समलिंगी कम्युनिस्ट र शाब्दिक संघर्ष

सुदर्शन मंगोल

writer-77878एमाओवादी कसरी विघटन हुँदै छ ? उसको भविष्य अब के होला ? किन एमाओवादी पतनतिर गयो ? यो पार्टी सप्रिएर आउला या नआउला ? यीलगायत कैयौँ प्रश्न र उत्तर नेताहरूले आफैँ दिएका छन् । प्रसंग जारी केन्द्रीय समिति बैठकको हो । बैठकमा केन्द्रीय सदस्यहरूले रमाइला किस्सा र कविताबाट आफ्ना भनाई राख्दै भनेका छन्, ‘एमाओवादी विघटनतिर गइरहेको छ, यसलाई कसैले रोक्न सक्दैन ।’ त्यहाँ  बोल्ने अन्य नेताले भन्ने गरेका छन्, ‘विचारमा ठूलो विचलन आएकाले अब एमाओवादी रूपान्तरण हुन सक्ने अवस्था छैन । तर, हाललाई पार्टी छाड्न सक्ने स्थिति पनि छैन ।’ 

आफ्नै नेताले कसरी विघटित हुँदै छ भनिरहँदा सारमा सो पार्टी कसरी विघटन हुँदै छ ? भन्ने कुराको अन्तर्राष्ट्रिय घटनाक्रम र सन्दर्भ प्रस्तुत गर्दै छु । तत्कालीन सोभियत संघ र पूर्वीयुरोप कसरी विघटनतिर गए ? आज एमाओवादी विघटनको चुरो कुरा केमा निहित छ ? अब त्यो पार्टीमा आएको विघटनलाई कसैले पनि रोक्न नसकिने दुःखद अवस्था कहाँबाट आयो ?

माओले भनेका थिए, ‘उनीहरूले जे बीउ रोपेका थिए, त्यसको त्यही फल पाए ।’ सोभियत संघमा क्रान्तिकारी नेता स्टालिनको सन् १९५३ मा निधनपछि संशोधनवादी गद्दार खु्रस्चेभ सत्तामा आउँदा प्रतिक्रान्ति हुन पुग्यो । तर, खु्रश्चेभदेखि गोर्वाचोवसम्मको रुसकालीन शासनलाई पुँजीवादीहरूले कम्युनिस्ट मुलुकको सत्ता भनेर बुझ्ने र व्याख्या गर्ने गरिरहे । सारमा त्यो बेला वास्तविक कम्युनिस्ट सत्ता थिएन र रहेन ।

संशोधनवादको चरित्र र त्यसको स्वरुपबारे माओले भनेका थिए, ‘संशोधनवाद र पुँजीवादमा कुनै भिन्नता हुँदैन । संशोधनवाद अन्ततः पुँजीवाद नै हो ।’ रुसमा स्टालिनको निधनपछि त्यही भएको थियो । खु्रश्चेभदेखि बे्रझनेभ हुँदै गोर्वाचोभसम्म आउँदा सोभियत रुस रुपमा कम्युनिस्ट मुलुक तर सारमा पुँजीवादी मुलुकमा पतन भइसकेको थियो । पुँजीवादीहरूका एजेन्ट गोर्वाचोभको ग्लास्तनोस्त (खुल्लापन) र पेरेस्त्रोइका (आधुनिकीकरण) को सिद्धान्तले नाममा कम्युनिस्ट सोभियत रुस पुँजीवादको हावाले सम्पूर्ण रुपमा प्रदुषित भइसकेको थियो । गोर्वाचोभपछि यल्तसिनको उदयसँगै विशाल समाजवादी सोभियत रुस टुक्रा टुक्रा भएर विघटन हुन पुग्यो । यल्तसिनको उदयले विश्वका सारा पुँजीवादी शासकहरू खुशीले मैमत्त हुन पुगे । धेरै पुँजीवादीले सन् १९८९/९० तिर आएर मात्र कम्युनिस्टको सोभियत सत्ता ढल्न पुगेको विश्लेषण गरेका थिए, तर सारमा त्यो विश्लेषण सत्य थिएन ।

