नयाँ पुस्ता र नयाँ शक्ति
● पदम गौतम
गत साता नेपाल सरकारका सचिव किशोर थापाको सेतोपाटीमा प्रकाशित एउटा लेख पढेर म आफैं धेरै बिषयमा गम्दै थिएँ । यो एक सातामा मुलुकमा साना तर पछिसम्म नजीर बन्ने केही घटनाक्रम विकसित भए । स्वच्छ छवी बनाएका र राम्रा टेक्नोक्र्याट मानिने थापाले निराश पुस्तामा एउटा आशाको संचार गराएका छन् । लाग्दैछ, नेपालमा सकारात्मक केही कुरा पनि छन् कि ? सचिव थापाले आफ्नो काम र योजना अनुसारको दाबी गरेका छन् । नेपाल हो, पूरै त के होला र तर केही हुँदैछ भन्ने चाहीँ विश्वास गरौं । यहाँ मैले चाहीँ नयाँ पुस्ता र सोसल मिडियाले जगाएको, जगाउँदै गरेको चेतना र पछिल्ला केही बिषयलाई नियाल्दा लागेको कुरा लेख्दैछु ।
नेविसंघले आफ्ना नेता शुभराम बस्नेत पक्राउ परेको बिरोधमा शुरु गरेको सडक आन्दोलन एक दिनमै तुहाउन बाध्य भयो । बन्द गर्ने कामको बिरोधमा स्वयम् नेविसंघकै कार्यकर्ता देखा परे । सामाजिक सञ्जाल र तिनको प्रेसर यस काममा निक्कै रह्यो । बस्नेत धरौटीमा छुट्लान र कानुनी प्रक्रियामा जालान् । तर यस कुराको संकेत चाहीँ अन्य ठाउँतिर केन्द्रित छ भन्ने मलाई लाग्छ ।
रमेश खरेललाई बढी बोलेको निहुँमा कारबाहीको तयारी गरियो । उनले मिडियामा बोल्न र समाचार दिन हतार गरेर बिभिन्न बिषय हलुका बनाएको सत्य कसैले लुकाउन सक्दैन । तर, उनको असल नियत र छवीका अगाडि ती कुरा गौण नै मानिन्छन । यसर्थ सरकारले उनलाई सामान्य सचेत मात्र बनाएर कारबाही नगर्ने सोच बनायो । यसमा पनि नयाँ सोसल मिडियामार्फत सरकार र नेताहरूलाई निकै दवाव सिर्जना भयो । अझ प्रहरीलाई दवाव दिएर काम नै गर्न नदिने टिप्पणी गरिएका गृहमन्त्री वामदेव गौतम त प्रहरी हाकिमहरू समक्ष ‘ट्वीटे’ पुस्ताको चाहना अनुसारको प्रतिवद्धता गर्न पुगे ।
दूध र पेट्रोलियम पदार्थको मूल्यबृद्धि भयो । यसले जनतालाई महँगी थपिन्छ, यसको समर्थन गर्न सकिँदैन । तर अहिलेको संसारमा राज्य एक्लो छैन । बिभिन्न कारणले राज्यको मात्र चाहनामा मूल्य निर्धारण हुन सक्दैन । बरु राज्यले बढेको मूल्यबृद्धि अनुसार जनतालाई राहत दिन सक्नुपर्छ । राज्यलाई अहिले नै लोककल्याणकारी बनाउन नसके पनि त्यसको दिशामा जान सक्नुपर्छ । तर, यहीँनेर दुईवटा आम नेपालीले गौरव गर्न लायक समाचार पनि छापिएका छन् । ती दुबै प्रधानमन्त्री सुशील कोइरालासम्बन्धी छन् । एउटा विमस्टेक बैठकमा भाग लिन जाँदा पाएको भत्ता फिर्ता गर्ने उनको निर्णय र अर्को चाहीँ उनको निजी सम्पत्ति । नकारात्मक कुरा मात्र हेर्ने हो भने प्रधानमन्त्री एकजनाले मात्र पैसा नलिँदा वा उनी मितव्ययी बन्दा मुलुकले पाउने लाभ शून्य बराबर हुन्छ । सभासद बन्न करोडौंका खेल हुने र गाविस सचिवको आम्दानी करोडौं हुने हाम्रो मुलुकमा एउटा प्रधानमन्त्रीले फर्काएको केही हजार रुपैयाँले केही अर्थ लाग्दैन । तर अहिलेको समयमा त्यसको अर्थ पक्कै पनि छ । व्यक्तिले गरेर हुन्न भनेर सबै पन्छिने हो भने संसारमा परिवर्तन कहिल्यै हुँदैन । व्यक्ति मिलेर नै समाज र संसार बन्ने हो । असल नियतलाई असल भन्न सक्नुपर्छ र खराबलाई खराब ।
