सुशील’दाको अनुहार

आनन्दराम पौडेल  

anandaram-paudel-33434बालुवाटारको हर्पे ऐनाअगाडी उभिएर हेर्दा सुशील’दाले आफ्नो अनुहार नैनसुतको कपडा जत्तिकै सफा पाए । पुलकित भएर आरामकुर्सीमा बसे। र सोच्न थाले, “विगतका दिनमा मेरो जीवनमा कम हिलो छ्यापिएन । पार्टीभित्रै मलाइ सकुनी भनेनन् कि ? मलाइ अनुदार भने । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाइ किनारा लगाउने भित्री षडयन्त्रकार नै ठोकुवा गरेका थिए। पार्टीभित्र मात्रै हैन बाहिरसम्म मलाइ सिर्जनात्मक र रचनात्मक सोच नभएको व्यक्ति भन्नेहरुको संख्या ठूलो छ । त्यत्तिकै संख्या मलाइ ‘गट्स’ र ‘कमाण्ड’ नभएको व्यक्ति भन्नेहरुको छ । ‘गट्स’ र ‘कमाण्ड’ नहुनु स्वाभाविक पनि हो । २०१७ सालअघि तुलसी गिरीको पिए भएर रहें। त्यहींदेखि आदेशानुसार चल्ने बानि प-यो । 

गिरिजाप्रसाद कोइराला जीवित रहुञ्जेल उनकै एकनिष्ठ भक्त भएर एकाग्र चित्तले काम गरें । उनको आसय र मनसाय वुझी तालअनुसार कदम चाल्न मजति शिपालु अर्को थिएन । सिङ्गै जीवन यो ढाँचामा ढालिएको एउटा मनुष्यले ७४ बर्षको उमेरमा आएर कसरी नेतृत्वकौशलताको विकास गर्न सक्छ ? मेरो यो मजबुरीलाइ पनि वुझिदिनुपर्ने हो नि ! हेटौंडातिर घर भएको एउटा स्तम्भ लेखकले, ‘नेतृत्व भनेको भीजन, उर्जा, उत्प्रेरणा, संयोजन, ब्यबस्थापन र परिचालन हो’ भनेर लेखिरहेथ्यो । उस्ले त अझ, ‘नेतृत्व त्यो हो जस्ले एउटा उद्देश्यपूर्ण यात्रामा अघि बढ्न घच्घच्याओस्, हुटहुटी लगाओस् र अभिप्रेरीत गरोस्’ भनेर लेख्यो । यति ठूला र भयङ्कर कुरा नउप्काएको भए हुन्थ्यो । यो मेरो लागि भारी वोझ हुन्छ भनेर कमसेकम यी पठीत व्यक्तिहरुले वुझिदिनुपर्ने हो । मेरो गट्स, कमाण्ड्स र नेतृत्व क्षमता त प्रधानमन्त्रीको निर्वाचन लगत्तै कोलिशन पार्टीलाइ समन्वय गर्न नसकेबाटै प्रष्ट भएको छ । पार्टीका महासचिव कृष्णप्रसाद सिटौला, डा.मिनेन्द्र रिजाल तथा अमरेशकुमार सिंहहरुले गृह मन्त्रालय एमालेलाइ दिइहालेछन् । ‘दिनैपर्ने भयोभने दिउँला’ सम्म भनेको थिएँ, दिइहालेछन् । यो प्रणालीमा प्रधानमन्त्री शक्तिसाली हुन्छ । सिङ्गै क्याबिनेट प्रधानमन्त्रीको मुठ्ठीमा हुन्छ ।

