नेपाली समाजको मुख्य अन्तरविरोध कहाँ र कोसित ?

बलबहादुर आचार्य / रुपन्देही

bal-bahadur-acharya-butwalमाक्र्सका अनुसार समाज रुपान्तरणको मूल आधार सामाजिक वर्गसंघर्ष हो । यही वर्ग संघर्षको परिणाम स्वरुप उत्पादन पद्धतिमा फेरवदल भई समाजमा रुपान्तरणहरु देखा पर्दछन । आदिम र आधुनिक साम्यवादी समाज वाहेक सवै समाजको रुपान्तरणको मूल कारण समाजमा हुने वर्गसंघर्ष नै हो । माक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेका छन् “आजसम्मको मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।” माक्र्सको यही भनाईलाई सापटी लिएर भन्दा आजसम्म नेपाली समाजको इतिहास पनि वर्गसंघषको इतिहास हो र आगामी दिनमा समाज विकासको आधार पनि यही वर्गसंघर्ष नै हुनेछ ।

यतिवेला नेपाली समाज आमूल रुपान्तरणको संघारमा उभिएको छ । विगत ६० वर्षमा नेपालको राजनीतिक इतिहासमा आमूल रुपान्तरण भए पनि सोही अनुपातमा आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरण हुनसकेको छैन । नेपालको सामाजिक क्रान्तिका लागि समाजको राजनीति, आर्थिक र साँस्कृतिक रुपान्तरण अनिवार्य छ । कुनै पनि देशमा राजनीतिक रुपान्तरण जति छिटो हुन्छ आर्थिक रुपान्तरण सापेक्ष रुपमा ढिलो हुन्छ भने साँस्कृतिक रुपान्तरणका लागि त ज्यादै लामो समय लाग्ने गर्दछ । यतिबेला नेपाली समाज रुपान्तरणको संक्रमणकालिन अवस्थामा रहेकोछ । समाजको उपरी संंरचनामा ठूलो रुपान्तरण भए पनि आधारमा ज्यादै कम मात्रामा रुपान्तरण भएको छ । 

हाम्रो समाजका राजनीतिक दलहरुले यस रुपान्तरणलाई हेर्ने आआफ्नै दृष्टिकोण रहेको छ । कतिपयले यस रुपान्तरणलाई अस्वभाविक भएको भन्दै समाजलाई पुरानै अवस्थामा लैजानु पर्दछ भन्ने प्रतिगामी दृष्टिकोण राख्दछन भने कतिपयले यो रुपान्तरणलाई नेपालमा आमूल रुपान्तरण भयो अव समाज स्वतन्त्र रुपमा अगाडी बढछ भन्ने यथास्थितिवादी दृष्टिकोण राख्दछन । यस राजनीतिक रुपान्तरणलाई सदुपयोग गरी समाजको आमूल (राजनीतिक, आर्थिक तथा साँस्कृतिक) रुपान्तरणका लागि संघर्ष जारी राख्नु पर्दछ भन्ने क्रान्तिकारी दृष्टिकोण वोकेका कम्युनिष्ट पार्टीहरु रहेका छन् ।

नेपाली समाजको आमूल रुपान्तरण गर्नुपर्दछ भन्ने विषयमा नेपालका कम्युनिष्ट पार्टीहरु क्रियाशील रहेका छन् । समाजको रुपान्तरणका लागि समाजको चरित्रलाई पहिचान गर्ने र त्यस समाजलाई अगाडी बढाउनका लागि उक्त समाजमा रहेका रुपान्तरणका नकरात्मक र सकरात्मक पक्षहरुको वारेमा गंभिरताका साथमा विश्लेषण गर्नु आवश्यक हुन्छ । माक्र्सका अनुसार समाज रुपान्तरणको मूल आधार वर्गसंघर्ष भएकोले समाजमा रहेका वर्गहरुको पहिचान र विश्लेषण अनिवार्य छ । समाजमा रहेका विभिन्न वर्गहरुको भूमिकाका आधारमा वर्ग विश्लेषण गर्न सकिन्छ ।

