कम्युनिष्ठको तरिकाले समाज नहेर्ने नेपाली कम्युनिष्ट
● सिद्धिचरण भटराई / काठमाडौं
नेपालको युवा आन्दोलनको बारेका केही बिकृत पक्षबारे लुम्बिनीका मिडियामा केही प्रश्न उठाउने कोशिस गरेँ । त्यस लेखमा धेरै पाठकहरुले फोन गरेरै प्रतिक्रिया दिनु भयो । यसपछि खासगरी हामीले उठाउन खोजेको आन्दोलनको नयाँ दिशा कस्तो हुनेछ भन्ने बारे अझ बढि बहस गर्न जरुरी ठानेको छु । यसपटक युवा कम्युनिष्ट हुनु भनेको केहो ? र कम्युनिष्ट युवाहरुको मुख्य कर्तव्य केहो भन्ने बारेमा हाम्रा युवाहरुका विचमा छलफल चलाउनु त्यो पनि आजको देशको सन्दर्भमा म त्यो यसलेखबाट कोशिस गर्नेछु ।
क्रान्तिकारी समाजवादी आन्दोलनका महान नेता लेनिनले युवाहरुको मुख्य कामलाई एक शब्दमा अभिव्यक्त गर्दै भन्नुभएको छ त्यो हो “सिक्नु” । तर के सिक्ने र कसरी सिक्ने भन्ने बिषयमा पनि लामो व्याख्या गर्नु भएको छ । युवा पुस्ताको प्रयत्नबाट नै पुरानो समाज भन्दा भिन्न समाज निर्माण गर्न सकिनेछ । त्यसर्थ उनिहरुको पढाई, सिकाई र अनुशासनको बिषयमा ध्यान दिँदै हामीले जे काम शुरु गरेका छौं त्यसलाई राम्रो संग सम्पन्न गर्ने क्षमता राखुन । नेपालको सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र संस्थागत विकास र त्यसपछि नेपालको शान्ति र समृद्धिको काम । यी काम आजका युवा पुस्ताले नै पुरानो पुस्ताका सबै खराबीलाई निरन्तरता दिएर होइन । गलत शिक्षाहरुलाई मिल्काएर मात्र पुरा गर्न सक्नेछन । अर्थात उनिहरुको निरन्तर क्रान्तिकारीकरणको प्रक्रियाबाट मात्र संभव हुनेछ ।
अहिलेका प्राय नेपाली कम्युनिष्टहरु कम्युनिष्टको तरिकाले समाजलाई हेर्दैनन । व्यवहार पनि कम्युनिष्ट अनुकुलको गर्दैनन । स्वभाविक रुपमा दर्शन फरक लिने र विचार फरक बोकेको ढोँग गर्ने । तर समाजलाई परिवर्तनवादी विचारले होइन, यथास्थितीमा मात्र बुझने तरिका आजका हाम्रा कम्युनिष्टहरुको छ । यसरी त कहिल्यै कम्युनिष्ट हुन सकिदैन । किताव पढेको भरमा कम्युनिष्ट बनेका र साम्यवादी बौद्धिक विलासमा रम्नेहरुको ठूलै जमात हामी संग छ । तर सिद्धान्तलाई व्यवहारसंग जोडने व्यक्तिहरुको टिठ लाग्दो अवस्था आजको हाम्रो वास्तविकता हो । यसैले आजका युवा कम्युनिष्टहरुको दायित्व साम्यवादका पुराना कितावहरु पढनु र त्यसलाई रटनु श्रमजिवि जनताको नाम लिँदै केही चर्का भाषण मात्र गर्नु होइन । यस्तो बौद्धिक विलासिता बारे लेनिनले भन्नु भएको छ “साम्यवादका पाठयपुस्तक पढनु र समाजलाई त्यसतर्फ रुपान्तरण गर्न एउटा पनि गहकिलो काम नगर्नु निकै भद्धा व्यवहार हो । ”
