ओलीको विजय र एमाले युवा
● पदम गौतम
एमाओवादीको पार्टी विभाजन र नेताहरूमा देखिएको नैतिकताको पतनसँगै फेरि एकपटक नेकपा एमाले मुलुकमा शक्तिशाली दोस्रो पार्टी बनेको छ । राष्ट्रिय राजनीतिमा निकै अर्थ र ‘ग्ल्यामर’ बोक्ने यो अवस्थासँगै ऊ बाम आन्दोलनको मुख्य हिस्सा पनि बन्न पुगेको छ । यससँगै हालै एमाले नेता केपी ओलीले संसदीय दलको नेता पद हत्याएपछि उनका बारे अनेक टिप्पणी शुरु भएका छन् । भलै, यी टिप्पणी पनि उनलाई महान देख्ने र उनीबाट केही लिन खोज्नेहरूले अत्यन्तै सकारात्मक र उनलाई कहिल्यै मन नपराउनेहरूले अत्यन्तै नकारात्मक ढंगले गर्ने गरेका छन् । नेपालको बामपन्थी आन्दोलनमा यो प्रवृत्ति एउटा निकै ठूलो ‘सम्पत्ती’ हो ।
बामपन्थी बुद्धिजीवीहरू भन्छन्– एमालेको भोलिका दिन कस्तो हुन्छ भन्ने कुरा उसको दिशा र उसबाट लिइने नीति तथा पार्टीको आन्तरिक रणनीतिका आधारमा निर्धारण हुन्छ । तर यो पंक्तिकारलाई त्यस्तो लाग्दैन । नेपाली जनतालाई त्यस्तो गम्भीर विचार र सिद्धान्तसँग मतलब छैन, जुन दस्तावेजका रूपमा बहशमा जान्छन् । उनीहरूलाई मुलुक अहिले सामन्तवादमा होस् कि पुँजीवादमा होस्, त्यसको खासै केही अर्थ लाग्दैन । वास्तवमा जति सुकै गफ गरेपनि यो र यस्ता कुराले हरेक बामपन्थी पार्टीका ९० प्रतिशतभन्दा बढी कार्यकर्तालाई केही फरक पार्दैन । कार्यकर्ताहरू आफ्नो नजिकका नेताहरूले परेको काम गरिदिउन्, सकभर नियुक्ति वा ठेक्कापट्टा वा त्यस्तै आम्दानी होस् भन्ने सोच्छन् । आफ्नो नेता वा पार्टीले त्यस्तो केही गर्न नसके पनि आफूलाई परेको समयमा बचाउने, ढाढस दिने शक्ति अझ ठूलो भए सुरक्षित भइन्छ भन्ने उनीहरू चाहन्छन् । कसैले बहुदलीय जनवाद बोकोस् कि अर्कै अमुक जार्गनसहितको कार्यदिशा, यसमा ती कार्यकर्ताको चासो खासै छैन ।
बर्षौंको प्रशिक्षणका कारण पार्टी नीतिबारे बोल्न चाहीँ जानेका हुन्छन्, विपक्षीलाई कसरी कुन स्तरमा गाली गर्ने भन्ने पनि नजाने त उनीहरू पनि आफ्नो ठाउँको राजनीतिमा टिक्न सक्दैनन् । अझ जनताले यो विचार, यो सिद्धान्त मन नपराएर फलानालाई भोट दिएनन् भन्ने वाहियात कुराले छापा भरिएका हुन्छन् । तर वास्तविकता चाहीँ कम्तीमा चुनाव र अरू समयमा भाषण गरेका र घोषणापत्रमा लेखेका कुरा पूरा गरे त्यस पार्टीलाई जनताले महान भन्छन् । रामशरण महतजस्ता मान्छेले बिरोध गरे पनि ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्ता कार्यक्रमकै कारण जनताका बीच एमालेले अझै काम गर्ने आधार पाइरहेको छ । यो कुरा बहुदलीय जनवादमा होस् कि नहोस, यस्ता कार्यक्रम आउन् भन्ने मात्र जनताले चाहेका कुरा हुन् ।
बिगत छ बर्ष यता एक पटक माओवादी ठूलो पार्टी बन्यो । त्यसको अर्थ जनताले ‘महान जनयुद्ध स्वीकारे’ भन्ने भ्रम व्यापक बनाइयो । यो अबधिमा माओवादीहरू व्यावहारिक रूपमा संसारका सबैभन्दा लुच्चा र अवसरवादी भए । जातीय र क्षेत्रीय राजनीतिमा पूरै जनबिरोधी सोच स्थापित गरे । भारतको ऐतिहासिक दलाली र खुलेर चाकरी गरे । उनीहरू देशीविदेशी सबैका अगाडि निर्लज्ज रूपमा प्रस्तुत हुन थालेपछि जनता दिक्क भए । बिगतमा जनताले बिर्सिएको रिस फेरि पलायो, उनीहरूले कांग्रेस र एमालेलाई भोट दिए । यता एमालेहरूले कम्तीमा नांगो नाच देखाउँदैनन् र अलिक शभ्य छन् भन्ने जनताको सोचाइ र त्यसकै आधारमा गरिएको मतदानलाई जनताले नबुझ्ने र वास्ता पनि नगर्ने ‘बहुदलीय जनवाद’को सफलता भन्ने टिप्पणी गरे । जनताले त जति सहेर भए पनि हतियार उठाउनेलाई समेत बिगतमा भोट दिएकै थिए । त्यो भोटमा अलिअलि धाँधलीको मात्रा रहेको भए पनि अरू त जनताले दिएकै भोट थियो । तर, सोचाइको ठीक उल्टो भएका कारण अर्को पटक भोट दिएनन् र जनता पुरानै शक्तिमा थोरै भए पनि विश्वास गर्न बाध्य भए ।