वर्ग विश्लेषणको मुख्य उदेश्य, समाजको रुपान्तरणका लागि बनाइने वर्गसंघर्षका कार्यनीति र रणनीति निर्माणमा सहयोग गर्नु मात्र नभएर नेपालको आमूल रुपान्तरणमा लक्षित समुदायको उत्थानको कार्ययोजना निर्माणमा समेत यसले महत्वपूर्ण योगदान गर्दछ । वर्तमान अवस्थाको नेपाली समाजको ठोस वर्ग विश्लेषण नभएको र सोही आधारमा वर्गसंघर्ष संचालन गर्न नसकेका कारण सर्वहारा श्रमजीवि वर्गहरु कम्युनिष्ट पार्टी प्रति केही विकर्षित हुन थालेको देखिन्छ । त्यसर्थ विगतका कमजोरीलाई सच्याउदै आगामी कामलाई जुझारु एवं लोकप्रिय बनाउनका लागि समेत नेपाली समाजको वर्तमान अवस्थाको वर्ग विश्लेषण गर्ने र सोही आधारमा समाजका सवै क्षेत्रवाट वर्गसंघर्षलाई अगाडी बढनु पर्दछ ।

वर्गसंघर्षको रुप कस्तो हुन्छ भन्ने विषय समय सापेक्ष कुरा हो । हिजको राणा शासन र निरंकुश राजतन्त्रलाई अन्त्य गर्न जुन रुपहरु प्रयोग गरियो अहिले पनि त्यस्तै रुप नै प्रयोग गर्नु पर्दछ । अन्यथा संशोधनवादी भइन्छ भन्ने र सोच्ने दुवै गलत विचार हुन । अहिले नेपाल गणतन्त्रमा आई पुगेको छ र अव हामीले नेपाली समाजको रुपान्तरणको लागि संघर्षका रुपहरु शान्तिपूर्ण र संवैधानिक नै हुनुपर्दछ । यसो भनी रहेका बेला जनताका मागलाई पुरा गराउन शान्तिपूर्ण जुलुश तथा आन्दोलन पनि गर्नु हुदैन भन्ने बुझाई पनि राख्नु हुदैन । यतिवेला नेपाली समाजको आमूल रुपान्तरण गर्न राज्यका सवै अंगलाई लोकतान्त्रिकरण गर्दै समाज रुपान्तरणका सकरात्मक र नकरात्मक वर्गहरुको  विश्लेषण गर्नु अनिवार्य छ ।

हामीले नेपाली समाजको रुपान्तरणका लागि संपूर्ण सकरात्मक एवं सहयोगी वर्गहरुलाई राजनीति र सांगठनिक रुपमा संगठित गर्ने र नेपाली समाजको रुपान्तरणका वाधक (नकरात्मक वर्ग) शक्तिलाई जनताको वीचमा नग्याउने र कानूनी रुपमा कडा भन्दा कडा कार्वाही गर्ने कार्यमा गंभिरताका साथमा लाग्नु पर्दछ । यदि यसो गरिएन भने जनताहरुले ०४६ साल र ०६२/०६३ को राजनैतिक परिवर्तनको उपलव्धि त महशुस गर्नेछन् तर यतिले मात्र अव जनतालाई पुग्दैन । यसमै मात्र हामी सिमित भयौ भने यसले जनतामा पुनः निरासामा छाउनेछ । जसको परिणाम स्वरुप जनता फेरी कुनै एउटा उग्रवादी सोचवाट निेर्देशित राजनीतिक पार्टीका पछाडि केही हुन्छ कि भन्ने आशाले जनताहरु पछि लाग्नेछन् । त्यस उग्र चिन्तनले फेरी नेपाली समाजलाई दशकौं पछाडि पार्ने मात्र होइन देशलाई ठूलो भौतिक क्षति पनि पुग्नेछ । यसका निम्ति नेपालका राजनीतिक दलहरु समयमै सचेत हुनु आवश्यक छ ।

युगिन रुपले नेपाली समाजको वर्तमान अवस्था

कुनै पनि सामाजिक युग भन्नासाथ त्यसका चार वटा पक्षको चर्चा गर्नु पर्दछ । राजनितिक व्यवस्था, आर्थिक प्रणाली अर्थात उत्पादन प्रणाली, सामाजिक व्यवस्था र साँस्कृतिक अवस्था । यीनै पक्षहरुको विश्लेषणका आधारमा कुनै पनि समाज कुन युगमा रहेको छ भन्ने निश्कर्षमा पुग्ने गरिन्छ । माक्र्सवादी विचारले पनि कुनै पनि वस्तुमा हुने रुपान्तरण मात्रावाट विस्तारै बिकसित हुदै एउटा निश्चित विन्दुमा पुगे पछि गुणमा परिवर्तन हुन्छ र त्यस गुणात्मक परिवर्तनलाई नै त्यस बस्तुको रुपान्तरण भनिन्छ ।