आजका युवा कम्युनिष्टहरुले सोँच्ने कुरा के हो भने आजका नेपाली कम्युनिष्ट नेताहरु युवा कालमै मुलुकको नेता भएका थिए र शासनको बागडोर पनि सम्हाले । तर पनि नेपालको आमुल परिवर्तन र हामीले ल्याउन खोजेको जनवादी परिवर्तन किन एउटा कागजी घोडा मात्र बन्यो जीवनको घोडा हुन सकेन ? हो हामीले श्रमजिवी जनताको मुक्ति संग राष्ट्रिय मुक्तिको आन्दोलन, सामन्ति राज्यसत्ताबाट पुँजीवादी समाज रुपान्तरणको आन्दोलनका चरित्र, हामिले अपनाउन खोजेका यावत आर्थिक, सामाजिक र राजनीतिक प्रणालीलाई जीवनका आवश्यकता र नेपाली उत्पादन संम्वन्ध संगको चरित्र संग बुझने गरेनौं । हामी के सिक्यौं र के सिकायौं ? उहि जनवाद, समाजवाद र साम्यवादका किताव पढन र त्यसमा बहस गर्न सिकायौं । तर ती कुरालाई समाजको यथार्थता संग तुलना गर्न र त्यसलाई बदल्ने चेतनासंग तालमेल मिलाउने गरी आन्दोलनलाई निरन्तर चलाउने जिम्मा लिएनौं ।
हामी क्रान्तिलाई कित जडसुत्रमा बुझयौं कित बौद्धिक बिलासिताका रुपमा । या अमुक देशलाई समाजवादी मान्ने कि नमान्ने जस्ता बहसमा अलमलियौं । तर जीवन बुझेनौं । क्रान्तिकारी रोमान्स र काल्पनिकता भित्रको आदर्शबाद हाम्रो सैद्धान्तिक जीवन बन्यो । यही भएर नेपाली क्रान्तिका एक फरक चिन्तक मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनको गलत सोँचमा प्रहार गर्दै भन्नु भएको थियो “सिद्धान्तका लागि जीवन होइन जीवनका लागि सिद्धान्त हुनुपर्छ ।”
आजको युवा आन्दोलनले बुझनु पर्ने कुरा के हो भने नेपाललाई स्वाधिन नेपाल, समृद्ध नेपाल, शान्त, सुखी र सुरक्षित नेपाली बनाउन आजका युवाका दायित्व के हुन ? राजनीतिमा उनिहरुले पाउने स्थान के हो ? समाजको सबैभन्दा उत्पादनशिल हिस्सालाई राजनीतिले कसरी लिन्छ ? उनिहरुलाई राष्ट्रिय उर्जाशक्तिको रुपमा बुझछ या बुझदैन ? यदी बुझदछ भने उनिहरुलाई राजनीतिले के काम दिन्छ ? । नेपाली कम्युनिष्ट पार्टीहरु पनि बुर्जुवाहरु जसरी युवाहरुलाई संगठन गर्ने मात्र काम दिएका छन । बेरोजगार संगठनको रुपमा संगठित गर्ने काम तर उनिहरुलाई जीविकोपार्जन र जीवन बदल्ने उपाय संगै राष्ट्र बदल्ने उपाय दिन सकेका छैनन । अर्थात युवा शक्तिलाई आफनो पार्टी पक्षमा प्रचार गर्ने र सशक्त सुरक्षा दस्ता भन्दा बढिको काम नदिने प्रबृति हावी छ । यो भनेको नितान्त बुर्जुवा व्यवहार हो, परिवर्तनकारी र क्रान्तिकारी तरिका होइन ।
हो युवा शक्ति क्रान्तिका सबैभन्दा आधारस्तम्भ हुन । समाजको सबैभन्दा उत्पादनशिल र ठूलो हिस्सा भएको नाताले आजको युवा बेरोजगार छ । बिद्यार्थि छ । मज्दुर किसान, कर्मचारी सबै छ । आजको युवाको चरित्र के छ ? यो पंक्ति राजनीतिमा कम बिश्वास । नेताहरु प्रति घृणाभाव । अराजक र उग्रकुराले प्रभावित । दुव्र्यसन, कुलत, बैदेशिक सष्कृतिको चर्को प्रभावमा छ । यो धेरै हदसम्म मुलुककै लागि खतराको रुपमा