केटाकेटी पो जिम्मेवार

आनन्दराम पौडेल

anandaram-paudel-33434असार (२०७०) तेश्रो हप्ताको एक दिन जगदीशजी बझाङ चैनपुरको सडक छेउमा बसिरहेका थिए । परबाट एकहूल मानिस आएको देखेर त्यतै आँखा तन्काए । प्रौढ र युवाभन्दा केटाकेटीको संख्या बढी थियो । एउटा कलिलो केटो अलि अगाडी-अगाडी आइरहेको देखे । केटो मायालाग्दो थियो । कपडा बाक्लो तर मैलो थियो । लामालामा कपाल पनि मैलो नै थियो र अनुहार क्लान्त थियो। पिठ्युँमा गह्रुङ्गो झोला थियो । बाहिरी आवरण जस्तो भएपनि उस्का पाइलामा आत्मविश्वास प्रष्ट झल्कन्थ्यो । जगदीशजीलाइ किन-किन त्यो केटोसँग सम्बाद गर्ने उत्कट चाहना भयो । नजिकै बोलाए, र सम्बाद शुरु गरे ।

“कहाँका ह्वौ ?” जगदीशले सोधे ।

“भैरवनाथ गाविस, वडा नं ६, लोतुका ह्वौं ।”

“नाम के हो तिम्रो ?”

“राजेन्द्र बोहोरा।” राजेन्द्रले फटाफट उत्तर दिए ।

“कहाँ गएर आयाका ह्वौ ?”

“यार्सागुम्बु टिप्न गयाका थियौं।” 

केटोको फटाफट उत्तर दिने शैलीले जगदीश प्रभावित भए। यार्सागुम्बु टिप्ने अनुभव सुन्न लालायितपनि थिए । सँगै खाजा खाने प्रस्ताव राखे। र नजिकै होटलमा लिएर गए। राजेन्द्र साँच्चै भोकाएको रहेछ। थपि-थपि खाए । खाजा खाइसकेपछि चियाको अर्डर गरे । र सम्बादलाइ अघि बढाए ।

“यार्सागुम्बु टिप्न तिमीहरु कतिजना गएका थियौ ?” जगदीशले सोधे।

“हाम्रो गाउँ लोतुका मात्रै ७ जना गएका थियौं। अन्यत्रका समेत् गरेर त्यहाँ ६० जना जति पुगेका थिए ।”

“केटाकेटीले यो धन्दा कहिलेदेखि शुरु ग-यौ ?”

“कुन धन्दा ?” नवुझेर होला, राजेन्द्रले जगदीशतिर हेरेर सोधे ।

“यही यार्सागुम्बु टिप्ने काम ।”

“हाम्रो गाउँका केटाकेटीमध्ये यो काममा लाग्ने पहिलो व्यक्ति मै हुँ।”

“तिमी कहिलेदेखि लाग्यौ ।”

“म पोहोरदेखि लागेको हुँ । पोहोर ११५ वटा यार्सा टिपें । त्यस्को रु.८० हजारजति पाएको थिएँ । मैले आफैंले टिपेका यार्सा वेचेर ८० हजार कमाएँ भनेर सुनाएपछि मेरै गाउँका मेरा साथिहरु यस्पालि यार्सा टिप्न जान तम्सिए। त्यसैले, यस्पालि ती ६ जना साथिहरुसहित हामी ७ जना थियौं । हामी ७ जनामध्ये मानबहादुर १३ बर्षको छ र पार्वती बोहोरा १० बर्षकी छे । बाँकि हामी एउटै उमेरका छौं ।” राजेन्द्र बोहोराले बेलिबिस्तार लगाए ।

“यस्पालि कति टिप्यौ त ?”

“मानबहादुर र मैले १२५ वटा टिप्यौं। पार्वतीले १०२ वटा टिपी ।”

“यार्सा टिप्न कहाँ पुग्छौ ?”

“साइपाल हिमालमा ।”

“यार्सा टिप्न कति दिन लगायौ ?”

“दुई महिना ।”

“दुई महिना हिमालमा बस्दा पढाई बर्बाद हुँदैन ?”

“यार्सागुम्बु टिप्ने सिजनमा बिद्यालय बन्द हुन्छ ।”

“कुन बिद्यालयमा पढ्छौ ?”

“लोतुकै पौभेरी प्राबिमा पढ्छु । हामी सातैजना त्यही स्कुलमा पढ्छौं ।”

“यार्सागुम्बु बेचेको पैसा के गर्छौ ?”

“पोहोर भाउज्युको हात भाँच्चिएकोले उपचारमा खर्च भयो। यस्पालिको पैसाले त घर बनाउनुपर्छ। हाम्रो घर थोत्रो छ ।”

राजेन्द्रको यो जवाफ सुनेर जगदीश गम्भीर भयो । राजेन्द्रको अनुहारमा एकटकले हेरिरह्यो । समाजका अगुवाहरु र राष्ट्रका नेताहरु बाह्रै महिना दिनरात स्वार्थमै तल्लीन हुन्छन् । आफ्नो स्वार्थबाहेक अर्थोक सोच्दैनन् । यो १२ बर्षको कलिलो केटोसँग यत्रो जिम्मेवारीवोध रहेछ । जगदीशले यो राजेन्द्रको अगाडी राष्ट्रिय नेताहरुलाइ तुच्छ देख्यो । जगदीश मौन रहेको देखेर केटो चट्पटायो। बिदा हुन खोज्यो । जगदीशले बाहिरसम्म आएर केटोलाइ सम्मानपुर्वक बिदाई  ग-यो ।

तपाइँको प्रतिक्रिया