मुहान नै दुषित
● आनन्दराम पौडेल
सैद्धान्तिक आधारभूमि छाडेपछि राजनीतिले वजारमा आश्रय लिन पुग्दोरहेछ । वजारको नियमअनुसार नाफानोक्सानको हिसाबकिताब गरेर चल्दोरहेछ । नेपाली राजनीति त्यही बाटो र दिशामा गैरहेको त सबैले महसुस गरेका थिए, तर कतिसम्म पतनको गहिराईमा पुगेको छ भनेर यकीन गर्न सकेका थिएनन् । उम्मेदवार मनोनयन गर्ने बेलामा पार्टीका आन्द्राभुँडी र भित्र्याँसहरु जब सतहमा छताछुल्ल भएर देखा परे, तब नेपाली राजनीति भित्रभित्रै कतिसम्म कुहिसकेको रहेछ भनेर सर्वसाधारणले छ्याङ्ग देखे ।
नेकाले बुधबारकै दिन धादिङ-१ मा फणिकान्त छत्कुलीलाइ टिकट दिने निर्णय गरेको थियो। डा. रामशरण महतजीले रोक्नुभयो। एकजना तिलक रुवाली नाम गरेका व्यक्ति महतजीको विश्वासपात्र हुनुहुन्छ । महतजीले घरको रेखदेख गर्ने जिम्मा दिनुभएको छ । घरको राम्रो हेरविचार गरेवापत महतजीले पुरस्कार दिन चाहे। पार्टीमा चर्कै दबाब दिए । फलस्वरुप फणिकान्त छत्कुलीको नाममाथि टिपेक्स लगाएर तिलक रुवालीलाइ टिकट दिइयो । यो एउटा प्रतिनिधि घटना हो । यस्ता सयौं घटना छन् र सबै पार्टीमा छन् । घटना हैन, प्रवृत्ति नै बनेको छ । चौबिसै घण्टा र बाह्रै महिना लोकतन्त्र फलाक्ने नेपाली कांग्रेस पार्टीभित्र लोकतन्त्र गायब र तजवीजचाहीं ढसमस्स बसेको भेटिन्छ । सबै पार्टीका नेताहरु छोटे राजा बनेका छन् । आ-आफ्ना गुटका कोटारी छन् । तिनीहरु राष्ट्रको लागि हैन, पार्टीको लागि पनि हैन, गुटको लागि घम्साघम्सि गरिरहेका हुन्छन् । आफ्ना नातागोता र आसेपासेलाइ टिकट बाँड्दाबाँड्दै बोनाफाइड कार्यकर्ता जहिलेपनि छुट्छन् ।
प्रचण्डले आफ्नो परिवारका सदस्यहरु (१) पुष्प कमल दाहाल – काठमान्डौ १० र सिराहा ५, रेणु दाहाल (छोरी) – काठमान्डौ १, नारायण दाहाल (भाइ) – चितवन ३, र बिना मगर (बुहारी) – कन्चनपुर् १ गरी ५ थान टिकट परिवारभित्रै सुरक्षित राखेका छन् । डाइनेस्टी राजनीतिको योभन्दा टड्कारो उदाहरण अरु के खोज्नुपर्छ ? प्रचण्डले आफ्नो परिवारका सदस्यहरुलाइ भरमार टिकट बाँडेको देखेपछि बाबुराम भट्टराई, बर्षमान पुन, शक्ति बस्नेत, देवेन्द्र पराजुलीहरुले पनि आ-आफ्ना श्रीमतिको नाममा भागशान्ति जयनेपाल गरेका छन् । आफूसँग टाँसिन आयोभने न त त्यस्को पृष्ठभूमि, न त चरित्र, न त संस्कार, केहीपनि हेरिंदोरहेनछ भनेर रेखा थापा र भुवन केसीलाइ टिकट दिंदा प्रमाणित भएको छ ।
