माओवादी गोठबाट बुर्कुसी मार्दै राजनितिका कोरेली बाच्छीहरु

maobadi-1पुरेतले बिभिन्न ठाउँमा गएर पूजा पाठ गर्छ । बाच्छी दान पाउँछ । मर्नेका नाममा मन शान्ति र पिण्डसिण्ड दिन भन्दै बाच्छी दान गर्ने चलन हुन्छ । ति बाच्छी अनेक घर, थरी थरीका वातावरण र फरक माउबाट जन्मिएकाले सबैको बानी ब्यहोरा फरक हुन्छ । तर पुरेतले तिनको बानी र स्वभाव अनुसार फरक ठाउँमा राख्न सक्दैन । एउटै गोठमा राख्छ । ति कसैको पनि एक आपसमा बानी नमिलेपछि ति एक आपसमा झगडा गर्छन् । मागमुंग्री पर्छ । भागेर आआफ्नो स्वभाव अनुसार, आफू हुर्केको वातावरण अनुसार बस्न खोज्छन् । दाम्लो फुत्काएर, ढाटबाट यस्सो मिलिक्क छड्केर भाग्ने दाउ हेरेर बस्छन् । पुरेतले थुनेर राख्छ । तर कुनै समय यस्तो आउँछ तिनले मौका छोपेर ढोकाबाट बुर्कुसी मार्छन् । दानापानी दिएको मौकामा ढोका खुला हुँदा । वा दाम्ला छिनालेर दगुर्छन् । अनि ति दशतिर भाग्छन् । एकिक्रित नेकपा माओवादी पार्टीको हालत अहिले त्यस्तै भएको छ । नवराज सुबेदी, नारायणकाजी श्रेष्ठ, कुन्नी के सिरिस, बाबुराम भट्टराई लगायतका यस्तै कोरेली गाईहरु अहिले पुरेतको दाम्लो छिनालेर दशतिर दगुर्न थालेका छन् ।

पुरेतले दानमा पाएका कोरेली बाच्छीहरुको मूल स्वार्थ के हुन्छ ? उद्देश्य के हुन्छ ? ति ढाटमा थुनिएर बस्दा केमा बिमती हुन्छ र लड्छन् ? दशतिरबाट दानमा आएका ति कोरेली बाच्छीहरुले दाम्लो किन चुँडाल्छन् ? तिनको मुख्य मारमुंग्री भनेको खान्कीकालागि हो ? मिठो दानापानी । हरियो कल्कलाउँदो घाँस । ओभानो गोठ । स्याउला ओछ्याएको आनन्दको बस्ने ठाउँ । बैंश चढेपछि खाइलाग्दो बहर । बास ! यिनको लडाई भनेको त्यत्तिकालागि हो । अहिले एकिक्रित नेकपा माओवादीको ढाटबाट बुर्कुसी मार्दै गरेका डा बाबुराम भट्टराईका राजनितिक कोरेलीहरुको स्वार्थपनि त्यो भन्दा फरक छैन ।

एकिक्रित नेकपा मावादीमापनि दश दिशाका राजनितिक कोरेली बाच्क्षीहरु जम्मा भएका थिए । राजनितिक पुरेत पुष्पकमला दहालले जेपनि दिम्ला भन्दै आश्वाशन नै आश्वाशनको मह चखाएर आफ्नो राज्नैतिक ढाटमा हुलेका थिए । तिनमा देश बनाउन चिन्तन थिएन । समाज बदल्ने आकांक्षा थिएन । भएपनि योजना थिएन । अक्किल र द्रिढ इच्क्षाशक्ति थिएन । ति राजनितिक कोरेली बाच्छीहरुको उद्देश्य हरिया बिटाका पैसो भनिने जातको घाँस लुँड्याउनु थियो । सरकार भनिने चिजमा राम्रो थलोमा बास चाहिएको थियो । सत्ता र सरकारमा पुगेर चिल्ला गाडी चढ्ने सपना थियो । राष्ट्रिय झण्डा हल्लाएर बिदेशका गाडी चढ्ने रहर मेटाउनु थियो । पदमा पुगेर छोरीलाई जन्मदिनको उपहार गाडी दिन कहिले पाइएला भन्ने हुटहुटी थियो । पत्नी बोकेर बिदेश शयर गराउने हतारो थियो । सुन जोड्ने, जग्गा कमाउने, राम्रो महल चिटिक्क सिँगारेर आनन्दले बस्ने अभिलाशा थियो । यिनमा केहि अलि उमेर पुगेका हुँदा हुन्, चिन्तन गर्ने । देश, जनता, समाज भनेर । नत्र अधिकांश कोरेलीहरुको मूल उद्देश्य भनेकै यहि थियो ।

