राजनितिक स्वार्थकालागि बेक्कारको बन्द
भोली उपत्यका बन्द रे । १८ विध्यार्थी संगठनका तर्फबाट । किन ? सरकारले इन्धनको भाउ बढाएकोले । त्यो घटाउन भनेर अल्टिमेटम दिँदापनि नटेरेकाले रे । उनीहरुको आव्हान -सम्पूर्ण यातायात, उद्योग, कलकारखाना, शिक्षणसंस्था, बजार र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु बन्द गरिदिएर तिनको आन्दोलनलाई सहयोग गरिदिनु पर्ने । तर बन्द केका लागि ? के भोली चैत्र पाँचको बन्दमा सबैले साथ दिए पेट्रोलियम पदार्थको मूल्यब्रिद्दी घट्छ ? एकदिनको बन्दले जनताले त्यसपछि राहत पाउँछन् ? अनि बन्द आव्हानकर्ता को हुन् ? बिगतमा तिनले के गरेका थिए ?
गणतन्त्र आएपछि मात्रै होइन । बहुदलिय प्रजातन्त्र आएपछिपनि अहिलेका आन्दोलनरत, भोलीको बन्द आव्हानकर्ताका माउ पार्टी पटक पटक सरकारमा गए । १८ विध्यार्थी संगठन भनेपनि मुख्य संगठन कुन् हुन् ? कांग्रेसको भात्री संगठन नेपाल विध्यार्थी संघ । ड्यास र क्यास माओवादीका अलग अलग दुई अखिल क्रान्तिकारी । एमालेको अनेरास्वबियु । मधेशका झ्याँसम्याँस र अरु केहि कसिंगर जस्ता टापटिपे बिध्यार्थी संगठन। नाम मात्रैका केहि, अस्तित्व कतै नदेखिने । मुख्य आन्दोलन हाँक्ने एमाले, माओवादी र कांग्रेसका बिध्यार्थीले हो । अलिकति शक्ति ड्यास अंअोवादीको बिध्यार्थीको होला । अरु बिध्यार्थी संगठनको खासै हुति छैन ।
बिगतमा यि सबै दल पटक पटक सरकारमा गएका छन् । सरकारमा जाँदा कुनैपनि सरकारले इन्धनको भाउ घटाएको छैन । सधैं बढाएकै छ । तर त्यो बेला जुन पार्टी सरकारमा हुन्छ उसको बिध्यार्थी संगठन चुपचाप सहन्छ । सरकारकै निर्णयको मौन समर्थन गर्छ । कम्तिमा बिरोध गर्न सक्दैन । अहिले अखिल क्रान्तिकारीका नेता हिमाल शर्मालेनै इन्धनको भाउ ब्रिद्दीको आन्दोलनमा जनतालाई साथ दिन आव्हान गर्दै हस्ताक्षर गरेका रहेछन् । उनी माओवादीका सभासदका उम्मेदवारपनि । माओवादीका युवा नेता । के उनको पार्टी सरकारमा जाँदा इन्धनको भाउ बढेको थिएन ? त्यो बेला हिमाल शर्माले के गरे ? किन बिरोध गरेनन् ? ड्यास माओवादीले त सडकमै ओर्लेर बिरोध गरेको थियो । उनी त्यो बेला आन्दोलनमा त उत्रिएनन् । वा उनैको पार्टीले किन भाउ बढायो ? किन उनले त्यो बेला आन्दोलन गर्न सकेनन् ? अहिले आफ्नो पार्टी सरकार बाहिर रहेका बेला उनको आन्दोलनको भित्रि स्वार्थ के हो ? के नैतिकता रहन्छ आफ्नो पार्टी सरकारमा जाँदा भाउ बढाउनेले अर्को पार्टी सरकारमा जाँदा भाउ बढ्यो भनेर आन्दोलन आव्हान गर्न ?