‘उठी-उठी सु गर्नेको छोरो घुमिघुमि सु गर्छ’ भनेझैं अगुवाहरु बिग्रेपछि कार्यकर्ताहरु मियो उखेलिएको बहर भएका छन् । वाजुराका देवराज जोशीले नेकाबाट टिकट पाएका थिए । टिकट नपाउनेहरुले खोस्न गैहाले। सण्डमुसण्डहरु लगाएर घेरे । ‘धुलो चटाइदिन्छौं’ भनेर धम्क्याएपछि देवराजजीले टिकट फिर्ता गरे । भक्तपुरकानिर्मल भट्टराईजी बुधबार बिहानसम्म एमाले केन्द्रीय अध्यक्षका स्वकीय सचिव थिए । टिकट नपाउने वुझेर दिउँसो एमाओवादी पार्टीतिर लागे । कांग्रेसले टिकट नदिने नै भयो भन्ने थाहा पाउनासाथ अस्ति मङ्गलबारका दिन नेका बिराटनगरका सचिव बाबुराजा ओझाजीले तत्कालै प्रचण्डसँग सम्पर्क गरिहाले । एकछिन अबेर नगरिकन एमाओवादी भित्र छिरे । कांग्रेस महासमिति सदस्य, सर्लाहीका शम्भुलाल श्रेष्ठजी असोज १५ गते, मङ्गलबार सम्म काठमाडौंमै बिहानबेलुका कांग्रेसी नेताहरुकहाँ र दिउँसो केन्द्रीय कार्यालय धाइरहेका थिए । यति धाउँदा पनि पार्टीले उनलाइ टिकट दिन नसक्ने भएछ । मङ्गलबार साँझ मात्र टुङ्गो लाग्यो । यो जानकारी पाउनासाथ १५ मिनटभित्रउनी प्रचण्डको सम्पर्कमा पुगिहाले । र, तत्कालै राती ९ वजे प्रचण्डले पार्टीमा भित्र्याए । द्वन्दकालमा माओवादीले शम्भुलाल श्रेष्ठलाइ जनकार्यवाही गर्नुपर्ने व्यक्तिहरुको सूचि (ब्ल्याक लिष्ट) को हटलिस्टमा राखेको थियो । झापा क्षेत्र १ का कांग्रेसी नेता भक्ति सिटौलाजीले टिकटको आकांक्षा बोकेर निकै दौडधुप गरे। नपाउने वुझेपछि राप्रपा तिर छिरे ।
नेपालमा नेताका कुरा पत्याउन छाडे । त्यस्माथि सुजाता कोइरालाका अभिव्यक्तिलाइ त शुद्ध हँसिमजाक, ठट्टारमाइलो र नि:शुल्क मनोरञ्जनको बिषय बनाउँछन् । तर, यस्पालि उनले, “टिकट वितरणमा पैसाको चलखेल” भनेर जुन भनिन्, त्यस्मा सत्यता छ । ठूला व्यापारी, पूँजिपतिहरुलाइ समानुपातिकमा नाम राख्नको लागि मात्र करोडको खेल भैराखेको सुनियो । कान्तिपुरका फिचर सम्पादक हरिबहादुर थापाजीले यसरी पैसाको लेनदेन भएको बिषयमा प्रकाश पारेका छन् ।
आफ्ना आसेपासेको लागि टिकट मिलाउन नेताहरुले जति कसरत गरे, त्यत्तिकै कसरत भोलि आफ्नो प्रतिद्वन्दी बन्न सक्ने युवालाइ किनारा लगाउनपनि गरे। गगन थापालाइ काठमाडौं ४ बाट उम्मेदवार बन्न नदिन प्रकाशमान सिंहजीले गरेको कसरत नमुनाकै थियो । प्रकाशमान सिंह मात्रै हैन, गगनलाइ काठमाडौंबाट टिकट नदिने प्रपञ्चमा कृष्णप्रसाद सिटौला, रामशरण महत र रामचन्द्र पौडेल समेत् भिडे । छोटै अवधिमा गगनले प्राप्त गरेको लोकप्रियतादेखि उनीहरु तर्सेका थिए । गगनको भव्य व्यक्तित्व डम्मै देखे र उनको ग्र्याभिटीले किचकाच गर्ला भनेर आँत्तिए ।