एन आर एन मार्फत् कांग्रेसमा मारमुङ्री

ददि सापकोटा

writer-journalist-dadi-sapkota-11045378नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भारतीय नेताहरुलाई भेटेर फर्किएपछि उता नेपालमा देउवा समूह बलियो भएको अड्कल काटिएको छ । मेडियामा त्यस्तै सार्वजनिक भएका छन् । तर यता बिदेशमा भने यतिखेर देउवा कांग्रेस र कोइराला कांग्रेस बिच मारमुङ्री मच्चिएको छ । त्यो मारमुङ्रीमा देउवा कांग्रेसको नराम्रोसित पराजय भएको छ । देउवा र कोइराला कांग्रेसबिचको यो लडाई भने यस पटक एन आर एन बेल्जियम मार्फत छताछुल्ल भएको हो । अझ चाखलाग्दो तथ्य त के छ भने दुई कांग्रेसबिचको यो माररामारीमा नेपालका प्रमुख दलहरुसमेत तानिएका छन् । मुख्य दलहरुनै दुई कांग्रेस मध्ये कुनै एक खेमासित गठबन्धन गर्नाले बेल्जियममा नेपाली नेपालीबिच राजनितिक तानातानी चुलिएको छ ।

युरोपमा सबैभन्दा बढि नेपाली राजनिति बेल्जियममा हुन्छ । किनभने नेपालमा फेला नपरेका राजनितिक दल र समूहपनि बेल्जियममा फेला पर्छन् । हरेक गोष्टी, भेला, पर्व, जमघट सबैमा राजनितिक तानातानी हुन्छ । नेपालका सबै जसो देखिने राजनितिक दलका भात्री संगठन छन् । तिनले आफ्नो वार्षिक अधिवेशनमा नेपालबाट केन्द्रिय नेता बोलाएर तामझामकासाथ राजनितिक गतिबिधी गर्छन् ।

गत महिना नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसंपर्क समितिको अधिबेशन थियो । त्यसकालागि शेर बहादुर देउवा समूहले अध्यक्ष पदकालागि शुभाश जोसीलाई अध्यक्षमा उठाएको थियो । उता कोइराला पक्षले भने प्रेम गुरुङलाई अध्यक्षमा उठायो । यि दुबै पक्षले आआफ्ना पक्षमा सदस्य बनाउन ज्यान दिएर लागे । तानातान गरे । निर्वाचन सम्पन्न गराउन जनसंपर्क समिति (यहाँ नेपाली कांग्रेस बेल्जियम भनेरैपनि सम्बोधन गर्छन् समितिकै पदाधिकारीहरुपनि) ले खर्च हालेर केन्द्रबाट खटिएर आएका थिए अर्जुन जोशी ।

मत गणना शान्तिपूर्ण तरिकाले शुरु भएपछि जोशी सुत्न गए होटेलतिर । राति करिब दुई बजेतिर गंगाधर गौतम रक्सीले चुर पर्दै आएर आक्रमण गरे । उनको पक्षमा धेरै सहभागि भएपछि त्यहाँबाट कोइराला पक्षका प्रेम गुरुङको समूह भाग्यो । उनीहरुले त्यस पद्दतीको बिरोध गरे । तर गंगाधर पक्षले फर्जी मत हालेर जितेकोले त्यसलाई नमान्ने भन्दै बिरोध जनाए । नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा पत्र पठाए । आ आफ्ना संपर्क सूत्र र निकट संवन्ध अनुसार पार्टी सबहपति सुशिल कोइराला र रामचन्द्र पौडेलसम्मपनि यो मुद्दा पुर्‍याएर त्यो निर्वाचन बदर गर्न माग गरे । तर त्यसको सुनुवाई भएन । त्यसरि फर्जी मत हालेर गन्ति गर्दापनि प्रेम गुरुङलाई एक मतले मात्रै देउवा पक्षका शुभास जोशीले जितेको कोइराला पक्षले आरोप लगाइरहेका छन् ।