यस्तो स्थितिमा एउटा मन्त्रालयको बिषयलाइ लिएर हाम्रा साथिहरुले चट्टानी अडान नराखिदिए हुन्थ्यो । तर, रामचन्द्र पौडेलले बबाल गरिहाले । टिक्नबस्नै दिएनन् । उनले प्रकाशमान सिंहलाइ उपप्रधानमन्त्री बनाएर गृह मन्त्रालय दिने तैयारी गरेका रहेछन् । यी पौडेलबाजे झन् सानो चित्तका छन् । अस्ति संसदीय दलको निर्वाचनमा यिनलाइ कार्यवाहक सभापति बनाइदिउँला भनेर फकाएँ । नेतृत्वकौशलता भएको भए ६० र ४० को भाग लगाएर पार्टी चलाउनुपर्थ्यो र ?  गगन थापाले त केन्द्रीय कमिटीको बैठकमै, ‘हरेक बिषयलाइ ६० प्रतिशतवाला गुट र ४० प्रतिशतवाला गुटमा पठाउने र अन्तिममा त्यस्लाइ यो केन्द्रीय कमिटीले १०० प्रतिशत बनाइदिनुपर्ने होभने यो मोर्चा ब्यबस्थापन कमिटी मात्र भयो’ भनिदियो । ६० र ४० को सन्देश कस्तो गयोभने आम मानिसले समेत्, ‘कि शेरबहादुर गुट छ, नभए सुशील गुट छ, नेपाली कांग्रेस छैन’ भन्न थालिसके । कोलिशन बनाउने र चलाउने मामलामा बरु माओवादीहरु हामीभन्दा माहीर देखिए ।

२०६४ सालमा माओवादी र एमालेको सरकार निर्माण हुने बेलामा यस्तै गडबडी उत्पन्न भएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका वामदेव गौतमले यसैगरी सपथग्रहण बहिस्कार गरेका थिए । तर, उनीहरुले स्थिति बिग्रन दिएनन् । प्रचण्डले तुरुन्तै अघि सरेर स्थिति सम्हाले । बाबुराम भट्टराईले विजय गच्छेदारलाइ गृहमन्त्री बनाउँदापनि खटपट भएकै हो । तर, उनीहरुले तत्कालै मिलाए। हामीकहाँ त रामचन्द्र पौडेलको कुण्ठा सधैं सिंघौरी खेलिरहेको हुन्छ । शेरबहादुर देउवा समानान्तर सत्ताको पिठाधीश भैरहेका हुन्छन् । अमरेशकुमार सिंहले जताततै थुतुनो घुसारिरहेका हुन्छन् ।”

सुशील’दाले एकाग्रचिन्तनलाइ एकछिन स्थगितगरे । आरामकुर्सीमा बसाईको पोजिशन परिवर्तन गरे । बालुवाटारको हर्पे ऐनाले देखाएको सफा अनुहार सम्झेर हाँसे । अस्ति बुधबार राती मेरो पिए लक्ष्मण ढकालले कुख्यात गुण्डा बलराम सापकोटा भन्ने ‘बले’ लाइ छोडिदिनु भनि प्रहरीलाइ फोन गरेको दाग लागेछ कि भनेर पुन एकपटक हर्पे ऐनामा हेरे । त्यस्तो देखिनेगरि दाग लागेको रहेनछ । ढुक्क भएर पुन सोच्न थाले,  “त्यसो त २०५२ सालमा जम्बो मन्त्रीमण्डल, बिशिष्ट अधिकृत र सांसदहरुलाइ प्राडोपजेरो तथा सांसदहरुलाइ पेन्शन दिने काममा पनि मेरो पार्श्वभूमिका निर्णायक नै थियो । पोहोर सर्वोच्चले खुमबहादुरको भ्रष्टाचार मुद्दामा फैसला गरेको थियो । खुमबहादुरको भ्रष्टाचारलाइ संरक्षण गर्ने र फैसलाको विरोध गर्ने अभियान चलाएकै हो । धन्न त्यो दागपनि त्यति देखिएनछ । जवानीमा फिल्मी हिरो बन्न हिंडेको ब्यक्ति आज यहाँसम्म आइपुगें । जीवनमा पूर्ण सन्तुष्टी मिल्यो ।”

आरामकुर्सीबाट एकपल्ट पुन उठेर हर्पे ऐनाअगाडी उभिए । पुराना दागहरु छोपिएका रहेछन् । गुण्डाहरु छुटाउन पिएले दबाब दिएको सानो दाग मात्र रहेछ । योपनि बिस्तारै छोपिन्छ । सन्तोषको सास फेरे, र निस्के ।

 

तपाइँको प्रतिक्रिया