संविधान सभाको निर्वाचनबारे के भन्छन् त युरोपका नेपाली ?
● सन्तोष न्यौपाने / बेल्जियम
नेपालमा निर्बाचन समय नजिकिँदै गर्दा जति प्रचार प्रसार र रनौकता बढेको छ बिदेशमा रहेका नेपालीहरुमा पनि उत्तिकै उत्साह छाएको छ । अझ यहाँ रहेका नेपालका राजनैतिक भात्री संगठनहरुका कार्यकर्ताहरुमा देशमा भन्दा बढी चुनाव राजनीति लागेको छ । कांग्रेस, माओबादी लगायतका संगठनले प्रचार प्रसारकोलागि कार्यकर्ता नै युरोपबाट नेपाल खटाईएको दाबीपनि गरेका छन् । भात्री संगठनहरुले अाअफ्ना पार्टीकालागि उत्तिकै मात्रामा आर्थिक सहयोग गरिरहेका छन । प्रचण्ड धारको माओबादी निकट नेपाली जनप्रगतिशील मंच, बेल्जियमले विदेशमा रहेका नेपालीहरु एक पटकको नेपाली सधैंको नेपाली हुने, पहिचान सहितको संघिय संविधान, आदिवासी, जनजाति, मधेशी,पिछडिएका वर्ग, किसान, शोषित,उत्पिडित र महिलाहरुको मुक्ति लगायतका अवधारणाको प्रतिवद्धता लिएर निर्वाचनको अभियानमा लागेको छ । निर्वाचन अभियानमा भाग लिन मंचका पदाधिकारी कोषाध्यक्ष कृष्ण पौडेल, सल्लाहकार टिका राम पौडेल, भुसाल, कल्पना मगर लगायत अन्य मंच संग आवद्ध टोली समेत नेपाल पठाईसकेको उनीअह्रुले सार्वजनिक गरेका छन् । तर उता बैध्य धार मानिने नेपाली जनप्रगतिशील मोर्चा,यूरोपले संविधान सभाको निर्वाचन बहिस्कार आन्दोलनको पक्षमा यूरोपबाट ऐक्यबद्धता जनाएको छ ।
यसै सम्बन्धमा यूरोपका बिभिन्न देशहरुमा रहेका भात्री संगठनका प्रतिनिधि तथा बुद्धिजिबीहरु के भन्दछन त यो निर्वाचनका बारे ? निर्बाचनबारे उनीहरुको धारणा उनीहरुकै शब्दमा ●●●●●
● प्रा डा कविताराम श्रेष्ठ / बेलायत
कुनै पार्टी जनताले नपत्याएका र कमजोर रहेछ भने उसको जितको कामना गर्नु सपनाको पुलाउ खानु बराबर हुन्छ| नेपालको सरकार धेरै पहिलेदेखि अपाहिज जस्तै छ । गर्न चाहेर पनि त्यस्तो गर्न सक्ने क्षमता उसँग छैन । त्यसकारण विदेशबाट पनि मत हाल्न पाउनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको मलाइ लाग्दैन । गर्न नसकेको हो । समय पनि त पुग्दो थिएन ।
● प्रेम पाठक / बेल्जियम
यो संविधान सभाको निर्वाचन नयाँ र अग्रगामी संविधान वनाउने उद्धेश्यवाट नभई भारतीय विस्तारवादको निर्देशन र उसैको हितमा नेपाली दलालहरुलाई परिचालन गरेर देशमा अझै राजनैतिक संकट पैदा गर्दै देशलाई द्धन्द्धमा फर्साई कथित चार दलको राजनैतिक सिन्डिकेटलाई निरन्तरता दिइ राख्नका लागि गरिएको षडयन्त्र मात्र हो । यो संविधान सभाको निर्वाचन राजनैतिक समस्या सामाधानको हिसावले र परिणामको हिसावले असफल सिद्ध भइसकेको छ । यस्तो षडयन्त्रमुलक निर्वाचनमा सहभागि नहुन हामी आम नेपाली जनतामा हार्दिक आहृान गर्दछौं ।
● जित बहादुर लामा / ब्रसेल्स, बेल्जियम
