दश लाखको मल्हमले निको नहुने घाउ

आनन्दराम पौडेल

anandaram-paudel-33434जेठ ९ गते (२०७०) बिहान आफ्नै कामले वीर हस्पिटल पुगेका पत्रकारले जे दृश्य देखे त्यस्ले उनको पाइला अघि बढ्न दिएन । पुर्जी काट्ने काउण्टर अगाडी भूईंमा एकजना प्रौढा लडिरहेकी थिइन्। झुस्स लामा दाह्री भएका अर्को प्रौढ व्यक्ति शीराननिर झोक्राएर बसिरहेका थिए । उनले अगाडी चेन लगाउने खरानि रङ्गको भेष्ट, गाढा कैलो रङ्गको पाइण्ट, हल्का पहेंलो माकलटोपी र गोल्डेन स्टार जुत्ता लगाएका थिए। ती सबै रङ्ग खुइलिएर थोत्रो भैसकेको देखिन्थ्यो। भूईंमा लडेकी प्रौढाले रातो डोरे चोलो तथा रातो र सेतोको छिर्बिरे धोति लगाएकी थिइन् । प्रौढा गलित र सिथिल थिइन भने प्रौढपनि क्लान्त र ओइलाएका थिए। हाड र छाला मात्र वाँकि रहेका प्रौढको अनुहार ख्वाप्लाक्क परेको थियो। यो सबै हेरिसकेर पत्रकार उनीहरुकै अगाडी बस्यो र ती प्रौढसँग बातचित गर्न थाल्यो । बातचितसँगै अत्याचार र पीडाको वृतान्त सुन्यो । 

गोरखा, फुजेल घर भएका ५५ बर्षका ती प्रौढको नाम नन्दप्रसाद अधिकारी र ५२ बर्षकी प्रौढाको नाम गङ्गामाया रहेछ । जानुका पौडेल, छविलाल पौडेल, कालिप्रसाद अधिकारी, रामप्रसाद अधिकारी र शिवप्रसाद अधिकारीले मिलेर २०६१ साल जेठ २४ गते नन्दप्रसादको कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाइ अपहरण गरेछन् र चितवनमा पु-याएर हत्या गरिदिएछन् । अपहरण हुँदा कृष्णप्रसाद १८ बर्षका रहेछन् । अपहरण गर्दा पल्लो गाउँकी केटीसँग ‘लब’ गरेको तर बिवाह गर्न आनाकानि गरेकोले मिलाउन लगेको भनेका रहेछन् । पछि हत्या गरिसकेपछि भने नानाथरी मनगढन्ते आरोप गढ्न थालेछन्। अरु आरोप प्रभावी नभएपछि सुराकी थियो भनेछन् ।

नन्दप्रसादले किटानी जाहेरी लिएर धेरैपटक धाउँदा २०६४ सालमा आएर बल्ल प्रहरीले जाहेरी वुझेछ । प्रहरीले जाहेरी वुझेपछि ती हत्याराहरु घरमै आएर, “जाहेरी फिर्ता लिन्छस् कि तेरो जेठो छोरोलाइ पनि सिध्याइदिउँ” भनेर धम्काउन थालेछन् । पसलमा सामान किन्न लाग्यो त्यहीं घेर्ने, फोन गर्न लाग्योभने रिसिभर खोसिदिने गर्दारहेछन् । २०६४ साल पुष १० गतेका दिन ठूलै हुल आएर गोठमा भएका १२ ओटै गाइबस्तुलाइ मारिदिएछन् । धारापानीको लाइन काटिदिएछन् र उनीहरुलाइ घरबाट निकालेर घरमा ताल्चा लगाइदिएछन् । यो अत्याचारको विरुद्ध उनीहरु तिनैजना (बुढाबुढी र जेठो छोरा) जिल्ला प्रहरी कार्यालयमा गएछन्। जिप्रकाका डिएसपीले, “जिल्ला प्रहरीको सामर्थ्य र वुताले नभ्याउने कुरो प-यो, तपाईंहरु गृह मन्त्रालय जानुहोस्” भनेछन् । सिंहदरबार पस्नलाग्दा भित्र पस्नै दिएनछन्, उल्टै नागरिकताको प्रमाणपत्रसमेत् खोसेर लिएछन् । गोरखादेखि काठमाडौंसम्मका मानवअधिकारवादी संस्थाहरु, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पटक-पटक उजुरी दिंदापनि कतै केही सुनुवाई भएनछ । प्रधानमन्त्री बाबुराम भट्टराईलाइ भेट्न धेरैपटक प्रयास गरेछन्। एकदिन बालुवाटारमा प्रधानमन्त्री निवासबाहिर सडकको पेटीमा बसिरहेका बखत प्रहरी आएर सोधपुछ गर्न थालेछ । प्रहरीसँग यस्तो सम्बाद भएछ ।

“तपाईंहरु यहाँ अघिदेखि बसिरहनुभएको छ। के काम छ ?” प्रहरीले सोधेछ ।

“प्रधानमन्त्री बाबुराम भट्टराईलाइ भेट्न खोजेको ।” नन्दप्रसादले जवाफ दिएछन् ।

“अहिले भेट्न पाउनुहुन्न ।” प्रहरीले भनेछ ।

“अहिल भेट्न नपाइए भरे भेट्छौं ।”

“भरेपनि भेट्न पाउनुहुन्न ।”

“भरे भेट्न नपाइए भोलि-पर्सि जहिले पाइन्छ तहिले भेट्छौं । भेट्न नपाउञ्जेल यहीं बसिराख्छौं ।” नन्दप्रसादले भनेछन् ।

