बैध्यलाई आफूतिर तान्ने दाहाल-भट्टराई दुवैको दोहोरो ‘रणनीति’
● केदारनाथ गौतम
दक्षिणपन्थी-संशोधनवादी कार्यदिशालाई नै निरन्तरता दिइराख्ने कि सापेक्षित क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्ने भन्ने सवाल तथा नेकपा-माओवादीलगायत क्रान्तिकारी र अग्रगामी राजनीतिक शक्तिहरूसँग पार्टी एकता गर्ने वा नगर्ने भन्नेजस्ता सवालमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल तथा सोही समूहको ‘संस्थापन पक्ष’ सँग ‘भिन्न मत’ राख्ने अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराई दुवैले विगतदेखि दाहालले गर्दै आएजस्तै गरी दोहोरो ‘रणनीति’ अङ्गीकार गर्न थालेका छन् ।
एमाओवादीको हालै विराटनगरमा भएको प्रथम राष्ट्रिय सम्मेलनले पन्ध्र महिनाअघि हेटौंडा महाधिवेशन नामक कुम्भ मेलाले अङ्गीकार गरेको दक्षिणपन्थी-विसर्जनवादी ‘कार्यदिशाविहीन कार्यदिशा’ लाई खारेज गरी क्रान्तिकारी कार्यदिशा अवलम्बन गर्ने कुरा त परै छाडौं, त्यस सम्बन्धमा गम्भीर बहस समेतको उठान गर्न सकेन । यद्यपि आफैं मुख्य मतियार बनेर प्रायोजन गरेको कथित संविधानसभा निर्वाचन नामको नौटङ्कीमा नराम्ररी पछारिएर धूलो चाट्दै यथास्थितिवादी राज्यसत्ताका सबैजसो ओहोदा र निकायबाट गलहत्याइन पुगेको अनि सोही नक्कली संविधानसभामार्फत लाद्ने प्रयत्न भइरहेको यथास्थितिवादी-संसदवादी ‘नयाँ’ संविधानमा समेत आफ्नो खासै ‘हिस्सा’ रहने सम्भावना सकिएको परिप्रेक्ष्यलाई मध्यनजर राख्दै पुष्पकमल दाहालले विराटनगर सम्मेलनमार्फत नेकपा-माओवादीसँग थोरै ‘नीतिगत निकटता’ दर्शाउने प्रयत्न चाहिँ गरेका छन् । दाहालको यो प्रयत्न एमाओवादी समूहलाई क्रान्तिकारीकरण गर्ने मनशायले भन्दा पनि उक्त समूहमा रहेका क्रान्तिकारी चरित्रका नेता-कार्यकर्ताहरू धमाधम विसर्जनवादी-नवसंशोधनवादी एमाओवादी समूह परित्याग गर्दै नेकपा-माओवादीमा समाहित हुने क्रम बढेर जान थालेको र विराटनगरको गाईजात्रापछि यो क्रम अझ बढ्ने त्रासका कारण ‘हामी पनि क्रान्तिकारी कार्यदिशा अँगाल्दै छौं र छिट्टै नै नेकपा-माओवादीसँग पार्टी एकता हुँदै छ’ भनेर ढाँट्दै आफ्नो समूहमा बढ्दै गएको पहिरो रोक्ने अस्त्रका रूपमा फ्याँकिएको जालबाहेक अरु केही नभएको कुरा छर्लङ्गै छ ।
वर्षौंदेखि राजनीतिक-वैचारिक दृष्टिले कब्जा जमाइसकेका बाबुराम पक्षधरहरू एकातिर विराटनगर सम्मेलन सङ्गठनात्मक रूपले मूल नेतृत्वसहित पूरै एमाओवादी समूह कब्जा गर्ने रणनीतिमा हालका लागि असफल भई आफ्नो पूरै समूह केन्द्रीय समितिबाट समेत बाहिरिने परिस्थिति बन्नु र अर्कातिर दाहालले नेकपा-माओवादीसँग ‘नीतिगत निकटता’ को सूक्ष्म सङ्केत दिँदै पार्टी एकताप्रति सापेक्षित रूपले गम्भीर ढङ्गबाटै आशक्ति देखाउनुबाट बाबुराम समूह त्रसित बन्न पुगेको छ । विराटनगर सम्मेलन सकिनुअगावै आफ्नो पूरै समूह केन्द्रीय समितिमा बस्न अस्वीकार