शान्तिसुरक्षाको नाममा
● आनन्दराम पौडेल
बैशाख मसान्तमै भैरहवामा यसपालि गर्मी चर्केको थियो। तेल चोरहरुलाइ कार्यवाही गर्न लागेकोले प्रहरी कार्यालयमा चहलपहल बढेको थियो । कार्यवाही अगाडी नबढाइदिन भनसुन गर्न आउने नेताहरुको लर्कोले गर्मी थपिरहेकै थियो । यही बेलामा तेल चोरहरुको पक्षमा दबाब दिन एउटा हूल प्रहरी कार्यालयको प्राङ्गणमा छिर्यो । डिएसपी दीपक न्यौपानेले आफ्नो कार्यकक्षबाटै देखे । हूल ठूलै भएकोले हूललाइ प्राङ्गणमै रोक्ने व्यबस्था मिलाउन इन्स्पेक्टरलाइ अह्राए, र झ्यालबाट हेरे । त्यो जुलूसको नेतृत्व गर्ने अनुहारहरु देखेर डिएसपी झस्के । सबै एनजिओ सञ्चालक थिए। यी अनुहारले एक महिना अघिको घटना याद गरायो।
डिएसपी दीपक न्यौपानेले झलझलि सम्झे, “यिनीहरुकै कारणले गर्दा जिन्दगीमा सोच्नै नसकिने भयङ्कार अपराध मैले गरें । यी एनजिओ सञ्चालकहरु सिद्धार्थनगर नगरपालिकाको वडा नं ५ मा बस्दारहेछन् । आफू बसेको टोलमा यिनीहरुको एकछत्र राज रहेछ । घरबाट चिरिच्याट्ट परेर निस्कने र जहिलेपनि हतार भएजस्तो कारमा हुईंकिईरहेका हुने, यिनीहरुले शुरुमा मलाइ पनि प्रभाव पारेका हुन् । मसँग निकै नजिक भैसकेका थिए । मेरो एकजना आफन्तलाइ यिनीहरुले आइएनजिओमा जागीर लाइदिएका हुन् । यहाँ यत्रो जिम्मेवारीको वोझ र जवाफदेहीको टेन्सन बोकेर रातदिन नभनि खट्दा मासिक २५ हजारपनि छैन, तर ती आइएनजिओमा त सामान्य कर्मचारीको पनि न्युनतम ५० हजार हुँदोरहेछ ।
आफन्तलाइ जागीर लगाइदिएपछि म यिनीहरुप्रति अलि बढी नै नतमस्तक हुन थालेछु । हुनपनि, आजको जमानामा यत्रो जागीर कस्ले लगाइदिन्छ ? यही वुझेर यिनीहरुले मलाइ प्रयोग गरे । टोलमा यिनीहरुको दबदबा रहेपनि एकजना व्यक्तिचाहीं यिनीहरुलाइ टेरपुच्छर नलाउने रहेछन् । ‘एसम्यान’ हुननसकेको त्यो व्यक्तिलाइ तह लगाउने विचार गरेछन् र, उपाय सोचेछन् । त्यो व्यक्तिको ७ बर्षको छोरो रहेछ । त्यही ७ बर्षको केटोलाइ कुनै निहुँमा थुनिदिन पाए बाउलाइ चङ्गुलमा पार्न सकिन्छ भनेर षडयन्त्रको तानाबाना बुनेछन् ।
नयाँ बर्षको सन्दर्भमा भनेर नव वर्षको ३ दिनअघि यिनीहरुले खानपीन, रमझमको व्यबस्था गरेका थिए । त्यही रमझममै मसँग यिनीहरुले, ‘त्यो केटोलाइ केही दिन थुनिदिनुपर्यो’ भने । ‘के निहुँमा थुन्ने ?’ मैले सोधेको थिएँ । ‘बलात्कारको केसमा’ तिनीहरुले भनेका थिए । ‘कस्लाइ बलात्कार गर्यो भन्ने ?’ मैले सोधेको थिएँ । ‘त्यसैको छिमेकीको छोरी छ। त्यस्लाइ उजुरी हाल्न लगाउँला।’ तिनीहरुले भनेका थिए । ‘केटो ७ बर्षको भनेको ह्वैन र ? बलात्कृत भनिने तिनको छोरीचाहीं धेरै ठूली छकि ? ’मैले सोधेको थिएँ । ‘ह्वैन, ६ बर्षकी छ ।’ तिनीहरुले भनेका थिए । अर्द्धमुस्कान सहित ‘हुन्छ’ भनेर टाउको हल्लाएको थिएँ । सहमति त दिएँ, तर मेरो सिक्स्थ सेन्सले, ‘यो एकदमै अस्वाभाविक र अड्मिल्दो काम नगर’ भनिरहेको थियो । भोलिपल्ट अफिसमा बसिरहेको थिएँ । ती नानीको बाउको हातबाट उजुरी दिए । मैलेपनि मुद्दा फाँटका सइलाइ बोलाएर, ‘यो उजुरी दर्ता गरी मुद्दाको कार्यवाही प्रकृया अघि बढाउनु’ भनि आदेश गरिदिएँ । तिनीहरुले सरकारी वकील, न्यायाधीशहरु सबै मिलाइसकेका रहेछन् ।