हो यसैको रिस कहाँ पोख्ने भनेर कोइराला पक्षका कांग्रेसहरु राँक्किएर बसेका थिए । सार्वजनिक मञ्चबाटै कोइराला पक्षकाले देउवा पक्षका नेता गंगाधर पक्षलाई सार्वजनिक बहिस्कार गर्न अव्हान गर्दै आएकापनि थिए । गंगाधर र उनका केहि सिमित गुण्डाहरुले गर्दा बेल्जियमको नेपाली समाज भाँडेकाले तिनलाई सामाजिक बहिस्कार गर्नुपर्ने दाबी कोइराला पक्षिय कांग्रेसको थियो ।

केन्द्रलेपनि जन संपर्क समितिको निर्वाचनमा भएको धाँधालीको छानबिन गर्न वास्ता नगरेपछि बेल्जियमको कोइराला कांग्रेस तातेको थियो । उनीहरु देउवा पक्षलाई कहाँ ठिक पार्न सकिन्छ भन्दै कुरेर बसेका थिए । मौका पाए एन आर एन बेल्जियमको निर्वाचनलाई प्रयोग गर्ने ।

केन्द्रको परिपत्र एन आर एन बेल्जियममा नेपाली कांग्रेसको संयुक्त प्यानल बनाएर जानु भन्ने थियो । तर केन्द्रको निर्देशनलाई उनीहरुले धोती लगाइदिए । र एन आर एन बेल्जियमको अध्यक्ष पदमै देउवा पक्षबाट गंगाधर गौतमले उम्मेदवारी दिए । उनलाई टक्कर दिँदै कोइराला पक्षका प्रेम गुरुङलेपनि अध्यक्ष पदमै उम्मेदवारि दिए । र उम्मेदवारिको घोषणा सँग सँगै दुबै कांग्रेस लागे ज्यान दिएर आआफ्नो पक्षमा एन आर एनका सदस्य बढाउन । दुबै पक्षले लगभग ५०१ को हाराहारीमा सदस्य बनाए ।

त्यति मात्रै होइन, दुबै पक्ष एक अर्कालाई हराउन अन्य राजनितिक दलसित गठनबन्धन गर्नपनि अघि सरे । देउवा पक्षले संघिय समाजवादी पार्टी र एकिक्रित नेकपा माओवादीसित गठबन्धन गर्‍यो । बहुमत पदमा कांग्रेसको राखेर केहि पदमा तालमेल मिलाए । सधै पहिचान सहितको संघियताका पक्षमा लड्दै आएको संघिय समाजवादी पार्टीका युरोप संयोजक पिजी शेर्पालेपनि देउवा कांग्रेससित गठबन्धन गरेर आइसिसि सदस्य पदकलागि उम्मेदवारि दियो ।

उता कोइराला पक्षका कांग्रेसहरुले भने नेकपा एमालेसित गठबन्धन गरे । अध्यक्ष पदमा त कोइराला कांग्रेसकै प्रेम गुरुङ भए । बाँकि पदमा तालमेल मिलाए । यसमा नेकपा-माओवादी निकटको जन प्रगतिशिल मोर्चाले भने भाग लिएन । मोर्चाले एन् आर एनलाई राजनितिक रुपमा भन्दापनि बेल्जियमका नेपालीका साझा समस्या र मुख्य तत्कालिक राजनितिक मुद्दाहरुमा बहस र सहमती गरि साझा उम्मेदवार उठाउन माग गरेको थियो । उनीहरुले यस्ता साझा विषयमा प्रतिज्ञा गरि सहमतीमा अरु संघ संस्थाले पद बाँडफाँड गरे आफुहरु एक सिट नलिईकनै चित्त बुझाउने बताएका थिए । त्यो सहमती कायम नगरि अनेक राजनितिक गुटमा बाँडिएको भन्दै चुनाबी प्रक्रियामा जान जनप्रगतिशिल मोर्चाले अस्विकार गरिदियो ।