अहिले एमालेमा पार्टी महाधिवेशनपछिको नयाँ नेतृत्वको प्रश्न पनि उठेको छ । पार्टी उपाध्यक्ष बामदेव गौतमले केपी ओलीलाई संसदीय दलको नेता बनाउन सहयोग गरेपछि पार्टीको आन्तरिक समीकरण फेरिएको छ । ओलीले पनि अनौठो लाग्ने गरी बामपन्थी एकताको कुरा गर्दै अर्को सन्देश फ्याँकेका छन्, जुन बाम मतदाता र कार्यकर्तालाई निकै मन पर्ने बिषय हो । यो सामान्यतयाः सफल हुने कुरा होइन । तर ओलीजस्ता छुच्चा र ‘आफूले मात्र राजनीति गरेको, अरूले चाहीँ गुच्चा खेलेर बसेको’ सम्झने मान्छेले यस्तो विचार ल्याउनु पक्कै पनि सुन्दर बिषय हो । यो र यस्तै ‘मुस्ताङ गाडी’ शैलीका बिषय अब ओलीले जनता र कार्यकर्तामा फ्याँक्ने संकेत पनि सँगै आएको छ, उनको प्रस्तुति र व्यबहारले । कम्तीमा निराशाको कालो बादलबाट घेरिएका जनता अर्को आशाको झिल्को बोकेर भए पनि बाँचुन् र आफूप्रति तानिउन् भन्ने ओली कमरेडको चाहना भने थोरै भए पनि पूरा हुने देखिन्छ ।
संसदीय दलमा जित्ने बित्तिकै ओलीले आफू एमालेको सत्तामा आइसकेको व्यबहार गरेर अर्को सन्देश पनि दिएका छन् । उनी अब थोरै भए पनि पपुलिष्ट शैली अपनाउँदै पार्टी कब्जा गर्ने कुरामा दृढ छन् । तर पछिल्लो समयमा पार्टीमा यस्तो घटनाक्रम विकास भए पनि एमालेका कुनै पनि नेतासँग गम्भीर र ठोस परिवर्तनका मुद्दा छैनन् । यसर्थ एमाले फेरि पनि केवल व्यक्ति र नेतृत्व परिवर्तनका बिषयमा मात्रै अल्मलिने प्रष्ट छ । यही अवस्थामा सांगठनिक रूपमा कमजोर भए पनि केही युवा नेता नेतृत्व नयाँ पुस्तामा जानुपर्ने अभियानमा छन् । यो अभियानलाई पनि ओलीले ‘कम्तीमा अहिले व्यक्ति फेरौं, पछि युवामा लैजाने सोचौंला’ भन्दै आफ्नो पक्षमा पार्ने संभावना नै बढी छ । किनभने वैचारिकताको कुरा गर्ने घनश्याम भुसाल र नयाँ नेतृत्वको कुरा गर्ने योगेश भट्टराईहरूले जे जे भने पनि वामदेव, माधव, जेएन र ओली पार्टी नेतृत्वबाट नहटेसम्म त्यहाँ गम्भीर दार्शनिक, सैद्धान्तिक र वैचारिक बहशको अर्थ छैन । धेरै कार्यकर्ता यिनकै पकडमा भएकोले सही बिषय कमजोर तरिकाले उठेका कारण भोलि यी युवाहरू पनि एकातिर लम्किन बाध्य हुन्छन् । बरु, यसपटक चार शीर्ष नेतामध्ये केही हदसम्म ओझेलमा परेका गौतम र ओलीमा नेतृत्व जाने भएकोमा नै परिवर्तन भएको मान्दा ठीक हुने अवस्था छ । यहाँनेर कामना चाहीँ के मात्र गर्दा हुन्छ भने– ब्रम्हाण्डको बहुदलीय जनवादको सिद्धान्त र महाकाली सन्धीका फाइदाजस्ता गम्भीर जोक अब नदोहोरिउन् ।
त्यस्ता बौलठ्ठीपूर्ण कुरा मात्र पनि नगरेमा केही परिवर्तन भइहाल्छ कि भन्ने सोच कार्यकर्तामा यसै समूहले दिनेछ । माधब र खनाल समूह भन्दा थोरै भए पनि आशा यिनीहरूबाट गर्नु स्वाभाविक हुन्छ, किनभने यी दुईले अहिलेसम्म आफ्नो काम टालटुले तरिकाले गरेका छैनन् । र असफलता देख्नकै लागि पनि परीक्षण जरुरी हुन्छ ।
(गौतम कवि तथा स्वतन्त्र लेखक हुन्)




