किउलको खेतालो-बाहुन
● आनन्दराम पौडेल
जीवनभरी सङ्घर्ष गर्दापनि आफ्नो भागमा दु:ख, कष्ट र पीडा मात्रै परेकोले र कम्युनिष्ट पार्टीले सधैं सीमान्तिकृत वर्गको कुरा गरेकोले होला सोमप्रसाद भण्डारीलाइ कम्युनिष्ट पार्टीसँग अलि बढी नै आशा र भरोशा थियो । तर, ५\६ बर्ष यता आफ्नै घरगाउँमा आएका कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेताहरुले सधैं जात र सम्प्रदायको मात्र कुरा गर्न थालेपछि सोमप्रसादको मन भरङ्ग भयो । सिन्धुपाल्चोकका जिल्लास्तरीय कम्युनिष्ट नेताहरु किउल गाबिसमा बारम्बार आइरहन्थे । बाहुनहरु सबै शोषक, ठालु हुन् ‘रे। अब बाहुनका सन्तानले केही पाउँदैनन् भन्नथाले । हिजो पार्टी नफुट्दै माओवादी पार्टीका जिल्ला नेताले यही भन्थे, अहिले फुटेर बनेको ड्यास माओवादी पार्टीका जिल्ला नेताले पनि यही भ ने। जात, सम्प्रदायको राजनीतिलाइ “पहिचानको राजनीति” भन्नु भनेर सम्झाए ।
सोमप्रसादलाइ असह्य भयो । जिन्दगिभरी दु:ख गर्दा यति पीडा भएको थिएन, जति कम्युनिष्ट पार्टीले वर्ग सङ्घर्ष र वर्गीय दृष्टिकोण छाडेर जातमा हाम्फालेकोमा भयो । केन्द्रीय नेताको मुखबाट नसुनुञ्जेल सोमप्रसादलाइ पत्याउन गाह्रो परेको थियो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पार्टीले ठूलो कार्यक्रम राखेको छ, केन्द्रीय नेताहरु पनि आउँछन् भन्ने सुनेर त्यतै हान्निए ।
ठूलो कार्यक्रमको ठूलै भीडभाड । केन्द्रीय नेताहरु त थुप्रै आएका रहेछन् । केही परिचित र कतिपय अपरिचित अनुहारहरु । २० बर्षअघि आफ्नै जिल्लाको हाइस्कुलमा पढाइरहेका शिक्षकपनि केन्द्रीय नेता भएका रहेछन् । एकजना जिल्ला नेताको मद्दत लिएर सोमप्रसादले केन्द्रीय नेतासँग भेट्ने धोको पूरा गरे। जिन्दगिभरी बेसाएको दु:खको पोको फुकाए । जिन्दगिको यो मुकाममा वर्ग छाडेर जातमा ओर्लँदा कहाँ न्याय होला भनेर प्रश्न राखे। गुनासो सबै सुनिसकेपछि केन्द्रीय नेताले भने, “के गर्नु कामरेड, पार्टीले वर्गसङ्घर्ष छाडेर जातको राजनीतिमा जाने निर्णय गरिसक्यो । बरु, जातको राजनीतिलाइ ‘पहिचानको राजनीति’ भन्नुपर्ला ।” यो प्रष्ट कुरा सुनिसकेपछि सोमप्रसादको लागि सुन्न केही बाँकि रहेन । केन्द्रीय नेतासँग विदावादी भएर हिंडे ।
संशय, द्विविधा केही वाँकि रहेन । सबै छ्याङ्ग भयो । तिब्र भोकको अनुभूति भयो । केन्द्रीय नेतासँग भेट्ने व्यग्रताले गर्दा सायद भोकप्यास सबै किनारा लागेका थिए । एक्कैचोटी भोक, प्यास र थकाइको महसुस गरे र गल्लीको एउटा रेष्टुराँमा छिरे । टन्न पानी पिए । तारेको चना एक प्लेट र चियाको अर्डर गरेर कुनाको कुर्सीमा बसे । चना खाइसक्दानसक्दै आफ्नै जीवनको विगततिर झाँकेर हेरे । सिन्धुपाल्चोकको किउल गाविसमा २०१५ सालमा जन्मेका रहेछन् । जान्ने भएदेखि जमिन्दारको खेतालाबाहेक आफ्नो अरु परिचय थाहा छैन । किउलमा एउटा सानो झुप्रो छ, जहाँ उनीसँगै अभाव, दु:ख र पीडा बस्ने गर्छन् । उनीजस्तै साहुका खेतालाहरु उनको वडामा मात्रै ५० परिवार छन् । बिडम्बना के छभने खेताला परिवारमा अधिकांश बाहुनहरु छन्, तर जनजातिमा दरिएकाहरुचाहीं साहु हुन् । उनीजस्ता जन्मदै खेतालामा दरिएका बाहुनहरु जताततै छन् । जस्ले अक्षर चिन्न पाएनन् । खेतालामा दरिएका यी बाहुनहरु खेत जोत्न, बारीको डल्ला फोर्न र घाँस काट्न जाँदा ती आदिवासी भनिएका र जनजातिमा दरिएका साहुका छोराछोरी स्कुल, कलेज गैरहेका हुन्थे ।
२०३४ सालमा उनी १९ बर्षका थिए । उपेक्षित र तिरस्कृत जीवनदेखि वाक्कदिक्क भएर एकरात १२ वजेतिर घरबाट निस्के । अर्को दिन बेलुका काठमाडौं आइपुगे । पेटीमै बास बसे । एउटा ट्रक चढेर जनकपुर पुगे । एउटा स्कुलमा भात पकाउने काम गरे । “बर्म गएपनि कर्म सँगै” भनेजस्तो त्यहाँपनि जीवनको मुहारमा उज्यालोको किरण छिरेन । कुनै सम्भावना नदेखेपछि सिन्धुपाल्चोकको किउलमै फर्केर आए । किउल फर्केको दिन “घुमिफिरी रुम्जाटार” उखान सम्झे । आफूजस्तै जीवनभरी साहुको खेताला बसेका दु:खीहरु बटुलेर २०५० सालमा “भूमिअधिकार मञ्च” गठन गरे । अरुथोक केही गर्न नसकेपनि “भूमिअधिकार मञ्च”को देशव्यापी सञ्जाल छ । भूमिअधिकार मञ्चको प्रसङ्ग आउनासाथ झट्ट सम्झे, “हाम्रो भूमि अधिकार आन्दोलनलाइ यी पार्टीहरुले प्रयोग गर्न निकै कोशिस गरेका छन् । पार्टीको भित्र्याँस आज छयाङ्ग देखें । हाम्रो यो अभियानलाइ पार्टीहरुको भ-याङ बनाउन दिन्न ।” यो अठोट र सङ्कल्प गरिसक्दा अनायासै मुठी कस्सियो । कस्सिएकै मुठी लिएर जुरुक्क उठे ।