हामी बिदेशमा बस्ने नेपालीहरु बिभिन्न कारणले बिदेशिएको भए पनि मुख्य रुपमा नेपालको आर्थिक कारण नै हो । आर्थिक समृद्धिको लागी भ्रष्टाचारबिहीन राज्यप्रणाली सहितको समता मुलक न्याय प्रणालीमा आधारित उत्पादन मुलक रोजगारी हुनु पर्दछ । नयाँ संबिधानमा एक पटकको नेपाली सँधै नेपाली भन्ने ब्यबस्था गरोस् भन्ने आम बिदेशिएको नेपालीको चाहना नै मेरो पनि चाहना रहेको छ । यसले बिदेशी नेपाली बिदेशी भुमिमा बसाईको लागी अपनाईने बाध्यात्मक स्थितिले बिदेशी भएको हो । तर नेपाल र नेपाली प्रति गर्नुपर्ने उसको कर्तब्यबाट बञ्चित हुनपर्ने छैन भन्ने मेरो बुझाई रहेको छ । बिदेशबाट पनि मत हाल्न पाउनुपर्छ भन्ने माग प्रति सरकारले उदासिन नै गरेकोले मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपर्यो भन्ने कुरामा मलाई त्यस्तो लाग्दैन । किन भने बिदेशबाट पनि संबिधान सभाको निर्वाचनमा मताधिकार हुनुपर्छ भन्ने अवाज अलि ब्यबस्थित् ढंगले समयमै जोडदाररुपले उठाउन सकेन कि भन्ने लागेको छ । यस बारेमा अशोक राईजीहरुको पार्टीसँग समझदारी गर्दा खेरी बिषय प्रवेशस चाहिँ भयो । तर समय अति नै छोटो भैसकेको थियो । जुन अधिकार दिनको लागी गर्नुपर्ने पुर्व तयारी धेरै थिए । तर गरेकै थिएन । प्राबिधिक रुपले पनि भ्याउने नभएकोले हो जस्तो लाग्छ ।
● प्रकाश ढकाल / डेनमार्क
यो पटकको निर्वाचन पछि मुलुकले निकास पाउँछ | नेपाल जस्तो देशमा लोकतान्त्रिक संविधानको आवश्यक छ । त्यसकारण लोकतान्त्रिक शक्तिले जित्नुपर्छ । नेपाल जस्तो चीन र भारतको बीचमा अवस्थित देशले जातीय संघियता थेग्नै सक्दैन र टिक्दैन पनि । त्यसकारण सबैलाई समेट्ने भनेको लोकतान्त्रिक संविधानले हो जुन नेपाली कांग्रेसबाट मात्र सम्भव छ जस्तो लाग्छ । किनकि देशको परिस्थितिले त्यहि देखाउँछ । विगत चार वर्षमा देशले निकास पाएन । किनकि कांग्रेस शक्तिमा आएन र जति मिठा र उग्र कुरा गरेपनि माओवादीले संविधान दिन सकेन | विदेश बाट मत दिने सन्दर्भमा हामीले यहाँ विदेशको तौर तरिका र प्रविधि देखेर माग गरे जस्तो लाग्यो यो कुरा । यो हैन कि माग गरौं अनि तुरुन्त पुरा होस् । हो हामी विदेशमा छौं । नेपाल भन्दा विकसित मुलुकमा छौं । तर यहींको जस्तो ‘पद्दती’ खोजेर नेपालमा पाइँदैन । यो एउटा ठुलो प्रावधिक कुरा हो जुन निकै जटिल पनि छ । त्यसकारण नेपालले चाहेर पनि यो कुरा पुरा हुन् सक्दैन । भारतमा लाखौं नेपाली छन् । अनि त्यहि भारतसँग हाम्रो ठुलो सिमाना जोडिएको छ । त्यता पनि ध्यान दिनु पर्छ ।
● गंगाधर गौतम / बेल्जियम
