स्वबियु निर्वाचन: शैक्षिक माग होइन नेताका भारी बोक्ने थलो
स्वतन्त्र बिद्दार्थी युनियन केहि छिटपुट क्याम्पसमा बाहेक अन्यमा हिजो
सम्पन्न भयो । नतिजा केहिमा आए र केहिमा आउन बाँकि छन् । नतिजा जसको पोल्टामा जतिसुकै परोस, तर के गर्ने स्वतन्त्र बिद्दार्थी युनियन भनिएपनि न त यो स्वतन्त्र भयो न बिद्दार्थीको निर्वाचन जस्तो नै । स्वबियु निर्वाचन मुख्य त बिद्दार्थीहरुका हक र अधिकार सुनिश्चित गर्नकालागि हो । अनि हो बिद्दार्थीक समस्या, माग र अप्ठेराहरु पुरा गर्नकालागि । भविष्यमा मुलुक हाँक्ने, देशको भविष्य कोर्ने, शैक्षिक क्षेत्रका कमी कमजोरीहरु पहिचान गरेर सरकारसमक्ष प्रस्तुत गर्ने, तिनलाई पुरा गराउन लाग्ने हुनुपर्ने हो अहिलेका बिद्दार्थीहरुको जोड। स्वबियु त्यसैकालागि अधिकारिक रुपमा मान्यताप्राप्त संस्थागत साझा थलो हो बिद्दार्थीको । तर के गर्नु नेपालको बिडम्बना । स्वबियु निर्वाचन पुरै दूरुपयोग भएको छ । कुनै एक ठाउँ होइन देश भरिनै । झण्डै ९५ प्रतिशत नै । बिद्दार्थीका गाह्रो साह्रो, शैक्षिक सुधार, रोजगारमुलक शिक्षा, प्राज्ञिक छलफल, पाठ्यक्रममा सुधार र शिक्षालाई कसरि प्रभावकारी र सबैको पहुँचसम्म पुर्याउने भन्ने बहसको माध्यमसम्म हुन सकेको छैन स्वबियु निर्वाचन । पढे लेखेका, जाने बुझेका भनिने यो शिक्षित जमात आफैं मारपिट, झैझगडा, हानाहान र काटाकाटमा उत्रिने गरेको छ । संबिधान सभाको निर्वाचनमा भन्दपनि बढि झैझगडा, मारपिट र आतंक स्वबियु निर्वाचनमा मच्चिनुले देखाउँछ स्ववियु निर्वाचन कति दूरुपयोग भएको छ भन्ने ।
वास्तबमा स्वबियु निर्वाचन स्वतन्त्र, स्वच्छ र बिद्दार्थी राजनितिमै केन्द्रित हुनु पर्ने हो । तर यो बिद्दार्थी राजनिति जस्तो नभएर संसदिय निर्वाचन जस्तो देखिएको छ । क्याम्पसका गेट गेटमा, कोठा कोठामा पार्टीका नेता पुगेका छन् पार्टीको भाषण ठोक्दै । राजनितिक दलका नेतालाई लाजै नमानी बुइँमा चढाएर बिद्दार्थीहरु भोट माग्न हिँडिरहेका
छन् । तिनले बिभिन्न दुख र कष्ट बेहोरेका हजारौं बिद्दार्थीका समस्याहरु हल गर्नतिर नलागेर आआफ्ना पार्टीका भरिया बनेका छन् । आफ्ना पार्टीका कारिन्दा जस्ता तिनले नेता र राजनितिक पार्टीको स्वार्थमा स्वबियु निर्वाचन उपयोग गरिरहेका छन् । बिद्दार्थीका हक हितलाई बोकेर हिँड्नुपर्नेमा पार्टीका नाराको भारी बोकेर दौडिएका छन् ।
स्वतन्त्र ढंगले आफ्नो बिचार प्रकट गर्ने, आफ्नो मत देखाउने थलोलाई मारपिट र शारिरिक बलका आधारमा जसरिपनि पकड जमाउन उद्दत छन् सबै बिद्दार्थी संगठन । त्यहाँ सबै बिद्दार्थी संगठनका आआफ्ना प्रतिनिधी भेला भएर बिद्दर्थीका साझा विषयमा सहमती गरेर अगाडि बढ्नुपर्ने होइन र ? तर बिडम्बना स्वबियु निर्वाचन त भाँडभैलो मच्चाउने र शैक्षित अराजकता निम्त्याउने माध्यम बनिरहेको छ । शिक्षा प्राप्त गर्ने पवित्र थलोहरु धुलो, धुवाँ, मारपिट, आगजनी, तोडफोट, रगत बगाउने रणभूमी जस्तो पो बनाउँदै छन् । सामाजिक आतंकको थलो बनिरहेका छन् शैक्षिक मन्दिरहरु ।
तिनले खाली बिद्दार्थीका आँखामा छारो हाल्न मूर्त रुपमा बिद्दार्थी हक हितका केहि मूर्त नारा बोकेको देखिन्छ । तर समय र परिस्थिति अनुकुल ठोस नारा केहि छैनन् । मूर्त रुपमा उठाएका सिमित मुद्दापनि तिनै दलका चुनावी घोषणापत्रबाट साभार गरिए भन्दा फरक छैनन् । बिद्दार्थी आन्दोलन मुख्य त शैक्षिक क्षेत्रमै सिमित हुनु पर्ने हो । राजनितिक दल र सरकारले गरेका हरेक गलत शैक्षित निर्णयलाई बिद्दार्थीहरुले चुनौति दिनुपर्ने हो । तर जब बिद्दार्थीहरुनै राजनितिक पार्टीका गोठाला भएपछि त्यो चुनौति दिने कसले ?
स्वबियु निर्वाचनलाई पार्टी विशेषको स्वार्थमा प्रयोग गरिन थालेपछि बिद्दार्थीहरुका जायज मागको लागि लड्ने कसले ? यदि स्वबियु निर्वाचन यसैगरि राजनितिक दलको स्वार्थमा मात्रै सिमित हुने हो भने त्यस्तो स्वबियु निर्वाचनको उपादेयता के ? (कार्टून साभार- पहिलो दैनिकी डटकम र दोस्रो न्युज अफ नेपाल डट कम) ।




