चेक खोसेर रित्ता हात फर्काउने क्यास माओवादी कि ड्यासपनि ?

IMG_0142राज्य सत्ता बदल्ने कसम खाएर जनयुद्दमा लगेका युवाहरुकै पाखुरीको बलमा नेकपा माओवादी शान्ति संझौतामा आयो । तिनै पाखुरिका बलले माओवादी सत्तामा पुग्यो । बिदेश घुमे नेताले । तलब र भत्ता हाकाहाकी लिए । आफ्नो त लिए लिए तिनले जनसेनाको तलब र भत्तापनि लिए । शान्ति संझौतामा ल्याउन सक्ने, माओवादीलाई सरकारमा पुर्‍याउन सक्ने शामर्थ्य बोकेका ति जनसेना असक्षम साबित भए । केहि रित्ता हात फर्काईए । शिविरमा बसुन्जेल सरकारले दिएको लालनपालन खर्च, चुरोट र मन्जन, कट्टु र मखलर, गन्जी र टोपी किन्न भनेर दिएको भत्तापनि माओवादीले नेताले खाइदिए । सरकारमा पुर्‍याउन सक्ने, संविधान सभाको निर्वाचनमा लग्न सक्ने तिनै जन सेना शिविरमा बस्दाको भत्तापनि खोसिएर अयोग्य सावित बनाइँदै घर फर्किए । तिनको भत्ताको चेक खोसियो, लुटियो । त्यो कसले खायो ? हजारौं जनसेनाको तलव र भत्ता खोसेको, भ्रस्टाचार गरेको, लुटेको भन्ने आरोप क्यास माओवादीलाई लाग्यो । तर सोझा, ईमान्दार, अनियमिततामा नमुछिएका भनिएका ड्यास माओवादीले यसलाई किन सप्रमाण बाहिर ल्याउन सकेनन् ? नसकेका कि नचाहेका ? 

जनसेना हातमा लौरो लिएर सडक बन्द गरे ‘हाम्रो रगतमा त खेल्यौ । हाम्रो पाखुरी र बेच्यौ । दिमाख त भुट्यौ । हाम्लाई बसिखान देको रकमपनि खान्छौ ?’ भन्दै ।  भ्रस्टाचारको नाटक छोप्न ‘पार्टीको आन्तरिक छनबिन समिति’ भन्ने एउटा पर्दाले ढाके । तर त्यो छानबिन समितिले के रिपोर्ट दिने ? ‘हैन’ भने जनसेनाले आगो बालिहाल्थे । ‘हो’ भनेमा सर्वाङ्ग नांगो भईने । अनि दिनरात घर्काउँदै लगे । अहिले त्यो समिति कहाँ पुग्यो अत्तो पत्तो छैन । कि हिम्मतका साथ भन्नु पर्ने होइन र ‘हामीले सुको खाएका छैनौं’ भनेर ? कि कसले कति कति खाए, कसको कति खाए सार्वजनिक गर्नु पर्ने होइन र ?

सरकारले छानबिन गर्ने भन्नासाथ भ्रस्टाचार गरेको आरोप लागेका प्रचण्डका विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ ले छानबिन समिति बनाउन पाईन्न भन्दै बिरोध गर्नुको ध्येय के थियो ? भ्रस्टाचार गरेकै छैन भने जोसुकैले छानबिन गरोस् न के को पिर ? किन त्रास ? देश बनाउँछौं, राज्यसत्ता बदलेर सम्पन्न मुलुक बनाउँछौं भन्दै दश वर्ष जनयुद्द गर्नेले त झन छानबिनकालागि मेसो मिलाइदिनुपर्ने, आवाज उठाउनुपर्ने र छानबिनकालागि दबाब पो दिनुपर्ने होइन र ? तर यसो भनेर ड्यास माओवादीपनि उम्किन पाउन्न ।

