कुमारजी आज्ञा गर्नुहुन्छ

आनन्दराम पौडेल

anandaram-paudel-33434कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! म अब नेपाल भन्ने राष्ट्रको बर्णन गर्दछु, ध्यान दिएर सुन्नुहोस् । हिमालको काखमा बसेको नेपाल देश अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । जैविक बिबिधता, सांस्कृतिक बिबिधता तथा हिमाल, पहाड, तराई, नदीनालाले बेष्टित र हरियालीले सुसज्जित भौगोलिक बिबिधतापूर्ण यो देश प्रकृतिको खजानाले भरपुर छ । ७०० किसीमका पुतली छन् । फूल फुल्ने बनस्पतिहरु विश्वकै २ प्रतिशत,  स्तनपायीजन्तुहरु ४ प्रतिशत,  चराचुरुङ्गीहरू ९ प्रतिशत र ७,००० प्रजातिका मूल्यवान बनस्पतिहरु यो देशमा छन् । सञ्जीवनी बुटीहरु प्रचुर छन् । जैविक विविधताको हिसाबले नेपाल विश्वकै २५ औं धनी देश हो । १२६ जातजातिका संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, भेषभुषा घुलमिल भएर इन्द्रधनुषी शोभा दिइरहेको हुन्छ ।

त्यसैभएर ‘दि न्युयोर्क टाइम्स’ ले सन २०१४ मा घुम्नैपर्ने ४५ स्थानमध्ये नेपाललाइ पनि राखेको छ । बेलायतको गाइडबुक ‘लोलनि प्लानेट’ ले विश्वका उत्कृष्ट ३ गन्तब्यमा मुस्ताङलाइ रोजेको छ । बेलायतको टाइम्स, दि गार्डेन, अस्ट्रेलियाको मेलबर्न टाइम्स, ट्रीप एडभाइजर, क्यानाडाको मेट्रो क्यानाडा, अफ्रिकाको इण्डिपेण्डेण्ट अनलाइन, न्युजिल्याण्डको थ्री न्युज, कतारको गल्फ टाइम्स र पाकिस्तानको डेली टाइम्स लगायत विश्वका प्रतिष्ठित अखबारहरुले नेपाललाइ पर्यटकीय दृष्टिले सबैको आकर्षक स्थल भनेर मुक्तकण्ठले प्रशंसा गरेका छन् । सन्तान उत्पादन गर्नसक्ने भैसकेकी नवयुवती झैं ८३ हजार मेगावाट बिद्युत उत्पादन गर्न तम्तैयार भई हिमालबाट हाम्फाल्दै र पहाडबाट कुद्दै झरेका नदीहरु बिद्युत उत्पादन गर्न नपाएकोले वाँझी आइमाई जस्तै रित्तो, खोक्रो र निराश मन लिएर तराईमा ढल्किंदै बगिरहेका छन् ।”

अगस्त्य मुनिमा कौतुहल र जिज्ञासा एक्कैचोटी जागृत भयो । सोधे, “विश्वकै पर्यटकहरुले लोभलाग्दो नजरले हेरेको यो देश कति समृद्ध होला ?”

अगस्त्य मुनीको प्रश्न सुनेर कुमारजी पुलकित भएनन् । अनुहार अलिकति खुम्च्याएर बिस्तारै बोले, “नेपालको सुन्दरता र सम्भाव्यता बताउँदा जति उत्साहित थिएँ, तर यो पाटो कोट्याउन मलाइ त्यत्तिकै सकस भैरहेछ । दु:खका साथ भन्नुपर्छ नेपालीहरु आफ्नै भान्छाको परिकार खान नजान्ने, आफ्नै भण्डारमा भएको सामगृ प्रयोग गर्न नसक्ने अनौठो प्राणी साबित भएका छन् । नेपालीहरु यस्ता कस्तुरीमृग भएका छन्, जो आफ्नै कस्तुरीको बास्नाले आकर्षित भएर बिना खोज्न यताउती भौंतारिन्छ । यी नेपालीहरु अरबौंको गाडधनमाथि बसेर जीवनभरी भिक्षाटन गरिरहने मगन्ते हुन् ।”

अगस्त्य मुनीको कौतुहल झन् बढ्यो । त्यसैले वीचैमा हस्तक्षेप गरेर सोधे, “प्रचुर प्राकृतिक खजाना र सम्भावनाको थुप्रोमाथि बसेर किन बिपन्नताको स्थितिमा पुगे त ? म अचम्मित भएँ। कुमारजी, कृपा गरेर यो रहस्यको पोको फुकाइदिनुपर् यो ?”

कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! नेपालका शासक र नेताहरु कस्ता छन् भने मनमा एउटा कुरा राख्छन्, बोल्दा अर्कै बोल्छन् र गर्ने बेलामा अर्थोकै गर्छन् । नेताहरु मुखले न्यायको कुरा गर्छन् तर न्यायपालिकालाइ गिजोल्छन् । सुशासनको कुरा गर्छन् सत्ताको चरम-दुरुपयोग गर्छन् । कर्मचारीलाइ पार्टीकरण गर्छन्। शान्तिसुरक्षाको कुरा गर्छन् तर अपराधीलाइ संरक्षण गर्छन् । क्याण्टोनमेण्टका लडाकुको नाममा अरबौं रकम निकालेर झ्वाम् पार्छन् र पारदर्शिताको भाषण छाँट्छन् । न्याय, सुशासन र राष्ट्रिय उत्थानको लागि हैन, कुत्सित स्वार्थ पूर्ति गर्न तथा आवेश, आवेग र अहं तुष्टीको लागि राजनीति गर्छन् । राष्ट्र हैन पार्टी, पार्टीपनि हैन गुटमा केन्द्रित हुन्छन् । पार्टी पार्टी नभएर गुटहरुको महासङ्घ भएको छ । नेपाली कांग्रेस पार्टी खोज्योभने पार्टीको साइनबोर्डसम्म भेटिएला, नत्र कि त सुशील गुट छ नभए देउवा गुट छ, तर कांग्रेस भेटिंदैन ।”

अगस्त्यको जिज्ञासा शान्त भएन । खसखस थाम्न नसकेर हत्त-न-पत्त सोधिहाले, “राजनीतिकै कारणले नेपालको समृद्धी रोकिएको हो त ? कुमारजी ! संशय भएकोले यो प्रष्ट पारिदिनुहोस् ।”

कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! राजनीति हैन नेपालका राजनीतिक नेताहरु बिग्रेको कारणले नै समृद्ध भैसक्नुपर्ने नेपाल बिपन्न रहन बाध्य भएको हो । यिनीहरु सिष्टमको फलो गर्दैनन् । मनोमानी गर्नुपर्ने भएकोले सिष्टम बस्न दिंदैनन् । बसिसकेको सिष्टमलाइ समेत् भाँचभुँच पार्छन् । विश्वबिद्यालयका उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन, क्याम्पस-प्रमुख जस्ता महत्वपूर्ण पदहरुमा पार्टीका झोलेहरु भर्नको लागि पदको भागबण्डा लगाउँछन् । कर्मचारीलाइ पार्टीकरण गर्छन् र हरेक मन्त्रालय, विभाग र संस्थानमा कर्मचारी सङ्गठनको नाममा पार्टीको भातृसङ्गठन खोल्छन्। यी कर्मचारी युनियनका नेताहरु विभाग, मन्त्रालय र संस्थानका प्रमुखहरु माथि सधैं घोडा चढिरहेका हुन्छन् ।”

अगस्त्यले सोधे, “नेपाल बिपन्न रहनुको कारण त यो पो रहेछ, हैन त कुमारजी ?”

कुमारजी आज्ञा गर्नुहुन्छ, “हे अगस्त्य मुनी ! कारणहरु यिनै हुन्। अरु भयङ्कर कारणहरु पनि छन् । लगानीकर्ताहरुलाइ साह्रै दु:ख दिन्छन् । एक त प्रशासनिक प्रकृया नै यति झण्झटीलो छकि फटाफट अगाडी बढ्न चाहने लगानीकर्ता शुरुमै आँत्तिन्छ । प्रशासनिक झण्झट पार गरेर अघि बढिहाल्यो भनेपनि पार्टी सङ्गठनका गुण्डाहरुले निचोरेकोनिचोर् यै गर्छन् ।”

अगस्त्य मुनी घोत्लिए । यसबाट निकास पाउने केही उपाय छकि भनेर जिज्ञासा राखे। नेपाल आमाले चार-पाँच सय गोविन्द केसीहरु जन्माइनभने ट्र्याकमा आउला भनेर कुमारजी मौन बस्दा भए ।

 

तपाइँको प्रतिक्रिया