आफैंलाई सम्मानित घोषणा गर्ने राष्ट्रघातीहरुका असली रुप

मदन बज्राचार्य

writer-12ब्यक्तिघात गर्ने, अरुको सम्पति बल र छल गरेर हडप्ने, अर्काको घर जग्गामा अनधिकृत तथा बिना अनुमति वा बलपुर्वक प्रवेश गर्नेलाई नेपालको कानुनले अपराधि मानेको छ । अपराधिलाई सम्मानित गरिँदैन । अपराध प्रमाणित भएमा हत्कडी लगाएर जेल सजाय दिइन्छ । तर यो कुरा आम नागरिकहरु माथि मात्रै लागु हुन्छ । राष्ट्रघात गर्ने, रास्ट्रको सम्पति हडप्ने, देशको सिमाना मिच्न दिने, देश भित्र अनाधिकृत तरिकाले हस्तक्षेप गर्ने वा गर्न दिने ठूलाबडा कुर्सीमा बस्ने आफैले आफुलाई सम्मानिय भनेर घोषणा गर्ने कथित नेताहरु र नेताहरुको कथित मित्र देश माथि लागु हुँदैन । यो कुराको ज्वलन्त प्रमाणहरु बनेको छ भारत र नेपाल बीच भएका सन्धि र सम्झौताहरु ।

नेपालमा राणातन्त्रको बिरुद्ध सन् १९३९ देखि नेपालका अनेकौ सपुतहरुले ज्यानको बलिदान दिँदै संघर्ष गर्दै आएका थिए । नेपाली जनताकै चाहना र संघर्षले राणातन्त्र उम्मुलन भएको भए नेपालमा मोहन शमशेर राणालाइ सायद पक्कै टुँडिखेलमा झुन्ड्याइने थियो । तर नेपाली जनताले पाएको भए झुन्ड्याइने तिनै मोहन शमशेर सित दिल्लीमा सम्झौता गरेर मोहन शमशेरलाइ फेरी पनि नेपालको प्रधानमन्त्रि बनाएर कांग्रेसले मिलिजुली सरकार चलायो । र सन् १९५० को सिंगो राष्ट्रनै अघोषित रुपमा भारतको अर्ध उपनिवेश जस्तै बन्ने सन्धि भारत सित गर्‍यो ।

नेपाली कांग्रेस पार्टीले आफूलाई नेपालको इतिहास लेख्ने पार्टी हो भनेर दावी गर्छ । यो कुरालाई मान्ने हो र सन् १९५० को सन्धि र युद्धमा हारेको कारणले ब्रिटिश सरकारसित झुकेर गर्नु परेको सुगौली सन्धिलाइ तुलना गरेर भन्ने हो भने सुगौली सन्धि जत्तिकै अपमान जनक असमान सन्धि गर्ने गराउने नेपाली कांग्रेसले नेपालको इतिहास लेखेको होइन । नेपालको इतिहास बन्धकी राखेको हो भन्नु पर्छ ।

कोशी नदी समुह दक्षिण जलशक्तिको सन्दर्भमा एशियाको दोश्रो ठूलो नदी हो । नेपालमा ८४,००० मेघावाट जल बिद्दुत निकाल्न सकिने नदीहरु छन् । यसमा कोशी समुहको नदीहरुबाट ३७,००० निकाल्न सकिने कुरा पनि समाबेश छ । तर आज कोशी नदी नेपाली कांग्रेसको तत्कालिन सरकार मात्रीका कोइराला प्रधानमन्त्रि भएका बेला गरेको कोशी सन्धिको कारण कोशी समुहको नदीहरु नाम मात्रैको नेपालको बनेको छ ।

मातृका कोइरालाले समय सिमा समेत नतोकी गरेको कोशी सन्धि अनुशार कोशी बाँध बनेको नेपालको भूमी र नदीको पानीमा भारतको नियन्त्रण हुने भनिएको थियो । तर पछि महेन्द्रको सरकारले मातृकाले गरेको कोशी सन्धि संसोधन गरेर १९९ वर्ष पछि नेपालको भूमी र पानीमा बनेको त्यो कोशी बाँध नेपाललाई फर्काउनु पर्ने कोशी बाँध बनेको नेपालको भूमी र पानीमा नेपालकै अधिकार हुने बनाए ।