गरी चीनतर्फ हान्निएका बाबुराम भट्टराईले चीनबाट फर्कनासाथ परिस्थितिको यही जटिलतालाई मध्यनजर गर्दै नेकपा-माओवादीसँग एकता गर्न दाहालभन्दा आफू बढ्ता लालयित रहेको चतुर्याइँपूर्ण अभिव्यक्ति दिएका छन् । विगतमा पनि ‘धोवीघाट प्रकरण’ मा आफूहरू कमरेड किरण लगायतसँग एकाकार भई अध्यक्ष दाहालको नोकरशाही, एकमनावादी एवम् एक व्यक्तिकेन्द्रित हैकमवादी नेतृत्वलाई चुनौती दिइएको र भविष्यमा समेत ‘सङ्गठनात्मक रूपान्तरण’ का लागि कमरेड किरण लगायतसँगको एकता दाहालहरूलाई भन्दा आफूहरूलाई बढ्ता ‘लाभदायी’ हुने अभिव्यक्ति दिएर डा. भट्टराईले नेकपा-माओवादीसँग ‘एकता’ गर्दै आफू र आफ्ना पक्षधरहरूलाई किनारामा धकेल्ने दाहालको सम्भावित ‘कदम’ लाई निस्तेज पार्ने प्रयत्न गरेका हुन् ।
कुनै ठोस कार्यनीति र विचार नभएका, जोसँग ‘एकता’ गर्दा आफ्नो पद र पार्टीसत्ता एवम् राज्यसत्ताका ओहोदाहरू आफ्नो मुठीभित्र कैद हुन सक्छन्- त्यसैसँग ‘एकता’ गरिहाल्न समेत रत्तिभर नहिच्किचाउने दाहालको चरित्र बुझेका बाबुराम भट्टराईले नेकपा-माओवादीसँगको एकताका निम्ति आफूले ‘अझ बढ्ता प्रयास गर्ने’ बताउँदै दाहाललाई ‘धोवीघाट प्रकरण’ को ‘झड्का’ पुनःस्मरण गराउँदै किरणहरूसँग एकता गरिए पुनः ‘महाधोवीघाटहरू’ जन्माइने घुमाउरो भाषाको धम्की दिएका छन् । माओवादीको झन्डा र साइनबोर्डमुनि एकातिर कमरेड किरण नेतृत्वको नेकपा-माओवादीले अँगालेको प्रष्ट क्रान्तिकारी कार्यदिशा र अर्कातिर डा. भट्टराईको ‘नीतिगत नेतृत्व’ मा एमाओवादीले अङ्गीकार गरेको स्पष्ट दक्षिणपन्थी-नवसंशोधनवादी कार्यदिशाहरू विद्यमान रहेको यथार्थतालाई ‘शिष्ट र कूटनीतिक भाषा’ मा स्वीकार गर्दै डा. भट्टराईले कमरेड किरणहरूसँग आफ्नो राजनीतिक कार्यदिशा नमिल्ने तर ‘सङ्गठनात्मक रूपान्तरणको एजेन्डा’ पूरै मिल्ने बताएर दाहाललाई क्रान्तिकारी कार्यदिशाप्रति ‘ओठेभक्ति’ समेत प्रदर्शन नगर्न र आफूहरूलाई पार्टीबाट खेद्दै नेकपा-माओवादीसँग ‘एकता’ नगर्न ‘घुमाउरो भाषाबाट तर कडा र सोझो चेतावनी’ दिएका हुन् ।
कथित संविधानसभाको दोस्रो चुनावको अघिल्लो दिनसम्म ‘मङ्सिर ४ गतेसम्म मात्र’ नेकपा-माओवादीको अस्तित्त्व रहने र चुनावको भोलिपल्टदेखि उक्त पार्टी नै सिद्धिने धमास दिँदै आएका दाहाल र भट्टराई दुवै गुटका एमाओवादी नेताहरू यसरी आज नेकपा-माओवादीको नाम भजाएर आफ्नो राजनीतिक अस्तित्त्व बचाउन बाध्य भएका छन् । न दाहाल न भट्टराई- दुवै गुटहरूले नवसंशोधनवादी-दक्षिणपन्थी विसर्जनवाद त्यागेर क्रान्तिकारी कार्यदिशा अँगाल्दै क्रान्तिकारी कम्युनिस्ट एकताको पक्षमा भने रत्तिभर पहल गरेका छैनन् । केवल एमाओवादी समूहमा जान थालेको पहिरोको रोकथाम गर्न र आ-आफ्ना गुटहरूको वर्चश्व कायम गर्नका लागि उनीहरू दिनको पचासचोटि नेकपा-माओवादी र मोहन वैद्य ‘किरण’ को नाम लिइरहेका छन् । पछिल्ला दिनहरूमा नेकपा-माओवादीसँग ‘एकताको पक्षमा’ भन्दै दाहाल र भट्टराई पक्षबीच चलिरहेको ‘तँछाड-मछाड’ त झन् नाङ्गो रूपमै आ-आफ्ना गुटको प्रबर्द्धनका निम्ति गरिएको विज्ञापनबाहेक केही नभएको कुरा स्वतः स्पष्ट नै छ ।