संसार परिवर्तनशील छ र संसारका हरेक बस्तुहरु पनि परिवर्तन हुन्छन भन्ने वारेमा कसैको विमति नहोला । तर संसारका हरेक बस्तु कसरी परिवर्तन भई रहेका छन् र परिवर्तनका नियमहरु के हुन भन्ने वारेमा अध्ययन र विश्लेषण गर्ने बारेमा कमैले मात्र कलम चलाउछन् । हामीले हाम्रो नेपाली समाज कसरी परिवर्तन भईरहेको छ भन्ने वारेमा पनि कमै बहस गर्दछौं । विश्लेषण गर्ने झंझट भन्दा अरुले विश्लेषण गरेका विषयमा बहस गर्न भने ज्यादै मन पराउने गर्दछौं । नेपालका कम्युनिष्ट पार्टीहरुले पनि अहिलेसम्म यस बारेमा सस्थागत रुपमा गंभिरतासाथ अध्ययन एवं विश्लेषणमा लागेको पाइदैन् ।

यतिवेला नेकपा एमाले नवौं महाधिवेशनको संघारमा उभिएको छ र यस महाधिवेशनमा भने यस विषयले प्राथमिकता पाएको देखिन्छ । अहिले यतिवेला नेपाली समाज युगीन रुपमा कहाँ पुगेको छ र समाजको अग्रगमन र समृद्धिमा कु्न कुन विषय समस्याका रुपमा रहेकाछन् । यी समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्ने बारे व्यापक छलफल भएका कुरा एउटा समाजको अग्रगनका लागि खुसिको विषय पनि हो । यस्ता बैचचरिक छलफल तथा बहसलाई लोकतान्त्रिक सँस्कारको रुपमा विकास गर्दै जवजको मुल मर्मलाई आत्मसाथ गर्नु पर्ने देखिन्छ ।

नेपाली समाजको वारेमा विश्लेषण गर्दा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनाको बेलामा नेपाली समाजलाई अर्धसामन्ती समाज भनिनु र अहिले २०७१ सालमा पनि अर्धसामन्ती समाज भनिनु उपयूक्त देखिदैन । वास्तवमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको समयमा नेपाली समाज भरखरै पूँजीवाद तर्फ उन्मुख सामन्ती समाज थियो भने २०४६ सालतिरको समयलाई नेपाली समाजलाई अर्धसामन्ती तथा अर्धपूँजीवादी समाज भन्न सकिन्छ भने हाल ०६२ । ०६३ सालको आन्दोलन पछि स्थापना भएको गणतन्त्रामक व्यवस्थादेखि हाम्रो नेपाली समाजलाई विकासवान पूँजीवादी समाजको रुपमा उल्लेख गरिनु उपयूक्त हुन्छ । यसलाई व्याख्या गर्दा तिर्व गतीले विघटन तर्फ गएको लापोन्मुख सामन्ती समाज र तिर्व गतीले विकास हुदै गएको विकासवान पूँजीवादी समाज नै यतिवेलाको सामाजिक यर्थाथता हो  । यसको मतलव यतिवेला हाम्रो नेपाली समाज सामन्ती समाजवाट तीव्र रुपमा पूँजीवादी समाजमा रुपान्तरण भइरहेको छ । एकातर्फ हामीले यस विकासवान पूँजीवादी समाजलाई अत्याधुनिक, विकसीत र सामुहिक स्वामित्वमा आधारित समाजवादी समाज तर्फ उन्मुख भएको विकसित पूँजीवादमा रुपान्तरण गर्ने कार्यमा केन्द्रित गरिरहेका छौं भने अर्कातर्फ पूँजीवादी विचार बोकेका राजनीतिक पार्टीहरु नेपाली समाजलाई व्यक्तिवादी स्वछन्दवादी समाजमा आधारित विकसीत पूँजीवादी समाज निर्माणको कार्यमा क्रियाशील छन जो साम्राज्यवादी समाज तर्फ उन्मुख हुन्छ ।