कोशी सम्झौताको बिरोध बिश्वेश्वर कोइरालालेले पनि गरेका थिए । तर कोशी सम्झौता रास्ट्रघाती सम्झौता हो भनेर बिरोध गर्ने बिश्वेश्वर आफु प्रधानमन्त्रि बन्नासाथ कोशी सम्झौता भन्दा बढी राष्ट्रघाती गण्डकी सम्झौता गरे । गण्डकी सम्झौता अनुशार नेपालले गण्डकी, नारायणी नदीबाट मात्रै होइन ती नदी र तीनका उद्गमस्थलबाट पानीको उपयोग गर्न भारतको अनुमति लिनुपर्ने बनाएको छ । गण्डकी नारायणी नदीहरुबाट नेपालले कुलो बनाएरपनि पानी उपभोग गर्न पाउँदैन ।

मात्रिका कोइराला र बिश्वेश्वरको कान्छो भाई गिरिजा प्रधानमन्त्रि बनेको लगतै भारत गए । भारत जाँदै गर्दा राष्ट्रको नाममा सम्बोधन गर्दा “म केहि दिन वा लिन भारत गईरहेको छैन । खुला हृदय मात्रै लिएर भारत जाँदै छु” भनेका थिए । तर भारत पुग्नासाथ् बिरेन्द्र र मरिचमानले दिन नमानेको नेपालको टनकपुरको भूमिमा भारतको बाँध बनाउन दिने मेमोरण्डममा सहि गरेर आए ।

मरिचमान श्रेष्ठको पालामा हाम्रो टनकपुरको भूमिमा जवर्जस्ती बाँध बनाउँदै थियो भारतले । मरिचमानले भारतको त्यो अतिक्रमणको बिरुद्ध नेपालले अन्तर्राष्ट्रिय अदालतमै मुद्दा ठोक्ने भनेपछि भारत पछि हटेको थियो । टनकपुरको नेपालको भूमिमा जवर्जस्ती बाँध बनाउन खोजेकोमा मरिचमानले भारतले त्यतिबेला बनाउँदै गरेको टनकपुरको भूमि मात्रै होइन टनकपुर भन्दा अलि परको शारदा ब्यारेज बनेको भूमि समेत नेपालको हो भनेका थिए ।

भारतमा महाकाली नदीलाई शारदा नदी भनिन्छ । अहिले भारतको भूमी भनिएको शारदा ब्यारेज बनेको २७०० हेक्टर अतिक्रमित भूमि सन् १९२५ तिर चन्द्र शमशेर राणाले बर्षको ५० हजार भत्ता तिराउने गरि भाडामा मात्रै दिएको भूमि हो । पछि माधव नेपाल र ओली गुटसित मिलेर गिरिजाले टनकपुरमा भारतलाई बाँध बनाउन दिए । त्यस अतिरिक्त महाकाली र शारदा ब्यारेज समेत समेटेर सन्धि गरे ।

गिरिजा, माधव र ओलीको महाकाली सन्धिको कारण आज उता पारिसम्मै नेपालको भएको महाकाली नदी सिमाना नदी बनेर भारतको भयो । र सन्धिमा शारदा ब्यारेज समेत समेटिएको कारण भारतले महाकाली नदीको ९७ प्रतिशत पानी उपभोग गर्न पाउनुपर्ने र नेपालले तिन प्रतिशत मात्र महाकाली नदीको पानी उपभोग गर्न पाउने दावी गर्दै आएको छ ।

कोशी सम्झौता भन्दा गण्डकी सम्झौता र कोशी गण्डकी सम्झौता भन्दा महाकाली सन्धि बढी राष्ट्रघाती छ । तर नेपाललाई समुन्द्रसम्म पुग्ने जलमार्गको ब्यवस्था गर्ने हल्ला चलाउने । गोप्य तरिकाले भने भारतलाई नेपालको ४० भन्दा बढि गाउँहरुलाई तलाउ बनाएर कोसीमा बिश्वमै ठूलो २६८ मिटर अग्लो बाँध बनाउन दिए । सम्पूर्ण कोशी नदी समूहको सबै पानी भारतलाई सुम्पने (सन् २००५ !!) को सम्झौता भारत सित गरेको कोशी, गण्डकी, महाकाली सन्धि र अन्य सबै सन्धिहरु भन्दा बढिने खराव हुने देखिन्छ ।

आजसम्म भारत सित र भारतको दिल्लीमा भए गरेको ठूला तर गलत सन्धि र सम्झौताहरुको कारणले नेपाल नेपाली भन्ने नाम मात्रै बाँकि राख्ने र बाँकी सबै भारतको बनाउन खोजेको स्पस्ट देखिन्छ । भारतसित भए गरेको यस्ता गलत सम्झौताहरुको बारेमा बढि जानकारी तथा सचेत गराउन राष्ट्रवादी मिडिया समूह जुर्मुराउनु जरुरि देखिन्छ ।

तपाइँको प्रतिक्रिया