नेकपा-माओवादीले भने पोलिटब्युरोको बैठकबाटै एकताका आधारहरूको रूपमा छ वटा बुँदाहरू पारित गरेर सार्वजनिक गरिसकेको छ । दक्षिणपन्थी नवसंशोधनवादमा पतन भएको एमाओवादीले कथित हेटौंडा महाधिवेशनलाई खारेज गर्दै पालुङटार बैठकपछिको केन्द्रीय समिति बैठकद्वारा संश्लेषित जनयुद्धको जगमा जनविद्रोहमार्फत बल प्रयोगद्वारा यथास्थितिवादी राज्यसत्तालाई ध्वस्त पारेर नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्ने बाटोमा फर्कने हो भने मात्र नेकपा-माओवादीसँग पार्टीगत एकता सम्भव रहेको कुरा स्पष्टै छ ।
नेकपा-माओवादीले संश्लेषित गरेको कार्यदिशा ‘परम्परागत तथा रुढीवादी’ छ भन्दै ऊसँग वृहत् एवम् गम्भीर ढङ्गले छलफल गरी कार्यदिशामा सहमति खोजेर मात्र नेकपा-माओवादीसँग एकता हुन सक्छ भन्ने डा. बाबुराम भट्टराईको भनाइ सिधा र स्पष्ट छ, यसमा उनको छलछाम देखिएको छैन । यद्यपि न इमानदारितापूर्वक क्रान्तिकारी कार्यदिशा कार्यान्वयनमा दृढ रहेको नेकपा-माओवादीले आफ्नो कार्यदिशा त्यागेर दक्षिणपन्थी नवसंशोधनवादमा पतनको कसैले कल्पना गर्न सक्दछ न त दशकौंदेखिको प्रयत्नपछि प्रष्ट ढङ्गबाट दक्षिणपन्थी नवसंशोधनवादमा पतन भइसकेका र ‘अब नेपालमा जनवादी क्रान्ति नै असान्दर्भिक भइसक्यो’ भन्दै काङ्ग्रेसकै तहमा ओर्लेर प्रतिक्रियावादी वर्गको औजारमा रूपान्तरित भइसकेको कथित संविधानसभाबाटै ‘प्रगतिशील’ र ‘लोकतान्त्रिक’ संविधान बनाइने र त्यसैमार्फत अगाडि बढेर ‘समाजवादी क्रान्ति’ सम्पन्न गर्ने ‘प्रजातान्त्रिक समाजवाद’ भनिएजस्तै उडन्ते बकवास गरिरहेका डा. बाबुराम भट्टराई क्रान्तिकारी कित्तामा फर्कन सम्भव छ । त्यसैले भट्टराईले ‘किरणजीहरूसँग एकता गर्दै सङ्गठनात्मक रूपान्तरण सफल पार्ने’ भन्दै गरिरहेको प्रचारवाजी अत्यन्तै छुद्र, असैद्धान्तिक एवम् चतुर्याइँपूर्ण कपट मात्र भएको कुरा स्पष्टै छ ।
अर्कातिर पुष्पकमल दाहालले विराटनगर सम्मेलनमार्फत र त्यसयता नेकपा-माओवादीसँग देखाएको भनिएको ‘नीतिगत निकटता’ दुईतिरै धार भएको तरबार मात्र हो भन्ने विश्लेषकहरूको ठम्याइ छ । यस्तो दुईधारे तरबारले दाहाल एकातिर एमाओवादी समूहभित्रकै असन्तुष्ट भट्टराई पक्षलाई प्रहार गर्ने प्रयास गरिरहेका छन् भने अर्कातिर आफ्नो समूह छाडेर नेकपा-माओवादीतिर लाग्न लामबद्ध नेता-कार्यकर्तालाई थाम्ने, आफ्नै समूहभित्र बिष्फोटक अवस्थामा पुगेको असन्तुष्टि, निराशा र कुन्ठालाई मत्थर पार्ने तथा एमाओवादी समूहलाई तत्काल विघटन र विसर्जनबाट रोक्ने अस्त्रका रूपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् ।
(जनजिब्रो साप्ताहिक, वर्ष- १९, अङ्क- ४१, जेठ २ गते शुक्रबार)





