पतनको दिशामा अघि बढ्दै छ एमाले
● जनक मान डंगोल
घर चलाउन र घरलाई अनुशासनमा राख्न नेतृत्वको आवश्यकता पर्दछ । घरमुली अर्थात पिताको आदेशानुसार चलेको घरमा बिग्रह उत्पन्न हुँदैन । घरमुली पिताले गरेको राम्रा निर्णयलाइ समर्थन र यदि अपाच्य निर्णय छ भने त्यसलाई भद्र सल्लाह दिएर सच्याउन लगाउने काम घरका अन्य सदस्यहरुको हो ।
देश या राजनीतिक पार्टी । सबैमा मुलीको आवश्यकता पर्दछ । नेपालमा एक पटक चुनाव जितेर ठुला पार्टीमा नाम दर्ता गराएपछि अर्को निर्वाचनसम्म त्यो पार्टीले आफूलाई सधै ठुलो पार्टीको रुपमा चित्रित गर्ने गरेको पाइएको छ । निर्वाचनको प्रयोजनको लागी संसद बिघटन भैसकेपछि निर्वाचन आयोगमा दल दर्ता भैसकेका सबै पार्टीको हैसियत समान रहेको हुन्छ । यो कुरा सबै पार्टीका नेताहरुलाइ राम्रैसँग थाहा छ । तर बुझेरपनि बुझ पचाउँदै छन ।
यो आलेखमा चर्चा गर्न खोजिएको ने.क.पा.एमाले सम्बन्धमा हो । पार्टीको मुखिया झलनाथ खनाल हुनुहुन्छ ! यो भन्दा अगाडी माधब कुमार नेपाल हुनुहुन्थ्यो । पार्टी मुखियाले दिएको आदेश र निर्देशनलाई ठाडै चुनौती दिनेमा पार्टीका प्रभावशाली नेता भनेर चिनिएका के.पी. वली हुनुहुन्छ । पूर्व अध्यक्ष भएको नाताले पार्टीलाई सहि दिशामा लैजान सकियोस भनेर माधव कुमार नेपाललाइ वरिष्ठ नेताको दर्जा दिएर राखिएको छ । अवकाश पाएको ब्यक्तिलाइ यस्तो मान सम्मान दिनु पनि राम्रै हो । तर जे सोचेको त्यो चाहिँ भएको छैन ।
२०४६ सालको जनआन्दोलनपछि जनताको पार्टी भनेर चिनिएको नेकपा एमाले केहि दिन देखि चरम विवादमा परेको छ । कारण सजिलैसँग बुझ्न सकिन्छ । त्यो हो शक्ति प्रदर्शन । पार्टीमा को ठूलो र को शक्तिशाली भनेर देखाउन यतिखेर अध्यक्ष खनाल, माकुने र वलीमा अघोषित युद्धनै चलेको हालको गतिबिधिबाट छर्लंग हुन्छ ।
पार्टीका मुखिया खनाल हुन । तर नाम मात्रको । अहिले यतिखेर वली आफूलाई महाशक्तिशाली देखाउन जोड तोड़ले लाग्नुभएको छ । उदाहरण हो , युवा संघको अहिलेको विवाद । पहिलापनि यस्तै विवादले गर्दा जनताको प्रिय पार्टीलाइ बामदेबले काँक्रा झैँ चिरिदिएका थिए । तर आत्मालोचना त परै जावस घमण्डका साथ बामदेवले शिर ठाडो पार्दै छाती फुलाएर ‘पार्टी फुटाउने मै हुँ’ भनिदिनुभयो ।
बिगतको निर्वाचनलाइ हवाला दिंदै वलीले युवा संघलाई एमाओबादीको वाई सि एल शैलीमा युवा दस्ता बनाउँदै हुनुहुन्छ । हिजो गरेको १२ बुँदे सम्झौतामा वाई सि एललाइ पुन: ब्यूँताउँन नपाउने भनेर सहि छाप ठोक्ने पनि ठूला भनेका चार पार्टीका नेताहरुनै हुन । निर्णय उल्टाउँदै एमाओबादीले वाई सि एल ब्युँताएपछि त्यसको बिरोध गर्नुपर्ने ठाउँमा तँ भन्दा म के कम भन्दै वली पक्षले ब्यापक रुपमा युवा संगठन बनाउने काम गर्दैछन भने त्यसकै देखासिकीमा कांग्रेसले पनि त्यहि प्रबृत्ति दोहोर्याइरहेको छ ।
युवा संघ गठन गर्नु नराम्रो हैन । तर स्वच्छ प्रवृत्तिको बेदाग व्यक्तिलाई नेतृत्वमा राखेको भए अहिले एमालेमा विवाद उत्पन्न हुँदैनथियो । अहिलेको घटनाक्रम विश्लेषण गर्दा वली कुनै पनि हालतमा निर्वाचनमा अत्याधिक स्थान जितेर “हेर मेरो पराक्रमलेगर्दा एमालेलाइ फेरी पहिलाकै स्थानमा ल्याएँ’ भनेर देखाउन चाहनुहुन्छ । यो भनेको अध्यक्ष खनालको लागि हाँक हो । चुनौती हो । त्यो चुनौतीलाइ निस्तेज पार्न चाहनुहुन्छ अध्यक्ष खनाल । तर ‘जसको लाठि उसको भैंसी ‘ सिद्दान्त मान्ने वलीसँग खनालको के जोर चल्ला र ।
एमालेमा यस्ता नेताहरु पनि छन जो प्रतिकार गर्न सक्दैनन । बोल्न सक्दैनन । अनि अँध्यारो मुख लाउँदै यति महिना र उति महिना निस्क्रिय बस्छु भनेर घुर्क्याउँछन मात्र । एमालेलाइ एमाले पार्टी भनेर चिनाउने त्यागि नेताहरु बिस्तारै पाखा लाग्दैछन । लगइँदैछन । यो रोग एमाओबादी र कांग्रेसमा पनि सल्केको छ । गुण्डा, फटाहा, लुटेरा र समाजका नासुरहरु आज सबै ठुला पार्टीमा हावी हुँदै जानथालेका छन ।
समस्याको जड यहि हो । पार्टी मुखिया भएर नेतृत्व दिन सकिँदैन भने ‘बुढो गोरुले गाइ ओगटेको’ जस्तो गरि कुर्चि ओगटेर बस्नुको के फाइदा ? पार्टी मुखियाको आदेश र निर्देशन नमान्ने जो सुकै ठुला नेता किन नहुन् हिम्मत छ भने कारबाही गरेर देखाउन सक्नुपर्दछ । सकिँदैन भने पार्टीबाट अवकाश लिनु नै उत्तम हो । तर यि ठूला पार्टीका कारणले गर्दा भोलि निर्वाचनमा हत्या, हिँसा र रक्तपात भयो भने घाटा कसलाई हुन्छ ? के नेपाली जनताको ज्यु ज्यान लाइ भुसुना ठान्नु भएको छ तपाइँहरुले ? सबै ठुला नेताहरुलाई बेलैमा चेतना होस !
(लेखक www.janakdangol.blogspot.com ब्लगका ब्लगरपनि हुन्)




