ज्ञानेन्द्रको आत्मसमीक्षा
● आनन्दराम पौडेल
पूर्वराजा ज्ञानेन्द्रको मुहारमा खुशीको उज्यालो झुल्कियो । साढे ६ बर्षदेखि आफूलाइ हैसियतहीन अभागी मानुष ठान्दैआएका थिए । मेडियाले पटक्कै स्थान नदिएको देखेर उनी दुःखीत थिए । तर, चैत्र २१ गते बिहान चियानास्ता लिएर अखबारतिर आँखा लगाउँदा आफ्ना भ्रमण कार्यक्रमहरु बिस्तारमा छापेर महत्वका साथ ठूलै कवरेज दिएको देखेपछि उनी पुलकित भए । अघिल्लो साँझ मात्र भ्रमणको कार्यक्रम तय गरिएको थियो । चैत्र २८ गते सीमरा जाने, प्रभु शमशेर राणाको निवासमा नयाँ बर्ष मनाउने, महाकुम्भ मेला भर्न बैशाख २ गते धरानको चतरा जाने र चतराबाट धरान, इटहरी लगायत पूर्वी तराईको भ्रमण गर्ने कार्यक्रम बनाइएको थियो । सागर तिमल्सिना, डा. फणीन्द्रराज पाठक र डीएसपी उद्धव रावललाइ चतरातर्फ तथा सुदन थापाको नेतृत्वमा सुरक्षा टोलीलाइ सीमरामा रेकी टीम पठाउने समेत् निर्णय भएको थियो । प्रेस रिलिज गर्दा अखबारले यत्रो स्थान देलान् भनेर अनुमान गरेका थिएनन् । काठमाडौंबाट प्रकाशित हुने २० बर्ष पुरानो राष्ट्रिय दैनिकले त बिस्तृत कार्यक्रमसहित पहीलो पृष्ठमै ठूलै कभरेज दिएको थियो । छोरो सुध्रिएको खबरपनि ज्ञानेन्द्रको प्रसन्नताको कारण थियो । नेपालको मल्टिमेडिया कर्पोरेट हाउसले प्रकाशित गर्ने शुक्रबारे साप्ताहिकले पहीलो पृष्ठभरी पूरै सकारात्मक समाचार छापेको थियो । आजैको मितिबाट दीनदशाले छाडेछकि त ? ‘डा. माधव भट्टराईकहाँ चीना लिएर जानु र हेराएर टिपोट ल्याउनु’ भनेर अह्राए ।
कालरात्री सकिएर उज्यालोको सङ्केत देखिएको यो सन्धीरेखामा उभिएर पूर्वराजा ज्ञानेन्द्र विगततिर फर्के, र घोत्लिन थाले । जति घोत्लिंदैगए त्यति नै विगतका फ्ल्यासब्याक झल्झलि आउन थाल्यो । फ्ल्यासब्याकसँगै गमे, “एउटा छोरोपनि धुन्धुकारी निस्क्यो । गद्दीच्युत हुनुमा आफ्नै गल्तिकमजोरी जति जिम्मेवार छ, यो धुन्धुकारीको गुण्डागर्दी, अपराधिक कर्म र छाडा चरित्र पनि त्यत्तिकै जिम्मेवार छ । राष्ट्रकै अगुवा भएको बेलामा हाम्रा कृयाकलाप, कर्म, चरित्र र ब्यबहारहरु अनुशरणलायक नमूनाको हुनुपर्थ्यो । मानवीय मूल्य, विवेक, न्याय र सभ्यताको सुवाश छर्नुपर्थ्यो । हामीले आफ्नै सन्तानलाइ संस्कार दिन सकेनौं । हुन त, हामीसँगै संस्कार थिएन। भए पो दिनु ? हामी आफैं कहाँ असल मान्छे थियौं र ?”