यति बार्ता गरेर भित्र पसेको प्रहरीले एकछिनपछि आएर, “तपाईंहरुलाइ यहाँबाट तुरुन्त हटाउनु भन्ने प्रधानमन्त्रीको आदेश छ । तपाईंहरु आफैं खुरुक्क जानुहुन्नभने प्रहरी आएर लैजान्छ” भनेछ । नभन्दै कमलपोखरी प्रहरी प्रभागबाट इन्स्पेक्टर किरण कुँवरको कमाण्डमा आएको टोलीले कमलपोखरी पुलिस चौकीमा लगेर ४९ दिनसम्म थुनामा राखेछन् । ४९ दिनपछि यी बुढाबुढीलाइ मात्र हत्कडी लगाएर अड्डासार गर्दै गोरखा पु-याएछन् । तर, जेठो छोरालाइ प्रहरीले कहाँ राखेको छ, अहिलेसम्म अत्तोपत्तो रहेनछ । जिउँदै छकि मारे, त्योसमेत् जानकारी रहेनछ । बुढी रोगाएर थला परेकीले उपचारको लागि वीर अस्पतालमा ल्याएका रहेछन् ।

यति इतिवृतान्त सुनिसक्दा पत्रकारको हृदय द्रविभूत भैसकेको थियो । रसाएका आँखा पुछ्यो र इन्स्पेक्टर किरण कुँवरलाइ भेट्न कमलपोखरी चौकी पुग्यो । कुँवर त्यहाँबाट सरुवा भैसकेका रहेछन्। फोन नम्बर फेला पारेर सम्पर्क गर्दा, “तत्कालीन एसएसपी रणबहादुर चन्दको आदेशले थुनामा राखेकोले यसबारेमा म केही भन्न सक्दिन” भने । पत्रकार यत्तिकैमा अडिएनन् । रणबहादुर चन्दलाइ भेट्न पुगे, र थोरै सम्बाद गर्न भ्याए ।

“तपाईंले नन्दप्रसाद अधिकारी, उनकी श्रीमति र छोरालाइ ४९ दिनसम्म किन थुनेर राख्नुभयो ?” पत्रकारले सोधे ।

“थुनामा हैन आतिथ्यमा राखेको।” रणबहादुर चन्दले जवाफ दिए ।

“एउटा परिवारलाइ बिनाकारण ४९ दिनसम्म प्रहरी चौकी भित्र राख्नुभयो । अनि अहिले ‘आतिथ्यमा राखेको’ भन्नुहुन्छ ?” पत्रकारले अलि कस्सिएरै प्रस्न राख्यो ।

“आतिथ्य नै होनि। तिनीहरुको काठमाडौंमा बस्नेखाने ठाउँ थिएन । खर्चवर्चको पनि अभाव थियो । कमसेकम ४९ दिनसम्म सित्तैंमा बस्न त पाए । जवानहरुको खानाबाट बचेखुचेको रहलपहल जेजति हुन्छ, खान दिनु भनेकै थिएँ । ठीक छ, उनीहरुले दुईछाकपनि पेटभरी खान पाएनन् होला । आधापेट, अझ चौथाइ पेट खाएर प्राण धाने होलान् । तर, काठमाडौंमा योभन्दा बढी आतिथ्यसत्कार के हुन्छ ?” रणबहादुर चन्द झन् खरो उत्रे ।

“नन्दप्रसादको जेठो छोरा ख्वै त ?” पत्रकारले अर्को बिषय राख्यो ।

“त्यो त उनीहरुलाइ नै थाहा होला ।”

“को उनीहरु ?”

“हिसिला यमीकी पिए जानुका पौडेलले चासो राखेकी छन् भन्थे । उनकै मान्छेहरुले लगेहोलान् ।”

“ती बुढाबुढीलाइ गोरखा पठाउँदा किन हत्कडी लगाएको ?”

“तिनीहरुले कुनै अपराध नगरेकाले हत्कडी लगाउन आवश्यक थिएन । तिनीहरु उल्टै पीडित थिए। पीडितलाइ यसरी हत्कडी लगाउन मेरो आत्माले पनि पटक्कै स्वीकार गरेको थिएन । पत्रकारज्यू, तपाईंले यत्ति कुरा वुझिदिनुहोस्, यो हाम्रो चासोको बिषय थिएन । न त हाम्रो कर्तव्य र जिम्मेवारी भित्रको काम थियो । हामी त प्रयोग भएका मोहरा मात्र ह्वौं । यति सत्यलाइ तपाईंहरुले वुझिदिनुप-यो ।” रणबहादुर चन्दले लाचारी खोले ।

एसएसपीले यति लाचारी खोलिसकेपछि पत्रकारले बढी कोट्याउन आवश्यक ठानेन । त्यहाँबाट बिदाबारी भएर हिंड्यो । बृतान्त टुङ्ग्याउनुअघि गोरखाका सिडिओलाइ फोन ग-यो । सिडिओ कृष्ण कार्कीले भने, “खप्नैनसकिने घनघोर अत्याचार भएकै हो । अत्याचारको पीडामा मल्हम लगाउनकै लागि मैले उहाँहरुलाइ, ‘रु.१० लाख दिलाइदिन्छु, चुपो लागेर बस्नुहोस्’ भनेको थिएँ । उहाँहरु, ‘बरु हामीलाइ रु.१० लाख चाहिंदैन, हत्यारालाइ कार्यवाही होस्’ भन्नुहुन्छ । सरकारले भित्रभित्रै यस्ता अपराधको ढाकछोप गर्ने सोच बनाएको छ । उहाँहरु कुरा वुझ्नुहुन्न ।” सिडिओ कृष्ण कार्कीले सरकारकै भित्री नीति खोलिदिए । यति सुनेपछि पत्रकारलाइ घटनाको रहस्य वुझ्न कठिन भएन ।

 

तपाइँको प्रतिक्रिया