अन्तत : सबै दलहरु निर्वाचनमा गए । नामले एन आर एनको निर्वाचन भनिएपनि पुरै राजनितिक निर्वाचन जस्तो थियो । दलहरुआ आफ्ना गुलिया आश्वाशन लिएर सदस्य बनाउन घरघरै पुगेका थिए । अनेक आश्वाशन बाँडेका मिठा पोस्टरहरु बनाएर टाँसिएको थियो । सहमतीको प्रयास गर्नेहरु निरर्थक बने ।

अन्तत निर्वाचन भयो । बेल्जियमका चार मुख शहरमै निर्वाचन केन्द्र तोकिए । जुन निर्वाचन केन्द्रको सदस्य हो त्यहि मतदान गर्नुपर्ने, अन्य केन्द्रमा गएर मतदान गर्न नपाइने । साँझ पाँच बजेसम्म मतदान गर्ने । त्यसपछि सबै निर्वाचन केन्द्रका मत जम्मा पारेर एकै थलोमा राखि अर्को दिन सात जुलाइका दिन गणना गर्ने सहमती थियो । तर ति सहमती एकपछि अर्को गर्दै तोडिए । छ बजेसमम मतदान गर्न दिईयो । एक मतदान केन्द्रको ब्यक्ति अर्कोमा गएर पटक पटकपनि मतदान गरे । मतदान गरेको अर्को दिन मत गणना गर्ने सहमती बिपरित देउवा कंग्रेसका नेता गंगाधर गौतम जो एन आर एन बेल्जियमको अध्यक्ष पदमा उठेका थिए, उनले आजै रातिबाट गन्नुपर्छ भन्दै जबर्जस्ति गरेपछि सोहि साँझबाट गन्न थालियो ।

मत गणना भैरहेको थियो । केन्द्रबाट एन आर एनले पुष्प थापालाई प्रतिनिधीका रुपमा खटाएको थियो । निर्वाचन संयोजक प्रमुख थिए बोधराज पौडेल । यिनैको उपस्थितिमा मत गणना हुँदा हुँदै मत गणनाले देउवा पक्षका गंगाधर गौतम र उनको प्यानलले हार्ने स्थिति देखियो । मत गन्दा कूल परेको मत संख्या भन्दा ३४ मत बढि देखिएको बताइयो । खसेको मत भन्दा गणना गर्दा कसरि ३४ मत बढि भयो ? यसमा धाँधली भयो भन्दै गंगाधर गौतम, पिजी शेर्पा लगायत बाहिरिए । उनीहरु यस्तो धांधलीपूर्ण मतदान नमान्ने बताए । तर निर्वाचन आयोगका सदस्यको रोहबरमा बाँकिले मत गणना जारि राखे । बिहान अत्यधिक मतले कोइराला कांग्रेस पक्षको गठबन्धले जितेको घोषणा गरियो ।

मत गणना सकिएर गणना गर्न लाग्दानै एमाले र कोइराला पक्षिय गठबन्धनको मत गंगाधर पक्षको भन्दा बढि थियो । उनीहरुले हार्ने संकेत मत गणना शुरु हुनासाथै देखा परेको यो पंक्तिकारलाई बेल्जियमका नेपालीहरुले बताए । त्यसैगरि, जन संपर्क समितिको निर्वाचनमा राति दुई बजेतिर जाँड खाएर आक्रमण शुरु गरेपछि सबैलाई भगाएर मत कब्जा गरेको आरोप थेग्दै आएका गंगाधर आफैं अध्यक्षका उम्मेदवार थिए । र उनले निर्वाचन हुनु केहिदिन अघि आफ्ना अति निकटका ब्यक्तिहरुसित गोप्य छलफल गरेर जसरिपनि आफुहरुले निर्वाचन जित्नुपर्ने । कथंकदाचित हार्ने अवस्था देखिएमा कि त केहि मत पेटिका मिल्काउने, मतपत्र च्यात्ने र धाँधली भएको भन्दै बदर गराउने, सकेसम्म आफुलेनै जित्ने भन्ने गोप्य छलफल गरेको बेल्जियमको स्रोतले जनाएको थियो । उनले चुनाव जित्न आफ्नै गठनबन्धमा सहभागिहरुलाईपनि ‘पहिचान पक्षकालाई त मैले भोट लिन मात्रै राख्या, तिनलाई भोट नदिनुहोला’ भन्दै उक्साएको र उता कोइराला पक्ष पुरै पहिचान पक्षसित लागेकाले जातिय राजनिति गर्ने लाई भोट दिनुहुन्न भन्दै प्रचार गरेका थिए ।