यतिवेला हाम्रो देश नेपाल कानूनी रुपमा एउटा स्वतन्त्र राष्टको रुपमा रहे पनि कमजोर अर्थतन्त्रका कारण अप्रत्यक्ष रुपमा बैदेशिक दवाव एवं हस्तक्षेपको सामना गर्नुपर्ने अवस्थामा छ । यसलाई नवउपनिवेश वा अर्धऔपनिवेशिक समाज भन्न सकिन्छ । किन भने यतिवेला कुनै पनि विस्तारवादी वा साम्राज्यवादी देशले बिगतमा झैं सेना तथा वम बारुदले अर्काको देशमा हस्ताक्षेप गर्दैनन बरु विभिन्न अन्तराष्टिय बित्तिय सस्था, सरकार वा राजनिति दलका नेता तथा उनीहरुको दलका नीतिमा आफ्नो विषयलाई प्रवेश गराई आफ्नो देशको स्वार्थ सिद्ध गर्दै आएका छन् ।

तसर्थ यतिवेला नेपाली समाजको रुपान्तरणमा सामन्ती समाजको प्रतिनिधिका रुपमा रहेको सामन्ती विचार तथा संस्कृति एवं कृषि क्षेत्रमा रहेको निर्वाहमूखि उत्पादन पद्धति र पूँजीवादी समाजको प्रतिनिधिका रुपमा रहेको दलाल पूँजीवाद र नोकरशाही पूँजीवाद वाधक शक्तिका रुपमा रहेको छन् । सामन्ति समाजको प्रतिनिधिपात्रको रुपमा रहेको तर तिव्र रुपमा लोप हुदै गएको जमिन्दार वर्ग र पूँजीवादी विचारको प्रतिनिधिको रुपमा रहेको दलाल पूँजीपति र नोकरशाह (ओहदावाल) पूँजीपति वर्ग नै यतिवेला समाजको रुपान्तरणमा बाधक शक्तिका रुपमा देखिएका छन् । समाजका यीनै पात्रको बूई चढेर नेपालमा बैदेशिक पूँजीपति वर्ग नेपालका हरेक क्षेत्रमा शोषणको जालो फिजाई रहेकोछन् । यस लेखमा नेपाली समाजको यही नकरात्मक पात्रका रुपमा रहेका पात्रको बारेमा केही चर्चा गर्न खोजिएको छ ।

सामन्ती विचार र जमिन्दार वर्ग

गाउँमा प्रसस्त मात्रमा पुख्र्यौली जग्गा जमिन भएको र ज्याला मजदुरीको भरमा मात्र खेतीपाती गर्ने, खेतीपातीका लागि आवश्यक साधनश्रोतको परिचालन तथा व्यवस्थापन गर्ने वर्गलाई गाउँको जमिन्दार वर्गको रुपमा लिइन्छ । यस वर्गले स्वयम श्रम गर्दैन मात्र आफ्नो संपत्तिको रेखदेख गर्दछ । खेतीवाट ठूलो परिमाणमा अनाज उत्पादन गर्दै वर्षेनी प्रशस्त आम्दानी गर्दछ र गाउँमा हैकम चलाउदै किसानहरुलाई सहयोगका नाममा शोषण गर्ने गर्दछ । यो वर्ग नेपाली समाजको परंपरालाई कायम राख्दै किसानहरु शिक्षित र सचेत नबनुन जसका कारण उनीहरु माथि आफनो शोषण यथावत राख्न पाइयोस भन्नका लागि क्रियाशील रहन्छ । यस वर्गले नेपाली समाजको रुपान्तरणमा वाधक शक्तिको रुपमा भूमिका खेल्दै प्रतिक्रियावादी चरित्र देखाईरहन्छ ।

यो वर्ग गाउँको आम्दानी शहर तथा राजधानी तर्फ लाने, शहरमा जग्गा जमिन किन्ने, ठुला ठुला घर बनाउने र विभिन्न पेशा व्यवशाय संचालन गर्दै तीव्र गतिमा शहरमा रुपान्तरण हुँदैगएको छ । विगत माओवादी युद्धको वेला यो वर्गका बहुसख्यक सदस्यहरु शहर स्थानान्तरण भएको देखिन्छ । यो गाउँको एउटा लोपोन्मुख वर्गको रुपमा देखिदै आएको छ ।

