‘बाउ माओवादी, जेठो बैध्यवादी, भाई कांग्रेस , पसेन त भारतीय बिस्तारबाद ?’

nepali-leaders-and-sonia-ghandhiजेठो छोरो ड्यास माउवादी । बाउ क्यास माउवादी । कान्छो छोरो ड्यास कांग्रेस । कोइराला

कांग्रेसलाई ड्यास ड्यास दिने भएकोले देउवा पक्षलाई ड्यास कांग्रेस भन्दा रहेछन् । बाउ माउवादीको प्रचारमा हिँड्न थाले । किनकि उनको लगानीनै यहि पार्टीमा थियो । भूमिगत कालदेखिनै । बाउ त्यसरि माओवादीको प्रचारमा जाँदा कान्छोलाई राँको छुटेछ । किन नछुटोस । कांग्रेसका कार्यकर्ता र उसका साथीहरुले पेलान दिन्छन् । ‘ओ ए के हो यार, तेरो त घरमै बाउ माओवादी अनि जनतालाई के संझाउँछस् ? आफ्नै घरकाले नपत्याउने, गाउँलेले कसरि पत्याउँछन् ?

कान्छो छोरोलाई आपत पर्‍यो । अनि कसो गर्ने ? भोट दिने बेलामा त जता देओस् । देख्ने होइन । कम्तिमा चुनाव प्रचार मै चाहिँ हाकाहाकी नगैदिए हुन्थ्यो भन्ने उसको स्वार्थ । तर ‘बुवा नजानुस् न’ भनेर टेर्ने होइन । अनि हप्काउँदो रैछ । तरपनि बुढाले टेर्ने होइनन् । माओवादीका नेता आउँछन् अनि बुढा लुरुलुरु तिनका पछाडि लाग्छन् ।

छोरोले हप्कायो भनेर नजाँदा फेरि बुढालाई आपत । उता माउवादीले के हो तपाई ?  छोराछोरी त बिगार्नु भो, आफ्नै घरकालाई बुझाउन सक्नु भएन के हो कामरेड ? तपाईपनि लुक्ने कामरेड भनेर हैरान पार्दा रैछन् । छोरोलाई कांग्रेसमा पठाउने ? अर्को छोरोलाई बैध्यतिर छोडिदिने ? आफ्ना छोराछोरीलाईपनि सिकाउन, चित्त बुझाउन सक्नु भएन ? बुढालाई कामरेडहरुले ख्यामख्याम्ती गर्छन् ।

जति कराएपनि न कान्छो छोरो कांग्रेसको चुनावमा जानबाट रोकिन्छ । न बुढालाई कामरेडहरुले छोड्छन् । अनि ‘जसरिपनि रोक्छु यो बुढालाई’ भन्दै कान्छो छोरोले अक्किल निकालेछ । बिहानै बुढाको सर्ट, पाइन्ट, जुता लगाएर हिँडिदिँदो रहेछ । बाँकि लाउन हुने लुगापनि पोको पार्‍यो, झोलामा हालेर एकाबिहानै मोटोरसाईकलको कान निठोटेर हिँड्यो ।

बुढा बिहान ढिला ढिल उठ्छन् । चिया नास्ता खान्छन् । अनि कि त कामरेड हरुको फोन आउँछ । फलानो ठाउँमा आउनुस् भन्दै बोलाउँछन् । कि घरैमा आइपुग्छन् लिन । बुढा यस्सो सर्ट हेर्छन् । पाइन्ट खोज्छन्, भेटिँदैन । बुढीलाई सोध्दा रहेछन् ‘ए बुढी मेरा लुगा सबै धोइदिएको हो ?’ हुने कुरै भएन ।

बुढा अब चप्पल पड्काउँदै गम्छा कसेर हिँडेछन् । जेठो छोरो चुनाउ बहिस्कारबादी पर्‍यो फेरि । उ छुट्टिएर बसेको तर बुढाकै घर अघिल्तिर उसकोपनि घर । गम्छा बाँधेर चप्पल पड्काउँदै हिँडेको देखेपछि जेठो छोरोले भन्दो रहेछ ‘ए बा क्याहो यो चुनापका बेलाँ गम्छा र चप्पल पड्काएर हिँड्नी ? चुनापमा यसरि देखाउँछौ हामी गरिब, सुकुम्बासी भन्दै र भोट सोहोर्छौ । अनि पछि सबै ठेक्कापट्टा लिन्छौ । भवन ठड्याउँछौ । तिम्रा बाउराम र पर्चन्न हेलिकप्टराँ उड्या छन् बा तिम्रो क्याहो यो नाटक ?’ भन्दै हकार्दो रहेछ ।

छोरीको फेरि अर्कै ताल । ‘सबै फटाहा हुन् बा । पहिले पन्चेले शोसे । पछि कंग्रेस र एमालेले शोसे । अहिले फेरि माओवादीले शोस्दै छन् । आफ्नै जनसेनाको तलब खानेलेपनि बाँकि छोड्छन् । उनीहरु हेलिकोप्टरमा चढेर हाम्रो बालाई गम्छा बँधाएर चुनाबमा लैजाने । कसैलाई भोट दिएर केहि हुन्न बा’ भन्दिरहिछ ।

बुढाले बरा कसको कुरो सुन्ने ? बुढा फेरि ‘हैन, माओवादीको एक लौटी सरकार आयो भने त लाजलेपनि गर्छन्’ भन्दा रहेछन् । अनि छोरीले सुझाव दिईछ ‘बा, हाम्रो देशका ठूला पार्टीजति सबै भारतीयले चलाउँछन् । सबै गुप्तचरका पछि लाग्ने हुन् । भारतीय नेताले जे जे भन्छन् त्यहि त्यहि गर्ने हुन् । तपाई जस्ता कार्यकर्ता चाहिएको त चन्दा लिन र भोट तानेर जित्न मात्रै हो । नपत्याए सुधिर शर्माको प्रयोगशाला भन्ने किताब पढ्नुस् त्यो सबै छर्लङ्ग हुन्छ । नेपालको दरबार देखि सबै पार्टीमा भारतीय बिस्तारबाद पसेको रैछ । त्यो किताब पढ्नुस् त अनि कसैको प्रचारमापनि जान मन लाग्दैन ।’

बुढा दिक्क भएछन् । कसको कुरा सुन्ने ? अनि भनेछन् ‘किन पढ्न पर्‍यो र त्यो प्रयोगशाला बिस्तारबाद कुन कुन पार्टीमा छिर्‍यो भनेर । घर घरमै छिरिसक्यो नी भारतीय बिस्तारबाद त । अनि पार्टीमा छिर्दैन त । हाम्रै घरमा म माउवादी, तेरो दाई बैध्यवादी, तेरो भाई कांग्रेस । अनि घर भाँडिएन ? पसेन त भारतीय बिस्तारबाद ?’

बुढाले त्यसो भन्दा जेठो चाहिँ ” घरघरमै छिर्न थाल्ने बिस्तारबादले गरेको चुनाबमा भोट दिन हुन्छ त ? त्यहि भएर त हामीले लघार्न खोज्या नी । ‘ भन्दै बहिस्कारको नारा घन्काउने रहेछ । कसको झण्डा कसले च्यात्ने ? कसले घरको सबैभन्दा टुप्पोमा आफ्नो पार्टीको झण्डा गाड्ने भनेर प्रतिस्पर्धा उस्तै हुने रहेछ ।

 

तपाइँको प्रतिक्रिया