नेपालको अब संबिधान सभाबाट बन्ने संबिधानमा प्रबाशी नेपालीहरुको बारेमा निश्चित अधिकारहरु सुनिश्चितत हुन जरुरी छ । नेपाली नागरिकताको निरन्तरता, नेपालको आर्थिक बिकासमा प्रबासी नेपालीहरुको साझेदारी, नेपालीको राजनैतीक सामाजिक तथा आर्थिक पक्षमा प्रबासी नेपालीहरुको सिधै भूमिकाको ग्यारेण्टी नयाँ संबिधानमा समाबेश हुनु पर्दछ । हामी संसारकै सबैभन्दा लोक्तान्त्रिक अभ्यास हुने देशमा बस्छौ जहाँ कोही ब्याक्तिले मतको प्रयोग गरेन भने स्वभाबिक रुपमा जरिवाना तिर्नु पर्दछ ।
देश संघियता र पहिचान सहितको लोकतान्त्रिक संघिय गणतन्त्रमा जानैपर्ने निर्विवाद नै भईसकेको छ । यस कारण पहिचान सहितको संघियता र संघियता सहितको संबिधान निर्माण गर्ने पक्षधरलाई निर्वाचित गराउनु पर्ने दायित्व हामी नेपाली जनताको काँधमा परेको छ । यो नेपाली समाजको बनावटलाई मध्यनजर गरी नयाँ नेपालको परिकल्पना सहित संघिय गणतन्त्र नेपालको नयाँ पहिचान सहितको संबिधान जारी गर्न संघिय समाजवादी पार्टी नेपालले उत्कृष्ट घोषणा पत्र जारी गरिएको हुनाले संघिय समाजवादी पार्टीलाई नै मतदान गरी जिताउनु पर्ने देखिन्छ ।
● दीपेन्द्र के.सी. / बेल्जियम
मुल मुद्दा सम्विधान भएपनि आम जनताका आधारभुत आवश्यकताको सम्वोधन गर्नसक्ने, जातीय र भौगोलिक सन्तुलन र सदभावको जगेर्ना गर्नसक्ने र किटानी गरेरै भन्दा राष्ट्रीय स्वाभिमान र शान्ति, सहअस्तित्व र सहभावलाई सँस्थागत गर्न सक्ने राष्ट्रवादी शक्तिले जित्नु पर्छ । विदेशबाट हाम्रा व्यक्ति विशेषका खासै अपेक्षा छैनन् । मात्र शान्त, स्थिर र सम्बृद्ध नेपालको शुभेच्छा मात्रै हो । तत्कालका लागि सरकारले विदेशमा वसेकाहरुलाई मताधिकारको व्यवस्था गर्न कानुनी र व्यवहारिक दुवै कुराले सम्भव छैन । हामीले माग गर्नुपनि औचित्यपुर्ण छैन । किनकी आधिकारिक वैधानिक अभिलेख नहुनु, कतिपय नेपालीहरुले विदेशी नागरिकता ग्रहण गरेको हुनु, संसारभर नेपालको सरकारी संजाल व्याप्त नहुनु । नेपालको आर्थिक हैसियतले पनि त्यो सम्भव नहुनु र मलाई लाग्छ संसारका कुनैपनि राष्ट्रले संसारभरी मतदानको व्यवस्था गर्ने व्यवहारिक आधारहरु स्थापित नहुनु । निष्कर्षमा भन्नुपर्दा विदेशबाट मतदानको व्यवस्था गर्न नसक्नु स्वभाविक हो । यसमा अधिकारको व्याख्या जरुरी छैन ।
यो निर्वाचन सबै पार्टी सम्मिलित नभएको हुँदा असहमत छु । यो मानेमा कि यो द्वन्द समाधान भन्दा द्वन्द निम्ताउने खालको छ । अनि कुनले जित्ने भन्ने नै भएनभने स्थगित हुन्छ । अन्तिम समयमा आएर चुनाव भएन भनेपनि नयाँ द्वन्द सिर्जना गर्ने छ । विदेशमा बस्नेको माग समेटिने भन्दा पनि विदेशबाट स्वदेश फर्किने बाताबरण बनेमा राम्रो हुनेछ । संबिधान सभामा विदेशमा बस्ने नेपालीले अनिवार्य मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने हो । तर भएको छैन ।