रहेको छ । उनिहरुलाई राजनीतिप्रति विश्वसनिय बनाउन पहिले उनिहरुलाई हिजोको जस्तो व्यवहार संग कटेको राजनीति होइन आफना वर्गिय सवाल संग जोडिएको राजनीतिमा जोड्दै राजनीति प्रतिको उसको उदासिनता हटाउँदै अगाडि लैजान जरुरी छ । अवका दिनमा नयाँ नेपाल बनाउने राजनीतिको जिम्मा उनिहरुलाई दिनुपर्छ । अर्थात उनिहरुमा आशाहरुको विघटन र निराशाहरुले घरजम भयो भने त्यो हानिकारक हुन्छ । जुनकुरा आजको युवाले नेपालमा भविश्य देख्न छाडिसकेको हामी सबैलाई थाहा छ । आफनो भविश्य लण्डन, अमेरिका, जापान र कोरियामा मात्र देखिरहेको छ हामी यसलाई बदल्न सक्नुपर्छ ।
अर्कोतिर आजको नवजात युवा काम खोज्छ, रोजगारी खोज्छ तर उ स्वयं श्रमलाई सम्मान गर्दैन । अर्थात बुर्जुवा शिक्षाको परिणाम स्वरुप उ आज शैक्षिक बेरोजगारको भिड भित्र छ । तर घर आँगन, करेसाबारी, खेत र खलिहान बाँझै राखेर दिनभरी हल्लिन तयार छ तर एक माना खुर्सानी उर्मान उ लाज मान्छ । एउटा गाई पाल्न र गोवर फाल्नु उसले पाएको शैक्षिक बेरोजगार प्रमाणपत्रको सम्मानको खिलाफ हुन्छ । तर आफुले पाएको शिक्षालाई सिर्जनात्मक रुपमा उपयोग गर्दै एउटा मात्र होइन दशविस गाई पालेर व्यवसायिक बन्नु सबैभन्दा क्रान्तिकारी काम हो भन्ने उ बुझदैन र बुझाइँदैन । आजका युवाले सोचमा परिवर्तन ल्याउँदै आफुलाई सिद्धान्त र व्यवहार दुवैमा क्रान्तिकारी बनाउनु पर्छ । पुरानो नेपाललाई बदल्ने हो भने यो काम पनि क्रान्तिकारी काम नै हो ।
लेनिनले रुसका युवाहरुलाई संझाउँदै नवोदित सोभियत गणतन्त्रको पहिलो सामरिक महत्वको काम आर्थिक पुननिर्माण हो । त्यसको लागि उद्योग र कृषिको पुननिर्माण गर्नु पर्छ । यसका लागि आर्थिक क्रान्तिको लागि पूर्वशर्त हो बिजुली अर्थात बिद्युतीकरण । यो काम अब पुरानो पुस्ताले गर्ने छैन भन्नु भएको थियो । ठिक नेपालमा गणतन्त्रलाई जोगाउने हो भने दीगो राजनीतिका लागि आर्थिक क्रान्तिको जिम्मा पनि युवाले नै लिनुपर्छ । अध्यारोमा निस्सासिएको नेपाललाई आर्थिक पराधिनताको कुचक्रबाट मुक्त गर्न बिद्युतीकरण गर्न जरुरी छ । त्यसका लागि बिद्युत उत्पादन बढाउनु पर्छ । त्यो स्वाधिनताकै मुल्यका साथ । यसले नेपालमा सानो तिनो उत्पादन गर्नका लागि मात्र होइन बिशाल औद्योगिकरणका लागि ढोका उघार्नेछ ।
आजको युवाले यो पनि बुझनु पर्दछ कुनै कम्युनिष्ट नेता सरकारको प्रधानमन्त्री हुँदैमा जनताले राहत र समृद्धि पाउँदैनन । उसमा कम्युनिष्ट नैतिकता र कम्युनिष्टको तरिकाले सोँच्ने दिमाग हुनै पर्दछ । अझ उन्नत लोकतन्त्र नै जनवाद हो । अझ उन्नत जनवाद नै समाजवाद हो र अझ उन्नत समाजवाद नै साम्यवाद हो । अर्थात यसैगरी सकारात्मक अझ परिष्क्रित व्यवस्थातर्फको रुपान्तरणलाई