यस सामन्ती विचारको राजनैतिक मूल पात्र राजा ०६२/०६३ को जनआन्दोलनवाट राजनैतिक रुपमा समाप्त भएको छ । तर उक्त विचारका वाहकका रुपमा राप्रपा नेपाल लगायत नेपालका सवै राजनैतिक पार्टीहरुमा संस्कार र व्यवहारका रुपमा त्यसका प्रतिनिधि पात्रहरु रहेका छन् । जसले उक्त पार्टीहरुमा नकरात्मक भूमिका खेलिरहेका छन् । यस विचारले नेपाली समाजको अग्रगामी रुपान्तरणमा नकरात्मक भूमिका खेलिरहको छ । यसलाई सवै राजैतिक पार्टीहरुले चिन्हित गर्दै यसलाई समाप्त गर्ने कार्यमा लाग्नु आवश्यक छ ।

दलाल (विचौलीया) पूँजीपति वर्ग

यो मूलतः उत्पादक र उपभोक्ता वीचमा कारोवार (सेवा) संचालन गरी नाफा कमाउने वर्ग हो । सामन्तवादको अन्त्यसंगै समाजमा जव विनिमय प्रणालीको अन्त्य हुनथाल्यो । उपभोगका समानहरुको मुल्य निर्धारण गर्ने माध्यमको रुपमा मुद्राले ठाउँ लियो । त्यस वेलादेखि समाजमा उत्पादक र उपभोक्ताको वीचमा पूलको रुपमा कार्य गर्ने एउटा विचौलीया वर्गको उत्पत्ति भयो । यही वर्गको विकसित रुप अहिले दलाल पूँजीपतिको रुपमा विश्वभर प्रचलनमा आएको छ । हाम्रो समाजमा अहिले उत्पादक र उपभोक्ता वीचमा सेवा उपलव्ध गराईदिने विचौलिया (दलाल) को रुपमा कार्य गर्ने वर्गलाई नै दलाल पूँजीपति वर्ग भनिन्छ ।

यस वर्गलाई मसिनो गरी नहेर्ने र सवै पात्रहरुलाई नकरात्मक रुपमा व्याख्या गर्ने गरिन्छ । यसमा मूलतः तीन किसिमका उपवर्गहरु रहेका हुन्छन् । पहिलो उपवर्गमा स्वदेशी उद्योगहरुको सामानको कारोवार गर्ने व्यापारीहरु (समाजको सकरात्मक पक्ष), दोस्रोमा बैदेशिक उत्पादनको कारोवार गर्ने व्यापारीहरु जस्ले नेपाली उद्योग र उत्पादनमा प्रतिकुल असर पार्दछन् र नेपालवाट ठूलो मात्रामा रकम बाहिर पठाउँन पर्ने भूमिका निर्वाह गर्दछन (वाध्यात्मक तर नकरात्मक पक्ष) । तेस्रो उपवर्गमा उत्पादक र उपभोक्ताका वीचमा सेवा उपलव्ध गराई रकम लिने सेवामूलक दलाल वर्ग । यी तीन उपवर्ग मध्ये समाजको रुपान्तरणमा सवैभन्दा वाधक शक्तिका रुपमा बैदेशिक दलाल पूँजीपति वर्ग नेपालको रुपान्तरणका लागि एउटा प्रमुख समस्याको रुपमा रहेको छ । नेपालको राजनीतिमा यसको ठुलो प्रभाव रहेको छ । यसले पैसाको भरमा नेपालका राजनीतिक पार्टीका कतिपय भ्रष्ट नेताहरु र सरकारका सरोकारवालाहरुसंग सम्वन्ध कायम गरी आप्mनो कारोवारलाई निरन्तर रुपमा अगाडी बढाईरहेका छन् ।

यो वर्गको बैदेशिक कारोवार गर्नेहरुलाई निरुत्साही गर्नका लागि नेपालको कृषि तथा प्राकृतिक संपदामा आधारित भइ औधोगिकरण र व्यवशायीकरणमा तिव्रताका साथमा लाग्नु आवश्यक देखिन्छ । सेवामूलक दलाल पूँजीपतिलाई निरुत्साही गर्नका लागि कानूनी राज्यलाई बलियो बनाउने र सरकारी सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ । यसरी नेपालको स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकियो भने मात्र नेपाललाई दलालपूँजीपति वर्गको पंजावाट मूक्त गर्न सकिन्छ ।

नोकरशाह पूँजीपति वर्ग (ओहदावाल पूँजीपति वर्ग )

