, साम्प्रदायिक अभिब्यक्ति प्रकट हुन दिएन। बरु, राष्ट्रियता, सुशासन र विकासको प्रष्ट एजेण्डा अघि सार्यो ।
इण्टर्नेटलगायत सञ्चारका बिबिध सामगृका कारणले विश्व खुम्चिएर ‘ग्लोबल भिलेज’ बाट अघि बढी ‘ग्लोबल फ्यामिलि’ को स्वरुपमा देखा परेको छ । मतदानद्वारा अभिब्यक्त गर्ने जनताको मनोबिज्ञान धेरैतिर मिल्दोजुल्दो देखिन थालेको छ । खुल्ला वजारमा राष्ट्रलाइ हेलिदिंदा राष्ट्र कमजोर भएको मूल्याङ्कन गर्न थालिएको र राष्ट्रलाइ कसरी मजबुत पार्ने भनि चिन्ता लिएको देखिन्छ । सन २००८ देखि नै खुल्ला वजारको अर्थतन्त्र असफल भएको निस्कर्ष निकाल्न थालिएको छ। जापानमा ६ बर्षसम्म राजनीतिक अस्थिरताले वाक्कदिक्क भएका जनताले राष्ट्रिय पुनर्निर्माणको दृढ अठोट लिएका सिञ्जो अवेलाइ २०१२ को अन्तमा राष्ट्रको नेतृत्व सुम्पे । बर्षैपिच्छेको सरकार परिवर्तनले राष्ट्रलाइ गतिरोधको अवस्थामा पुर् याउन लागेको थियो । चीनलाइ एकढिक्का बनाउने, विश्वमञ्चमा सकृय भूमिका बहन गर्ने र चीनलाइ महाशक्तिमा स्थापित गर्ने सङ्कल्प लिएका सी जिनपिङलाइ चीनले नेतृत्वमा राखेको छ।
त्यसैगरी, सोभियत रुसलाइ पुनर्स्थापित गर्ने उद्देश्य बोकेका र गुमेको साख फिर्ता ल्याउँछु भनि कम्मर कसेका भ्लादिमिर पुटिनको नेतृत्व पाएर रुस दङ्ग छ । भित्रैदेखि राष्ट्र दह्रो बनाउँन समर्पित भएको कारणले नै मोदीलाइ जनताले मत ओइर् याइदिएका हुन् भन्नेमा शङ्का छैन । नेपालमा पनि राष्ट्रलाइ मजबुत पार्नसक्ने भरपर्दो नेता अगाडी देखिएकोभए नेपाली जनताले सम्पूर्ण मत त्यसैलाइ खन्याउने थिए ।
मङ्सीर ४ गते नेपालमा भएको निर्वाचनलाइ हेरौं । निर्वाचनको अघिल्लो दिनसम्म नेताहरु “ब्रह्म सत्य जगन्मिथ्याको शैलिमा जातपात, धर्म, सम्प्रदायको राजनीति मात्र महत्वपूर्ण हो, अरु सबै गौणहुन्” भनेर कुर्लिरहेका थिए। र, नेपालको आकास यसैले गुञ्जायमान थियो। तर, निर्वाचनमा जनताले छानिछानि जातीवादीहरुलाइ किनारा लगाइदिए । भारतमा पनि जातीय र क्षेत्रीय राजनीति गर्ने अधिकांश पार्टीलाइ थन्क्याइदिएका छन् । पपुलिष्ट राजनीति बोकेर सतहमा कुद्न खोज्ने आम आदमी पार्टीलाइ पनि जनताले विश्वास गरेनन् । राष्ट्रियता, विकास र समृद्धी विश्वकै नारा बन्ने छाँट देखिएको छ। नेपालमा पनि “सरकारबाट जनताले के चाहेका रहेछन्” भनि जनताको भावना वुझ्नको लागि २०६३ सालमा र प्रचण्ड प्रधानमन्त्री भएपछि २०६५ सालमा गरिएको सर्वेक्षणमा जनताले, “शान्तिसुरक्षा, न्याय र सुशासन भए पुग्छ, राष्ट्रको विकास हामी आफैं गर्छौं ” भनेका थिए । तर, हाम्रा नेताहरुले जनताका इच्छा, आकांक्षा र भावनाबाहेक आफ्ना स्वार्थका र मनगढन्ते कामहरु सबै गरे ।