हामीले बुझनु पर्दछ । शब्दको भुलभुलैयामा भन्दा जीवनका यर्थाथताहरुलाई बढि भन्दा बढि बुझने कोशिस गर्नु पर्दछ । उसले खासगरी पुरानो समाजको बिरासतको रुपमा रहेको कि लुट, कि लुटन देउ, कि अरुलाई आफनो निम्ति काम गर्न लगाउँ कि अरुका निम्ति काम गर, कि अरुलाई आफनो दास बनाउ कि आफु अरुको दास बन भन्ने मान्यता बोकेको पुरानो सत्तालाई परिवर्तन गर्नु पर्छ भन्ने हेक्का राख्नु पर्छ । किनकी यसरी समाज न्याय र समानताको नजिक पुग्दैन । हामीले युवा आन्दोलनलाई वासिएलकरण गरी अराजक परिचय बनाउन र पार्टीका अघोषित मिलिसियाको रुपमा चिनाउने होइन । सिर्जना र उन्नतीका नायक शक्तिका रुपमा चिनाउने कोशिस गरौं । त्यही अनुरुप अध्ययन, शिक्षा र अनुशासनले युक्त व्यवहारले खारिएका उत्पादक शक्तिको रुपमा स्थापित गरौं ।
बिश्वव्यापी शोषण गहिरिएको छ, सूचना र सञ्चार प्रविधिको विकासले विश्वव्यापीकरणलाई तिव्रता दिएको छ । तर बिश्वव्यापी शोषण बिरुद्धको आन्दोलन बिकसित भएको छैन । केही राष्ट्रहरु आर्थिक विकासको दौडमा छन । तर आर्थिक असामनता विश्वसमाजका असन्तुष्टिहरुलाई समाधान गर्न सकिरहेका छैनन । बिश्व जनसंख्याको अधिकांस हिस्सा युवाको छ । तर आजको युवा स्थानिय वर्गिय शोषणसंग विश्व पुँजिवादको अन्तरसम्वन्ध छ । त्यो विश्वव्यापीकरणको प्रक्रियामा जोडिएको छ भन्ने कुराले अझ शिक्षित हुन सकेको छैन । उ संग संसार संग जोडिने मोवाइल, इन्टरनेट, आइप्याड छ । तर सूचना सञ्जालबाट आउने सूचनाको बिश्लेषण गर्ने त्यसका गलत प्रभावबाट जोगिने, बहुराष्ट्रिय निगमहरुका बृहत उत्पादन र शोषणका रुपलाई बुझने र आफनो विचार राख्ने ल्याकत राख्दैन । अर्थात ‘लुट या लुटन देउ’ व्यवस्था बदल्न अलिक फरक ढंगले सोँच्ने काम नगरी उ कसरी कम्युनिष्ट युवक हुन सक्छ ? आजका युवामा हामीले यही आलोचनात्मक अध्ययन बिधिको माक्र्सवादी चेतना र द्धन्द्धवादी विचार उत्पन्न नगरी कसरी आजको युगको कम्युनिष्ट निर्माण गर्न सक्छौं ?
यही कुरा नबुझेर हामीले सहजै भाषण गरिदिन्छौं, युवा संघ भित्र डन भित्राउने योजना गर्छौ । गुण्डागर्दी लुटलाई प्रसय दिन्छौ । बदनाम बिहारी शैलीको अनुसरण गर्दै चुनाव जित्नका लागि एउटा ग्यांग त्रासदीलाई बढावा दिन खोज्छौ । यसरी त हामीले न युवालाई बदल्न सक्छौं न समाजलाई । फगत चल्ती चलाते राजनीतिमा समय विताउन मात्र हामी कम्युनिष्ट भएका हुन्छौं । केही संसदीय पदको ख्वाव देखेर राजनीतिमा स्थान बनाउन खोज्ने तर समाजलाई बदलेर लोकतान्त्रिक र समाजवादी नैतिकताले भरिएको समाज बनाउने कुरामा ध्यान नदिने पुरातन, यथास्थितीवादी नेतृत्वलाई आजका युवाले नफेरी नेपाली समाज अगाडि बढन सक्दैन । समयमै यो सानो मसालले चेतना दिओस ।




