चरप्प चरप्प पाखुरा नअँठ्याइ पार्टी प्रवेश गर्न नपाइने ?

party-prabesh-1केहि दिन अघि एकिक्रित नेकपा माओवादीमा यूवाहरु प्रवेश भन्दै एउटा फोटो देखियो । अचम्म लाग्यो त्यो देखेर । किनकि माओवादी अध्यक्ष प्रचण्डले रातो टिका लगाएर पार्टी प्रवेश गराउँदा ति यूवकको दुबै पाखुरा अँठ्याइएको थियो । पाखुरापनि कार्यकर्ताले मात्रै नभएर एकातिर प्रहरीले । अर्कातिर कार्यकर्ताले । यस्ता तस्विर संयोगलेपनि खिचिन्छन् भन्ने लाग्यो । कहिलेकाहि भिडबाट यस्सो हात समातेर ल्याउँदा त्यस्तो संयोग परेको हो कि भन्ने पनि लाग्यो । तर धेरैले प्रचण्डलाई झाप्पड हान्ने डरले पाखुरा समातेर ल्याएको भन्दै सामाजिक सञ्जालमा छपक्कै पारेका थिए । आखिर नेपालप्लसको अनुमान मेल खाएन । साँच्चै प्रचन्डका गाला रन्किने गरि हान्लान् भन्ने डरलेनै पाखुरा समात्दै रातो टिका लगाइदिन ल्याउने गरिएको साँचो रहेछ । 

एमावादी पार्टी प्रवेश भन्दै यूवाहरुलाई पार्टी प्रवेश गराउँदा त अरु यूवाका पाखुरापनि त्यसैगरि चरप्प चरप्प अँठ्याउने पो गरिएको रहेछ । पार्टी प्रवेशपनि गराउनुपर्ने । फेरि यूवाहरुनै चाहिने । निर्वाचनमा पाखुरा सुर्काउने, घोंचा उचाल्ने, बुथ क्याप्चर गर्न त बलिया, पाखुरा बटारिएका, दह्रा, मुठ्ठी ढुंगा जस्ता भएका चाहियो । त्यसैले यूवाहरु त खोज्यो । तर पार्टी प्रवेश गराउनेलाई विश्वाश भए पो । बिगत र बर्तमान सम्मा पार्टीले, नेताले सहि बोलेको, सहि आश्वाशन दिएको भए पो यूवाहरुप्रति विश्वास र भरोसा । बाँडेका आश्वास र दिएका बचन सबै खोलीमा सलल बगाइदिएपछि अहिले के भनेर विश्वास गरुन् ?

maoist-prabesh-2धोका नै धोका खाएको बिगत र बर्तमान हुँदाहुँदै यूवाहरुको दिमाख त्यो संझेर तातिहाल्छ । कुन बेला सट्किन्छ र प्रचण्डका गाला रन्काउँछन् के भर ? त्यहि भएर पार्टी प्रबेश त गराइहाल्ने । तर अगाडि टिका थाप्ने बेला वा प्रचण्डको गाला र पार्टी प्रवेश गर्नेको मुड्कि आमनेसामने हुँदा चाहिँ तन्काउनै नमिल्ने गरि चरप्प चरप्प अँठ्याउने गरिएको रहेछ । त्यसरि चरप्प पारिदिएपछि अलिकति तन्काउन मात्रै थाल्यो भने उसका हात तानेर प्रचण्डका गाला जोगाउन सकियोस् ।

के अब एकिक्रित नेकपा माओवादीमा पाखुरा पछाडि लगेर चिरिप्प चिरिप्प नअँठ्याई प्रवेश गर्न नपाइने नियम बनाइएको हो ? कि प्रचण्डको हातको टिका थाप्ने बेला मात्रै त्यस्तो नियम बनाइएको हो ? के प्रचण्ड यतिबिघ्न असुरक्षित भए कि आफ्नै कार्यकर्ताले जुनसुकै बेला उनको गालामा निलडाम बसाउने भो ? यति बिघ्न अविश्वास गरिगरि पार्टी प्रवेश गराएका कार्यकर्ता पार्टीमा के काम ? कुन प्रयोजनकालागि ? गाला रन्काउला भन्ने यति बिघ्न डर छ भने किन पार्टी प्रवेश गराउने ? अविश्वाशिहरुलाई कम्युनिष्ट पार्टीमा किन भित्र्याउने ?

आफ्ना नेता भनेपछि श्रद्दाले शिर पो निहुरिन्छ । सम्मानले मन गह्रुंगो बन्छ । नेतालाई यस्सो केहि होस् त कार्यकर्ताले ज्यान पो दिन्छन् । तर कुट्ला भन्ने डरले पाखुरा समातेर कार्यकर्ताको अगाडि उभिनुपर्ने नेता जनताको नेता बन्न सक्छ र ? कि एक पटक झाप्पड खाएकोले तर्सिएका हुन् प्रचण्ड ? कि यतिबिघ्न आलोचित र घ्रिणित बने कि जति बेलापनि झाप्पड खाने आँकल गरिएको हो ? झाप्पड त नेपाली कांग्रेसका सभापती सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथलेपनि खाएका हुन् । तर तिनले पाखुरा अंठ्याउँदै कार्यकर्ता पार्टीमा हुलेको अहिलेसम्म देखिएको छैन त ! कामरेड हो, यो त ‘आची पतर्र पार्नेलाई भन्दा देख्नेलाई साह्रो लाज’ भएन र भन्या ?

तपाइँको प्रतिक्रिया