पार्टी ब्यबस्थित गर्न नसकेको र सरकार सञ्चालन गर्न नसकेको बिषयमा आलोचना हुँदा सुशील कोइरालाजी, “सरकार सञ्चालनको अनुभव थिएन” भनेर उम्कन खोज्नुहुन्छ । यही सन्दर्भमा मोदीको स्थिति हेर्दा गुजरातको मुख्यमन्त्री हुनुअघिसम्म मोदी कुनै सरकारी पदमा थिएनन्। तर, उनले, “म अनुभवहीन छु” भनेर हीनताग्रन्थी पालेर बसेनन्। मुख्यमन्त्री भएको पहिलो दिनबाटै आफ्नो ‘भीजन’ कार्यान्वयन गर्नतिर लागिहाले । वैदेशिक लगानी भित्र्याउन चीनको अनुभवबाट सिके । यसैको लागि ४ पटक चीनको भ्रमण गरे । चीनले लगानीको ग्याराण्टी, शान्तिसुरक्षा, झमेलारहीत छिटोछरितो प्रशासनिक प्रकृया र एकद्वार प्रणालिको ब्यबस्था गरेपछि वैदेशिक लगानी ओइरिएको तथ्य वुझे । चीनको अनुभवबाट सिकेर गुजरातमा त्यही अनुसारको ब्यबस्था मिलाए । गुजरात स्टेट फर्टिलाइजर्स एण्ड केमिकल्स लिमिटेड र गुजरात उर्जा विकास निगम जस्ता घाटामा गएका कम्पनीलाइ पुनर्गठन गरेर नाफा कमाउने बनाइदिए । उन्का यिनै प्रयत्नको फलस्वरुप २०११ सम्ममा गुजरातमा ६७३ अर्ब डलर लगानी आयो। टाटा, रिलायन्स, महिन्द्रा जस्ता स्वदेशी घरानाहरुपनि आकर्षित भए । भारतको राष्ट्रिय आर्थिक बृद्धिदर ७ प्रतिशत हुँदा गुजरातमा १० प्रतिशत रह्यो । यता हाम्रा सुशील कोरालाजी धर्धरी रोइरहनुभएको छ । “मेरो गतिहीनतालाइ टिप्पणिको बिषय बनायौभने अहिल्यै छाडिदिन्छु” भनेर घुर्क्याउनुहुन्छ । उहाँको हीनताग्रन्थीलाइ सानो एउटा निवेदन गरौं, “नेतृत्व भनेको भिजन हो, बिज्ञता ‘हायर’ गरिन्छ ।”
राष्ट्रको महत्वपूर्ण जिम्मेवारी बहन गर्ने ब्यक्तिले आफू सफा छु भनेर मात्र पुग्दैन, आफ्नो घरको सबै तलालाइ सफा राख्नुपर्छ । भारतका पूर्व प्रमं मनमोहन सिंह, नेपालका वर्तमान प्रमं सुशील कोइराला र नेपालका प्रधानन्यायधीश दामोदर शर्मा आफू त सफा होलान्, तर आफ्नै कुर्सीमुनि र तलैपिच्छे फोहोर थुप्रिएर डुङ्डुङ्ति गन्हाइरहेको छभने आफूमात्र सफा रहनुको के अर्थ भयो ? त्यतिमात्र हैन, हरेक संस्थाको नेतृत्व भनेको ड्राइभिङ सिट हो। ड्राइभिङ सिटमा बस्नेले गाडीलाइ राम्ररी हाँक्न सक्नुपर्छ । ड्राइभिङ सिटमा बस्नु र साँच्चै गाडी हाँक्नु फरक-फरक कुरो हो । अहिले सुशील कोइरालाको बिषयमा, ‘ड्राइभिङ सीटमा बस्न रहर गर्ने तर गाडी हाँक्ने आँट नगर्ने’ भनेर दुनिञाले मूल्याङ्कन गरेको छ । तर, मोदीको बिषयमा भन्नुपर्दा राज्यको कुनै पदमा नबसेका मोदी एक्कैचोटी मुख्यमन्त्री भएका थिए । मुख्यमन्त्री भएको क्षणबाटै हुईंक्याएर लगे ।
हामीकहाँ पखेटा लागेपछि गुँड बिर्सने र रुख आकासिएपछि जरा बिर्सनेहरुले मोदीबाट पाठ सिक्नुपर्ने देखिन्छ । नरेन्द्र मोदी किशोरावस्थामा बडोदराको ‘श्री टी स्टल’ मा चिया बेच्नेगर्थे । तीनपटक मुख्यमन्त्री र अहिले प्रधानमन्त्री हुँदापनि त्यो ‘टी स्टल’ का ‘चायवाला’ किरण महिदालाइ उनले कहिल्यै बिर्सेनन् । मोदी भाजपा पार्टी, हरियाणामा काम गर्दा त्यहाँ दीपक कुमार नामका नेपाली कुक थिए । यस्पालि मोदीले तिनलाइ पनि खोजे, भेटे र अङ्कमाल गरे ।
अरुको अनुभवबाट सिक्न खोज्नेको लागि सिक्ने बिषयबस्तु धेरै छन् । केवल भिजन प्रष्ट हुनुपर्छ। दृढ इच्छाशक्ति, संकल्प, अठोट, आँट, हिम्मत र त्याग हुनुपर्छ; त्यत्ति हो ।




