ब्रह्लूटको टुक्रा
● आनन्दराम पौडेल
“धमला किसिमका पत्रकारहरु भए त ठीकै छ तर, कुनै-कुनै पत्रकार अडवाङ्गे हुँदारहेछन् – गाउँघरको भाषामा ‘अल्टर’ । यो चुडामणि वाग्ले भन्ने पत्रकारपनि ‘अल्टर’ रहेछ। सबैलाइ थाहा छ, केही बर्षदेखि नेपाल (केन्द्रदेखि गाउँसम्म) “मिलिजुली बसौं, बाँडिचुँडी खाउँ” सिद्धान्तमा चलेरहेको छ । हाम्रो सर्लाही जिल्लापनि त्यही प्रचलन अनुसार राम्ररी चलिरहेको थियो । मुख्य-मुख्य पार्टीका नेताहरु, सिडिओ, एलडिओदेखि फाँटवालाहरुसम्म सबै मूलधारमा समाहित थिए । अगुवा भनिने चल्ताफिर्ता पत्रकारहरुपनि यही गङ्गाको प्रवाहमा हात धुन आइपुगेकै थिए । दरबन्दी र हैसियत अनुसार प्रसाद बाँडचुँड भैराखेकै थियो । सुल्टो धारको मूलप्रवाहमा रम्न छाडेर यो चुडामणि वाग्ले किन उल्टो करेण्टमा हान्निएको होला ?”
रामेश्वर तिमल्सिनाजी निकै रन्थनिएका थिए। लालबन्दी स्थित आफ्नै घरको कौसीमा बसेर बिहानको चिया पिउँदैथिए । सहज प्रवाहमा बगिरहेको सर्लाही जिल्लाको सिष्टममा चुडामणिले बिथोलेको सम्झे। घटनाहरु एक-एकगरी झल्झलि अगाडी आउनथाल्यो, “उस्ले मुख्य निशाना मलाइ नै बनाएको रहेछ । ‘भागशान्ति जयनेपाल’ मा कत्तिपनि गोलमाल हुन नदिने भएकोले एलडिओ, जिशिअहरुले मलाइ माया गर्छन् । एकाउण्ट फाँटका लेखाअधिकृतहरुलाइ पनि सन्तुष्ट बनाएकोले सबैको सहयोग मिलेको छ । सबैको सहयोगबाट मेरो लेखापरीक्षणको धन्दा फस्टाएको हो । यही लेपको धन्दाबाटै उन्नति, प्रगति र समृद्धि हुने देखेर मैले आफ्ना भाइहरु हरिप्रसाद र माधवप्रसादलाइ पनि लेखारीक्षण लाइसेन्स लिन लगाएको थिएँ। यी भाइहरु के लेखापरीक्षण गरेर बसिरहन्थे ! हरिप्रसाद त बेलायत गएको उतै सेटल भैसक्यो। माधवलाइ पनि आफ्नै व्यवशायका कामले भ्याइनभ्याइ छ । मैले नै तिनीहरुको लाइसेन्सको सदुपयोग गर्दैआएको थिएँ । त्यसबाहेक नाताकुटुम्बका अरु २ जनासमेतको गरेर ४ जनाको लेखापरीक्षण अनुमतिपत्रलाइ मैले सदुपयोग गरिदिएको हुँ । यस्पालि त्यो चुडामणिले कहाँबाट थाहा पाएछ । कोही छुस्करबाट थाहा पायोहोला !”
रन्थनिंदै घोत्ल्याईंको एउटा गतिमान प्रवाहमा बगिरहेका थिए । श्रीमति आएर रङ्गमा भङ्ग गरिदिइन् । ‘कुलोपैनीको बिषयमा छलफल गर्न आज ८ वजे गाउँले जम्मा हुने भनेको होइन ? बिर्सनुहोला नि ?’ भनेर सम्झाउन आएकी रहिछन् । घडी हे-यो । भर्खर पौनेसात भएको रहेछ। समय वाँकि छ भनेर पुन मन्थनमा घोत्लिए । सोचे, “बिभिन्न गाविसको लेप गर्न साविकमा झैं यस बर्षपनि मैले आफ्ना भाइभतिजाहरु ४ जनाको लाइसेन्स प्रयोग गरेर निवेदन दिएको थिएँ । गाविसहरुको लेखापरीक्षणको लागि जिविसले नियुक्त गरेका लेपहरुलाइ स्थानीय निकायको प्रकृति, चरित्र र कार्यशैलि जानकारी गराउने उद्देश्यले २ दिन तालिम दिने परम्परा छ । यस्पालि फागुनमा जनकपुर लगेर तालिम दिएका थिए ।