तर त्यहाँ मतदान केन्द्रमा दुबै पक्षको बलियो उपस्थिति र कडा सुरक्षा गरिएकाले घारगुर गर्न सकेनन् । देउवा पक्षियहरु घाँधली भयो भन्दै मत गणना केन्द्रबाट बाहिरिए । तर उनीहरुले त्यहाँ जति मत बढि भएको हो त्यसलाइ बदर गर्ने, फर्जि मत भए अमान्य घोषित गर्ने वा निर्वाचन समितिसित अन्य बिकल्पका बारेमा छलफल गर्नतिरै लागेनन् । बरु आफुहरुले असुरक्षित महसुस गरेकाले हिँडेको दाबी गरे । तर बेल्जियम सरकारले जहाँ जस्तुसुकै अवस्थामापनि सुरक्षा मागेमा दिने तथ्यलाई उनीहरुले भुले । मतदानको परिणामले आफुहरु हार्ने स्थिति देखिएपछि हिँडेकालेपनि उनीहरुको दाबीलाई विश्वास गर्नेहरुको संख्या पातलो छ ।

तर यसपछि नेपाली कांग्रेसको राजनिति भने बडो चाखलाग्दो बनेको छ । निर्वाचन सकिएपछि संघिय समाजवादी पार्टी र एकिक्रित नेकपा माओवादीले गंगाधर गौतमसित गठबन्धन गरेकामा पछुताएका छन् । किन भने गंगाघर गौतम बिगत देखिनै बिबादित ब्यक्ति हुन् । धेरै कार्यक्रममा उनले डाङडुङ गर्ने, झैझगडा मच्चाउने र बिक्रित राजनिति भित्र्याएर बेल्जियमका नेपालीहरुबिच भाँडभैलो मच्चाएको आरोप खेप्दै आएका छन् । एन आर एन नेपालीहरुको अन्तर्राष्ट्रिय मञ्च भएकालेपनि नेपाली जनसम्पर्क समितिको निर्वाचनमा भन्दा यसलाई कोइराला पक्षका कांग्रेसले ठूलो बिजयको रुपमा लिएको छ । अब उनीहरुले बेल्जियममा देउवा कंग्रेसको राजनिति करिब करिब सक्किएको र आफुहरुको हात अब माथि पर्ने आँकलनपनि गरेका छन् । उता एकिक्रित नेकपा माओवादीलाईपनि यो राजनितिले झड्का दिएको छ । एकातिर आफ्ना सबै आदर्श, निति र राजनितिक मुद्दा त्यागेर आफैंले राजाबादी कांग्रेस भन्दै आएका देउवा कांग्रेससित मिल्नु । निर्वाचनमा हारपनि खानुले उनीहरुको ठूलो पराजय भएको अनुमान गर्नेपनि निकै छन् । ड्यास माओवादीको निकट जनप्रगतिशिल मोर्चाले भने यहि मेसोमा आफुहरुले सहि निति लिएको भन्दै जुँघामा ताउ लगाएका छन् । तर यो निर्वाचनलाई जसरिपनि बदर गराउनुपर्छ भन्दै भित्र भित्रै अनेक खेलहरु शुरु भएकोपनि बेल्जियमस्थित स्रोतहरुले जानकारि दिएका छन् । एन आर एन बेल्जियमको यस निर्वाचनमा सबै राजनितिक दल बिभाजित भएकाले बेल्जियममा अबको राजनिति कता जान्छ भन्ने धेरैलाई चासो बनिरहेको छ ।

(यसका अधिकांश भाग गत बुधबारको जन आस्था साप्ताहिकमा प्रकाशित भएका छन् ।)

तपाइँको प्रतिक्रिया