गोडा निदाएछ । कौसीसम्म ओहोरदोहोर गरे । पुन सोफामा बसे । र, गम्न थाले, “समयले मलाइ ठूलै अवसर प्रदान गरेको थियो । २०५९ असोज १९ गते सत्ताको लगाम समात्दा सिङ्गै राष्ट्रले मप्रति आशावादी नजरले हेरेको थियो । माओवादी द्वन्द र हत्याहिंसाबाट जनता आक्रान्त थिए । राजनीतिक दलहरु आत्मविश्वाश हराएका, निस्तेज थिए । कांग्रेस त अलमलिएकै थियो, एमालेले समेत् ५ दिनपछि बल्ल बक्तब्य निकाल्न सकेको थियो । त्यस्मा ‘स्तब्ध’ शब्दबाहेक कडा प्रतिकृया थिएन । यस्तो स्वर्णीम अवसर पाउँदा पनि मैले राष्ट्रलाइ निकास दिनेतिर लान सकिन । विज्ञ, अनुभवीहरुलाइ साथ लिन सक्थें । तर, चाकरिवाज र आसेपासेहरु मात्रै जम्मा गरेछु। योग्य, सक्षम ब्यक्तिहरु स्वाभिमानी हुने भएकोले आफैं आउँदैनथे । म आफैं अग्रसर भएर त्यस्ता ब्यक्तिहरुलाइ खोज्नुपर्थ्यो । जतिजति चाकरिवाजहरु भरिंदैगए त्यति नै स्वाभीमानीहरु पाखा लाग्दैगए। हुँदाहुँदा २०६१ माघ १९ पछि तुलसी गिरी जस्ता ब्यक्तिहरुलाइ भित्र्याएकोले गतिला मान्छेको लागि स्थान वाँकि रहेन । २०३७-०३८ सालतिर नेपाली नागरिकता च्यातेर राष्ट्रलाइ सराप्दै हिंडेका र क्रिश्चियन बनेका गिरीलाइ एउटा नेपालीले पनि रुचाएन । माघ १९ गतेको कदमले त्यसबेला प्रचण्डपनि बिच्किए । त्यसबेलासम्म प्रचण्डले मबाट निकै ठूलो आशा राखेका रहेछन् ।”
ज्ञानेन्द्र विगतका फ्ल्यासब्याकमा घोत्लिंदाघोत्लिंदै आफ्नै परिवार र आफूतिरै केन्द्रित भए । आत्मालोचनाको भावमा सोचे, “हामी अलि बढी नै लोभी भएछौं । भाउज्युले स्वीश ब्याङ्कमा जम्मा गरेको अरबौं रुपैयाँको बिषयमा २०४७ सालमा ठूलै हल्ला चलेको थियो । तर, हल्ला ठूलो भएपनि तथ्य ल्याउन नसकेकाले त्यस्ले ठोस आकार लिन सकेको थिएन । बहिर्गमनका बेलामा मैले सुनको ईंटाले भरिएको चारवटा बाकस र वहुमूल्य सामानहरु लोड गरेको ४ ट्रक लगेको थिएँ । त्यसरी भित्रभित्रै ओसारेको धनमध्ये ठूलो हिस्सा दैलेख जिल्ला, बालुवाटार गाविस, वडा नं २ बस्ने डिलबहादुर मल्ल ठकुरीकी छोरी नन्दा मल्लको जिम्मामा राखेको थिएँ । कुनचाहीं छुस्करले सम्पति सुद्धिकरण बिभागमा मिति २०७० । ०५ । ०२ गते द.नं २६० मा उजुरी नै दर्ता गरेछ ।
सामान्य आर्थिक हैसियत भएको परिवारकी छोरी नन्दा मल्ल अहिले बाङ्ग्लादेश राजदूतावास बसेको घर र त्यससँगैको दुइटा घर, चपली गाविस वडा नं ३ मा २३ रोपनी जग्गा, त्यो जग्गामा बनेको (सेण्ट जेभियर्स एकेडेमी इङ्लीश स्कुल बसेको) ६ वटा घर र अर्को निर्माणाधीन ७ तले घर, टोयोटा कार, जीप र ल्याण्डक्रुजरकी मालिक्नी कसरी भइन् भनि उजुरीमा उल्लेख रहेछ । नन्दा मल्लले ती सम्पति आफू, आफ्नो सहोदर भाइ र बहिनीको नाममा राखेको समेत भनेछ । नन्दा मल्लले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०५६ । ०३। ०३ गते ३०४५ नम्बरको नागरिकता प्रमाणपत्र लिएकी थिइन्, त्योपनि उजुरीमा लेखेछ । विगतमा चन्द्रशमशेरले आफ्ना छोराहरुको लागि भारतको बिभिन्न वैंकमा त्यसबेलाको ४ करोड १० लाख ब्रिटिश पाउण्ड (त्यसबेलाको सुनको परिमाणलाइ अहिलेको मूल्यमा हिसाब गर्दा ४ खरब ५० करोड नेरु) जम्मा गरिदिएका थिए भनेर वसन्त लोहनीले पर्दाफास गरिदिए । पुरानो भएकोले होला त्यस्मा कसैले चासो राखेन । तर, ५ बर्षअघि प्रचण्डले स्वीश बैंकमा जम्मा गरेको १६ अरब रूपैयाँ र मैले नन्दा मल्लको जिम्मामा राखेको धनसम्पतिको भने तथ्यप्रमाण सहित चर्चा भैरहेछ । जति चर्चा भएपनि प्रमाणित गराउन सक्ने छैनन् क्यारे !”
प्रमाणित गराउन सक्ने छैनन् भन्ने टुङ्गोमा पुगेपछि पूर्वराजा ज्ञानेन्द्रले सञ्चो माने । लामो सास ताने । उठे, जिउ तन्काए र बैठक कोठातिर लम्किए ।