त्यसैले माओवादी शान्ति वार्तामा आउनासाथ तिनले हरियो घाँस देखे । दाम, झण्डा, गाडी, भाषण, महल, मोज र मस्ती मिसिएको रास देखे । सबैभन्दा ठूलो ढाटभित्र आहारै आहाराको रास । अनि ति दश दिशाबाट दगुरेर माओवादीमा आए । तिनमा बिचार नयाँ थिएन । निति केहि थिएन । आदर्श थिएन । देश बदल्न आफ्नै सामर्थ्यले, आफ्नै नितिले, आफ्नै पाखुराले, आफ्नै बुताले सकिन्छ भन्ने भर थिएन । राजनिति भनिने बगरमा वर्षौंदेखि ति लखरलखर लतारिएका थिए । पत्याइएका थिएनन् । माओवादी भन्ने पुरेतले दान लिए तिनलाई। हरियो घाँस दिम्ला । मिठो दाना दिम्ला । ओभानो बस्ने थलो दिम्ला । बैंशको राग आउनथालेपछि खाइलाग्दो बहर दिम्ला भन्दै। अनि त्यहि लोभमा विशाल ढाटमा चारैतिरबाट छिरे लोभी कोरेलीहरु ।

दशतिरबाट छिरेका राजनितिक कोरेलीहरु कतिन्जेल टिक्ने ? सरकारमा जान ढाँटे । मन्त्री बन्न ढाँटे । यो चाहिन्छ र त्यो चहैन्छ भनेर धम्काए । बिदेश घुम्न ज्यान फाले । संविधान बनाउने नाममा खेला देखाएर रमाए । भत्ताकालागि र्या ल काढे । आफैंकालागि लड्नेका हातको दानापानी खोसेरपनि कुम्ल्याए । केहि महिना सरकारमा गए । तर निति, आदर्श, बाचा, बचन सबै टुकुचामा पुर्याएकाले तिनको उँधोमती लाग्यो । सरकारमा जान नपाइने भो । त्यसपछि हरियो घाँस र मिठो दानापानीका लागि दगुरेका कोरेली बाच्छीहरु बस्छन् त्यो ढाटमा ? तिनले दाम्लो छिनालेर बुर्कुसी मार्न लागि हाले । मोहन बैध्य समूह हिँडेर ड्यास माओवादी बनिहाल्यो । मणी थापा उहिल्यै हिँडे । मात्रीका यादव हिँडे । हरियो घाँसको लोभमा ढाट पस्नेहरु धेरै भएपछि दुध दिम्ला, बच्चा जन्माउँला भनेर सोच्ने गतिला गाईहरु बस्न सक्दैनन् एउटै ढाटमा । वा सबै अलग अलग स्वार्थले बाहिरिन्छन् ।

ढाटमा हुने जो बलियो छ उसैले अरुलाई पेलेर ढोकाबाट पहिले निस्किन्छ । अलि बलियाले पहिले दाम्लो छिनालेर भाग्छन् । बाबुराम भट्टराई त्यसैगरि बलिया थिए अरु भन्दा र निस्किए । उनका अलि पाका भए । त्यसैले उनका पछाडी अरु झ्यास्ना म्यास्ना, कमजोर, आसेपासी कोरेलीहरु पछि लागेका छन् । अब त्यहाँ नारायणकाजी श्रेष्ठ लगायत दशतिरबाट हरियो घाँस र मिठो कुँडोका लागि हाम्फालेर आएका राजनितिक कोरेलीहरुको अँचेटा अँचेट चल्छ । भागभाग हुन्छ । ति जसरि दशतिरबाट सोरिएर स्वार्थका लागि आएका थिए । त्यसैगरि आआफ्नो गन्तब्यतिर लाग्छन् । तितरबितर हुन्छन् । स्वार्थ, पद, पैसा, मोजमस्ति, सत्ता, भ्रमण भनेर आएकाहरु तितरबितर हुनु नौलो हुँदै होइन । जसरि एकताको आधार स्वार्थप्रेरित थियो त्यसैगरि फुटको आधारपनि स्वार्थप्रेरित हुने भैहाल्यो । नहुने कुरो सुँघाइएको थियो । “५० वर्ष माओवादीले शासन गर्छ” भन्दै आश्वासन बाँडेर ल्याएका कोरेलीहरु एक दिनपनि सत्तामा पुग्न नपाउने स्थिति बनेपछि किन बसिरहन्थे ? नौलो होइन डा बाबुराम भट्टराईको अर्को पार्टी बनाउने अभियान । पुरेतले दशतिरबाट दानमा ल्याएर एउटै ढाटमा थुनिएका कोरेली र दशतिरबाट बिना निति, आदर्श सोरेर थुनिएका राजनितिक कोरेलीहरु उस्तै हुन् । जबसम्म पुरेतले दानमा कोरेलीहरु जम्मा पारिरहन्छन् तबसम्म दाम्लो छिनाल्ने र ढाटबाट भाग्ने क्रमपनि चलिरहन्छ, दानापानीकालागि ।

तपाइँको प्रतिक्रिया