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव मात्र हैन, जनताको भावनालाइ कुल्चेर र क्षेत्रीय कमिटीको सिफारिशलाइ लत्याएर काम गरेको देखियो । तजवीजी निर्णयहरुमा विवेक र न्याय मिसिएको भेटिएन । एकातिर लोकतान्त्रिक सोच, संस्कार, संस्कृति र शैलीको खडेरी र अर्कोतिर स्वर्थप्रेरीत तजवीजी निर्णयहरुले गर्दा सिस्टमको जग नै चर्मरायो । आस्था निख्र्यो, विश्वास धर्मरायो । मूल्य, मान्यता, सभ्यता र मर्यादा भस्मखरानि भए । नेपाली कांग्रेस, स्याङ्जाका स्थानीय कार्यकर्ताहरु गोपालमान श्रेष्ठ विरुद्ध खनिए । एमाले,काठमाडौं क्षेत्र नं १ का कार्यकर्ताहरु हेडक्वार्टरमै धावा बोल्न पुगे । नेका,काठमाडौं क्षेत्र नं २ का कार्यकर्ताहरुले पार्टी निर्णय विरुद्ध मोर्चाबन्दी गरे। केन्द्रले रेखा थापा, बसरुद्दिन अन्सारी जस्ता नसुहाउँदा व्यक्तिलाइ टिकट दिएको भनेर एमाओवादीको पर्सा कमिटीले खुलेरै विरोध गरेको छ । पक्षपातपूर्ण टिकट वितरण भनि एमाओवादी, कोचिला राज्य समितिले आक्रोश ओकलेको छ।
“प्रस्थानबिन्दु नै महत्वपूर्ण हुन्छ” भन्ने नियमको कसीमा हेर्ने होभने यस्तो वदनियतपूर्ण, घिनलाग्दो र दुषित निर्णयबाट शुरु भएको निर्वाचनले ल्याउने परिणाम कति विभत्स होला, मोटामोटी अनुमान गर्न सकिन्छ । यस्ता आत्मकेन्द्रित, स्वार्थीहरुले राष्ट्र निर्माण गर्लान् भनेर आशा त गर्न सकिंदैन तर देश र जनतालाइ गोलखाडीमा हालिदिने बिषयचाहीं ठोकुवा गर्न सकिन्छ । भोलि बन्ने सम्बिधानसभाको कम्पोजिशनको प्रोजेक्शन गर्दा, माओवादी र मधेशवादी दलले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत केही गुमाउने छन् । समानुपातिक मत साम्प्रदायिक-जातीवादी (आजकाल ‘पहिचानवादी’ भन्न थालेका) हरु र राप्रपा-नेपालले बढी पाउनेछन् । माओवादी पहिलो पार्टी बनेपनि ‘नेक टु नेक’ को स्थितिमा रहने छ । सम्बिधानसभामा कसैको वहुमत हुनेछैन । ‘वीरवलको खिचडी’ जस्तो किचकिच चलिरहने छ । भोलिको सम्बिधानसभाले सम्बिधान बनाइहालेपनि यस्ताले बनाएको सम्बिधान देश र जनताको हीतमा हुने छैन । बनाए जारी गर्न सक्दैन । जारी गरे लागु गर्न सक्दैन । राष्ट्र अराजकता र भाँडभैलोको भूमरीमा रुमल्लिने छ । नेपालमा ८-१० बर्ष अपराधी, डन र युद्ध सरदारहरुको हालिमुहाली चल्नेछ ।