के एमाले र कांग्रेस पटक पटक सरकारमा गएको होइनन् ? कुनै दिन तिनले सरकारलाई इन्धनको मूल्य घटाएर राहत दिएको उदाहरण छ ? नाटक देखाउन, आन्दोलन तुहाउन केहि दिन घटाएझैं गरेर केहि सातामै बढाएको उदाहरण बाहेक ? अहिले केका लागि यि आन्दोलन गरिरहेका छन् ? कहिलेसम्म आन्दोलन गर्छन् ? कुन हदसम्म आन्दोलन गर्लान् ? के नेपाली कांग्रेस र एमाले पार्टीले आन्दोलन फिर्ता लिन कडा निर्देशन र नलिएमा कारवाही गर्ने अवस्थामा तिनका बिध्यार्थी नेताले आन्दोलन जारी राख्लान् ? बिगतमा पटक पटक तुहिएको आन्दोलनको नियतीले तिनको आन्दोलन निस्कर्षसम्म पुर्याउने विश्वाश देखिन्न ।
कुनै वस्तुको भाउ बढ्दा साथ त्यसलाई राजनितिक दाउ र स्वार्थका रुपमा प्रयोग गर्ने प्रलन कुनै नौलो होइन । बिध्यार्थीहरु सधैं माध्यम बन्ने गर्छन् । अहिलेको आन्दोलनको मूल ध्येय पनि मूलत त्यहि हो । सरकार बाहिर रहेका पार्टीका दल बिरोधमा उत्रिहाले । अनि अस्तित्वकालागि बाँकि दलका बिध्यार्थीपनि निस्किए । त्यसो नगर्दा अलोकप्रिय भईने डरले । स्वबियुको निर्वाचनमा अलोकप्रिय बन्ने डरले । आन्दोलनकारि दलसितै निस्किँदा जनतामा भ्रम छर्न पाइने भो, पार्टी सहमत भएपनि, सरकारसित हामी सहमत छैनौं, हामी स्वतन्त्र छौं, जनताको पक्षमा छौं भनेर देखाउन । यदि यि बिध्यार्थीहरु जनताका पक्षमा हुन्, पार्टीको बिरुद्दमा हुन् भने पार्टीमा किन आन्दोलन गर्न सक्दैनन् ? किन पार्टीमा सरकारमा गएका आफ्ना मन्त्रीलाई करवाही गर्नुपर्यो भनेर आवाज उठाउँदैनन्, प्रस्ताव गर्दैनन् ? किन सडकमा जनतालाई सास्ति दिन बन्द गर्नेले तिनका नेतालाई घरभित्रै थुन्न सक्दैनन् ? किन तिनले चढ्ने सवारी साधनमा रोक लगाउन सक्दैनन् ?
इन्धनको भाउ बढ्नुको मूल कारक मध्ये अनियमितता, चुहावट र भ्रस्टाचारपनि हो । एमाले, कंग्रेस र माओवादी सरकारमा जाँदा के यिनले भ्रस्टाचार बिरुद्द बोले ? नेपाल आयल निगममा भएको अनियमितता रोक्न कुनै आवाज उठाए ? चुहावट रोक भनेर आन्दोलन गरे ? के यिनको अहिलेको आन्दोलनमा चुहावट, भ्रस्टाचारका बिरुद्द कुनै आवाज उठेको छ ? छैन । यि आफ्ना नेताले भ्रस्टाचार, अनियमितता रोकुन् भन्नेनै चाहँदैनन् । यिनको मूख्य उद्देश्य इन्धनको भाउ नबढोस् भनेर दिर्घकालिन उपाय खोज्ने, जनतालाई राहत दिनेनै होइन । राजनितिक फाईदाकालागि, जनताका अगाडि आफूपनि मूल्यब्रिद्दीको बिरुद्दमा छौं भनेर देखाउनकालागि मात्रै हो । त्यसैले यिनको संयुक्त आन्दोलनको कुनैपनि दिर्घकालिन उपादेयता छैन । बरु तिनका पार्टीका नेताहरु सुरक्षामा हिँड्नेछन् । राष्ट्रको धन अझ बढि खर्च हुने छ । बन्द र हडतालले गर्दा राष्ट्रलाई केहि आर्थिक घाटा हुने छ । जनताले बेक्कारमा दुख झेल्ने छन् एक दिन भएपनि ।
अहिले बन्द आव्हानकर्ता बिध्यार्थीका पार्टी, नेतानै सरकारमा छन् । सक्छौ भने तिनलाई कारवाही गर न । पार्टीमा बिरोध गर न । पार्टी कार्यालय छिर्न नदेउ । संसद भवन जान बाट रोक । सवारी साधनको चाबी खोस । पुत्ला जलाउ । भाउ बढाउनु नाजायज, अत्याचार हो भने तिनलाई असफल सिद्द गर । त्यति गर्दा सकिएन भने बल्ला जनतामा जाउ र थप सहयोग माग । छ हिम्मत ? नत्र किन जनतालाई सास्ति दिन, नाटक देखाउन, साखुल्ले बन्न आन्दोलनको नाटक गर्छौ ?