अर्को कोणबाट हेर्ने हो भने कोइरालाले अहिले देखाएको सादगीको प्रभाव अन्य नेतामा कतै न कतै परेको हुन्छ । किन आजसम्म किसुनजीको सादगीको चर्चा हुन्छ ? उनका अनेक बैगुनका बाबजुद किन उनी नेपालका गान्धीसमेत भनिँदैछन् ? आजका सकारात्मक मान्छेका गुण समाजले सम्झिरहन्छ । अर्को कुरा बिभिन्न घटना र ती बारे बुझ्न ठूला मिडिया र आधिकारिक धारण पर्खिरहनुपर्ने जमाना अब सकियो । प्रबिधिले एउटा सुबिधासम्पन्न पत्रकारजत्तिकै सूचनाको पहुँचमा सामान्य शिक्षित युवालाई पुर्याइदिएको छ । बिगतमा हामीलाई राजनीति र पत्रकारितामा सिकाइएको नकारात्मक चिन्तन अब बिस्तारै ‘आउट डेटेड’ हुँदैछ ।
पछिल्ला केही बिषय हेरौं न, सोसल मिडियामा केही उत्तेजना र केही आदर्शसहित आउने प्रतिक्रिया र तिनका अशरहरू । अहिलेको पुस्ताले हरेकका गतिबिधि नियालेर धारणा बनाइरहेको हुन्छ । त्यसले भोलि मुलुकमा पक्कै पनि सकारात्मक सोच र काम गराउन मद्दत पुर्याउँछ । हो यहाँनेर त्यस्ता मिडियामा आउने र तिनले समाजलाई उत्तेजित पारेर हुनसक्ने अशर सबैलाई सकारात्मक भन्न म सक्दिनँ । धेरै बिषय त हलुका र बिषयको गाम्भीर्य नबुझिएर पनि बहशमा आउँछन्, आएका छन् । तर ती बहशको पनि सकारात्मक अर्थ छ । कतै बहश नगर्ने र उर्दीपछि भोट हाल्ने, आन्दोलन गर्न जाने पुस्ताबाट कम्तीमा बहश गर्ने, अरूका कुरा सुन्ने र कालोलाई कालो नै भन्न सक्ने पुस्ता तयार हुँदैछ ।
हालै एमाओवादी नेता डा. बाबुराम भट्टराईले त्रिविविमा पढाउने बिषयमा चाहीँ केही बढी नकारात्मक विचार मात्र आए, सिंगो शिक्षा प्रणाली र उनलाई बढी खेदियो । मानौं, उनले त्रिविविका सबै बिषय पढाएर विद्यार्थीलाई गोलाबारुद र भारतभक्तिमा मात्र पारंगत बनाउँछन् । तर राजनीति पेसा बनाउनु हुँदैन भन्ने मान्यतालाई मात्र स्वीकार गर्ने हरेकले बाबुरामले समाजमा ठूलो काम गर्न नसकेको अवस्थामा कलेज पढाउँदा राम्रै हुन्छ भन्ने बुझेकै छन् । बरु यहाँनेर उनले मुलुकमा नयाँ शक्तिको आवश्यकता रहेको बताएर अध्यक्ष प्रचण्डसमक्ष घुर्की लगाउँदा नै पनि नेपालमा आम आदमी शैलीको पार्टीको आवश्यकताबारे बहश शुरु भयो । धेरैले भारत मात्र होइन, नव पुँजीवाददेखि नव माक्र्सवादसम्मका पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे बोल्न थालेका छन् । लाग्छ, हामीले चाहे पनि र नचाहे पनि अब मुलुक ढीलो चाँडो त्यस दिशामा जानेछ ।
अहिले जसले जति गाली गरे पनि तत्कालीन माओवादी आन्दोलनले मुलुकमा एकखाले आशाको सञ्चार गराएको थियो । यो कुरा स्वयम् प्रचण्ड, वैद्य र बाबुरामलाई थाहा नहुन सक्छ । तर, माओवादी पीडितहरूले पनि उनीहरूबाट ठूलो परिवर्तनको आशा गरेका थिए । अहिले माओवादीको पतन भएपछि अवस्था ठीक उल्टो छ । जनतालाई आशावादी बनाउनका लागि केही न केही नयाँ चाहिएको छ । यो नयाँ भावनासँग परिचित सोच, चिन्तन र व्यबहार अब अगाडि आउनु जरुरी छ ।
हामीले बुझ्नुपर्ने के हो भने नेतृत्व चन्द्रमाबाट आउँदैन । अहिलेकै बाबुराम भट्टराई, गगन थापा, लेखनाथ न्यौपाने, राम कार्की, घनश्याम भुसाल आदिले पहल गरेमा त्यसले नयाँ शक्तिको स्थान लिन कति पनि बेर लाग्दैन । बरु २००७ सालदेखि लगातार धोखा खाएका नेपाली जनताले त्यो शक्तिबाट पनि धोखा खान नपरोस् भन्ने डरले धेरै सतर्क चाहीँ हुन्छन् र हुनुपर्छ ।