IMG_0139शान्ति वार्तामा आउन्जेलसम्मपनि दुबै माओवादी एकै थलोमा थिए । शान्ति संझौता मिलेरै गरे । माओवादीको केन्द्रिय समिति, पोलिटब्युरो देखि सबै तहमा दुबै तर्फका नेता हुँदाहुन् । जनसेनाका हरेक समितीमा, ब्युरोमा दुबै तर्फका नेता थिए, कार्यकर्ता थिए । शिविरमा बसेर खुरुखुरु आफ्नो भत्ता केका आधारमा काट्न दिए ? किन तलब र भत्ता काटिँदा तिनले तत्कालै बोलेनन् ? पछि भ्रस्टाचार भएको, आफ्ना नाममा अनमिन र सरकारले बाँडेको भत्ता र तलब काटिएको थाह पाउँदा तिनले सार्वजनिक गरेनन् । किन शिविरबाट बाहिरिनुपर्ने अवस्था आएपछि मात्रै ति सडकमा उत्रिएर बिरोध गरे ? शिविर छोड्नेपर्ने अवस्था आएपछि मात्रै किन भ्रस्टाचार छानबिनको आवाज उठाए ? तिनलाई ढाँटेर, छलेर काटिएको हो भने मर्कामा पर्ने पक्षले पक्कैपनि थुप्रै प्रमाण जुटाउन सक्छन् । त्यो किन सार्वजनिक गर्दैनन् ? किन अहिले दुबै माओवादी चुपचाप बसेका छन् ?

जनसेनाको तलब र भत्तामा भ्रस्टाचार भएको प्रमाण ड्यास माओवादीले पाउन नसकेको भन्ने तर्कपनि गर्छन् ड्यास माओवादीहरु । यो भनाई उति तर्कपूर्ण र सत्य लाग्दैन । किनभने माओवादीका ईकाई, गाउँ समितिदेखि पोलिटब्युरोसम्म सहभागिहरुले कसरि ति प्रमाण सुरक्षित राख्न सक्दैनन् ? बरु शंका गर्नुपर्ने ठाउँ कहाँ छ भने ड्यास माओवादीकै केहि नेता त्यसमा मुछिएका हुन सक्छन् । त्यो सार्वजनिक भएमा आफूहरुपनि परिने डरले तिनले सप्रमाण सार्वजनिक नगरेका होलान् । पक्कैपनि क्यास माओवादीका अनुपातमा स्वच्छ, दुख पाएका, भ्रस्टाचारमा नमुछिएका, सुख र मस्ति नभोगेका र ईमान्दार नेता ड्यास माओवादी बढि छन् । तर सबै नेता यस्तै छन् भन्न सकिन्न ।

शान्तिवार्ता, शान्ति संझौता, प्रान्तिय राज्यका ढाँचा, मेडिया शसक्तिकरण, संघिय नेपाल आदि नाममा करोडौं होइन अरबौं रकम नेपाल भित्रिएको छ । पाएसम्म, मिलेसम्म, भेट्टाएसम्म रकम लिएका छन् धेरैले । राजनितिज्ञहरुले सबैभन्दा बढि खाएका छन् । बिदेश घुमेका छन् । तर शान्ति संझौताको मुख्य पाटो, मूल शक्ति भनेको जनसेना थियो । त्यहाँ अरबौं भ्रस्टाचार भएको छ । ‘हाम्रो तलब र भत्ता खाइयो, सरकार र अनमिनले दिएको तलब र भत्ता खोसियो, चेक खाइदिए’ भनेर जनसेना शिविरबाटै हतियार उठाएर सडकमा निस्किएका थिए । त्यसको छानबिन गर्न भनेर माओवादीले आन्तरिक समिति बनाउने भन्दै टालटुल पार्‍यो । खरबौं रकम भ्रस्टाचार भएको तथ्य अहिलेसम्म लुकाइएको छ । त्यसैले यदि ड्यास माओवादीहरु ईमान्दार छन् भने यसलाई सप्रमाण सार्वजनिक गर्नै पर्छ । वा यो यो कारणले हामीले सार्वजनिक गर्न सकेनौं भनेर जनताका अगादि सिद्द गरुन् । नत्र यो वा त्यो नाममा क्यास माओवादीलाई झोसेकै भरमा ड्यास माओवादीपनि पन्छिन पाउँन्न । अर्कोतिर औंलो सोझ्याएकै भरमा पत्याउने आधार छैन ।

 

तपाइँको प्रतिक्रिया