तालिम समापनपछि प्रमाणपत्र वुझ्ने बेलामा कताबाट चुडामणि आइपुगेछ । मैले ५ जनाको प्रमाणपत्र वुझेको त्यस्ले देखेछ । यही क्ल्यु भेट्टाएर उ हर्कतमा आएछ। लेखापरीक्षण सङ्घ, सर्लाही जिल्ला कमिटीका अध्यक्ष राजकिशोर सिन्हालाइ भेटेर यो कुरा राखेछ। दशीप्रमाणसहित राखेको सवालमा अध्यक्षले तर्कने ठाउँ भएन । ‘वेलायतमै सेटल भएका हरिप्रसाद तिमल्सिना, अर्का भाइ माधवप्रसाद तिमल्सिना र नाताकुटुम्बका अरु २ जनाको नामबाट आफैंले कीर्तेहस्ताक्षर गरी निवेदन दिएको, ती चारैजनाको नियुक्तिपत्र आफैंले हस्तगत गरेको, तालिममा हाजिरी मिलाउने गरेको र तालिम सकिएपछि सबैको प्रमाणपत्र आफैंले वुझेको र सबैको नामबाट लेप प्रतिवेदन तैयार गरी उनीहरुको कीर्ते हस्ताक्षर गरेर पेश गरेको भन्नेसम्म त जगजाहेरै छ । यो नौलो बिषय रहेन’ भनिदिएछन् । अध्यक्षले यो खुलासा गर्ने थिएनन् । जिविसले नियुक्तिपत्र दिने बेलामा एकजना लेखापरीक्षक साथि शोभाकान्त झाजी जरुरी काम परेर काठमाडौं जानुभएको थियो। अध्यक्ष आफैं गएर, ‘शोभाकान्तजी १ हप्ताभित्र आउनुहुन्छ’ भनेर अनुरोध गर्दापनि मानेनन् । नियुक्तिपत्र वुझ्नकै लागि शोभाकान्तजीले आफ्नो काम छाडेर आउनुपरेको थियो। यो अलि खट्किने नै व्यबहार भएको थियो । अध्यक्षले फील गर्नुभएछ । ‘प्रेस्टिज इस्यु’ नै बनाउनुभयो। यही कारणले गर्दा पत्रकार चुडामणि वाग्लेले कोट्याउनासाथ उहाँले ह्वात्तै ओकलिदिनुभएको यथार्थ र उहाँको मनोबिज्ञानलाइ म वुझ्छु ।”
झल्याँस्स भएझैं रामेश्वर तिमल्सिनाले हतार-हतार घडी हेरे । सवासात वजेछ । गाउँले भेलामा जान समय बाँकि देखेर पुन रन्थनमोन्थलमै डुबुल्कि लगाए । “हाम्रा साथि शोभाकान्त झाजी पनि अल्टर छन् । यो पत्रकार चुडामणि वाग्ले जत्ति चर्का त ह्वैनन्, तर थोरबहुत आँडे छन् । अक्कड बनेर हुँदैन। लचीलो र व्यबहारिक हुनुपर्छ भनेर यस्लाइ मैले कत्ति सम्झाएँ । एलडिओ उमेश बस्नेत, लेखापाल सुदीप गौतम, आलेप शाखाका प्रमुख अशोककुमार कर्णहरुलाइ मिलाएर काम गरिरहेछु भनेर मैले आफ्नो भित्री क्ल्यु नै खोलिदिएको थिएँ । उहाँहरुसँग छुट्टाछुट्टै भेट गराएर लाइन मिलाइदिन्छु पनि भनेको हुँ । मतलबै गरेन ।”
रामेश्वरलाइ ऐंठन भयो । उठेर कौशीमा १ राउण्ड लगाए । र, बसेर पुन सोचे, “आयस्ताको आधाआधी यिनीहरुलाइ बाँड्छु । के यत्तिमात्र कारणले एलडिओ, लेखापालहरुले मलाइ हात लिएका हुन् र ? सर्लाही जिल्लाको ९९ गाविसमध्ये ४० गाविसको आर्थिक कारोबार यिनीहरु आफैं गर्छन् । यी गाविसका लेखाश्रेस्ताहरु यिनीहरुसँगै हुन्छ । एउटा हातले जिविसको श्रेस्ताबाट निकासा छाडिरहेको हुन्छभने अर्को हातले गाविसको लेखाश्रेस्ताहरुमा खर्च जनाइरहेको हुन्छ । बीलभर्पाई पनि यिनीहरु आफैं बनाउँछन् । बाँकि ५९ गाविसको हकमा पनि हरेक निकासा र प्रत्येक चेकमा कमिशन लिन्छन् । ‘चोर-चोर मौसेरे भाइ’ भएकोले मलाइ हार्न नसकेका हुन् । नत्र, शोभाकान्त झाप्रति त्यति कठोर हुने आलेप शाखा प्रमुख अशोककुमार कर्णले मेरा भाइभतिजाको हकमा भने नियुक्तिपत्र वुझिसक्नुपर्ने मिति गुज्रिएर २ हप्तापछि (पुस १६ गते) नियुक्तिपत्र दिने मेहरबानी गर्ने थिएनन् ।”
“हिजो त्यो चुडामणि मेरो पछि लागिरह्यो। ‘हो, वेलायतमा भएको भाइको नामबाट समेत् लेप गरेको हुँ। अरब र करोडका घोटाला गर्नेहरुको खोजिनीति गर्नुहोस् न। म एउटा अदनाको पछि किन लाग्नुहुन्छ ?’ भनिदिएँ ।”
घडी हेरे । पौनेआठ भएछ । निस्के। जुत्ता लगाउँदै कुदे ।