अहिले पछिल्लो कालमा नियुक्त भएका न्यायाधीशलाइ के न्यायाधीश भन्नु ? सबै पार्टीका झोले हुन् । पार्टीका झोलेबाट एक्कैचोटी न्यायाधीशको कुर्सीमा बसेका यिनीहरु भन्दा त बरु यी तेल चोरलाइ छुटाउन भनसुन गर्न आउने पार्टी-कार्यकर्ता इज्जतदार छन् । खैर जे होस्, ‘सबै लाइन, सेट मिलाइसक्यौं’ भनेकाले मैलेपनि फटाफट मुद्दा प्रकृया अघि बढाएँ । अभियुक्त भनिएको त्यो ७ बर्षको बालकलाइ पक्डाउ गर्न पक्राउपुर्जि जारी गरें। पक्राउ गरेर ल्याएँ । नभन्दै, मिसिल पेश गर्नासाथै, एकवचन नसोधी, रुपन्देही जिल्ला अदालतका न्यायाधीश बालचन्द्र शर्माले, ‘पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्नु’ भनेर आदेशपनि ठोकिदिइहाले । भन्न त यिनीहरुले अस्पतालको डाक्टरसँग पनि कुरा मिलाएका छौं भन्थे । कता तलबितल परेछ कुन्नि ! भीम अस्पतालका डाक्टरले, ‘बलात्कार भएको छैन’ भनेर नेगेटिभ रिपोर्ट मात्रै दिएनन्, ‘यस्तो केस बनाउने ?’ भनेर हाम्रा प्रहरीलाइ समेत हप्काएछन् ।
डाक्टरले नेगेटिभ रिपोर्ट दिएपनि अरु केही प्रमाण जुटाएर मुद्दा प्रकृया अघि बढाइरहने सल्लाह भएको थियो । सरकारी वकील र न्यायाधीशसँग मुख मिलेको थियो । अरु त सबै ठीकठाकै थियो, तर केही पत्रकारहरुको कारणले बिग्रन पुग्यो । रुपन्देहीमा डिएसपी भएर आउनासाथ मैले सर्वप्रथम पत्रकारहरुलाइ नजिक राख्ने चेष्टा गरें । यस्मा म धेरै हदसम्म सफलपनि भएकै हुँ । अरूण ज्ञवाली जस्ता २-३ जना पत्रकारलाइ चाहीं आफ्नो बनाउन सकिन । यिनीहरु अलि अह्ररा रहेछन् । यही केसमा पनि मैले हात हालेको भनेपछि अरु सबै पत्रकारले आँखा चिम्लिसकेका थिए । यिनै अरुण ज्ञवालीहरुले कोट्याइ-कोट्याइ उधिन्नथाले ।
भीम अस्पतालमा गएर, ‘यस्तो केसमा बिशेषज्ञको राय के हुन्छ ?’ भनेर सोधेछन् । भीम अस्पतालका डाक्टरले, ‘चिकित्साबिज्ञानले यस्लाइ असम्भव ठान्छ । यो वाहियात मात्र हैन, एकदमै उटपट्याङ काम हो’ भनेछन् । डाक्टरको यही निस्कर्ष बोकेर मलाइ भेट्न आएका थिए । केही दिनसम्म त तर्केर भागें । जति गर्दापनि पिछा नछोडेकोले भेट गर्न बाध्य भएँ । वच्ने उपाय केही नपाएर, ‘शान्तिसुरक्षा कायम राख्ने शिलशिलामा प्रहरीले कहिलेकाहीं यस्ता काम गर्नुपर्छ’ भनिदिएँ । ‘ गत माघको अन्तिम हप्तामा पलापु गाविस-८ ओखलढुङ्गाका ज्ञानबहादुर माझीलाइ सुटुक्क भारततिर पठाएर तिनै ज्ञानबहादुर माझीलाइ हत्या गरेको भन्ने अभियोग लगाई सोही गाउँका ५० बर्षीय चित्रबहादुर माझी र उनका छोराहरु २२ बर्षीय कमल र १८ बर्षीय सुरेन्द्रलाइ माघ २८ गतेदेखि थुनामा राखिएको छ । शान्तिसुरक्षा कायम राख्ने शिलशिलामा यस्ता कामहरु गर्नुपर्ने हुन्छ। शान्तिसुरक्षासँग सम्बन्धित कामहरु सबै बताउन मिल्दैन र तपाईंहरुले सोध्नुपनि हुँदैन’ भनें । तैपनि यिनीहरु तर्सेनन् । केहीसिप नलागेर मुद्दा झिक्ने निश्चय गर्नुपर्यो । ” घटना केन्द्रित भएर सोच्दासोच्दै निकै गहिरिएछन् । इन्स्पेक्टरले आएर,‘जयनेपाल साहब’ भनेपछि झसङ्ग भए । तेलचोरको पक्षमा दबाब दिन आएका ती
एनजिओहरुलाइ एसपी साहेबले हप्काएर पठाएछन् । केही नभएजस्तो गरी डिएसपी दीपक न्यौपाने नियमित काममा लागे ।




