छुलछुली मुत्ने पहाडे हाकिम
● आनन्दराम पौडेल
“के हो जिशिअ साहब, जिल्लामा आएको रकम फ्रीज गराउने ?” शहीद कन्हैया प्रावि, बेलहिया, बाराका अध्यक्षले भने ।
“कुन रकम फ्रीज गराएँ मैले ?” बाराका जिशिअ अरुणकुमार कोइरालाले सोधे ।
“शहीद गिर्जापति कन्हैया प्रावि, बानियापुर-५ को नाममा आएको रकम फ्रीज गराउँदै हुनुहुन्छ त ।”
मन्त्रीपरिषदको मिति २०६९\ ०९\ २३ को निर्णय अनुसार भनि शिक्षा विभागले मिति २०६९\ ११\ १४ को पत्रसाथ पठाएको निकासा रकम साँच्चै अलपत्र परेको थियो । सोही निर्णयअनुसार शिक्षा विभागले तराईका ३१ जिल्लामा यस्तो रकम पठाएको रहेछ । शिक्षा कार्यालयको रेकर्डमा त्यो बिद्यालयको नामनामेसी थिएन । त्यो बिद्यालयको बिषयमा जिशिअले गाविस कार्यालयलाइ पत्र लेखेरै सोधेका थिए, ‘त्यो नामको बिद्यालय यो गाबिसमा छैन’ भनि जवाफ प्राप्त भएको थियो । त्यतिले चित्त नवुझी बिद्यालय निरीक्षकहरुलाइ समेत् खटाएर रिपोर्ट लिएका थिए । यो बिद्यालय बारा जिल्लामा छँदैछैन भन्नेमा जिशिअ अरुणकुमार कोइराला ढुक्क थिए ।
मधेशी नेता र मन्त्रीहरुले हुँदोनहुँदो, जथाभावी बजेट निकासा गराउने र श्रेस्ता कागज मिलाएर बाँडचुँड गरी खाने चलन पूर्वी तराईमा अत्यधिक बढी छ भन्ने त अरुणजीले बारामा आउनु अघि नै सुनेका थिए । त्यही चलन र परम्परा अनुसार यो बजेट निकासा भएको हुनुपर्छ भनेर ठम्याउन जिशिअलाइ गाह्रो परेन । गाविस सचिवदेखि बिद्यालय निरीक्षकसम्मका प्रतिवेदनहरु लिई शहीद गिर्जापति कन्हैया प्रावि, बानियापुर-५ नामको बिद्यालयको अस्तित्व छैन भन्ने निस्कर्षमा पुगेका जिशिअ डग्ने कुरो भएन । त्यो बिद्यालयको नाममा निकासा भएको रकम फ्रीज भएपनि जिशिअको थाप्लामा त्यस्को दोष आउने सम्भावना थिएन । त्यसैले, जिशिअले झन् दह्रो अडान राखेर भने, “त्यो बिद्यालय नै छैनभने हुँदैनभएको बिद्यालयको रकम फ्रीज भएकोमा तपाईंहरुलाइ किन चिन्ता ?”
“एउटा ‘गिर्जापति’ शव्द नभएको न हो। बाँकि त हाम्रो बिद्यालयको नामसँग ठ्याक्कै मिल्छ । यति मिलेपछि त हामीलाइ निकासा छाडिदिनुहोस् । हाम्रो जिल्लामा आएको रकम जिल्ला भित्रै रह्यो, र हामीले त्यो रकम खेलाउनपनि पायौं ।” शहीद कन्हैया प्रावि, बेलहिया, बाराका अध्यक्षले भने ।
“त्यो एउटा शव्दमात्र फरक परेको हैन, ठेगानापनि त फरक छनि । यो बानियापुर-५ को बिद्यालयको लागि बजेट निकासा आएको छ, तपाईंहरुको बिद्यालय बेलहियामा छ । एउटा शव्दमात्र नमिलेको बिषयमा भन्ने होभने अस्तिको दिन गिर्जापति प्राबि, बरियारपुरका अध्यक्षपनि आएका थिए । उनीहरुपनि तपाईंहरुले जस्तै, ‘जिल्लाभित्र आइसकेको यो रकम फ्रीज गराउन भएन । हामीलाइ निकासा दिनुप-यो’ भन्न आएका थिए । तपाईंको बिद्यालयसँग त एउटा शव्द मात्र ह्वैन, ठाउँको नामपनि मिल्दैन । उनीहरुको बिद्यालयसँग त ठाउँको नामपनि मिल्दोजुल्दो छ । त्यो बिद्यालयको नामपनि ‘गिर्जापति’ नै हो, र ठेगानापनि ‘बानियापुर’ को स्थानमा ‘बरियारपुर’ हो । यति हुँदा त मैले निकासा दिइन ।” जिशिअ अरुणकुमार कोइरालाले भने ।
शहीद कन्हैया प्राबि, बेलहियाका अध्यक्षले जिशिअ यति कडा होलान् भनेर सोचेका थिएनन् । मधेश आन्दोलनको राप र ताप छउञ्जेल यी पहाडे हाकीमहरु छुल्छुली मुत्थे । मधेशीहरुको उर्जा सकिएकोले पहाडे हाकीमहरु यति अडियल बनेका होलान्, अध्यक्षले सोचे । ‘सबै गुम्न लागेका बखत आधा जोगाउनु बुद्धिमानी हुन्छ’, अध्यक्षले मनमनै निस्कर्ष निकाले र भने, “त्यसोभए जिशिअ साहब, त्यो गिर्जापति प्राबि बरियारपुर र हाम्रो बिद्यालयलाइ आधा-आधा रकम दिनुहोस् । उनीहरुको नाम ठेगाना मिल्दोजुल्दो छ, हाम्रोपनि केही मिल्दो नै छ । त्यसै गरौं । जिल्लाभित्र आइसकेको रकमलाइ कुनै हालतमा उम्कन नदिउँ ।” अध्यक्षले मिलाउने कुरा गरे ।
एउटै बिषयमा धेरैबेर गलफत्ति गरिरहने जिशिअको बानि थिएन । जिशिअलाइ झोंक चलिसकेको थियो । अलि चर्को स्वरमा भने, “मैले जे भन्नुपर्ने हो अघि नै भनिसकें । मेरा अरुपनि काम छन् । तपाईंहरु खुरुक्क गैहाल्नुहोस् ।”
जिशिअको रौद्र रुप देखेर अध्यक्ष गल्याकगुलुक भए । जुरुक्क उठेर खुरुक्क हिंडे ।