खु्रस्चेभहरू सत्तामा आउनु भनेको पुँजीवादीहरू सत्तामा आउनु हो भनेर संश्लेषण गरिसकेका थिए । सन् १९५६ को बीसौं महाधिवेशनमा खु्रश्चेभको गोप्य दस्तावेजले क्रान्तिकारी नेता स्टालिनमाथि खुलेआम आक्रमण ग¥यो । त्यही महाधिवेशनमा उसले ‘शान्तिपूर्ण संक्रमण’, ‘सम्पूर्ण जनताको पार्टी’, ‘सम्पूर्ण जनताको अधिनायकत्व’जस्ता विचार लिएपछि खु्रश्चेभको असली रुप उदांगो हुन पुग्यो । ऊ रुपमा कम्युनिस्ट र सारमा पुँजीवादी हो भन्ने कुरा पुष्टि भयो । तर, आफूलाई कहिल्यै कम्युनिस्ट भन्न छाडेन । सोभियत रुसमा स्टालिनको निधन र खु्रश्चेभको आगमनसँगै पूर्वीयुरोपमा रहेका कम्युनिस्ट सत्ताहरू स्वतस्पूmर्त रूपमा ढल्न पुगे अर्थात् विघटन हुन पुगे । दोस्रो विश्वयुद्ध (सन् १९३९/४५) मा समाजवादी रुससँग जर्मनीले पराजय व्यहोरेसँगै उसको उपनिवेशमा रहेका पूर्वीयुरोपेली मुलुकहरू कम्युनिस्ट सत्ताको रुपमा स्वतः गाभिन आइपुगे । त्यहाँ वर्गसंघर्ष या सशस्त्र क्रान्तिबाट कम्युनिस्ट सत्ता आएको थिएन । जतिबेलासम्म सोभियत रुस थियो, त्यतिबेलासम्म पूर्वीयुरोपमा पनि कम्युनिस्ट सत्ता रह्यो तर समाजवादी सत्ताको विघटनसँगै पूर्वीयुरोपका सबै कम्युनिस्ट सत्ता ढल्न पुगे । यो नै तथ्यमा आधारित सत्य कुरा हो ।

आज नेपालमा प्रचण्ड–बाबुरामको पार्टीमा जुन विघटनको हल्ला चलिरहेको छ, त्यो स्वभाविक छ । शान्तिप्रक्रियामा आइसकेपछि प्रचण्ड–बाबुरामले जुन संशोधनवादी विचार र सिद्धान्त अपनाए, त्यसको प्रतिफल अहिले पाइरहेका छन् । माओले भनेजस्तै जे हुनु थियो, त्यही भएको हो अहिले । प्रचण्ड र बाबुरामहरूले जे संशोधनवादी बीउ रोपेका थिए, अहिले त्यसैको फल खाइरहेका छन् । उनीहरूले संशोधनवादी लाइन र बाटो अवलम्बन गरी सकेपछि आज एमाओवादीमा देखापरेको विघटनको बाटो त्यसैको परिणाम हो । अब एमाओवादीको विघटनलाई कसैले रोक्न सक्ने छैन । एमाओवादीभित्र चलिरहेको विवाद कुनै सिद्धान्त, विचार र क्रान्तिका निम्ति होइन, पद, प्रतिष्ठा र पैसाको निम्ति हो भन्ने कुरा उनीहरूका सयौं र हजार तथ्यहरूले पुष्टि गरिसकेका छन् । प्रचण्ड, बाबुराम र नारायणकाजीहरूका आआफ्नै गुट स्वार्थका कारण एमाओवादी विघटनको दिशामा पुगेको हो ।

जनयुद्धपछि शान्तिप्रक्रियामा आउँदा प्रचण्ड–बाबुराममा देखा परेको संशोधनवादी विचार र लाइन जब जब्बर रुपले देखा प¥यो, त्यो उनीहरूको संशोधनवादमा छलाङ थियो । उनीहरूमा देखा परेको विचलन सच्चिने कुनै संभावना नभइसकेपछि तत्कालीन अविभाजित एमाओवादीभित्र कमरेड किरणको नेतृत्वमा नयाँ विचार समूह निर्माण भयो र त्यो ०६९ मा आउँदा क्रान्तिकारी पार्टीको रुपमा पुनगर्ठन हुन पुग्यो । नेपालका पुराना क्रान्तिकारी कम्युनिस्ट नेताहरूले संशोधनवादको चरित्रबारे यसो भन्ने गरेका छन, ‘संशोधनवाद भनेको कुहेको फर्सी हो ।’ त्यो फर्सी नकुहिँदै ठीकठाक पार्न सके राम्रो तर संभव नभइसकेपछि रछ्यानमा फ्याँक्नुबाहेक क्रान्तिकारीहरूको अगाडि अर्को विकल्प रहँदैन । नेपालमा त्यही भएको हो । एमालेदेखि मोहनविक्रम सिंहको मसाल हुँदै एमाओवादीको प्रचण्ड–बाबुराम मण्डली भनेका कुहेका फर्सी हुन् । ती फर्सीलाई राम्रो बनाउन नसकिँदो रहेछ ।

सत्य के हो भने प्रचण्ड–बाबुराम मण्डलीले जबसम्म संशोधनवादी विचार र लाइन छोड्न सक्दैनन् तबसम्म विघटन प्रक्रिया जारी रहनेछ । फेरि संशोधनवाद कहिल्यै कम्युनिस्ट बन्न सक्दैन । अर्को सत्य हो  । समाजमा अत्यधिक कम्युनिस्ट धरातल रहेसम्म पुँजीवादीहरू संशोधनवादको रुप धारण गरेर देखा परिरहनेछन् । विश्व कम्युनिस्ट आन्दोलन हुँदै नेपालमा एमालेदेखि, माले, मसाल हुँदै एमाओवादीसम्म आउँदा उनीहरूभित्र पुँजीवादी विचार बोकेका पार्टीका मान्छे हुन् भने बाहिर रुपमा कम्युनिस्ट खोल आढेर देखा परेका समलिंगी कम्युनिस्ट हुन् । न पुँजीवादी न त कम्युनिस्ट । कम्युनिस्ट आन्दोलनमा यस्ता रुपधारण गरेका कम्युनिस्टलाई समलिंगी कम्युनिस्ट भनेर हामीले चिन्नुपर्छ । आज माओवादी आन्दोलनमा प्रचण्ड–बाबुरामहरू न ठ्याक्कै एमाले हुन्, न त ठ्याक्कै माओवादी हुन् । यिनीहरू समलिङ्गी माओवादी हुन् । यस्ता माओवादीबाट आम जनता र कार्यकर्तालाई टाढै राख्नुपर्छ । तर सत्य के हो भने यिनीहरूको यस्तै चरित्र र हर्कतले उनीहरू आफँै विघटनतिर गइरहेका हुन्छन् । एमाओवादी विघटनको दिशातिर जानु त्यसैको परिणाम हो ।

जहाँसम्म संविधानसभा निर्वाचनपछि समानुपातिक सभासदको नाम सिफारिसमा परेको विवाददेखि संसदीय दलको नेतृत्व को बन्नेलगायतका विवादको प्रसँग हो, ती सहायक हुन् । मुख्यतः उनीहरूमा देखा परेको समस्या वैचारिक, राजनीतिक र कार्यक्रमिक हो । मूलतः उनीहरूले संशोधनवादी र समलिंगी विचार जबसम्म त्याग्दैनन् तबसम्म विघटन र विवाद निरन्तर रहन्छ । संविधानसभामा पठाउनुपर्ने समानुपातिक सभासद् चयन गर्नेदेखि संसदीय दलको नेता को बन्ने भन्नेबारे एमाओवादीको विवाद अहिलेसम्म हल हुन सकेको छैन । यीलगायत तमाम विवादले पेरिसडाँडा रमाइलो मेला र जात्राको रुपमा परिणत हुन पुगेको छ ।  अनि प्रचण्डको लाजिम्पाट दरबार, बाबुरामको सानेपा दरबार र नारायणकाजीको झम्सीखेल निवासबीच पनि त्यही इस्युबाट पैदा भएको विवादले ठूलो महाभारत पैदा गरिरहेको छ । त्यो महाभारत कहाँ पुगेर अन्त्य हुने हो ? अनिश्चित छ । तर एउटा कुरा के हेक्का राखाँै भने  एमाओवादीभित्रको विभाजन र विघटनलाई त्यस पार्टीका नेताहरूले हाललाई समाधान गरेको, दरिलो एकता कायम गरेको नाटक पनि गर्नेछन् । तर त्यो क्षणिकका लागि गरिएको नौटंकी मात्र हुनेछ । किनभने एमाओवादीको अप्राकृतिक पार्टी संरचना, यसका अवैज्ञानिक र संशोधनवादी विचार अनि नेताहरूको फरक फरक अभिव्यक्तिले के देखाउँछ भने त्यो पार्टीको विघटनलाई अब ‘इन्द्रेका बाउ चन्द्रे आए पनि’ कसैले रोक्न सक्दैन ।

(आज माघ २०७९ साल माघ १५ गते बुधवार प्रकाशित जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया