लूटतन्त्रलाई लोकतन्त्र दिवश, जनतालाई निराशा

democracy-in-nepal

आज लोकतन्त्र दिवस । तर खोइ लोकतन्त्र ! अहिलेको तन्त्रलाई के भन्नु लोकतन्त्र ! मूलुक लोकतान्त्रिक मूल्य र मान्यतामा चलेकै छैन । लोकतन्त्र छ त भ्रष्टाचारीहरुलाई । लोकतन्त्र छ त हार्नेहरुलाई ।  लोकतन्त्र महँगीको रुपमा आएको छ । ढाड सेक्न जनताको । हुर्मत लिन लोकको । जनताका आम समस्या सुधार्न होइन, आतंकककारुपमा छाएको छ । जनताको भावना कहिँ कतै सम्मानित छैन । जनताका लागि केहि ब्यवस्था, सुबिध छैन । जनताले लोकतन्त्र केहो कतै हेर्न, बुझ्न र महसुस गर्न पाएका छैनन् । गरिब, निमुखा र दिनदुखिका घरमा लोकतन्त्र पस्न पाएको छैन । जसले लोकतन्त्रकालागि हात उठाए, ज्यानको बाजि लगाए, लडे र भिडे तिनको सम्बोधन कहिँकतै भएकै छैन ।  जसले ज्यानको बाजि दिँदै सडकमा उत्रिए तिनकालागि लोकतन्त्र आउन सकेको छैन । झुप्रा र अँध्यारा बस्तीहरुले लोकतन्त्रको भेउ पाउन सकेका छैनन् । लोकतन्त्रकाबिरुद्दका गोलीहरु छातीले छेक्नेहरु अझै साँचो लोकतन्त्र कहिले आउला भन्ने प्रतिक्षामा छन् । 

राजतन्त्र फालेर लोकतन्त्रका लागि उठेका थिए मुलुकका जनता । देशैभरि एकैचोटी निरंकुशताका बन्दूक, गोली र ग्याँसका मुस्लाहरुलाई झुकाएर वास्तबिक लोकतन्त्रकालागि जाग्ने मुलत जनता हुन् । तर जनताका यि आवाजहरुको कहिँ कतै सम्मान गरेनन हाम्रा दलहरुले । दलका नेताहरुले । हामीलेनै विश्वास गरेर सम्बिधान बनाउन पठाएकाहरुले । तिनले जनताका नाममा कसम त खाए खाए । तर जनताको करबाट भत्ता र सुबिधा लिए । जनतालाई लोकतन्त्र दिन भनेर विश्वका अनेकौं मोडल हेर्छौं भन्दै विश्वका अनेक मुलुक घुमे, भत्ता पचाए । गाडी सुबिधा लिए । हेलिकप्टर चढे । तर जनतालाई केहि दिएनन् । निराशा दिए ।

दलहरु एक अर्कामा लडे । लडिरहेकै छन् । संविधान बनाउने नाममा हरेक शिर्षक र बिधामा असहमती गरे । बिबादमा अल्झिए । तर राज्यबाट सत्ता र सुबिधा, तलब र भत्ता लिने नाममा कहिँ कतै बिमति गरेनन् । अहिलेपनि जनताका नाममा छ सय सभासदले त्यहि सेवा र सुबिधा लिइरहेका छन् । जनताको पसिनाले उठेको करमा मोज मस्ति गरिरहेकै छन् । तर दोस्रो पटक भएको निर्वाचनपछिपनि जनतालाई संविधान दिने कुनै सुरसार छैन । जनताको पक्षमा संविधान बनेर देश विकासमा ध्यान दिनुपर्ने, लाग्नुपर्ने बेला संविधान बनाउने विषयमा केन्द्रितसम्म हुनसकेका छैनन् । सत्ता कसरि हत्याउने । सत्तामा पुगेकाले कसरि टिकाउने । नपुगेकाले कसरि खसालेर आफू पुग्ने ? मन्त्री पद कसले पाउने ? राजदूत कुन दलको कसले छान्ने ? कति कमिशन लिएर छान्ने ? हाम्रा मुख्य दलहरु यसैमा केन्द्रित छन्  । सरकार बाहिर रहेका दलहरुपनि यसैमा केन्द्रित छन् । संविधान बनाउन सरकारमा रहेकाले दह्रोसित दबाब दिन, तान्न, बाध्य पार्न सकेकै छैनन् । जनतालाई सत्ता र सरकारको तानातानको रमिता देखाइरहेका छन् । आफूहरु सरकारी सेवा र सुबिधा लिएर रमिते बनेका छन् । लोकतन्त्रको यो भन्दा बढि उपहास के हुन सक्छ ?

त्यसैले, जनताले लडेर ल्याएको लोकतन्त्र भिरको मुखैमा पुगेको छ । यदि फेरिपनि जनताले देशै भरिबाट खबरदारी नगर्ने हो भने देश अर्को रक्तपातमा जाने छाँट छ । हाम्रा दलहरुलाई निरंकुशतन्त्रलाईझैं खबरदारी नगरे आफैंले ल्याएको लोततन्त्र समाप्त गर्ने खेल खेलिरहेका छन् हाम्रा नेताहरुले । देश, जनता, नागरिक र आफुसमेत हार्ने खेल खेल्दै छन् उनीहरु । पेशाकर्मी, नागरिक समाज वा सामान्य नागरिक, लोकतन्त्रका लागि एकजुट भएर लडेका जनताले हाम्रा नेताहरुलाई तिनका पार्टी कार्यालय, सडक, संसदिय दलको कार्यालय वा संसद भवन जहाँ सकिन्छ त्यहिँ कैद गर्न उठ्नुपर्ने अवस्था स्रिजना भएको छ । सारा स्वार्थ भुलेर । नेताहरुका सत्ता स्वार्थबाट अलग रहेर । खास जाती, भाषा, धर्म र गुट उपगुटलाई थान्कोपान्को लगाएर फेरि जनताको लोकतन्त्रकालागि उठ्नुपर्ने अवस्था देखिएको छ ।

अहिले लोकतन्त्र त आएको छ । तर जनताकालागि आएको छैन । लोकतन्त्र आएपछि जनता अझ शक्तिशाली हुनुपर्ने हो, भएका छैनन् । राष्ट्रियता बलियो हुनु पर्ने हो, झन कमजोर भएको छ । समाज एकत्रित हुनुपर्ने हो, तर झन बिभाजित छ । जनताको दैनिक जिवन सहज हुनुपर्नेमा झन कठिन भएको छ । राजनितिक स्थिरता हुनुपर्नेमा जनताका टाउकामाथि झन काला बादलहरु मडारिएका छन् । त्यसैले आज लोकतन्त्र के मनाउनु ? कसकालागि मनाउनु ? के प्राप्तिको खुशियालीमा लोकतन्त्र मनाउनु ? लोकतन्त्र आएको छ त सिमित नेता, सरकारमा पुगेर सत्ता सुखको भोग गरेका नेता र तिनका दल, केहि चाटुकार र हुनेखानेको लागि आएको छ । तर वास्तविक जनताकालागि आएको छैन लोकतन्त्र ।

तपाइँको प्रतिक्रिया