नेपाली समाजका विभिन्न तहमा रहि राजनैतिक एवं सामाजिक मर्यादा कमाई त्यसैलाई दुरुपयोग गरी संपत्ति आर्जनको मूल श्रोत बनाउने व्यक्तिहरु यस वर्गमा पर्दछन् । यस वर्गले यहि आफ्नो पद तथा प्रतिष्ठालाई सत्ता एवं संपर्कका आधारमा दुरुपयोग गरी अकुत संपत्ति आर्जन गर्दछ । यो वर्गपनि नेपाली समाजको रुपान्तरणका लागि अर्को एउटा प्रमुख समस्याको रुपमा रहेको छ र यस वर्गलाई रुपान्तरण नगरेसम्म नेपालको सामाजिक क्रान्ति संभव छैन ।

यस वर्गमा मूलतः भ्रष्ट आचरण भएका सरकारी कर्मचारीहरु, गैरसरकारी स्तरका सामाजिक व्यक्तित्वहरु र राजनैतिक दलका भ्रष्ट नेता तथा कार्यकर्ताहरु पर्दछन् । यो वर्गले आर्जन गरेको कालो धनलाई सेतो बनाउन व्यवशायमा अप्रत्यक्ष लगानी गर्ने, आफन्त तथा विश्वासपात्रका नाममा लगानी तथा वैक व्यालेन्स गर्ने र अझ पनि असुरक्षित भएमा विदेशी वैकमा वचत गरेका हुन्छन् । यो वर्गको सरकारी कर्मचारी भएमा कार्वाहीवाट बच्न विभिन्न सरोकारवाला भ्रष्ट व्यक्ति र राजनीतिक दलका भ्रष्टहरुसंग अपवित्र सम्वन्ध कायम गर्ने र आफ्नो स्वार्थ पुरा गर्ने गर्दछ ।

यो वर्गले विदेशी प्रतिक्रियावादी वर्गसंग सम्वन्ध कायम गर्दै देशलाई शोषण गर्न पनि पछि पर्दैन । देशमा जति जति निरंकुशतन्त्र सुदृढ हुन्छ र देशमा राजनीतिक अस्थिरता तथा संक्रमणकाल थपिदै जान्छ यो वर्गका निम्ति स्वर्णीम काल हुन जान्छ । मेरो विचारमा यो वर्ग नेपाली समाजको प्रधान अन्तरविरोधको पनि प्रधानपक्षको रुपमा रहेको छ । किनभने यसको हातमा राज्य संचालनको साँचो समेत हुन्छ र यसले चाहे अनुसार सरकार र विदेशी शक्तिहरुलाई समेत परिचालन गर्न सक्दछ । यस वर्गवाट राष्ट्रलाई बचाउनका लागि संविधानको सर्वोच्चता, कानूनको शासनलाई कडाईको साथमा कार्यान्वयन गर्ने इच्छा शक्ति भएको शासन प्रणाली स्थापना एवं संचालन हुनु पर्दछ ।

दन्दवादले भन्दछ कि हरेक बस्तुमा असल र खराव पक्षहरु हुन्छन । नेपाली समाजमा पनि यस्ता तत्वहरु छन । नेपाली समाजमा पनि नकरात्मक, भिलेन तथा भ्रष्ट आचरण एवं व्यवहार भएका पात्रहरु र असल पात्रहरु समाजका हरेक क्षेत्रमा छन् । यी यस्ता पात्रहरु एउटा पार्टी वा क्षेत्रमा हुने र अन्य पार्टी वा क्षेत्रमा नहुने भन्ने हुँदैन । मुख्य कुरा भनेको सवै सरोकारवालाहरुले यसको खोजी गर्ने भ्रष्ट तत्वहरुलाई कडाईका साथमा कार्वाही गर्ने विषय नै महत्वपूर्ण चासोको  विषय हो । यस विषयलाई अव हरेक क्षेत्रले गंभिरताका साथमा लाग्नु पर्ने बेला आएको छ । यदि अव पनि नेपाली समाजमा रुपान्तरणका संकेतहरु देखानपर्ने हो भने यसले नेपाली जनतामा गणतन्त्र र परिवर्तन प्रति गंभिर नकरात्मक दृष्टिकोण श्रृजना गर्नेछ र यस्ले नयाँ नेपाल निर्माणमा ठूलो तघारो बन्न जानेछ । यसप्रति सम्वन्धित पक्षको समयमै आँखा खुल्न आवश्यक छ ।

(लेखक नेकपा एमाले रुपन्देही जिल्लाका पार्टी स्कूल विभाग प्रमुख हुन् )।

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया