युरोपको सत्ता कब्जा गर्न एमाओवादीको उर्दी
● ददि सापकोटा
आफ्नै देशको संविधानसभा निर्वाचनमा नराम्रोसित हार खाएका एमाओवादीले युरोपको सत्ता कब्जा गर्न सुझाव दिएका छन् । नेकपा माओवादीको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको वार्षिक साधारणसभा क्रिसमसका दिन राखिएको थियो । बेल्जियमको आन्तर्पेन सहरमा भएको भेलामा नेपालबाट अन्तर्राष्ट्रिय ब्युरो प्रमुख दीनानाथ शर्मा निम्त्याइएका थिए । भेलालाई सम्बोधन गर्दै अब युरोपकै शासन सत्ता कब्जा गर्नुपर्ने सुझाव दिए ।
त्यस्तो सुझाव दिँदा केही देशका उदाहरण पनि कोट्याउन भ्याए । पोर्चुगलका डाँकुले भारतको गोवामा गएर शासन लिन सकेको, नयाँ क्षेत्रको खोजी गर्दै जाँदा तिनले ब्राजिल, श्रीलंका, गोवामा शासन सत्ता कब्जा गरेकाले बिदेसिएका नेपाली पनि अलपत्र पर्ने होइन कि शासनसत्ता कब्जा गर्नेतिर लाग्नुपर्ने सुझाव दिँदै उनले भने, ‘जग्गा किन्नुस् । घर बनाउनुस् । त्यो जग्गा आफ्नो नाममा भयो । त्यही जग्गामा बसेर तपार्इंहरूले यहाँको शासन सत्ता कब्जा गर्नुपर्छ । अलपत्र पर्ने होइन ।’
हलमा २० जना कार्यकर्ता पनि उपस्थित नभइदिएपछि तिनलाई ऊर्जा दिने कोसिस गरेका शर्माले नेपालमा अहिले जे–जति परिवर्तन आएको छ । त्यो सबै एमाओवादीको बलबुताले भएको दाबी गरे । ‘लौ हेर्नुस्, अहिले जति हक अधिकार महिलाले पाएका छन्, त्यो सबै हामीले गर्दा हो । समानुपातिकमा ५० प्रतिशत महिला जाने भए । त्यो माओवादीकै कारणले हो । राजतन्त्र माओवादीले गर्दा नै फालिएको हो ।’
अब एक वर्षमा संविधान बन्ने । त्यो संविधानले जनताको परिवर्तनको मागलाई सम्बोधन गर्ने । त्यसपछि देश आर्थिक विकासमा अगाडि बढ्ने आश्वासन दिनपनि भ्याए उनले । तर, देशको क्रान्ति भने अब आफूजस्ता बूढाहरूले गर्न नसक्ने बताए । आफूहरूले वर्गसंघर्ष नछाडेको भनेर चाहिँ ढाँटे । ‘हामीले वर्गसंघर्ष छाडेका छैनौँ । संघर्षकै क्रममा छौँ । तर, अब हामीबाट क्रान्ति हुन्न । युवाहरूले गर्नुपर्छ । हामीले त गर्नु गर्यौं नि । बुलेट राजनीति गयो, अबचाहिँ ब्यालेटको राजनीतिमा छौँ ।’’
अस्तु पनि पुर्याउन नसक्ने दूतावास
विदेशमा नेपाली दूतावासको काम के हो ? नेपालीलाई मर्दापर्दा साथ दिने । दुःख–सुख हेरिदिने । अप्ठ्यारोमा पर्दा हेरविचार गर्ने । दुई देशको सम्बन्ध बढाउने । तर, बेल्जियमस्थित नेपाली दूतावासको काम हेर्ने हो भने बेकामजस्तो लाग्छ । बेल्जियममा गत डिसेम्बर २ तारिखमा भोला सुवेदीको मृत्यु भयो अस्पतालमा । ९ तारिखमा लास जलाए नेपालीले । मृतकको अस्तु नेपाल पठाउन नेपाली जनप्रगतिशील मोर्चा, एनआरएन बेल्जियम, जनप्रगतिशील मञ्च, तमु समाजलगायत करिब दशवटा संघसंस्थाको नेतृत्वमा नेपाली दूतावास पुगे । दूतावासले नेपाल पठाइदिने भन्दै लियो । तर, पछि त्यही अस्तु पनि पठाउन नसक्ने भन्दै फिर्ता दिएपछि अस्तु केही दिन राखेर मात्रै नेपाल पठाइयो ।
यो घटनापछि बेल्जियमका नेपाली क्रुद्ध बनेका छन् । सामाजिक सञ्जालमा दूतावासको असक्षमताको खोइरो खनेर तीतो पोखेका छन् । जनप्रगतिशील मञ्चकै वार्षिक भेलामा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले यस विषयमा दूतावासको आलोचना गरे । यस विषयमा बेल्जियमस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा तृतीय सचिव लक्ष्मण खनाल फेला परे । उनले दूतावासलाई पनि यस्ता कुरामा पर्याप्त जानकारी र ज्ञान नभएकाले फिर्ता दिएको जानकारी दिए । ‘कूटनीतिक नियोगले यस्ता कुरा बुझेर सहयोग गर्नुपर्ने होइन र ? नेपालीले तिरेको करबाट तलब मात्रै खाने त होइन होला ?’ भन्ने प्रश्नमा उनले भने, ‘खै हामीलाई पनि सबै जानकारी भएन । दूतावासले पनि सबै काम गर्न सक्दैन । यसअघि यस्तो घटना नपरेकाले जानकारी नभएर पनि होला । दूतावासले अस्तु लिएर चित्र सुवेदीलाई फिर्ता दिएको सही हो ।’
बेल्जियमको नेपाली समुदायबाट माओवादी अलग
एमाओवादीकै कोटाबाट राजदूत बनेका राममणि पोखरेल स्वयंले माओवादीको आलोचना गरे । मञ्चको वार्षिक साधारणसभामा उनी विशेष अतिथि थिए । मञ्चले भेला डिसेम्बर २५ अर्थात् क्रिसमसका दिन राखेको थियो । पोखरेलले यसैमा प्रहार गरे । विदेशमा रहेका संघसंस्था त्यहाँका समुदायसित भिज्नु, एकाकार हुनुपर्नेमा अलग्गिएको भन्दै तीतो पोखे । ‘बेल्जियममा आज क्रिसमस पर्व हो । क्रिसमसको दिन यस्तो कार्यक्रम राख्ने हो ? यस्तो दिनमा कार्यक्रम राख्ने तपाईंहरू यहाँको समुदायमा भिज्न नसकेको प्रमाण हो,’ उनले भने ।
पार्टी छोड्दै कार्यकर्ता
माओवादीको बेल्जियमस्थित यो कार्यक्रमले सम्पूर्ण युरोपको छनक दिन्छ । किनभने माओवादीका युरोपस्थित सबैजसो जनवर्गीय संगठन बेल्जियमबाटै निर्देशित हुन्छ । बेल्जियम युरोपको केन्द्रीय कार्यालय जस्तै हो । यो कार्यक्रमपछि माओवादी कार्यकर्तामा चरम निराशा देखिएको छ । कार्यक्रममा मञ्चका कोषाध्यक्ष, तीनमध्ये एक उपाध्यक्ष गएनन् । यो कार्यक्रमपछि जनप्रगतिशील मञ्चकै अर्का उपाध्यक्ष कमल भारतीले पनि संगठनबाट अलग हुने घोषणा गरे । उनले संगठनप्रति तीतो पोख्दै आफ्नो फेसबुकमा लेखेका छन् ‘जीवन सिद्धान्तका लागि होइन । जीवन सिद्धान्त हो । कहीँकतै वाद र उपवादमा लागेर बस्नुभन्दा विशुद्ध रूपमा स्वतन्त्र भएर बस्नु उपयुक्त हुन्छ जस्तो लागिरहेको छ । जीवनका करिब–करिब ३ दशक म कहीँ न कहीँ, कतै न कतै लागिरहेँ । त्यसमा मलाई कहीँकतै पछुतो लागेको छैन । बरु गौरव नै । तर अबचाहिँ अलिक बढी नै भो कि जस्तो लाग्न थाल्यो । त्यही भएर सबै चिज छाडी मेरो परिवार र आफ्नै बन्द–व्यवसायमा ध्यान दिने विचारमा छु ।
‘
(आज २०७० साल पुष १७ गते बुधाबार जनाआस्था साप्ताहिकमा प्रकाशित समाचार । यसको केहि भाग झिकेर यहाँ राखिएको हो-नेपालप्लस)




